सागर भण्डारी/मध्यान्ह
गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ४ गोजुगांकी कुमारी पुनलाई माईलो सन्तानको रुपमा छोरा जन्मियो । दोस्रो सन्तानको रुपमा छोरो जन्मेपछि परिवार र छरछिमेकी सबै खुसी भए । छोराको नाम राखे– समीर पुन । जेठो छोरा हुर्किसकेका थिए । ‘दुई सन्तान ईश्वरका बरदान !’ भन्ने सोचेर पुन दम्पतिले अब अरु सन्तान नपाउने निधो गरेको थियो ।
सानोमा निकै रिष्टपुष्ट थिए समीर । उनी विस्तारै ठूलो हुँदै गए । बामे सर्ने बेला र हिँड्डुल गर्ने समय आएपछि उनमा अनौठो किसिमको व्यवहार देखिन थाल्यो । उनी एक्कासी चिच्याउने, बड्बडाउने र जथाभावी कुद्ने गर्न थाले । उनमा अनौठो शारीरिक र मानसिक व्यवहार देखिन थाल्यो । समीरसँगै जन्मेका बालबालिकाहरु विद्यालय जाने उमेरका भएपछि परिवारलाई झनै पीडा थपियो ।
विस्तारै उनी ठूलो हुँदै गएपछि घरबाट हिँडेर लामो समयसम्म घरमा नै नआउने गर्न थाले । उनको रेखदेख गर्न गाह्रो हुन थाल्यो । धरालो नै बसेर पनि रेखदेख गर्न नसकिने भएपछि परिवारले उनलाई दाम्लोमा बाँधेर राख्न थाले । अहिले समीर परिवारको बाध्यताले गर्दा आफ्नै घरमा बाँधिएका छन् ।
मानसिक तथा शारीरिक अवस्था कमजोर भएका समीरलाई परिवारका सदस्यले झण्डै २ वर्षदेखि दाम्लोमै बाँधेर राख्ने गरेको स्थानीयवासी बताउँछन् । जन्मँदा स्वास्थ्य अवस्था राम्रो रहने पनि अहिले उनले अस्वभाविक व्यवहार देखाउने गरेका छन् । बालकलार्ई बाँधेको डोरी खोल्दिने वित्तिकै पल्टने, घरमा राखिएका सामान फ्याँकेर नष्ट गरिदिने, घरबाहिर गएर हराउने जस्ता अस्वभाविक क्रियाकलाप गर्ने भएकाले चोटपटकबाट बचाउन बाँधेर राख्ने गरेको समीरकी आमा कुमारीले बताइन् ।
कुमारीका अनुसार समीर एकपल्ट भिरबाट समेत लडेका थिए । उपचारका लागि परिवारले पहल नगरेका होइनन् । आफन्त र साहुबाट ऋण लिएरै भएपनि समीरको उपचारका लागि बुटबल र भैरहवासम्म पु¥याए । त्यसै त आर्थिक अवस्था कमजोर रहेका उनीहरुलाई छोराको उपचारका लागि पैसा पुगेन । त्यसपछि फर्कार पुनः घरमै लिएर आए । ‘श्रीमानले मजदुरी गरेर कमाएको अलिअलि पैसा पनि सकियो । न छोरोलाई नै निको भयो न पैसा बच्यो,’ समीरकी आमा कुमारीले दुःखेसो सुनाइन् ।
कुमारीका अनुसार समीरले दिसा पिसाबसमेत तर्काउन नसक्ने भएका कारण बाँधेर राख्न थालिएको हो । ‘दिनभर मेलापात जानुपर्छ यसको अगाडि–पछाडि गरेर पाउने भए पो ! मेलापात गर्नै प¥यो,’ कुमारी आफ्ना दुःखका पोका खोल्दै भन्छिन्, ‘हामीलाई त दैवले पनि ठग्यो । मेलापात नगरे के खाने ? यसको रेखदेख गर्न त समय नै मिल्दैन ।’
समीरले न त भोक लाग्यो भनेर भन्न सक्छन् न दिसा पिसाब लायो भनेर नै भन्न सक्छन् । भोक लाग्यो भने नजिकै रहेको ढुङ्गा माटो समेत खाने गरेको कुमारीले सुनाइन् ।
कुनै ठूलो अस्पतालमा लगेर छोराको उपचार गर्ने अभिलाषा छ कुमारीको । ठूलो अस्पतालमा उपचार गर्दा छोरो कसो नहोला र ! कहिलेकाहिँ आत्मविश्वास पनि जाग्छ उनमा । तर, पैसा कहाँबाट जुटाउनु र छोराको उपचार ठूलो अस्पतालमा गराउन । राज्यले समीरलाई अपाङ्ग भनेर केही सय रुपैयाँ दिन्छ । ती केही सय रुपैयाँले कसरी लाखौं लाग्ने उपचार खर्च जुटाउनु ? कुमारीले धेरै पटक सरकारी हाकिमहरु बस्ने कार्यालयका ढोका चहारेर गुहार पनि मागेकी छन्– सरकार छोराको उपचार गरिदिनुहोस् न ! तर, सरकारले अहिलेसम्म उनको याचना सुनेको छैन ।
कुमारीलाई अझै पनि लाग्छ, छोरोको उपचार गर्न कतैबाट खर्च जुटी पो हाल्छ कि ! कोही मनकारी भेटि पो हाल्छन् कि ! ‘आश त लाग्छ नि, छोरो हो, हाम्रो त भविष्य हो, भविष्यको माया मार्न कसरी सकिन्छ र ? याचित भावमा कुमारी भन्छिन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies