२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

मुशायरामा गुञ्जिए लोकेश, सविता र परिविक्रम, कुशलले ल्याए ‘कोहिनूर’

ADV
मध्यान्ह
२०८१ भदौ १६ गते २०:०१
मुशायरामा गुञ्जिए लोकेश, सविता र परिविक्रम, कुशलले ल्याए ‘कोहिनूर’

काठमाडौं : नेपालका प्रथम गजलकार मोतीराम भट्टको १५९औं जन्मजयन्तीको अवसरमा नेपाल गजल प्रतिष्ठानले ‘गजल मुशायरा’को पाँचौं शृंखला सम्पन्न गरेको छ । भदौ १५ गते शनिबार राष्ट्रिय नाचघर जमलमा आयोजित मुशायरामा लोकेश संघात, सविता बराल र परिविक्रम प्रस्तुत भए । निकै चोटिला र प्रभावशाली शेरहरू वाचन षरिरहँदा उपस्थितमा निकै उत्साह देखिन्थ्यो ।

रिसाएर जाऊ तिमी जाने बेला
पुनः मुस्कुराए हृदयघात हुन्छ ।

गजलकार लोकेश संघातले यो शेर बोलिरहँदा हल तालीमय बनेको थियो । केहीछिनमा शृङ्गारमय शेरमा सविता बराल यसरी गुञ्जिइन् ।

शराबी गुलावी दुबै ओठ टोकी
तिमी मुस्कुराऊ लजाएर हुन्न ।

यस्ता दर्जनौं शेरहरू सुनिए हलमा । खचाखच भरिएको हलमा तीन जना स्रष्टाले आफ्ना पाँच/पाँच वटा तथा अन्य तीन जनाले एक/एक वटा गजल वाचन गरे ।

कार्यक्रममा विश्वव्यापी गजल प्रतियोगिता, २०८० का विजेता कुशलनाथ योगीको गजलकृति ‘कोहिनूर’ सार्वजनिकसमेत गरियो । प्रा.डा. देवी नेपालले ‘कोहिनूर’माथि टिप्पणी गर्दै योगी नयाँ पुस्ताका कुशल र अब्बल गजलकार रहेका बताए । प्रमुख अतिथि प्रसिद्ध गीतकार एवम् गजलकार करुण थापाले अब नेपाली गजलले सही बाटो पहिल्याउन थालेको र नयाँ पुस्ताले नेपाली गजललाई उचाइ दिनेमा आफू विश्वस्त रहेको धारणा राखे ।

सोही अवसरमा नेपाल गजल प्रतिष्ठानले गरेको विश्वव्यापी गजल प्रतियोगिता, २०८१को नतिजासमेत सार्वजनिक गरिएको थियो । रेशम अधिकारी प्रथम भएको सो प्रतियोगितामा अधिकारीसहित नारायण सिटौला ‘इरादा’, मिलनकुमार ढुंगाना, चित्र थापा, विपिन नेपालका गजल उत्कृष्ट पाँचमा परेका थिए ।

‘नेपाली गजलको विकास र विस्तारका लागि’ मूलमन्त्र लिएको प्रतिष्ठानले हरेक महिना गजल सुन्ने/सुनाउने कार्यक्रम गर्दै आइरहेको छ भने बहर–बहार र मोती पाठशालामार्फत गजल प्रशिक्षणसमेत दिँदै आएको छ ।

आगामी दिनमा नेपाली गजललाई लेखनमा परिष्कारसहित गायनमा समेत तीव्रता दिइने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए ।
उक्त कार्यक्रमलाई आइविना अस्ट्रेलिया, ग्लोबल आइएमई बैंक, सूर्य लाइफ इन्स्योरेन्स, सूर्य नेपाल र सीवाईसीले प्रायोजन गरेका थिए भने इन्टरनेट पार्टनर भायनेट र मिडिया पार्टनर युनिभर्सल टेलिभिजन थिए ।

नेपाली गजलको विकास र विस्तारका लागि मूलमन्त्र लिएको प्रतिष्ठानले हरेक महिना गजल सुन्ने, सुनाउने कार्यक्रम गर्दै आइरहेको छ भने बहर–बहार र मोती पाठशालामार्फत गजल प्रशिक्षणसमेत दिँदै आएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise