२०८१ असोज १८ गते शुक्रवार / Oct 04 , 2024 , Friday
२०८१ असोज १८ गते शुक्रवार

शहरबाट काकालाई पत्र !

ADV
२०८१ भदौ २२ गते ०६:२५
शहरबाट काकालाई पत्र !

आदरणीय काका,

यो राजधानीवासी भतिजको प्रणाम ! हुन त, नेपालमा गणतान्त्रिक शासन व्यवस्था छ । पहिला हजुरहरूको पालामा भन्दा अहिले परिवर्तनका रेखाहरू धेरै नै कोरिएको अवस्था छ । विश्व नै एउटा साँघुरो परिवेश भएको वर्तमान अवस्थामा एक कल फोन गरेको भएपनि हुन्थ्यो, किन पत्र लेख्नुपरेको भन्नुहोला । आजकल फोनमा न कुरा बुझिन्छ न त, मनका तीता मीठा कुराहरू पोख्न नै पाइन्छ, एन.टि.सि.मा फोन गरौं त अझै भत्केका टावरले काम नदिने अनि एनसेल फोन प्रयोग गर्न मेरो स्वाभिमानले दिदैन काका ! किनकी राष्ट्रको लागि तिर्नुपर्ने कर करिव ७२ अरब रुपैयाँ नतिरेकोले हामी धेरै जनाले यो एनसेल फोन नै प्रयोग गर्न छोड्यौं । त्यसैले यो पत्र लेख्दैछु ।

काका, केही दिन अगाडि हर्के भाई विदेश जान भनेर काठमाडौं आएर मलाई गाउँ घरतिरको सबै हाल खबर सुनाएको थियो । एक हिसाबबाट खुशि लाग्यो किनकि आजभोली त गाउँघर पनि ज्यादै रमाइलो छ अरे ! शहरिया भई टोपलिएको सधैँ अस्तव्यस्त अनि अव्यवस्थित शहरमा रमाउने यो भतिज गाउँ घरतिर नआएको पनि धेरै भयो । अर्कोतर्फ ज्यादै दुखित छु काका ! किनकी, आजभोली युवाको विदेश जाने लहरले गाउँघर त रित्तियो नै शहरको हालत पनि त्यस्तै छ । प्लस टु पढाई सकिएपछि सारा युवालाई अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापान तथा अन्य देशले तानेको छ । पल्लाघरको धनशेर त विदेश गयो भने म किन नजाने भन्ने आदत नै बसेको छ । तथापि यही देशमा बसेर केही गरौं भन्ने युवाहरूको भावनामा राजनीतिक दाउपेचको खिचातानीको ब्रेक लागेको छ । भ्रष्टाचारको रोगले सताएको छ । नीति छ तर, नेतृत्वको नैतिकतामा कमी छ । निश्चल, निश्कपट मनका भावनाहरूमा नैराश्यताको बादलले ढाकिदिएको छ अनि युवा पलायन नहुन पनि कसरी ? 

हजुरले पनि एक पटक काठमाडौं घुम्न आउने रहर गर्नुभएको रहेछ, यहाँ आउनुुभन्दा अगाडि यहाँको बारेमा केही कुराहरू पत्रमा जानकारी गराउन गैरहेको छु । काका, संसारका प्रायः देशका राजधानी शहरहरू व्यवस्थित नै हुन्छन् । मानिशहरूले सभ्यताको खोल ओढेकै हुन्छन् । नीति नियमहरू कडा हुन्छन् । प्रत्येक मानिशहरू नैतिक धरातलमा अडिएर आफ्नो दिनचर्या अगाडि बढाइरहेका हुन्छन् । तर, यो हाम्रो देशको राजधानी शहरमा त अचम्मको संस्कार छ ! यहाँका प्रायः मानिशहरू सभ्यताको खोल ओढेर असभ्यताको परिचय दिइरहेका छन् । कि त भ्रष्टाचार गरेर कमाएको सम्पत्ति, कि गाउँ घरको झिटी झाम्टो बेचेर काठमाडौंमा दुई/चार आनाको जग्गामा वल्ल तल्ल जीवनभरको कमाई एउटा घरमा थुपारेको अहमंता यहाँका मानिशहरूमा देख्न पाइन्छ ।

पहिला पहिला गाउँघरमा बाघ–भालुलगाएत अन्य जंगली जनावरहरूको डर र त्रासले जनजीवन भयभीत हुने गर्दथ्यो तर, यो राजधानी शहरमा त मानिस–मानिस बीचमा नै त्रासको वातावरण पैदा हुने गर्दछ । यहाँ त दिउँसै नारीमाथिको अस्तित्व लुटिएको छ । चोरी तथा डकैतिका घटनाहरू दिन दाहाडै देख्नमा र सुन्नमा आउँछन् । ‘जिउँदाको जन्ती न मर्दाको मलामी’ भने जस्तो कुनै व्यक्ति विशेषले न कसैलाई सहयोग दिन चाहान्छन् न त लिन नै । जताततै महँगीको मार, सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूमा खुलम खुला घुस लेनदेनको कारोबार, यातायातको बढ्दो चाप, राजधानीमा बसोबास गरेमा स्वर्ग जान पाइन्छ भन्ने जस्ता मानसिकताले गर्दा मापदण्ड विपरित बनाइएका अव्यवस्थित घर–टहराहरू तथा साँघुरा गल्ली सडकहरू, पानी र बत्तिको समस्या, वातावरणीय प्रदुषण, देशका विभिन्न भागबाट थुपरिएका संस्कृतिको मिश्रण, विदेशीने रहरले दलालमार्फत ठगीएर घर न घाट भई बसेका कयौं व्यक्तिहरूको कथा व्यथा, आदि इत्यादी कुराहरूले काठमाडौं शहरको जनजीवन अस्तव्यस्त भइरहेको छ ।

काका, गाउँघरमा त अब एक छाक खान र एकसरो लुगा लगाउनमा कुनै समस्या छैन तर, यो राजधानी शहरमा त बिहान खाऊँ, बेलुका के खाऊँ भन्नुपर्ने स्थिति आइसकेको छ । गाउँ घरमा त दुई चार भारी दाउरा भयो भने एक डेड महिनाको लागि खाना पकाउन पुग्छ तर यहाँ त दिनानु दिनको महँगीको मार अनि ग्याँसको अभावले गर्दा चाउचाउ र चाउमिनको भरमा गुजारा गर्नुपर्ने स्थिति आएको छ । काका ! बाल्यकालको जिन्दगी टुकी बत्तिमा बित्यो र शहरिया जिन्दगीको आनन्द पनि बाध्यताबस् टुकी बत्ती नै भएको थियो तर, अहिले एकादेशको कथा जस्तो गरी केही समाज सुधारक व्यक्तिको जन्म यो धरतीमा भएकाले नै होला आजभोली पहिलाजसरी शहरको गल्ली गल्लीमा गाउँघरको जस्तो जुनकिरीको उज्यालो खोज्नुपर्दैन ।

आखिर पहिले त दलाल पुँजीपति विचौलियाहरूको बाहुल्यता र हरेक क्षेत्रमा उनीहरूले नै गाँजेर होला केही मुट्ठीभरका व्यक्तिहरूको स्वार्थमा सरकार सञ्चालन भएका हुन्थे तर, अहिले यो गणतान्त्रिक सरकार भएर नै होला कम्सेकम जनताको लागि केही जनहितको कामहरू भैराखेको आभास भने देशभरीका जनताले पाएका चर्चा परिचर्चाहरू सामाजिक सन्जालमा सुन्न र पढ्न पाइन्छ । तैपनि आश्चर्यको कुरा त अझ यो छ कि गाउँ घरतिर खोला, जंगल र पहाडको छेउमा घर वस्तीहरू भएपनि बाघ, भालु र अन्य बन्यजन्तुहरू तथा पहिरोको डर छैन, मान्छेहरू त्यति पढे लेखेका नभएतापनि नैतिकता, मित्रता र सहिष्णुतामा कमी छैन । धनका धनी मात्र नभई मनका पनि धनी छन् गाउँका मानिशहरू । सोझो गाउँले परिवेश, ताजा खाना, स्वच्छ वातावरण, हरियाली डाँडा काँडा, बन्दै गरेका सडकहरू र बल्दै गरेका बिजुली बत्तिहरू आदिले गाउँघरको जिन्दगी नै भिन्दै प्रकृतिको भैसकेको रहेछ । तर काका, यता राजधानी शहरमा भने हरेक कुराहरूमा गाउँघरको ठीक उल्टो परिवेश छ । भाइरल बन्ने नाममा केही मानिशहरू बंगलादेशको झल्को दिनेगरी युवा जमात बटुलेर माइतीघरमा न्याय खोज्न जाने पूरानो चलन हराएको छैन जसरी हाँडीगाउँको जात्रा लाग्दछ । 

काका, एकपटक काठमाडौं आई बाग्मतीमा स्नान गरी पशुपतिको दर्शन गर्ने धोको छ भन्नुभएको थियो त,र यहाँको बागमतीलगायत अन्य नदीहरू त अब फोहोरको नालीमा परिणत भइसकेका छन् । प्राचीन धर्म अनि संस्कृतिको संगमस्थल भनेर चिनिने राजधानी शहर अहिले त हरेक मठ मन्दिरहरू जिर्ण अवस्थामा रह िजिर्णोद्धारको पर्खाइमा वसिरहेका छन् । तसर्थ, काका, यो राजधानी शहरको अस्तव्यस्तताको कथा श्री स्वस्थानी ब्रतकथा जस्तो भएको छ । जसको वर्णन गर्न हजार जिब्रा भएको शेष नागले पनि सक्दैन भने मैले कसरी वर्णन गर्न सक्छु र ! काका, अव सायद मेरो मन पनि गाउँ घरतिर नै बढी आकर्षित हुन थालेको छ । अतीतको कथा व्यथा सम्झेर ल्याउँदा भुल्न सकेको छैन ती गाउँका वस्तीहरू ।

कोही व्यक्तिबाट शहरिया जिन्दगीको रमझम सुनेर आफ्नो उज्जल भविष्यका बक्ररेखाहरू कोर्नको लागि त्यो कलिलो उमेरमा केही साथीहरूसँग मध्यरातमा घरबाट भागेर काठमाडौं आएको आज, हिजो जस्तो लाग्छ तर, तीन दशक काटिसकेछ । तर, गाउँ घरको यादले उत्तिकै सताइरहेको छ मलाई । ती डाँडा पाखाहरूमा गाईवस्तु चराउन जाँदाको क्षणहरू, डण्डी बियो र कपर्दी खेलेका ती दिनहरू आज मेरो मानस पलटमा नाचिरहन्छन् । ती रामे, हर्के अनि बाटुलीका दिनचर्याहरू आज पनि सम्झनामा नाचिरहन्छन् । अनि आज प्रत्येक गाउँका बस्तीहरूले पर्खिराखेका छन् ती विदेशीएका युवाहरूलाई । अनि जो शहरमा रमाउन खोज्नेहरू छन् तिनलाई धिक्कारीरहेका छन् ती गाउँका पाखा पखेरीहरूले । तसर्थ, सम्झिन मन लाग्छ लक्ष्मी प्रसाद देवकोटाको कविता “साग र सिस्नु खाएको बेस आनन्दी मनले” भनेजस्तो अव युवाहरूले शहरी अस्त व्यस्तताको जिन्दगी भन्दा पनि स्वच्छ गाउँले परिवेशलाई त्याग्नु हुँदैन भन्ने मान्यतालाई अङ्गीकार गरी गाउँ फर्किएर परिवर्तनका रेखाहरू कोर्ने विचारकासाथ म छिट्टै नै गाउँ फर्किँदै छु काका ।

हस्त काका वल्लो पल्लो घरका सबै जनालाई धेरै–धेरै सम्झना अनि नमस्कार सुनाइदिनु । आफ्नो ज्यानको हेरविचार गरी सधैँ स्वस्थ, व्यस्त अनि हाँसी खुशी रहनु भन्दै पत्रबाट विदा हुन्छु ।

उही अभागी भतिज खिमराज गिरी ।
सोतिपसल, लमजुंङ्ग,
हाल : काठमाडौं । 

ADVADV

सम्बन्धित खबर

Advertise