–कौशल गोपालवंशी
आखिर किन मधेसवासी बेला–बेलामा चुरे भावर क्षेत्रको संरक्षणको लागि आन्दोलन गर्छन् ? भावर क्षेत्रबाट ६० कि.मी.को दूरीमा बसेको मधेसीले पनि भावर क्षेत्रको संरक्षणको लागि किन आवाज उठाउँछन् ? खास कारण चाहिँ के हो ? किन तराईवासीको लागि जरुरी छ चुरे भावर क्षेत्र ? तराईको भूमि र भावर क्षेत्रबीचको सम्बन्ध के छ ? किन हराभरा भावर बिनाको तराई कल्पना गर्न सकिँदैन ?
हामी सबैलाई थाहा छ, तराईको लागि पानीको स्रोत भनेको उपसतहको पानी हो । उपसतहमा सतहबाट पानी जान्छ । उपसतहमा पनि पानीका विभिन्न लेयरहरू हुन्छ, जसलाई हामी एक्युफायर भन्छौ । यी एक्युफायरहरूमा भएको पानीलाई हामीले श्यालो तथा डिप ट्युबवेलबाट पानीलाई पम्पिङ गरेर प्रयोगमा ल्याउछौं । यसरी उपसतहको पानीलाई दीर्घकालीनरूपमा प्रयोग गरिराख्नको लागि एक्युफायरलाई रिचार्ज गरि राख्नुपर्छ । जब सतहको पानी उपसतहमा छानिएर जान्छ, त्यसलाई हामी रिचार्ज गरेको भन्छौं । चुरेभावर क्षेत्रको जमिनका दानाहरू ठूला–ठूला भएकोले उक्त क्षेत्रमा भएको सतहको पानी सजिलो उपसतहमा जान्छ । यसरी चुरेको सतहबाट उपसतहमा गएको पानी चुरे, तराई, बिहार, युपि हुँदै गंगा र ब्रह्मपुत्र नदीमा गई मिसिन्छ । त्यसैले चुरे दोहनले तराई मधेसको पानीको मुहान मात्र सुक्ने होइन, यसले गर्दा तराईको तल्लो तिर रहेको भारतीय भू–भागमा पनि पानीको मुहान सुक्नसक्ने सम्भावना रहेको छ ।
तसर्थ, चुरे दोहनले अन्तर्राष्ट्रिय स्तरमा समेत असर पार्ने भएकोले यसको संरक्षण, सम्वर्द्धन र विकासको लागि अन्तर्राष्ट्रिय समुदायले पनि समय मै ध्यान दिनु आवश्यक रहेको देखिन्छ । साथै, चुरे संरक्षणको लागि अन्तर्राष्ट्रिय स्तरकै संरक्षणसम्बन्धी अभियान चलाउनु पर्ने देखिन्छ ।
चुरे क्षेत्रको जमिन बलौटे भएकोले यो क्षेत्रमा परेको पानीले छिटो र प्रचुरमात्रामा एक्युफायरलाई रिचार्ज गर्न सक्ने भएकोले चुरेभावर क्षेत्रमा मौसमअनुसारको पर्याप्त वर्षा हुनु एकदम जरुरी छ । जसको लागि त्यहाँ भएको वनजंगल, पशुपक्षीलाई संरक्षण, सम्बद्ध र विकासको जरुरी छ । तर, यति संवेदशील भएपनि चुरे संरक्षण सम्बन्धित कार्यक्रममा सरकारले ध्यान देखिएको देखिन्न । यति मात्र होइन, विभिन्न बहानामा पटक–पटक गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै चुरे क्षेत्रबाट ढुंगा उत्खननको लागि कार्य गर्ने गरेको छ ।
गृहको एउटा विज्ञप्तिलाई आधार मानी विभिन्न जिल्लाका प्रमुखहरूले चुरे क्षेत्रको ९१ ओटा स्थानबाट ढुंगा गिट्टी निकासीको गर्ने गर्छन् । यसरी अनुमति दिइएका अधिकांश ठाउँहरू स्थायी र अस्थायी नदीहरू पर्दछन् । यसरी नदीको स्थीर किनारलाई मासी ढुंगा गिट्टीको उत्खनन कार्यले गर्दा पछि अचानक बाढी आउने गर्दछ । तर, सरकारले नदीमा भएको ढुंगा मात्र निकासी गर्ने भने पनि वास्तविकतामा चाहिँ नदीको किनारामा रहेको जंगललाई फडानी गरि ढुंगा गिट्टीको उत्खनन गर्ने कार्य सरकारकै सहयोगमा भइरहेको छ । सरकारले ढुंगा गिट्टीको निर्यात गरी व्यापार घाटा कम गर्ने रणनीति अगाडि बढाइरहँदा चुरे पूर्णरूपमा नष्ट भई तराई मरुभूमिमा परिणत हुने निश्चित नै छ । सरकारको यस्तो नीतिलाई मधेस केन्द्रित मानिने नेताहरुले पनि भरपुर साथ दिने गरेको पाइन्छ ।
हुन त उपसतहलाई रिचार्ज गर्नको लागि मधेसमा भएको वर्षाले नि हुन्थ्यो तर, मधेसमा साना–साना दाना भएको माटो र दिन प्रतिदिन बढ्दो सहरीकरणले गर्दा वर्षाको पानी रिचार्ज गर्नको लागि पर्याप्त नहुने देखिन्छ । जाइकाको रिपोर्टअनुसार बढ्दो सहरीकरणको कारणले तराईमा करिब २० लाखको संख्यामा हैण्ड पम्प प्रयोगमा आएको छ । जसलाई श्यालो ट्युबवेल पनि भन्छौ । श्यालो ट्युबवेलमा पाइपको साइज १० सि.मि. भन्दा कम हुन्छ तर, पछिल्ला दिनहरूमा श्यालो ट्युबवेलमा पाइपको साइज १५ सि.मि. सम्म बढी प्रयोग गर्ने गरेको देखिन्छ । श्यालो ट्युबवेलले ५० मिटरसम्मको पानी हैण्ड पम्पले तान्न सकिन्छ भने ५० मिटरभन्दा तलको पानी तान्नको लागि डिप ट्युबवेलमा सबमर्शिवल पम्पको प्रयोग गरिन्छ । ५० मिटर गहिराईसम्मको एक्युफरमा आर्सेनिकको मात्रा बढी भएकोले खानेपानीमा प्रयोग गर्न नहुने खालको छ । ५० मिटरसम्मको पानीको लेयरको प्रमुख स्रोत वर्षाको पानी, हैण्ड पम्पबाट निस्केको पानी, तराईमा रहेको पोखरी र तालहरू छन् । भन्नुको अर्थ के हो भने, जुन लेयरको पानीलाई रिचार्ज गर्ने सक्ने क्षमता मधेसमा छ, त्यो लेयरमा आर्सेनिक छ । त्यसलाई हामी खानेपानीको रूपमा दीर्घकालीनसम्म प्रयोग गर्न सकिँदैन । तराईवासीको लागि सुरक्षित खानेपानीको मुहान भनेको ५० मिटरभन्दा तलको पानीको लेयर नै हो । ५० मिटरभन्दा तलको लेयरमा हानिकारक बायोलोजीलन र केमिकल तत्व नभएकोले खानेपानीको लागि उपयुक्त लेयर हो । तर, ५० मिटरभन्दा तलको लेयरको रिचार्ज जोन भावर क्षेत्र नै हो । त्यसैले भोलिको दिनमा तराईलाई मरुभूमि बनाउनबाट जोगाउनको लागिको ढिलाइ नगरी भावर क्षेत्र संरक्षण गर्नु बाहेकको विकल्प नरहेको देखिन्छ ।
चुरेभावर क्षेत्र तराईको लागि रिचार्ज जोन मात्र नभई तराईलाई बस्न योग्य बनाउने भूमि पनि हो । चुरे क्षेत्रको विनाशको कारण तराईको तापक्रम पनि दिन प्रतिदिन बढ्दै गरेको, साथै बेमौसमी वर्षा र समय–समयमा बाढीको मार समेत खेप्नुपरेको छ । जहाँ चुरेभावर क्षेत्र विनाशको कारण पनि जोडिएको पाइन्छ । तराईको इकोसिस्टमको महत्वपूर्ण हिस्सा हो चुरेभावर । तातो हावा हलुका भई माथि उडेर जान्छ, फेरि त्यही तातो हावा चुरेभावरमा भएको जंगलको सम्पर्कमा आई वोटबिरुवाले फाल्ने अक्सिजनसँग मिक्स हुँदा तातो हावामा पुनः अक्सिजनको मात्रा बढ्छ र फेरि चिसो हावा तराई तिर फर्किन्छ । यसरी चुरेभावरमा भएको वनजंगलले तराईको बढ्दो तापक्रमलाई नियन्त्रण गर्दछ ।
त्यसैगरी चुरे क्षेत्रको नदीबाट ढुंगा गिट्टीको निकासी गर्दा त्यहाँ साना–साना दाना मात्रा बाँकी रहन्छ । बाढीको समयमा यी माटो पानीसँग बगी तराईको कृषि योग्य जमिनमा गएर थुप्रीन्छ, जसले गर्दा कृषि योग्य जमिनको उर्वरा शक्ति कम हुँदै जान्छ । त्यसरी नै सिँचाइको लागि बनाइएका विभिन्न संरचनाहरूमा पनि पनि माटोको लोड बढ्दै जान्छ, जसले गर्दा नहरको क्षमता कम हुन्छ, रेगुलेटिङ्ग संरचनाहरू ब्लक हुने गर्छ । त्यति मात्र कहाँ हो र, नहरबाट खेतमा गएको पानीमा पनि बालुवाको मात्रा सामान्यभन्दा बढी हुने भएकोले जमिनको उर्वरा शक्ति घटाउनुको साथै, ओभर इरिगेसन हुने सम्भावना बढी हुन्छ ।
पूर्व–पश्चिम राजमार्ग धेरै ठाउँमा भावर क्षेत्र भएर गएको छ । रिचार्ज जोनलाई यसरी कंक्रिट गरेर राजमार्ग बनाउनु त्यति बेला नै गल्ती गरिएको भन्न सकिन्छ । तर, वर्तमान अवस्थामा पनि भावर क्षेत्र भएर गएको राजमार्गको वरिपरि सहरीकरण गर्न दिनु सरकारको ठूलो लापरबाही देखिन्छ । यी क्षेत्रहरूमा पहिला जंगल फडानी गरि सुकुम्बासी बस्थी बसाउँछन्, त्यसपछि भोटको लोभले तिनीहरूलाई जमिनको लालपुर्जा दिने गरेको देखिन्छ । यसरी नै रिचार्ज क्षेत्रमा सहरीकरण गर्न सरकारले प्रत्यक्ष रूपमा नै सहयोग गरेको देखिन्छ ।
निष्कर्षमा, भावर क्षेत्रलाई नजोगाएको खण्डमा तराई मधेश रहँदैन । तत्कालको लागि तराई मधेशका जनता प्राकृतिकरूपमा अप्ठ्यारोमा पर्नेछन् भने दीर्घकालीनरुपमा समग्र तराई मधेश नै मरुभूमिकरण हुनेछ । जसलाई अहिलेदेखि नै रोक्ने उपायमा सरकार लाग्नु अनिवार्य छ ।