– लेखराज रेग्मी
गोर्खाबाट सुरु भएको राज्य विस्तार अभियान नुवाकोटमा अलिदिन बास बस्यो । सामन्ती राज्य प्रणालीमा राज्यको विस्तार भनेकै चक्रवर्ती सम्राट बन्ने साम्राज्यवादी महत्वाकांक्षा नै हो । त्यतिवेला दरबार र यसको छत्रछायाका प्रजा कृपापात्र शान्त शालिन र समृद्ध हुनु भनेकै राज्य बलियो हुने भन्ने हुन्थ्यो । पारिवारिक आर्थिक संरक्षणको सुनिश्चितता नै सेना भारदार र प्रशासनिक क्षेत्र बलियो बन्ने आधार हुन्थ्यो । त्यसैले नुवाकोट बसाईका क्रममा पनि उनको शक्तिको स्रोत गोर्खा नै रह्यो । पूर्ववर्ती शासकभन्दा पृथक र लोकप्रिय शासनकै बलमा विपक्षलाई बलपूर्वक दमन गर्दा पनि प्रजाबाट उनले समर्थन जुटाउन सके ।
कुटिर उद्योग, कलासंस्कृति भूगोल र सम्पनताले उनलाई काठमाडौंको खाल्डोले ललाइत गरिरह्यो । उनले उपत्यकाभित्र शासकहरुका ऐयाशी र आपसी मनमुटावले ग्रस्त शासकीय स्थितिको राम्रो आकंलन गर्न सके र खाल्डो कब्जा गर्न सफल भए । तर, शासकीय संयन्त्रहरुलाई पूर्णंतया समाप्त गरी अफ्नो शासकीय स्थिति मजबुत नगर्दासम्म उनले यसलाई राजधानी र दरबारलाई बलियो बनाउन सक्ने थिएनन् । भिन्न सांस्कृतिक जगमा बसेको काठमाडौँलाई पूर्णंत अनुकुल बनाउन शख्ती, भेद, सामाजिक सुधारलगायत बुद्धि बर्कत र चातुर्य आदि प्रयोग गरे । फेरि पनि शक्तिको स्रोत गोर्खा नै रह्यो । उपत्यकाका तीन राज्यभन्दा पृथक आधार रहेकै कारण किर्तिपुरलाई जित्न सकस प¥यो । यस विषयमा थप अध्ययन आवश्यक देखिन्छ ।
उपत्यकालाई पूर्णंत अधिनस्थ गरिसकेपछि, आधारभूत सैन्य सुदृढिकरण सम्पन्न गरिसकेपछि उनको विजय यात्रा सुगम बन्यो । त्यतिबेला रहेका पहाडि राज्यहरुको तराई र मैदानी क्षेत्र आधारित अर्थव्यवस्था समस्याग्रस्त हुनु तथा दक्षिणी शासकका चुनौतिहरु रहनुका कारण कमजोर भैरहेका र आर्थिक केन्द्रको रुपमा उठिरहेको उपत्यकामा आफ्नो राज्य कायम रहेकै कारण उनलाई राज्य विस्तारमा सुगमता थियो । सैन्य संरचना सुधारसँगै राज्य विस्तारले प्राथमिकता पायो । भारतमा विस्तार भैरहेको फिरङ्गी शासनको त्रासले पहाडि भूगोलमा आ–आफ्ना नालायक सत्ताका विरुद्ध गोर्खाली सेना र नेपाली शासकप्रति आशा र भरोसा पैदा भैरहेको थियो । खसआर्य बहुल क्षेत्र मुगल तथा फिरङ्गी शासनको पक्षमा हुने कुरा थिएन । त्यसैले पश्चिमको बिस्तार कम चुनौतिपूर्ण रह्यो । विभिन्न जनजाती बहुलक्षेत्रमा स्थापित खस शासकीय सत्ता कमजोर जनाधारका कारण शैन्य बलमा आधारित रहेका र यसैकारण कमजोर थिए । त्यसैले पृथ्वीनारायणले ठुलो जनप्रतिरोध व्यहोर्न परेन । यी सबै अनुकुलता र भरपर्दो शैन्य संरचनाका कारण उनको राज्य बिस्तार अंग्रेजसँगको प्रत्यक्ष मुठभेडमा नपुग्दासम्म रोकिएन ।
यो एकता थिएन, जसरी पढाइएको छ । यो राज्य विस्तार नै थियो । तर, तथ्य के हो भने सक्षम, समर्पित र बफादार सेना तथा शासकीय फेरबदललाई सहज स्वीकार गर्ने जनमतको अनुकुलता नै यस्तो कारण हो जसले नेपाल खाल्डोबाट निकालेर विशाल पहाडि साम्राज्य खडा गर्यो । शासक तथा यो अभियानका योजनाकार र संचालक हुनुका नाताले यसको श्रेय पृथ्वी नारायण शाहलाई नै जान्छ । यति ठूलो भूगोल र सुदृढ शैन्यशक्ति तथा यसको सामरिक महत्ताको अभावमा यो पहाडि राज्य फिरङ्गिबाट बच्न सम्भव थिएन । यसले उनको युद्ध नीतिको सफलतालाई देखाउँछ । गोरखामै बसेर पनि यो राज्य विस्तार पनि सम्भव थिएन । काठमाडौं उपत्यकाको समृद्ध आर्थिक आधार एउटा महत्वपूर्ण कारक हो । त्यसैले उनलाई देवत्वकरण गरेर प्रस्तुत गरिनु पनि बेठिक नै हुन्छ ।
आज इतिहासलाई नकारेर होइन इतिहासका कमजोर र गलत पक्षलाई सुधार गर्दै एउटा सवल र समुन्नत गणतान्त्रिक राज्य व्यवस्थामा रुपान्तरण गरेर मात्र हामीले जनता र इतिहासप्रति न्याय गर्न सकिन्छ । अहिलेका शासकहरुमा देखिने दरबारिया शासकीय आचरण र पछिल्लो समयमा विकसित ऐयासी प्रवृत्तिको सांस्कृतिक निन्तरतासँग सम्बन्ध विच्छेद गर्दै गणतन्त्र अनुकुल शासकीय आचरण प्रवृत्ति र उन्नत गणतान्त्रिक शासकीय संस्कृतिको समृद्ध परम्पराको निर्माण र विकास आजको अरिहार्यता हो । इतिहासलाई स्वीकार गर्नु पश्चगामी बन्नु होइन, इतिहासलाई आडम्बरपूर्णं ढंगले पक्रनु वा बिरोध गर्नु देशभक्त बन्नु त झनै होइन । आजको आवश्यकता इतिहासप्रति न्याय र गर्न सक्ने गरी यसको अध्ययन र निरुपण गर्नु नै हो । यसक्षेत्रमा पर्याप्त काम हुन बाँकी नै छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies