–कुञ्ज देवी उपाध्याय
नारी हुनुुको दुखले रुन्छे नारी
भेडाहरू उसलाई लुछेर रमाउँछन्
ठुलो संसारमा आफूूलाई एक्लै पाउँछे
सत्य हराएको देखेर डराउँछे
नारी हुनु नै उसको दुर्भाग्य हो र ?
शरीर छोपेर राख्नु नै
अपराध हो भने
निर्लज्ज भएर हेर
हिँडिदिन्छे सडकमा लामो लस्कर लिएर
नाङ्गो शरीर देखाउँदै
बस्ने गर
बासनाको पासो थापेर
या आँखामा पट्टी बाँधेर
आँसुको झर्नामा सपना बगाएर
बाँच्नुको अर्थ के थाहा भेँडालाई
जन्म दिँदाको पीडा
सहनेहरूलाई सोध
नारी बन्न कति गाह्रो छ
बासनाको तातो आगोमा
पोलिएको उसको शरीरबाट
ज्वाला फैलिएको छ
डढेलो लगाउन ।।