२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

सपना बोकेर गोवा पुगेका सविन नाइट क्लबमै अस्ताए

shivam cement
२०८२ मंसिर २७ गते १३:५१
Shares
सपना बोकेर गोवा पुगेका सविन नाइट क्लबमै अस्ताए

झापा : “छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि । धेरै खुसी छौँ जस्तो छ, फेरि टीका पनि लगाएका छौँ ?” फेसबुक मेसेन्जरको भिडियो कलमा आमाको माया मिसिएको प्रश्न सकिन नपाउँदै छोराको सहज जवाफ आयो, “आज मन्दिर गएर पूजा गरेर आएको हुँ मम्मी । हजुर बिरामी परिरहनुहुन्छ नि, त्यसकै लागि पूजा गरेको हुँ ।”

यो छोटो तर भावुक संवाद झापाको भद्रपुर नगरपालिका–३ गोलेचोकका २० वर्षीय सविन विश्वकर्मा र उनकी आमा लालमाया विश्वकर्माबिच भएको अन्तिम कुराकानी थियो । आमाको स्वास्थ्य लाभको कामनासहित मन्दिरमा पूजा गरेर फर्किएका सविनको त्यो हँसिलो अनुहार आज परिवारका लागि सम्झनाको तस्बिर मात्र बनेको छ ।

गत साताको शनिबार भारतको उत्तरी गोवास्थित एक नाइट क्लब तथा रेस्टुराँमा भएको भीषण आगलागीले सविनको जीवनसँगै उहाँका सपना, योजना र परिवारका आशा सबै निभाइदियो । उक्त आगलागीमा पाँच जना नेपालीसहित २५ जनाको ज्यान गएको थियो । सोही नाइटक्लबमा सेफका रूपमा कार्यरत सविन निसास्सिएर ज्यान गुमाउनेमध्ये एक थिए ।

सविनको मृत्युको खबर परिवारका लागि अकल्पनीय थियो । बिहीबार दिउँसो मात्रै उनको शव झापा आइपुग्यो र शुक्रबार अन्त्येष्टि गरियो ।  “छोराको शव देखेपछि मात्र पत्याउन सक्यौँ”, सविनका बुबा टीकाराम विश्वकर्माले भारी मनले भने,  “नत्र त अझै कतै बाँचिरहेको होला भन्ने आशा थियो ।”

सविन टीकाराम र लालमायाका जेठा छोरा हुन् । उनले झापामै होटल म्यानेजमेन्टमा डिप्लोमा अध्ययन गरेका थिए । सानैदेखि आत्मनिर्भर बन्ने सोच राख्ने सविन पढाइमा मात्र होइन, कामप्रति पनि उत्तिकै जिम्मेवार थिए ।

डिप्लोमा सकेपछि उनले भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित एक होटलमा ६ महिना ‘इन्टर्नसिप’ गरेका थिए । त्यसपछि केही समय झापाकै विभिन्न होटलमा तीन–चार महिना काम गरे । “छोराले जे काम गरे पनि मन लगाएर गर्थ्यो”, आमा लालमाया सम्झिन्छिन्, “सानो उमेरमै परिवारको चिन्ता लिन थालेको थियो ।”

त्यसपछि सविन ठूलीआमा (लालमायाको काकाकी छोरी) सँगै गोवाको एक होटलमा कामका लागि पुगे । केही समयपछि हाल कार्यरत नाइट क्लबमा सेफका रूपमा प्रवेश गरे र विगत ६ महिनादेखि त्यहीँ कार्यरत रहेका थिए । कामको वातावरण, तलब र भविष्यप्रति उनी सन्तुष्ट थिएनन् ।

घटनाको दिन भद्रपुरबाट गरिएको मेसेन्जर ग्रुप कलमा सविनकी हजुरआमा पनि जोडिएकी थिइन् ।  “म काममा व्यस्त थिएँ”, लालमाया सम्झिन्छिन्, “छोरालाई काम सकेर कोठामा पुगेर फेरि कल गर्छु, हजुरआमासँग कुरा गर्दै गर भनेँ ।”

एक घण्टापछि कोठामा पुगेपछि लालमायाले छोरालाई फोन गरिन् । तर कल उठेन । “काममै व्यस्त होला भन्ने लाग्यो”, उनी भन्छिन्, “तर सधैँ बिहान सबेरै उठेर कल गर्ने छोराको फोन आएन । बरु भारतको सिलिगुडीबाट छोरा काम गर्ने ठाउँमा भएको आगलागीको खबर आफन्तले सुनाए । त्यो क्षण त खुट्टामुनिको जमिनै भासिएजस्तो भयो ।”  सविन काम गरिरहेको नाइट क्लबमा भएको आगलागीले केही मिनेटमै भयावहरूप लिएको थियो । उद्धार प्रयास भए पनि भित्र फसेकाहरू निसास्सिन पुगे र तीमध्ये सविन एक थिए  ।

“उक्त ठाउँमा काम गर्दा मेरो छोरा निकै खुसी थियो”, लालमायाले आँखा भरिँदै भनिन, “तलब पनि राम्रै थियो, नियमित खर्च पठाइरहेकै थियो ।” सविनका बुबा टीकाराम विगत १८ वर्षदेखि वैदेशिक रोजगारीमा साउदी अरब, युएई हुँदै दुई वर्षदेखि मलेसियामा कार्यरत थिए । आमा लालमाया पनि विगत चार वर्षदेखि कुवेतमा काम गर्दै आएकी थिइन् ।  दुवै जना छोराको शव घर आइपुगेकै दिन बिहीबार मात्रै नेपाल फर्किए ।

“घरको आर्थिक अवस्था कमजोर थियो”, लालमाया भन्छिन्, “त्यसैले श्रीमान् विदेशमै रहनुभयो । म पनि घरको अवस्था केही उकास्न सकिन्छ कि भनेर कुवेत गएँ ।” उनका अनुसार सविनले होटल म्यानेजमेन्ट डिप्लोमा गरेपछि आफैँले रोजगारी खोज्दै भन्न थालेका थिए, “अब मलाई अगाडि पढाउनु महँगो पर्छ, म आफैँ कमाएर हजुरहरूलाई दु:ख दिन्न ।”

सविनको कामप्रतिको इमानदारी देखेर नाइट क्लबका सञ्चालक पनि सन्तुष्ट थिए । “उसलाई अन्त जान नदिई यहीँ राख्ने सोच बनाएका रहेछन्”, बुबा टीकाराम बताउँछन्, “हामीसँग कुरा गर्दा पनि कहिल्यै काम गाह्रो भयो, दु:ख छ भनेन, बरु साहुँले माया गर्नुहुन्छ भन्थ्यो ।”

सविनको असामयिक निधनले परिवार मात्र होइन, सिङ्गो गाउँ शोकमा डुबेको छ । उनीहरूका नौ वर्षीया छोरी र चार वर्षका छोरा भद्रपुरमै हजुरआमाको रेखदेखमा छन् । दाइ कहिले फर्किन्छन् भनेर सोध्ने उनीहरूका प्रश्नको जवाफ कसैसँग छैन ।

भारतको केन्द्र सरकारले मृतक परिवारलाई दुई लाख भारतीय रुपैयाँ र गोवा राज्य सरकारले पाँच लाख भारतीय रुपैयाँ राहत दिने निर्णय गरेको छ । त्यसका लागि आवश्यक कागजात पठाउने प्रक्रिया भइरहेको सविनका दाजु सन्देश विश्वकर्मा(मामाको छोरा) ले जानकारी दिए ।

“गोवा राज्य सरकारले नै शव जहाजमार्फत पश्चिम बङ्गालको बागडोरा विमानस्थल ल्यायो”, उनले भने, “त्यहाँबाट एम्बुलेन्समार्फत सिधै घरसम्म ल्याइदियो ।”  आमाको स्वास्थ्यलाभका लागि मन्दिरमा पूजा गरेर फर्किएको छोरा अब कहिल्यै फर्किने छैन ।

सविन विश्वकर्माको कथा केवल एक दुर्घटनाको विवरण मात्र होइन, परदेशी श्रम, परिवारको जिम्मेवारी र अधुरै रहन पुगेका सपनाको कथा हो– जसले धेरै नेपाली युवाको यथार्थ बोलिरहेको छ । 

सम्बन्धित खबर