२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

दुर्घटना घट्दै, मृत्यु बढ्दै

Nada
सपना बोहरा
२०८३ असार २० गते ०६:३५
Shares
दुर्घटना घट्दै, मृत्यु बढ्दै

काठमाडौं : बढ्दो सवारी चापसँगै सवारी दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । पछिल्ला केही वर्षयता सवारी दुर्घटना पनि तुलनात्मक रूपमा घटिरहेको छ । तर, तत्काल उद्धार गर्न नसक्दा दुर्घटनामा परेर मृत्यु हुनेको संख्या भने बढ्दो क्रममा देखिएको छ । 

ncell

ट्राफिक प्रहरीले नियम उल्लंघनमा कडाइ गर्दै जरिवाना शुल्क बढाउने गृहकार्य गरिरहेको छ । दैनिक हजारौं चालक कारबाहीमा परिरहेका छन् । सयौंले सचेतना कक्षा लिइरहेका छन् । तर, दुर्घटनामा परेर ज्यान नै जोखिममा भएकालाई बचाउन भने राज्यका संयन्त्र असफल देखिएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दै जानुले त्यसैलाई संकेत गरेको छ । 

ट्राफिक प्रहरी कार्यालयमा रहेको पछिल्लो चार वर्षको तथ्यांकले सवारी दुर्घटना घट्दै गएको देखिन्छ भने दुर्घटनामा परेर मृत्यु हुनेको संख्या भने बढ्दो क्रममा छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, आर्थिक वर्ष २०७९/८०मा देशभर १० हजार ६७५ सवारी दुर्घटना भए । ती घटनामा १८७ जनाको ज्यान गयो भने ८ हजार ३०० जना सामान्य र २६१ जना गम्भीर घाइते भए । आर्थिक वर्ष २०८०/०८१मा दुर्घटनाको संख्या झन्डै दुई हजार घटेको देखिन्छ । त्यो वर्ष ८ हजार ८८१ सवारी दुर्घटना भएकामा १७७ जनाको मृत्यु हुनाका साथै ८ हजार १४ जना सामान्य र २९० गम्भीर घाइते भए । दुर्घटनाको संख्या निरन्तर घट्दो क्रममा छ । आर्थिक वर्ष २०८१/०८२मा ७ हजार १६९ सवारी दुर्घटनामा परी १९० व्यक्तिको ज्यान गयो । ७ हजार ६३१ सामान्य घाइते भए भने २७८ गम्भीर घाइते भएका छन् । चालु आर्थिक वर्ष २०८२/०८३का ११ महिनामा ५ हजार ३४५ सवारी दुर्घटना भएका छन् । मृत्यु हुनेको संख्या भने बढेर २०१ पुगेको छ । ती दुर्घटनामा ६ हजार ४० जना घाइते भएकोमा २२३ गम्भीर घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै यात्रुवाहक तथा मालवाहक सवारीसाधनमाथि विशेष निगरानी बढाएको थियो । ट्राफिक नियम उल्लंघन गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने तथा प्राविधिक रूपमा कमजोर अवस्थाका सवारीसाधनलाई लक्षित गरेर कारबाहीसमेत गरेको छ । 

असार १७ गतेसम्म मात्रै ट्राफिक नियम पालना नगरेका ३३ हजार ९३६ सवारी चालक कारबाहीमा परेका छन् । उनीहरूबाट २ करोड ४८ लाख १ हजार ११७ रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै, जेठ महिनामा ६८ हजार ४७७ जनालाई कारबाहीमा पर्दा ५ करोड १५ हजार ७३६ रुपैयाँ जरिवाना राजस्व उठेको छ । वैशाखमा ६८ हजार ५४४ जनालाई कारबाही गरिएको छ । 

उपत्यकाका विभिन्न स्थानमा ट्राफिक व्यवस्थापन, चेकजाँच तथा चालकलाई सचेतनामूलक जानकारी, सिसी क्यामराको निगरानीका कारण सवारी दुर्घटना न्यूनीकरण गर्न सफल भएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता नरेशराज सुवेदी बताउँछन् । उनी भन्छन्, ‘सवारी दुर्घटना न्यूनीकरण गर्न विशेष अभियान चलाएर दुर्घटनाको संख्यामा कमी आयो, कारबाही र राजस्वको संख्या बढ्यो तर मृत्युको संख्याको अनुपातमा भने घट्न सकेको छैन । कारण हो, दुर्घटना भइहालेमा तत्काल उद्धारका लागि पर्याप्त सामग्री नहुनु ।’ दुर्घटनामा मृत्युको संख्या घटाउनका लागि उद्धार सामग्री र प्रभावकारी उपचारको व्यवस्थामा सुधार गर्न जरुरी रहेको उनी बताउँछन् । 

ट्राफिक कारबाहीको प्रभाव भने सकारात्मक देखिएको सुवेदीको दाबी छ । सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, सवारीसाधनको अवस्था नियमित परीक्षण गर्न, तीव्रगति नियन्त्रण गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न विशेष अभियान सञ्चालन गरेको उनले बताए । पछिल्लो समय उपत्यकामा हुने अधिकांश दुर्घटनाको मुख्य कारण तीव्र गति, लापरबाहीपूर्ण सवारी सञ्चालन, ओभरटेक, मोबाइल प्रयोग गरेर गाडी चलाउने तथा मापसे, लापसे गरेर सवारी चलाउनु नै भएको उनी बताउँछन् । 

कार्यान्वयन हुँदैनन् प्रतिवेदन 

ट्राफिक प्रहरीको कमान्डसमेत हाँकिसकेका पूर्वडिआइजी केशव अधिकारीको अनुभवमा सवारी दुर्घटना बढ्नुको एउटा कारण अध्ययन गरेर सम्बन्धित निकायलाई प्रतिवेदन बुझाइए पनि कार्यान्वयन नहुनु रहेको छ । उनी भन्छन्, ‘ठुला दुर्घटना हुनासाथ अध्ययन समिति बनाइन्छ । छुट्टै अध्ययन पनि भएका छन् । ती प्रतिवेदनमा पटक–पटक छलफल पनि भएका छन्, तर कार्यान्वयनको चरणसम्म आइपुग्दा निकै फितलो छ ।’ 

प्रतिवेदनहरूले चालककै लापरबाहीले ८० प्रतिशत सवारी दुर्घटना हुने गरेको देखाएका छन् । तर, चालकलाई अनुशासित बनाउने राज्यसँग कुनै पनि प्रणाली नभएको उनले बताए । अधिकारीको अनुभवमा सवारी दुर्घटना हुनुका मुख्य कारण कुन बाटोमा कस्तो सवारीसाधन गुड्न दिने भन्ने सरकारको कुनै स्पष्ट नीति नहुनु, ट्राफिक रोड फर्निचर (ट्राफिक संकेत, सडक लेन, सेफ्टी बार)को कमी, चालकलाई वैज्ञानिक बनाउन र अनुशासित बनाउन राजमार्गमा अधिक मात्रामा सिसिटिभी जडान नहुनु हो । त्यस्तै, प्रविधिमा कमजोर, सवारी आयात नीति अवैज्ञानिक, ब्ल्याक स्पटको सुधार नहुुनु, चालक अनुमतिपत्र वितरण प्रणाली कमजोर, उद्धार सामग्रीको अभाव र सवारीसाधन गुड्न दिने नीतिको अभावलाई दुर्घटना र मानवीय क्षतिको कारण ठान्छन्, उनी । 

सडक पूर्वाधारको विस्तार सीमित भए पनि हरेक वर्ष वर्ष लाखौंको संख्यामा गाडी भित्रिने गरेका छन् । सरकारले न त पूर्वाधार विकास गरेको छ, न त वैज्ञानिक यातायात नीति नै बनाएको छ । पटक–पटक दुर्घटना भएका ब्ल्याक स्पटहरू धेरै भए पनि सुधार्न ध्यान नदिइएको उल्लेख गर्दै अधिकारी भन्छन्, ‘भेकल फिटनेस सेन्टरहरू नहुँदा पनि कन्डिसन ठिक भए/नभएको थाहा हुँदैन ।’  

उद्धार हुनै मुस्किल 

उद्धार गर्नका लागि दक्ष जनशक्ति भए पनि आधुनिक उद्धार सामग्रीको अभाग देखिएको छ । सबैभन्दा बढी राजमार्गमा नै दुर्घटना हुने गरेका छन् । कर्णाली नदीमा बुधबार खसेको यात्रुवाहक माइक्रोका यात्रुको ७२ घण्टासम्म उद्धार हुन सकेको छैन । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी ११ः३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ दैलेखको सांगेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो । उक्त गाडी र यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका ६ जना गोताखोर बिहीबार साँझ र शुक्रबार बिहानैदेखि पुनःपरिचालन भएका थिए । गाडीमा कति यात्रु थिए भन्नेसम्म यकिन हुन सकेको छैन । यसले सडक यातायातको सुरक्षा स्थिति बुझाउँछ ।  

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाका अनुसार, घटना भएको दिन पाँच घण्टासम्म गोताखोरले खोजी गर्दा नभेटाएपछि शुक्रबार पुनः खोजी गरिएकोे थियो । 

उनी भन्छन्, ‘पानीको सतह मात्र बढेको छैन, नदीको बेग पनि त्यत्तिकै तीव्र छ । धमिलो पानी छ । घटनास्थलमा सिधै जाने ठाउँ छैन । अछाम जिल्लाबाट खोज्नुपरेको छ ।’ अचेत अवस्थाम भिरमा अड्केका एक पुरुषको उद्धार गरी अस्पताल पु¥याउँदै गर्दा मृत्यु भएको उनले बताए । मृतकको ठेगाना खुल्न सकेको छैन । सुर्खेत बसपार्कबाट बिहान ८ बजे गाडी छुट्दा तीन र दैलेखको डुंगेश्वरबाट दुई, चालक र सहचालक गरी अहिलेसम्म आधिकारिक सात व्यक्ति गाडीमा सवार रहेको प्रहरीले जनाएको छ । गाडी ४०० मिटर तल खसी कर्णाली नदीमा डुबेको स्थान प्रहरीचौकी दैलेखबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर