२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

महिला श्रमिकका दुःख :  ज्यालामा विभेद, कार्यस्थलमा दुर्व्यवहार

shivam cement
सपना बोहरा
२०८२ पुष ३ गते ०८:२०
Shares
महिला श्रमिकका दुःख :  ज्यालामा विभेद, कार्यस्थलमा दुर्व्यवहार

काठमाडौं : डोटी जिल्लाकी सीताकुमारी पार्की निर्माण क्षेत्रकी श्रमिक हुन् । उनीसँग न लिखित करार छ, न त कामको कुनै परिचय । उनले ज्याला त पाउँछिन्, तर त्यो उनीसँगै काम गर्ने पुरुषकोभन्दा कम छ । निर्माण व्यवसायीले कतिबेला हटाउने हो कुनै टुंगो छैन । कार्यस्थल पनि निकै जोखिमयुक्त छ । ‘यी पीडा कसले बुझिदिने ?’, पार्की भन्छिन्, ‘कसले न्याय गरिदिने ?’  

सीताले निर्माण क्षेत्रमा काम गर्न थालेको बर्षौं भयो । तर अहिलेसम्म पुरुषसरह समान ज्याला पाएकी छैनन् । न त सामाजिक सुरक्षा प्राप्त गर्न सकिन् । त्यति मात्र होइन कार्यस्थलमा आवश्यक पर्ने सुरक्षाका सामग्रीसमेत पाइनन् । उनी भन्छिन्, ‘मैले ठेकेदारसँग समान ज्यालाको कुरा उठाउँदा बेवास्ता भयो, बजेटमा नै श्रमिकहरूका लागि सुरक्षित सामग्री (पञ्जा, जुत्ता)लगायतका समावेश छ, सुविधा पाउनुपर्छभन्दा ठेकेदारले उल्टै काम बन्द गरिदिन्छांै भनेर धम्की दिए ।’ अनौपचारिक क्षेत्रका श्रमिक महिलाहरूको पीडा सबैले बेवास्ता गरेको पार्कीको गुनासो छ । 

डोटी जिल्लाकी सीताकुमारी जस्तै अर्की श्रमिक हुन्– पाल्पाकी अनिता गाहा । उनले मजदुरी गर्न थालेको १२ वर्ष बित्यो । दैनिक ३ सय रुपैयाँदेखि लेबर काम गर्न सुरु गरेकी उनी आजभोलि ५ सय रुपैयाँ मात्र पाउँछिन् । 

आफूले काम थाल्दा पुरुष मजदुरले भने पाँच सय रुपैयाँ पाउँथे । हिजोआज आफूजस्तै काम गर्ने पुरुष श्रमिकहरूले ८ सय रुपैयाँ पाउने गरेको उनी बताउँछिन् । ‘मैले बालुवा चाल्ने, सिमेन्ट, गिट्टी बालुवा घोल्ने काम गर्छु ५ सय रुपैयाँ पाउँछु, त्यही काम गर्दा पुरुषले ८ सय रुपैयाँसमेत पाउने गरेका छन्,’ गाहाले भनिन्, ‘उही काम गरेको ज्याला भने फरक किन ?’

१२ वर्षको अवधिमा महँगी कहाँ पुग्यो तर श्रमिक महिलाहरूको ज्याला बढेको छैन । त्यसैले उनले साहु, ठेकदारसँग समान पारिश्रमिकका लागि आवाज उठाइन् तर कसैले सुनेनन् । उल्टै काम नपाइएला भन्ने डर भयो । समान ज्याला पाउनुपर्ने माग लिएर उनी काठमाडांै आएकी छन् पाँच दिनको ज्यालादारी कामको माया मारेर । पर्साकी अमिना खातुन अनौपचारिक क्षेत्रमा काम गर्न थालेको १८ वर्ष भयो । उनी अनौपचारिक कृषि क्षेत्रकी श्रमिक हुन् । उनी झिसमिसे बिहानदेखि गोधूँली साँझसम्म खेतबारीमै काम काम गर्छिन् । उनले काम सुरु गर्दा भने ज्यालाबापत केही अन्नबाली पाउँथिन् । आजभोलि उनी दिनको ३ सय त कहिले ४ सय रुपैयाँसम्म पाउँछिन् । 
उनी भन्छिन्, ‘काम दिनभर नै गर्नुपर्छ तर कामबाट आएको पैसाले साँझ बिहानको छाक टार्न गाह्रो हुन्छ ।’ अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक महिलालाई न्यूनतम पारिश्रमिक ऐन तोकिनुपर्ने उनको माग छ । कृषि क्षेत्रका श्रमिक महिला दैनिक रूपमा पुरुषभन्दा झन्डै १० प्रतिशत कम ज्याला पाउने गरेको उनी बताउँछिन् । उनको माग पनि न्यूनतम पारिश्रमिक र समान ज्याला तोकिनुपर्ने माग छ । 

पार्की, गाहा, खातुनजस्तै लाखौं हजारांै महिला छन् । जो अनौपचारिक श्रम गरिरहेका छन् । कृषि, इट्टा भट्टा, निर्माण, होटललगायतमा काम गर्दै आएका छन् । उनीहरूले पुरुषसरह समान ज्याला, सुरक्षा सामग्री पाउँदैनन् । अनि कार्यस्थलमै यौन दुव्र्यवहारको सिकार भइरहेका छन् । 

यिनै समस्या लिएर केहीअघि उनीहरु काठमाडौं पनि आए । सिराहा, महोत्तरी, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, काठमाडौं, पाल्पा, कपिलवस्तु, बर्दिया, डडेलधुरा, डोटीका श्रमिक महिलाहरु राष्ट्रिय महिला आयोग पुगेर आफ्ना दुःख सुनाए । उनीहरुको मुख्य माग अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई स्थानीय तहमा सूचीकृत गर्नुपर्ने र संघीय श्रम ऐनअनुसारको न्यूनतम र न्यायपूर्ण ज्याला सुनिश्चित गर्नुपर्ने छ । कार्यस्थलमा न्यूनतम सुरक्षा सामग्रीसहित सुरक्षित कार्यस्थलको सुनिश्तिताको माग पनि उनीहरूले राखेका छन् । दुर्घटना बिमा र स्वास्थ्य बिमा सुनिश्चितालगायतका माग उनीहरू राखेका छन् । 

लेबर फोर्स सर्वे २०१७÷१८ अनुसार नेपालका कुल श्रमिकमध्ये ८४ दशमलव ६ प्रतिशत अनौपचारिक क्षेत्रमा संलग्न छन् । जसमा महिलाको हिस्सा करिब ९० प्रतिशत रहेको छ । यति ठुलो संख्यामा महिला श्रमिक संलग्न भए पनि उनीहरूले न्यून ज्याला पाउने, स्थानीय तहमा दर्ता नहुने, न्यूनतम ज्याला व्यवस्था तथा सामाजिक सुरक्षाबाट वञ्चित हुने अवस्था बेहोर्दै आएका छन् ।

महिला श्रमिक आमाहरूले बाल हेरचाहको सुविधा पाएका छैनन् । कार्यस्थलमा सरसफाइ तथा शौचालयको अभाव छ । महिनावारीका समयमा सुरक्षित शौचालय र पानीको सुविधा नहुँदा झनै कठिनाइ भोग्नुपरेको अध्ययनको निष्कर्ष छ । लैंगिक आधारमा हुने ज्याला विभेद अझै पनि गम्भीर समस्या रहेको अध्ययनले औंल्याएको छ । कृषि क्षेत्रमा काम गर्ने महिला श्रमिकहरूले समान कामका लागि पुरुषभन्दा निकै कम ज्याला पाउने गरेका छन् । फोहोर व्यवस्थापन क्षेत्रमा कार्यरत महिलाहरूले पनि सुरक्षात्मक सामग्रीको अभाव र असमान व्यवहार सहन बाध्य छन् । 

सम्बन्धित खबर