रौतहट : रौतहटको बंकुल छोटी भन्सार नाकाबाट तस्करीमा व्यापक बढेको छ । तस्करी बढ्नुमा नाका सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतो रहेको स्थानीय बताउँछन् ।
भारतीय बजारसँग सिमाना जोडिएको रौतहटमा संगठित तथा पोके तस्करहरूको सक्रियता बढे पनि सुरक्षाकर्मीहरूको मिलोमतो रहको पाइएको छ ।
बंकुल छोटी भन्सार, बडा बंकुल, नरकटियाबाट व्यापक मात्रामा तस्करी फस्टाएको हो । स्थानीयका अनुसार सीमाक्षेत्रमा साना पोके तस्करदेखि ठूला संगठित तस्करहरूको सक्रियता बढेको छ ।
पश्चिमी भेगको बंकुल बजार स्थित छोटी भन्सारमा खटिने सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका गस्ती टोलीले तस्करहरूबाट मोटो रकम लिएर अवैध कारोबार सञ्चालनमा सघाइरहेको नाम नबताउने सर्तमा सशस्त्रका एक प्रहरीले बताए ।
अत्यधिक तस्करी बढेको भए पनि सुरक्षाकर्मीहरू सर्वसाधारणलाई ‘टाइट’ गरेको देखाएर तस्करहरूलाई सघाइरहेका छन् । भारतको बिहार राज्य सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि तस्करहरूले नाकाबाट प्रत्येक दिन हजारौं कार्टुन मदिरा भारत पठाइरहेका छन् ।
सुरक्षा निकायका प्रमुखहरू भने खुला सीमाका कारण समस्या आएको र तस्करीका बारेमा कुनै जानकारी नभएको बताउँछन् ।
बंकुल, नरकटिया नाकाबाट कपडा, कस्मेटिक सामान, चिनी, स्पेयरपार्ट, कुखराका चल्ला, लहसुन, हुन्डी कारोवारी, आलु, प्याज भित्र गाँजा लगायत सामान खुला रूपमै तस्करी भइरहेको छ ।
सीमावर्ती क्षेत्रबाट तस्करी भइरहँदा भन्सारले लक्ष्य अनुरूपको राजश्व संकलन गर्न सकिरहेका छैनन् । तस्करीको सम्बन्धमा सशस्त्र प्रहरीको हेड क्वाटर ११ नम्बर गणका प्रमुख एसपी विक्रम हुमागाईले पाँच वटै बीओपी प्रमुखहरूलाई तस्करी रोक्न कडा निर्देशन दिएको र तस्करीमा संलग्न भएको पाइए कारवाही गर्ने बताए ।