–खिमराज गिरी
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई २०८० को नतिजा यही असार १३ गते सार्वजनिक गर्यो । बोर्डले यसपटक नयाँ ग्रेडिङ्ग प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको छ । जम्मा सहभागी ४ लाख ४४ हजार ७८५ विद्यार्थीमा २ लाख ४२ हजार ९२ अर्थात् ४७.८६ प्रतिशतले मात्र ग्रेडिङ प्राप्त गरेको पाइयो । तर, ५२.१४ प्रतिशत विद्यार्थी भने नवग्रेड भएसँगै तिनको भविष्य कता जान्छ भन्ने कुरामा अन्यौलता छाएको छ । खासमा यस वर्ष सैद्धान्तिकतर्फ ७५ पूर्णाकंमा ३५ अंक प्राप्त नगरेका विद्यार्थी नन ग्रेडमा परेका हुन् । तर, दुई विषयमा एनजी पाएका विद्यार्थीले भने लगत्तै साउनको १८ र १९ गते मौका परीक्षा दिन पाउने भएका छन् ।
यसरी गत सालको तुलनामा यस वर्ष भने एसईई दिने परीक्षार्थीको नतिजा धेरै नै खस्केको पाइएको छ । र, माध्यमिक तहमा मात्र नभईकन नेपालको माथिल्लो तहको अध्ययनमा पनि धेरै नै खस्किँदो स्थिति छ । यसको पछाडिको कारण के हो त ? कमजोर विद्यार्थी या शिक्षक या अभिभावक ? कसलाई दोष दिने ? यसमा धेरै शिक्षाविद्हरू तथा जानकारका अनुसार केही हदसम्म विद्यार्थी तथा शिक्षकको पठनपाठन प्रक्रियामा दोष देखिएता पनि अझ दोष त नेपालको शिक्षा प्रणालीमा नै छ । रचनात्मकभन्दा कण्ठ गर्ने खालको पढाइ छ, विद्यालय शिक्षाको समग्र प्रणाली नबदलेसम्म ग्रेडिङमा पर्नेभन्दा नपर्ने विद्यार्थी संख्या बढी हुने नतिजा आइराख्छ ।
यसरी विदेशी मुलुकहरूमा हेर्ने हो भने बालबालिकाहरू पाँच वर्ष नपुगीकन विद्यालय पठाउँदैनन् । तर हाम्रो यहाँ भने अभिभावकलाई कार्यालयको काममा जाने व्यस्तताले अढाई वर्षका बाबु–नानी हुन नपाउँदै विद्यालय खेदिएका हुन्छन् र तिनीहरूको बालमष्तिष्कबाट नै घरपरिवारबाट टाढिने रोगले नैराश्यता छाएको हुन्छ । त्यसको असर जीवनभर परि नै रहन्छ । अर्कोतिर हाम्रो पाठ्यक्रममा सधैँ बाजेका पालादेखिको सैद्धान्तिक ज्ञानको खाका मात्र तयार गरिन्छ तर, व्यवहारिक ज्ञानलाई त्यति महत्वकासाथ हेरिँदैन । छिमेकी देश चीनका प्रायः सहर तथा गाउँहरूमा एक कक्षादेखि नै विद्यार्थीको दिमाग जाँच गरेर उ के कुरामा फिट हुनसक्छ त्यही विषयतर्फ अध्ययन गराउने प्रचलन छ । एउटा ल्याबमा हरेक प्रकृतिका संरचना जस्तैः बत्ती, पानी, भेइकल मेकानिकल, इलेकट्रोनिक्स सामानहरू, विज्ञानसम्बन्धी, कृषि सम्बन्धी सामाग्री, उद्योग, साहित्यका संकेत तथा विविध सामाग्रीहरू राखेर विद्यार्थीलाई केही समय त्यहाँ रमाउन दिइन्छ र बाहिरबाट अब्जर्भ गरेपछि कुन विद्यार्थीको मनस्थिति के विषयमा छ त्यही क्षेत्रमा उसको पढाई सुरु हुन्छ । तबमात्र जीवनको केही अध्याय पार गरेका विद्यार्थीहरू पछि तिनै कोही डाक्टर, कोही इन्जिनियर, कोही पाइलट कोही कृषि विज्ञ बनेर निस्किन्छन् ।
विश्वविद्यालयको अध्ययन पूरा भएपछि अनिवार्यरूपमा ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखिएको हुन्छ र, त्यो विज्ञ व्यक्तिको विज्ञता अब गाउँ–गाउँमा पैmलाइन्छ । यसको लागि प्रत्येक नागरिकहरूलाई पहिला नैतिक तथा व्यवहारिक शिक्षामा जोड दिइन्छ । तब मात्र अनुशासनको दायरामा बाँधिएपछि त्यहाँ न त नैतिक धरातल कमजोर न त त्यो देशमा भ्रष्ट्राचारको मोलमोलाइ । अनि विकासमा अब्बल कहलिन्छन् ।
तर, नेपालको शिक्षा प्रणालीमा भने पृथ्वीनारायण शाहको पालामा भएका कतिपय पाठ्यक्रमलाई अझै पनि राखिएको छ । परिवर्तनको लागि त व्यवहारिक शिक्षामा नै जोड दिनुपर्छ भन्ने मानसिकता हाम्रा कतिपय फिलोसोफरहरूमा पनि पाइँदैन । पहिलाको जस्तो घोकन्ते विद्या धावन्ते खेती भनेर अब काम छैन । त्यसैले जबसम्म हाम्रो शिक्षा प्रणालीमा सुधार गरिँदैन र शिक्षकहरूलाई केही सुविधा थप दिएर पनि यस क्षेत्रमा लगाव राख्न लगाइँदैन तबसम्म शिक्षकहरू राजनीति गरेर हिँड्ने विद्यार्थीहरू पनि आठ कक्षा पढ्न पाएको छैन, यो दल र उ दल भनेर हिँड्ने हो भने नेपालको शिक्षा क्षेत्र सदैव अहिलेको एसईईको नतिजा जस्तै हुनेछ । यसको लागि सरोकारवालाले समयमा नै सोच्न जरुरी भइसकेको छ ।