२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

आत्मनिर्भर बनेको दुग्ध व्यवसायमा पलायनको चिन्ता

ADV
२०८१ असोज ६ गते ०६:४०
आत्मनिर्भर बनेको दुग्ध व्यवसायमा पलायनको चिन्ता

नेपाल दुग्ध व्यवसायमा आत्मनिर्भर छ । राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रमा धानपछि दोस्रो स्थानमा दुग्ध व्यवसाय पर्ने गरेको छ । निजी क्षेत्रले दुग्ध व्यवसायमा लगानी करिब ५० अर्ब बराबरको लगानी गरेको बताउँदै आएको छ । तर, दुग्ध व्यवसायीले राज्य उद्योगमैत्री नभएको गुनासो गर्ने गरेका छन् । दुग्ध उद्योगलाई चाहिने प्याकेजिङको कच्चापदार्थमा ४० प्रतिशत भन्सार र फिनिस उत्पादन ल्याउँदा १० प्रतिशत भन्सारको कारण डेरी उद्योग परम्परात रुपमै सञ्चालन भइरहेका छन् । औद्योगिक ग्राम, लिजमा जग्गा, कृषिमा आधारित उद्योगले दिनुपर्ने सहुलियत राज्यले नदिँदा कृषि उपज उद्योगहरु पलायनको अवस्थामा छन् । प्रस्तुत छ नेपालको डेरीको उद्योगको विषयमा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी । 

नेपालमा सञ्चालित डेरी उद्योग कसरी चलिरहेका छन् ? 

अहिले अरु उद्योग व्यवसाय जस्तै डेरी व्यवसाय पनि अप्ठ्यारो अवस्थामै छन् । २०७२ सालको भुकम्पपछि अहिले ८ वर्षको समय व्यवसाय गर्ने भन्दा पनि कसरी टिक्ने, टिकाउने नै अवस्थामा उद्यमी छन् । कति पलायन भएका छन् भने कति गुजारा चलाउने मात्र काम गरेर बस्न बाध्य छन् । यसको प्रमुख समस्या भनेको राज्य उद्योगमैत्री नहुनु नै हो । पछिल्लो समयमा कोभिड आयो, त्यसको असरले आर्थिक मन्दी भयो । युवा पुस्ता पलायन भइरहेको छ । त्यसपछि लम्किस्किनको समस्याले पशुपालन क्षेत्रमा ठूलो समस्या देखियो, त्यसको असर दुग्धजन्य उद्योगमा पर्‍यो । अहिले कृषकले उत्पादन गरेको दुधको मूल्य बढेको छ, त्यसले खपत समेत घटाएको छ । आत्मनिर्भर बनेको दुग्ध व्यवसायमा निर्यात गर्ने नीति बन्नु पर्ने हो । स्वदेशी उत्पादन भएका वस्तुलाई प्रयोग बढाउनका लागि राज्यतहबाटै लाग्नु पर्ने हो तर, यहाँ आयातलाई प्रोत्सासन हुन्छ । स्वदेशी उद्योगलाई परेको समस्याको बारेमा बोल्ने सुन्ने कोही देखिँदैन । त्यसको असर व्यवसायीदेखि किसानसम्म परेको छ । 

राज्यले दुग्ध व्यवसायलाई संरक्षण गर्नका लागि के गर्नुपर्छ ? 

सबैभन्दा पहिलो कुरा राज्यले कच्चा प्रदार्थ उत्पादन गर्ने उद्योगका लागि कस्तो नीति बनाउने भन्ने नै हो । लगानीको वातावरण कसरी बन्छ । समस्यामा परेका उद्योगीहरुलाई तत्काल के गर्ने ? दीर्घकालमा के गर्ने ? ब्याज सहुलियत, लिजमा जग्गा, कृषकहरु अनुदान लगायतमा स्थिर नीति नै हुन आवश्यक छ । अहिले हामीलाई चाहिले कच्चाप्रदार्थ र प्याकेजिङको लागि आवश्यक पर्ने समानहरु बाहिरबाट ल्याउनु पर्‍यो भने ४० प्रतिशत भन्सार लाग्छ । तर, बाहिरबाट फिनिस उत्पादन ल्याउने हो भने त्यसको १० प्रतिशत भन्सार छ । त्यसले हाम्रो देशका उत्पादनमा अटोमेटिकल्ली महँगो पर्न जान्छ । त्यसैले गर्दा उद्योगमैत्री छैन हाम्रो देश । 

अर्काे हाम्रोमा औद्योगिक ग्राम नै छैनन् सबै तिरको बेथितीले गर्दा उद्योगहरु स्थापना गर्न गाह्रो छ । उद्योग स्थापना गर्नका लागि जग्गा किन्न बढी पैसा चाहिन्छ । निजी क्षेत्रले बिकट, छेत्रमा गएर उद्योग खोल्यो भने उद्योगको कारणले बाटो बत्ति पुग्छ तर, बिस्तारै बस्ति बढ्दै जान्छ जग्गाको मूल्य बढ्छ । अनि अन्त्यमा तिनै बस्तिले त्यो उद्योगले बाधा गर्‍यो भनेर दुःख दिने गर्छन् । यस्तै कारणले उद्योग पलायन भएको स्थान धेरै छ । त्यसैले राज्यले औद्योगिक ग्राम स्थापना गरिदिनु पर्‍यो । उद्योग स्थापनाको लागि विदेशमा जस्तै ५० देखि सय वर्षसम्म लिजमा न्यूनतम मुल्यमा भाडामा जग्गा दिने व्यवस्था गर्न सकिन्छ । पशुपालनका लागि सार्वजनिक जग्गालाई प्रयोगमा ल्याउन सकिन्छ । अहिले रोपनी जग्गा बाँझो राखेर आनामा उद्योग खोल्नु पर्ने अवस्था छ । त्यसले लागत बढाइरहेको अवस्था छ  । के गर्‍यो भने लागत कम हुन्छ भन्ने तर्फ ध्यान नदिने हो भने आत्मनिर्भर बनेको दुग्ध व्यवसाय पलायन हुने र फेरी विदेशी आयात हुने बस्तुमै भर पर्ने समय आउन सक्छ ।
 
चार्डपर्वमा डेरी व्यवसायीका लागि राम्रो व्यापारको सिजन होला नी ? 

दुधको उत्पादन दैनिक जति हुने सधैँ त्यति नै हुने हो । तलमाथि निकै कम हुन्छ । चाडपर्वमा बढी खपत हुने भएकोले हामीले दुध बढी हुने सिजनमा पाउडर दुध बनाएर राखेका हुन्छौं । दुधको खपत बढ्दा त्यसलाई प्रयोग गरिन्छ । साउनदेखि नै चाडपर्वको सिजन शुरु हुन्छ । दशैं, तिहारदेखि छठसम्म नै दुधको खपत बढी हुन्छ । तर, अहिलेपनि व्यापार बढ्न सकेको छैन । उपभोग गर्ने पुस्ता दैनिक हजारौं बाहिर गइरहेका छन् । उनीहरु रोकिने अवस्था बन्न सकेको छैन । सिजनमा केही राम्रो भएपनि अफसिजनको व्यापारले समस्यामा डेरी व्यावसायीहरु पर्दै आएका छन् । चार्डपर्वमा हामीलाई म्यानेज गर्न केही समस्या छैन । हाम्रोमा कहिल्यै दुध वा दुध जन्य परिकार अभाव भयो भन्ने छैन । बिगतमा हामीसँग प्रविधि र पूर्वाधार नहुँदा समस्या थियो तर, अहिले धुलो दुध नै बनाउन सक्ने ७ वटा उद्योग पुगेका छन् । दुधलाई कोल्ड स्टोरमा राखेर समेत केही दिन टिकाउन सकिन्छ । यस्तै दुध, दही, मोही, घ्यु, बटर, पनिर, चीज, आइस क्रीम विभिन्न मिठाइ समेत उत्पादन गर्नसक्ने अवस्था छ । 

तपाईंहरुले उपभोक्तासँग नगद पैसा लिने तर, कृषकलाई पैसा नदिने देखिन्छ, किन ? 

यो समस्या दुध खपत नहुँदा देखिएको हो । दुध बढी भएको बेलामा हामीले नकिन्दा हुन्थ्यो तर, हामीले किसानको दुध खेर जान दिन हुन्न भनेर हुँदैन त्यसलाई निरन्तर खरिद गर्‍यौं ।  मिल्क होलिडे नहोस्, किसानले उत्पादन गरेको दुध बाटोमा फ्क्नु नपरोस भनेर । हामीले दुध किनेर पाउडर बनायांै । स्टक राख्यौं । त्यो किसानको सहमतिमा नै गरेको हो । दुध फाल्नु भन्दा दुध किन्नुहोस बरु पैसा पछि म्यानेज गर्दा पनि हुन्छ भनेर किन्यौं । तर, पाउडर दुधको खपत नहुँदा समस्या भयो । हाम्रो स्टक बढी भयो, चालु पँुजी सकिँदा बित्तिकै समस्या आएको थियो । अहिले पैसा रोकिएको छैन । तर, सरकारी स्वामित्वमा रहेको डिडिसीको धेरै नै बाँकी भएको थियो । त्यसका लागि राज्यले दिएको छ तर, हामी निजी क्षेत्रलाई सरकारको सहयोग भने कहिल्यै भएन । 

निजी क्षेत्रका दुग्ध व्यवसायीमा मुख्य समस्या के छन् ?

निजी क्षेत्रकै कारण नेपालको दुग्ध व्यवसाय आत्मनिर्भर बनेको छ । तर, आत्मनिर्भर हुँदाहुँदै पनि उद्योग बचाउन धेरै गाह्रो छ । अहिले उद्योगमा कस्ता समस्या छन् भनेर सोध्ने कोही छैन । राज्यले नै सञ्चालन गरेको संस्थामा दुध बेचेका किसानले पैसा नपाउने हो भने किसानहरु त पलायन हुँदै जान्छन् । पलायन हुँदै जाँदा त दुग्ध उद्योगमै समस्या आउन सक्छ । त्यसको लागि राज्यले केही काम अहिले नै गर्नुपर्छ । अहिले अप्ठ्यारोमा परेका व्यवसायीलाई नीतिगत संरक्षण गर्नुपर्‍यो । हामी उद्योगीलाई अनुदान नदिएपनि कम ब्याजमा ऋण त दिन सकिन्छ नी । अथवा उपभोग बढाउन भ्याट छुट दिएपनि हुन्छ । अहिले बटर धेरै स्टक भएर के गर्ने भन्ने अवस्था सिर्जना भएको छ । हामी कच्चापदार्थलाई बिक्री वितरण गर्ने उद्योग हौं । राज्यले यसमा विशेष सहुलियत दिनुपर्छ । दुग्ध उद्योगमा करिब ५० हजार जनाले रोजगारी पाएका छन् । ६ लाख किसान परिवार प्रत्यक्ष रुपमा जोडिएका छन् । नेपालमा दैनिक ६२ लाख लिटर दुध उत्पादन हुन्छ भने ३२ लाख लिटर बजारमा आउने गरेको छ । उत्पादन भएको सबै दुध बजारमा ल्याउन सकिएको छैन ।  अझैपनि दैनिक २ देखि ३ लाख लिटर दुध बढी छ । त्यो दुधलाई व्यवसायीले पाउडर दुध बनाएर राखेका छन् ।

अन्त्यमा, दुधको गुणस्तर कायम गर्न तपाईंहरुले कसरी ध्यान दिने गर्नुभएको छ ?

नेपालमा हामीले प्राकृतिक दुधको स्वाद खाइरहेका छौं । त्यो स्वाद हामीले बिर्सेका छैनौं । हामीले ताजा दुधको स्वाद मन मनाउने गरेका छौं । त्यसैलेपनि उपभोक्ताले खुल्ला दुध प्रति धेरै नै विश्वास गर्ने गरेको पाइन्छ । हामीमा प्याकेजिङ र पाश्चराइज दुध भन्दापनि ताजा दुध खानुपर्छ भन्ने मानसिकताको विकासले गर्दाखेरी खुल्ला दुधप्रति विश्वास छ । तर, पछिल्लो पुस्तामा पाश्चराइज दुध खानुपर्छ भन्ने बढिरहेका छन्, यो परिवर्तन हुन केही समय लाग्छ । पछिल्लो समय अर्गानिक कुरा खाने भन्ने आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise