काठमाडौं : नेपालको दुई तिहाइ जनसंख्याको बसोबास शहरी क्षेत्रमा रहेको पाइएको छ । २०७८ सालको जनगणनाको ग्रामीण र शहरी क्षेत्रको विश्लेषणात्मक रिपोर्ट हालै सार्वजनिक भएको छ । यसले शहरी र शहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसंख्या दुई तिहाइ रहेको देखाएको छ ।
रिपोर्टअनुसार ६६ दशमलव ८ प्रतिशत जनसंख्या शहरी र शहरोन्मुख क्षेत्रमा बसोबास गर्छन् ।
२०६८ सालको जनगणना अर्थात् १० वर्ष अगाडिको तुलनामा ग्रामीण जनसंख्या घट्दै गएको छ भने शहरी जनसंख्या ६१ दशमलव ५ प्रतिशतबाट बढेर ६६ दशमलव ८१ प्रतिशतमा पुगेको छ ।
नगरपालिका र गाउँपालिकाको जनसंख्या भने मिल्दोजुल्दो छ । तर, उपमहानगर र महानगरको भने बढ्दो छ । शहरी जनसंख्याका विशेषता मुख्यतः शहरोन्मुख प्रकृतिका छन् । यसबाहेक शहरी केन्द्रमा जनसंख्या १३ दशमलव ३३ प्रतिशतबाट उल्लेख्य रूपमा बढेर १६ दशमलव ८४ प्रतिशत पुगेको देखिन्छ । यसले ठूला शहर र तिनका वरपर जनसंख्याको बढ्दो केन्द्रीकरणलाई संकेत गरेको छ ।
बाँकी शहरोन्मुख, अर्धघना र घना शहरी क्षेत्रमा शहरी जनसंख्या बढेको देखिन्छ । यसबाहेक, ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा हुने गरेको मानिसको आवतजावतलाई संकेत गरेको छ । यसले गाउँ रित्तिँदै गएको देखाउँछ ।
मधेश प्रदेशमा जनसंख्या वृद्धि दर सबैभन्दा उच्च (१९ दशमलव ९ प्रतिशत), त्यसपछि बाग्मती (१४ दशमलव ६ प्रतिशत) र सबैभन्दा कम (१ दशमलव २ प्रतिशत) कर्णाली प्रदेशमा रहेको छ ।
तथ्यांकले शहरी जनसंख्याको वितरणमा सबैभन्दा बढी असन्तुलन तराई क्षेत्रका स्थानीय तहहरूमा रहेको देखाउँछ । मधेश प्रदेशमा बहुसंख्यक वडाहरू (९७१) शहरोन्मुख विशेषताका छन् । बढी शहरी क्षेत्र भएको दोस्रो ठूलो प्रदेश बाग्मती देखिन्छ, जबकि यहाँ पनि ग्रामीण वडाको संख्या ६७२ छ भने कुल शहरोन्मुख र शहरी वडा ४४९ वटा छन् ।
कर्णाली प्रदेशमा ६३७ वटा वडा ग्रामीण विशेषताका छन् भने ७५ वडा शहरी र ६ वटा वडा शहरोन्मुख विशेषतायुक्त छन् ।
नेपालको सन्दर्भमा प्रदेशगत जिल्लाअनुसार ग्रामीण तथा शहरी क्षेत्रको वर्गीकरणअनुसार बाग्मती प्रदेशको काठमाडौं जिल्लामा ९३ दशमलव ५१ प्रतिशत जनसंख्या शहरमा बसोबास गरेको देखिएको छ भने शहरी जनसंख्या नदेखिएका जिल्लाहरूमा कोशी प्रदेशको संखुवासभा र तेह्रथुम, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, लुम्बिनी प्रदेशको रुकुमपूर्व र कर्णाली प्रदेशका डोल्पा र हुम्ला छन् ।
सरोकारवालाहरू शहरलाई मान्छेको भार पर्नुको मुख्य कारण गाउँमा समयमै समृद्धि नपुग्नु हो । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री शहरी जनसंख्याको भार कम गर्न फेरि पनि भूगोललाई केन्द्रित गरेर विकासको नीति तय गर्नुपर्ने सुझाउँछन् ।
‘मान्छे शहर केन्द्रित हुन थाले । यसको कारण समयमै गाउँमा विकास नपुग्नु हो । यसबाट सिकेर अब भूगोललाई केन्द्रित गरेर विकासको नीति तय गरिनुपर्छ ताकि शहरमा मान्छेको भार कम गर्न सकियोस्’, हालै राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वगभर्नर क्षेत्रीले भने ।