२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

ADV
मध्यान्ह
२०८१ जेठ ३१ गते २१:४९
प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक समाज नेपालको सहकार्यमा 'अनुवाद गोष्ठी'को आयोजना गरेको छ ।

प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ 'विमल निभा'ले गोष्ठीको ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरे । उनले अनुवाद दुई आयामिक भाषाको ज्ञान र सञ्चार रहेको बताउँदै आफ्नै रैथाने भाषाभाषीमा पनि अनुवादको काम हुनुपर्ने बताए । उनले अनुवादले लोकभाषा, साहित्य, कथन, इतिहास, संस्कृति र मौलिकतालाई बुझ्न र आत्मसात गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै उनले प्रज्ञा प्रतिष्ठानबाट कतिपय प्रसिद्ध पुस्तकहरू अनुवाद भइसकेको बताउँदै त्यस्ता कृति थप प्रकाशित हुँदै जाने पनि बताए ।

प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद) विभाग प्रमुख हंसावती कुर्मीले गोष्ठीको सभाध्यक्षता गरेकी थिइन् । उनले भनिन्, 'भाषा जान्दैमा अनुवाद गर्न सकिन्छ भन्ने छैन, यो एक प्राविधिक विधा हो । प्रज्ञा प्रतिष्ठानले अनुवादबाट उत्पन्न हुने चुनौतीलाई क्रमश: सम्बोधन गर्ने छ । यससम्बन्धी प्रश्न र जिज्ञासाको निरुपण छलफल र विमर्शबाट हुने छ ।'

गोष्ठीमा अनुवादक समाज नेपालका महासचिव डा. ऋषिराम अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अनुवाद ज्ञान, विज्ञान र प्रविधिसँग समेत जोडिने बताए । यसले एकआपसमा भाषाको सञ्चार गर्ने र लेखनमा समृद्धि ल्याउन अनुवादको महत्व रहने धारणा राखे ।

गोष्ठीमा डा.बलराम अधिकारीद्वारा लिखित 'अनुवादको भाषा : सैद्धान्तिक बहस र अभ्यास' विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।कार्यपत्रमा शाब्दिक तथा संरचनात्मक तहको भाषा र अनुसन्धानको औचित्यबारे व्याख्या गरिएको थियोे ।

यस गोष्ठीमा प्रस्तुत गरिएको उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै अनुवादक राजन जोशीले अनुवाद बोझिलो र भड्किलो हुनु नहुने बताए । अनुवादको भाषा सरल र बोधगम्य हुनुपर्ने बताउँदै कुनै पनि स्रष्टाको अनुदित कृतिको मौलिकता र मर्म मर्न नहुने बताए । 

प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (कविता/काव्य) विभाग प्रमुख बाबा बस्नेतले लेखकभन्दा पनि अनुवादक सचेत हुनुपर्ने बताए । गुगलबाट हुने अनुवादमा मौलिकता नरहने बताउँदै उनले यसको विशिष्टतालाई जोगाउन सुझाव दिए ।

गोष्ठीमा प्राज्ञसभा सदस्यद्वय धर्मेश पोखरेल र प्रकाश तिवारीले प्रस्तुत कार्यपत्रमाथि जिज्ञासा राखेका थिए ।

गोष्ठीमा सहभागीमध्येबाट रामबहादुर पहाडी, अजितमान तामाङ, डा.सोम धिमाल, ठाकुर अमगाईं, वेदना उपाध्याय, कृष्ण अधिकारी र उमेश बस्तीलगायतले आ-आफ्नो सुझाव र जिज्ञासा प्रकट गरेका थिए । गोष्ठीको सञ्चालन अनुवादक समाज नेपालका सचिव सकुनकुमार जोशीले गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise