
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत र ५२ लाख मतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय महाधिवेशनमा जुटेको छ । सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र रहेको चितवन जिल्लामा ७–९ असारमा हुने महाधिवेशनका लागि अहिले वडा अधिवेशनहरू भइरहेका छन् ।
रास्वपाले पार्टी स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन गर्न लागेको हो । गत निर्वाचनमा देशैभर चुनावी लहर ल्याएको रास्वपाले डोल्पाबाहेक सबै जिल्ला समिति गठन गरिसकेको छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने र वडादेखि केन्द्रसम्म पार्टीलाई पुनर्जागृत गराउने प्रक्रिया अघि बढेको रास्वपाका नेताहरूले बताएका छन् । सबै स्थानीय तह र वडामा समिति बनाई नसके पनि यही जेठभित्र सबै वडाको अधिवेशनमार्फत संरचना निर्माणको प्रक्रियामा रहेको संसदीय दलका उपनेतासमेत रहेका केन्द्रीय सदस्य गणेश पराजुलीले बताए । ‘अन्य दल तथा स्वतन्त्र नेतालाई समेटेर निर्वाचनमा होमिएको रास्वपा देशैकै ठुलो दल बन्यो,’ पराजुलीले भने, ‘अब एकताको सन्देशसहित पहिलो महाधिवेशन गरेर आगामी पाँच वर्षका लागि वडादेखि केन्द्रसम्म नयाँ नेतृत्वसहितको संरचना निर्माण गर्दै छौं ।’
रास्वपाको संगठन विभागका अनुसार करिब तीन हजार वडामा तदर्थ समिति बनेका छन् । तीमध्ये ५० प्रतिशतको अधिवेशन चुनावअघि र पछि गरेर सकिएको छ । दुई चरणमा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको रास्वपाले जेठ ३ अघि तदर्थ समिति बन्ने वडाहरूको हकमा भने जेठ १६ गते वडा अधिवेशन गर्ने मिति तोकेको छ । त्यस्तै, पालिका अधिवेशन पनि दुई चरणमा गर्न मिति तोकिएको छ । जेठ ९ र १७ गते पालिका अधिवेशन हुनेछ । रास्वपाले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने भएको छ । प्रदेश अधिवेशन जेठ २६ बाट सुरु गरेर असार १ गते सक्ने कार्यतालिका बनाइएको छ ।
गत वैशाख २० गतेभन्दा अगाडि तदर्थ समिति गठन भएका करिब १५०० वडाको अधिवेशन आइतबार एकसाथ गरेको रास्वपाका नेता हरि ढकालले बताए । तदर्थ समिति बनेका तर वडा अधिवेशन हुन नसकेका बाँकी वडाको अधिवेशन हिजो आज भइरहेको ढकालले जानकारी दिए । २०७९ असारमा निर्वाचन आयोगबाट नयाँ राजनीतिक दलका रूपमा दर्ता प्रमाणपत्र लिएको रास्वपाले २१ सदस्य केन्द्रीय समिति बनाएको थियो । यसअघि तीनपटकसम्म महाधिवेशनको मिति तोकेर सार्दै आएको महाधिवेशन आगामी असार पहिलो हप्ताबाट पछि नसर्ने नेताहरूले दाबी गरेका छन् । पहिलो महाधिवेशन २०८२ वैशाखका लागि तोकिएको रास्वपाले २०८१ साल असारबाट वडास्तरीय अधिवेशन गर्ने तयारी गरेको थियो । त्यसका लागि २०८१ मंसिर २८ देखि नै प्रक्रिया अघि बढाएर ०८१ फागुन १७ गतेसम्म ६ हजार ७४६ वडामध्ये जम्मा १२१ वटामा अधिवेशन सकेको थियो । ०७९ को संघीय निर्वाचन सम्पन्न भएको एक वर्षभित्र पार्टीले राष्ट्रिय महाधिवेशन गर्ने उल्लेख गरेको थियो ।
स्थापनाको सात महिनामै २०७९ मंसिरमा भएको निर्वाचनमा २० सिट, उपनिर्वाचनमा थप एक सिट पाएको रास्वपाले २०८२ को प्रतिनिधिसभा निर्वाचनमा १८२ सिटसहित पहिलो दल बनेको छ । राष्ट्रिय राजनीतिको मूल पार्टी भएपछि रास्वपाप्रतिको आकर्षण बढ्दो छ । ७५३ मध्ये ५६० वटा पालिका रास्वपाको कमिटी रहेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । त्यसमध्ये ४६० वटा पालिका तहका कमिटीले आफ्नो कार्यसमितिमा रहेका पदाधिकारी, सदस्यहरूको विवरण केन्द्रमा उपलब्ध गराएका छन् । १०० वटा पालिकाले पदाधिकारी र सदस्यहरूको संख्या मात्रै केन्द्रमा टिपाएको रास्वपाले जनाएको छ । ६ हजार ७४३ मध्ये हालसम्म ३ हजार ५०० हाराहारी वडामा संरचना रहेकोमा २ हजार ५००ले सबै विवरण केन्द्रमा पठाएका छन् भने एक हजार जति वडाले संख्यामात्रै टिपाएको महामन्त्री बुर्लाकोटीको भनाइ छ ।
हालसम्म १६५ मध्ये १३५ वटा निर्वाचन क्षेत्रमा क्षेत्रीय तहको कमिटी छ भने प्रदेश निर्वाचन क्षेत्रमा संरचना विस्तार भइसकेको छैन । यद्यपि बाँकी वडा तथा पालिकामा पार्टी संरचना निर्माणको काम तीव्र भइरहेको उनले दाबी गरे । रास्वपाको विधानमा संघीय निर्वाचन क्षेत्र स्तरीय संरचनाले नै तल्लो तहको कामको सहजीकरण गर्ने व्यवस्था गरेको छ । ‘हाम्रो विधानमा संघीय निर्वाचन क्षेत्रस्तरीय संरचना छ । प्रदेशको निर्वाचन क्षेत्र त्यही संघीय निर्वाचन क्षेत्रीय संरचनाले नै हेर्न सक्ने व्यवस्था छ’, महामन्त्री बुर्लाकोटीले मध्यान्हसँग भने, ‘संघीय निर्वाचन क्षेत्रमा दुईवटा उपसंयोजक हुन्छन् । उनीहरूले नै प्रदेश निर्वाचन क्षेत्रको कामको समन्वय गर्छन् ।’
गत बुधबार बसेको सचिवालय बैठकले मौजुदा केन्द्रीय समिति विघटन गरेको छ । सोही समितिलाई सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्दै असारको पहिलो हप्ता महाधिवेशनको मिति तय गरेको हो । रास्वपाको अहिले पदेनसमेत गरी ९३ सदस्यीय केन्द्रीय समिति छ । रास्वपामा प्रदेश सभापति पदेन सदस्य हुन्छन् भने गैरभौगोलिक प्रदेश समिति नभएकाले सातवटा प्रदेश समिति बनाएको छ ।
विधानमा १२९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । राष्ट्रिय महाधिवेशनबाट पार्टी सभापति १ जना र केन्द्रीय सदस्यहरू ९९ (प्रति प्रदेश ५ जना अनिवार्य र समावेशी हुने गरी) जना निर्वाचित गरिने वैधानिक व्यवस्था रहेको रास्वपाले जनाएको छ । केन्द्रीय महाधिवेशनपछि सभापतिले २२ जना सदस्य मनोनीत गर्ने, पार्टीका प्रदेश सभापति पदेन सदस्य हुने, केन्द्रीय समिति सदस्यमध्ये कम्तीमा एक–तिहाइ महिला हुनेछन् र युवालाई प्राथमिकतामा राखिने व्यवस्था विधानमा गरिएको नेता महामन्त्री बुर्लाकोटीले बताए ।
त्यस्तै, केन्द्रीय समितिको कार्यकाल पाँच वर्षको रहने, केन्द्रीय पदाधिकारीहरू महाधिवेशन प्रतिनिधिहरूबाट निर्वाचित हुनुपर्नेछ र निर्वाचन दुई चरणमा हुनेछ । पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यको निर्वाचन हुने, दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यमध्येबाट उम्मेदवार भई महाधिवेशन प्रतिनिधिको मतबाट पदाधिकारी निर्वाचित हुने व्यवस्था गरिएको छ । चार पदाधिकारी पद सभापतिले मनोनीत गर्ने र बाँकी पदाधिकारी भने प्रत्यक्ष निर्वाचित हुनुपर्नेछ । रास्वपाको यो व्यवस्था अरू दलहरू भन्दा फरक हो । निर्वाचित केन्द्रीय सदस्यमध्येबाट कोषाध्यक्ष र सहकोषाध्यक्ष तथा प्रवक्ता र सहप्रवक्तालाई सभापतिले मनोनीत गर्नेछन् । यसले पार्टी सभापतिलाई बलियो बनाउन थप सहयोग पुग्ने कुरालाई ध्यानमा राखेर विधान मस्यौदा तयार पारेको देखिन्छ । पार्टीको विधानबमोजिम उपसभापति तीन (एक महिलासहित), महामन्त्री एक, सहमहामन्त्री तीन (एक महिलासहित), कोषाध्यक्ष एक, सहकोषाध्यक्ष एक, प्रवक्ता एक, सहप्रवक्ता दुई (फरक लिंगको हुनुपर्ने) छ । विधानमा व्यवस्था नभएको वरिष्ठ नेताको पदमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) छन् । वरिष्ठ नेताको व्यवस्थापनका विषयमा पनि यो महाधिवेशनले टुंगो लगाउने नेताहरूले बताएका छन् ।
अहिले दुई उपसभापतिमध्ये दुई रिक्त छ । रास्वपाले एक महिला उपसभापति मनोनीत गरेकै थिएन । दुई पुरुषमध्ये डिपी अर्याल सभामुख निर्वाचित भएपछि पार्टीको जिम्मेवारी छाडेका छन् । एक सहमहामन्त्री पनि रिक्त नै छ । यसबीच रास्वपाले प्रधानमन्त्री बालेन शाहको समूहलाई समाहित गर्दा वरिष्ठ नेताको व्यवस्था गरेको थियो । शाह वरिष्ठ नेता बनेर प्रधानमन्त्री बनिसकेका छन् । तर विधान संशोधन गरेर उक्त पदको प्रबन्ध गरिएको छैन ।
केन्द्रीय सचिवालय बैठकले जेठ २६ गते बागमती, २७ गते कोशी, २८ गते मधेस, २९ गते गण्डकीको प्रदेश अधिवेशन हुनेछ । त्यस्तै, ३० गते लुम्बिनी, ३१ गते कर्णाली र असार १ गते सुदूरपश्चिमको प्रदेश अधिवेशन हुनेछ । यसअघि बसेको सचिवालय बैठकबाट भेला तथा अधिवेशन विशेष तालिका स्वीकृत गर्दै तदर्थ समिति गठन नभएका वडाहरूमा जेठ २ मा वडा भेला गर्ने निर्णय गरेको थियो ।