२०८२ असोज १० गते शुक्रवार / Sep 26 , 2025 , Friday
२०८२ असोज १० गते शुक्रवार
Ads

धादिङको लोकुवामा हरायो रातोमाटोको रौनक, आधुनिकतासँगै रित्तिँदै गाउँ र दशैंको उल्लास

shivam cement
मध्यान्ह
२०८२ असोज १० गते २१:१८
धादिङको लोकुवामा हरायो रातोमाटोको रौनक, आधुनिकतासँगै रित्तिँदै गाउँ र दशैंको उल्लास

धादिङ : धादिङको गंगा जमुना गाउँपालिका–७, बुढाथुमस्थित लोकुवा गाउँमा दशैंको आगमनसँगै घरघरमा रातोमाटोले लिपपोत गरेर देखिने सुन्दरता र सांस्कृतिक रौनक अब केवल सम्झनामा सीमित हुन थालेको छ । एक दशक अघिसम्म दशैं सुरु हुनासाथ गाउँका हरेक घरलाई रातोमाटो र सेतो कमेरोले सिंगार्ने चटारोले छोप्थ्यो, तर आज त्यो परम्परा आधुनिकताको प्रभाव र बसाइँसराइको चपेटामा परेर लगभग लोप भएको छ ।

पहिले दशैंको सुरुवातको संकेत दिने यही घर पोत्ने चलनले गाउँमा बेग्लै उल्लास छर्ने गथ्र्यो । स्थानीयहरू बारीका पाखामा गएर रातोमाटो खन्नमा व्यस्त हुन्थे । तर, अहिले ती माटो निकाल्ने ठाउँहरू झाडीले ढाकिएका छन् र सुनसान छन् । गाउँमा परम्परागत खर र ढुंगाले बनेका घरहरू विस्थापित भई आधुनिक पक्की घर बन्ने क्रम बढेसँगै रातोमाटोको पहिचान पनि मेटिँदै गएको हो ।

आधुनिकताले मेटायो मौलिकता 

पछिल्लो समय गाउँगाउँसम्म सडक सञ्जाल पुगेपछि स्थानीयहरू परम्परागत निर्माण सामग्री ढुंगा, माटो र काठको सट्टा सिमेन्ट, फलामका डन्डी र जस्तापाता प्रयोग गरी आधुनिक घर बनाउन आकर्षित भएका छन् । यसले गर्दा ग्रामीण मौलिकता हराउँदै गएकोमा बूढापाकाहरू चिन्तित बनेका छन् ।

‘पहिले घर पोत्न थालेपछि गाउँमा दशैं आएजस्तो लाग्थ्यो, सबैतिर रमाइलो हुन्थ्यो,’ एक स्थानीय वृद्धले भने, ‘अहिले न घर पोत्ने चलन रह्यो, न त दशैंको त्यो पुरानो रौनक नै ।’

No description available.

रित्तिँदै गाउँ, युवाविहीन बन्दै समाज

गाउँको सांस्कृतिक पहिचान मात्र होइन, सामाजिक संरचना नै खल्बलिँदै गएको छ । गाउँघर अहिले बूढापाकाहरूको बसोबास क्षेत्रमा परिणत भएको छ । गाउँको सरकारी विद्यालयबाट एसईई उत्तीर्ण गरेपछि उच्च शिक्षा र रोजगारीको खोजीमा युवाहरू सहर पस्ने क्रम तीव्र छ । जसका कारण अहिले गाउँमा १८ देखि २५ वर्ष उमेर समूहका युवा भेट्न मुस्किल पर्छ ।

यसको प्रत्यक्ष उदाहरण लोकुवाको छभाई टोल हो, जहाँ कुनै बेला ९–१० घरधुरीको बसोबास थियो भने अहिले घटेर ६ घरमा सीमित भएको छ । ती घरका अधिकांश परिवारले पनि विकल्पको रूपमा सहरमा घर बनाइसकेका छन् । यो क्रम जारी रहे अबको एक दशकभित्र गाउँ पूरै रित्तिने हो कि भन्ने चिन्ता बढेको छ ।

No description available.

खस्कँदो दशैंको उल्लास

युवा शक्तिको पलायनले दशैं जस्ता चाडपर्वको उल्लासलाई समेत फिक्का बनाएको छ । पहिले गाउँका चोकचोकमा हालिने लिंगे पिङहरू आज देखिन छाडेका छन् । भेला भएर तास खेल्ने र रमाइलो गर्ने चलन पनि हराउँदै गएको छ । युवाहरूको अनुपस्थितिले गाउँमा दशैं आए पनि नआएजस्तो सुनसान महसुस हुन थालेको स्थानीयहरू बताउँछन् ।

बसाइँसराइका बहुआयामिक कारणहरू

२०७२ सालको विनाशकारी भूकम्पपछि गाउँबाट पलायन हुने क्रम झनै बढेको हो । भूकम्पले परम्परागत घरहरूमा क्षति पु¥याएपछि नयाँ बन्ने घरहरू आधुनिक र पक्की बनाउन थालियो, जसले परम्परागत शैलीलाई थप विस्थापित गर्‍यो । यसका साथै, ग्रामीण क्षेत्रमा रोजगारीका अवसरहरूको अभाव र सहरी क्षेत्रको आकर्षणले बसाइँसराइलाई तीव्र बनाएको हो ।

धादिङको लोकुवा गाउँ नेपालका धेरै ग्रामीण बस्तीहरूको प्रतिनिधि पात्र बनेको छ, जहाँ विकास र आधुनिकताको आगमनसँगै मौलिक पहिचान, सांस्कृतिक परम्परा र सामाजिक उल्लास हराउँदै गएको छ । यदि समयमै स्थानीय संस्कृति संरक्षण र ग्रामीण क्षेत्रमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान नदिने हो भने यी गाउँहरू केवल नाममा सीमित हुने दिन टाढा छैन ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise