२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

निर्माणाधीन कल्भर्टमा खसेर युवकको मृत्यु, निर्माण व्यवसायीको लापरबाहीविरुद्ध स्थानीयको आक्रोश

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ वैशाख १३ गते १४:०८
Shares
निर्माणाधीन कल्भर्टमा खसेर युवकको मृत्यु, निर्माण व्यवसायीको लापरबाहीविरुद्ध स्थानीयको आक्रोश

रौतहट : गौर–चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत निर्माणाधीन कल्भर्टमा खसेर एक युवकको ज्यान गएको छ । सुरक्षा मापदण्डको बेवास्ता र निर्माण कम्पनीको लापरबाहीका कारण दुर्घटना भएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

ncell

भारतको बिहार राज्य सीतामढी जिल्ला, बैरगनिया प्रखण्ड–१ सेनुरिया टोलका २० वर्षीय विशाल महतोको शनिबार राति करिब ११ बजेतिर घटनास्थलमै मृत्यु भएको हो । आगामी वैशाख २५ गते विवाह तय भएका महतो आफन्तलाई निम्तो कार्ड बाँड्न रौतहट आएका थिए ।

परिवारका अनुसार उनी गरुडा नगरपालिका–१ जयनगरस्थित आफन्तको घरतर्फ जाँदै गर्दा गौर नगरपालिका–६ सबगढा क्षेत्रमा पुगेका थिए । सोही क्रममा निर्माणाधीन सडकको बीचमा रहेको कल्भर्टको गहिरो खाल्डोमा मोटरसाइकलसहित खसेपछि उनको ज्यान गएको हो । घटनास्थलमा कुनै पनि चेतावनी संकेत वा सुरक्षात्मक व्यवस्था नभएकाले दुर्घटना भएको बताइएको छ ।

गौर–चन्द्रनिगाहपुर सडक स्तरोन्नति तथा चार लेन विस्तार योजनाअन्तर्गत करिब ४४ किलोमिटर क्षेत्रमा निर्माण भइरहेको छ । उक्त खण्डको जिम्मा लिएको निर्माण कम्पनीले न्यूनतम सुरक्षा मापदण्डसमेत पालना नगरेको स्थानीयको आरोप छ ।

स्थानीयका अनुसार निर्माणस्थलमा चेतावनी बोर्ड राखिएको थिएन भने रातिको समयमा चालकलाई सावधानी अपनाउन संकेत गर्ने रिफ्लेक्टर, बत्ती वा टल्किने सामग्रीसमेत जडान गरिएको थिएन । जोखिमयुक्त स्थानमा कुनै ब्यारिकेड नलगाइनुका साथै वैकल्पिक मार्गको स्पष्ट जानकारीसमेत नदिइएको उनीहरूको भनाइ छ ।

घटनापछि स्थानीयवासी र मृतकका आफन्तले निर्माण कम्पनीमाथि कडा कारबाहीको माग गरेका छन् । उनीहरूले यसअघि पनि निर्माणस्थलको अव्यवस्थित अवस्थाका कारण साना–ठुला दुर्घटना हुँदै आएको दाबी गरेका छन् ।

यस्तै, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ । यस घटनाले सडक विभाग तथा आयोजनाको अनुगमन गर्ने निकायको भूमिकामाथि पनि प्रश्न उठाएको छ ।

सडक विस्तारजस्तो संवेदनशील परियोजनामा सुरक्षा मापदण्डको पालना सुनिश्चित गर्न नसक्दा सर्वसाधारणले ज्यान गुमाउनुपरेको भन्दै समयमै प्रभावकारी अनुगमन र कडाइ आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।

सम्बन्धित खबर