– अर्जुन बिष्ट
लामो समयदेखि मनमा अनेकौं सवाल उब्जाएर हिउँ पर्ने सिजनमा मुस्ताङ घुम्ने भनी योजना बनाएको थिएँ । तर, समाचार प्रवाहमै जीवन सिमित भयो । रिपोर्टिङमा दौडिरहेको अवस्थामा पनि बेला–बेला मुस्ताङको जोमसोम, कागबेनी र मुक्तिनाथ जाने रहर मनमा जागिरहन्थ्यो । धेरैजसो त म घुमिसकेको छु । पत्रकारिता र घुमफिरमा बराबरी समय दिन रूचाउँछु । छुट्टीको समय आउने बित्तिकै प्रायः घुम्न निस्किहाल्छु । यसपटक पनि त्यही निर्णय दोहोर्याएँ । जहाँ मलाई पुग्नु थियो । हिउँ परेको बेला त्यहाँको मौसम कस्तो हुन्छ होला ? अझ हिमालको घुम्टो ओडेर आफ्नै मौनतामा मुस्कुराइरहने मुक्तिनाथ कस्तो हुन्छ होला ? कालीगण्डकीको तिरैमा बसेर कागबेनीको सुन्दरबस्ती नियाल्दाको आनन्द कस्तो होला ? नेपाली सिनेमा देखिने हिमालय दृश्य देख्दा म त्यहाँ कहिले पुगुँला ? अक्सर मैले सोचिरहन्थेँ तर, यसपटक भने यी सबै जिज्ञासा मेटाइयो ।
मुक्तिनाथ दर्शनका लागि पोखराबाट तारा एयरलाइन्समा मुस्ताङको यात्रामा निस्कियौँ । साथमा दुई जना साथी पनि थिए । बिहानको ७ बजेर ५५ मिनेटमा पोखरा बिमानस्थलबाट मुस्ताङको जोमसोमको लागी उडान भर्यौं । करिब साढे आठ बजेतिर जोमसोममा ल्याण्ड भयौं । यो ३० मिनेटको हवाई यात्रामा अग्ला स्थानमा रहेका हिमालहरू अवलोकन गर्ने अवसर मिल्यो । कास्कीको आकाशदेखि नै माछापुच्छ्रे, अन्न्पुर्णलगायतका हिमालहरूले मुस्कुराउँदै स्वागत गरिरहेका थिए । जोमसोमसम्म आइपुग्दा दर्जनबढी हिमालहरूको दृश्य देख्न पाइयो ।
जोमसोम एयरपोर्ट झर्नासाथ चिसो हावाले बेस्सरी हानिरहेको थियो । सानो गाउँ चिटिक्क परेका घरहरू, एयरपोर्टको धावनमार्गसम्मको हिउँको खाँद, चारैतिर सेताम्मे हिउँले घेरिएका डाँडा, केहिबेर यो मन प्रकृतिसँग रमिरह्यो । जहाजबाट झर्ने बितिक्कै ‘जोमसोममा स्वागत छ’ लेखिएको बोर्ड राखिएको थियो । एयरपोर्ट गेटबाहिर निस्कने बित्तिकै अत्याधिक चिसो भएको महसुस भयो । ढिला नगरी हामी होटलको खोजिमा लम्कियौँ । एयरपोर्ट छेउमै रहेछ । होटल मुस्ताङ मोनालिसा यहि बस्ने निर्णय गर्यौं । होटल सोचेजस्तै व्यवस्थित नै रहेछ । कोठाको झ्यालबाटै हिमालय दृश्यहरू देख्न सकिन्थ्यो । हिमाली भेकको चिसो मौसमलाई छिचोल्न भोटे चिया पिउँदै यो सुन्दर गहनारूपी प्रकृतिको बयान गर्न मन लाग्यो ।
हिमालको उज्यालोमा झलमल्ल एउटा सुन्दर बस्ती जोमसोम । गण्डकी प्रदेशको मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–४ मा पर्ने जोमसोम नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चलअन्तर्गतको मुस्ताङ जिल्लाको सदरमुकाम पनि हो । गाउँपालिकाको तथ्यांकअनुसार गाउँपालिकको कूल जनसंख्या ३ हजार १८४ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, दक्षिणमा थासाङ गाउँपालिका र म्याग्दी जिल्लासम्म रहेको छ ।
करिब २८ सय मिटरको उचाइमा रहेको जोमसोम पर्यटकीय क्षेत्रका रूपमा परिचित छ । यहाँबाट दक्षिणी भेकमा पर्ने धौलागिरी र निलगिरी हिमालको दृश्य राम्रोसँग देखिन्छ । मुस्कुराइरहेका धौलागिरी र निलगिरीले यहाँ आउने जो कोही पनि लोभिन पुग्छन् । मिरमिरमा तारा झरेँ सँगै सुन्दर हिमालयन दृश्य नियाल्दै बिहानीपखलाई मनैदेखि स्वागत गर्न पाउँदा साच्चिकै आनन्द मिल्दो रहेछ ।
जोमसोममा ढुंगामाथि माटो र टिनका छाना भएका चिटिक्क घर । ती घरमाथि जमेको हिउँ । चौर जस्तै सेताम्मे परेको बस्ती, घामको सुनौलो किरणसँगै कालीगण्डकी सुसाईरहेको मधुर आवाज ओहो क्या आनन्द ! क्षेत्री, गुरूङ, शेर्पा र भोटे समुदायको बसोबास क्षेत्र हो जोमसोम । शान्त वातावरण हावाको सुइँको बाहेक अरू आवाज छैन । सुनसान जोमसोम होहल्ला छैन । नेपाली सिनेमा हेर्दा कागबेनी, कालीगण्डकीको त्यो बगर अनि मनमोहक हिमाली दृश्य हेरेर सोच्थें, त्यस्तो ठाउँमा म कहिले पुगुँला ?
प्रकृति र आफ्नै विविध स्थानीय संस्कृतिको संगम जोमसोम सुन्दर मात्रै होइन आकर्षक पनि छ । वरिपरि अग्ला डाँडा र फेदीबाट कालिगण्डकी नदी बग्छिन् । जोमसोमबाट धौलागिरी र निलगिरी छर्लङ्ग देख्न सकिन्छ । उ सो त हिमालपारीको जिल्ला मुस्ताङ आफैँमा परिचित छ । जसको सिरानीमा हिमाल मुस्कुराउँछन् । फेदीमा कालीगण्डकी बग्छीन् यही कालीगण्डकी हो नेपालमा अन्य नदीमा नपाइने शालिग्राम यहाँ पाइन्छ । जोमसोममा बसेर यो सुन्दर दृश्यमा रमाउँदा मनैदेखि आनन्द मिल्छ ।
जोमसोम पुगेको पनि आधादिन बितिसकेछ । यहाँको सुन्दर प्रकृतिसँग कति छिट्टै घुलमिल भएछु पत्तै भएन । जोमसोम बजार, कालीगण्डकी छेउमा रहेका बस्तीहरू नियाल्दा निल्याल्दै साँझ परिसकेछ । अब भने भोलि बिहानै मुक्तिनाथको दर्शनका लागि निस्कने प्रणका साथ हामी सुत्ने निर्णयमा पुग्यौंँ ।
भोलिपल्ट बिहानै उठेर गाडीको बन्दोबस्त गरेर मुक्तिनाथको यात्रामा लाग्यौं । कागबेनीमा पुगेर यहाँको सुन्दर दृश्य अवलोकन गर्दै जोमसोमबाट करिब साढे १ घण्टा पछि मुक्तिनाथ पुगियो । सडक बाहेक छेउछाउ र चारैतिर हिउँ मात्रै थियो । हरियाली कतै पनि देख्न पाइएन । बाक्लो हिउँमाथि फोटो खिच्ने मानिसहरूको भिड निकै रहेछ । केही समय हामी त्यही भीडमा सामेल हुँदै हिउँ खेल्यौँ ।
आन्तरिक पर्यटकले यतिबेला यो क्षेत्र भरिभराउ भएको छ । हिउँ पग्लने सिजन भएर होला मान्छेहरूको यतिधेरै भीड छ । कागबेनीबाट मुक्तिनाथ तर्फ उकालोमा चिटिक्क परेको कालोपत्रे सडक, यताउती सेताम्मे हिउँ, बिहानीपखमा उदाएको त्यो सुर्यको कलिलो किरण कति आनन्द, कति मिठासपन । यी पलहरू अविस्मरणीय र सम्झना लायक बन्न पुगे ।
मनमा आनन्दका गुच्छाहरू फक्रीरहेका थिए । हामी मुक्तिनाथ गाउँ (मुक्तिनाथ भिलेज)मा पुगिसकेका थियौँ । यहाँ त झन घरवरिपरी नै बाक्लो हिउँ रहेछ । घरको ढोकासम्मको हिउँ हटाउन तल्लीन थिए, त्यहाँका बासिन्दाहरू ।
गाडी यहीँ गाउँमै रोकियो । हामी अब मुख्य मुक्तिनाथको मन्दिर द्वार तर्फको उकालो सिडिमा चढ्यौँ । बिहानैपख भएर होला भक्तजन, तिर्थालुहरूको त्यति भिड थिएन ।
यो मन्दिर हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थल हो । हिमालपारीको जिल्ला मुस्ताङमा अवस्थित यो मन्दिर समुद्र सतहदेखि ३ हजार ७१० मीटरको उचाईमा रहेको छ । हिन्दूहरूले मुक्ति क्षेत्र र बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा भन्दछन् । पवित्र स्थलमा १०८ वटा ढुङ्गाले बनाएको गाइको मुखबाट निक्लीएका धाराहरू छन् । जसबाट पवित्र जल बगिरहेको हुन्छ भन्ने जनविश्वास छ । ती सबै धाराहरूमा साँढेका मुखाकृति रहेका छन् । यी धारा राजा मुकुन्द सेनले बनाएका हुन् । मन्दिरको ठीक अगाडि दुई वटा पोखरी कुण्ड छन् । एकतर्फी धर्म कुण्ड र अर्कोतर्फी पाप कुण्ड छ । बडा दसैंँ र चैत्र दसैंँमा यहाँ मेला पनि लाग्ने गर्छ ।
हिन्दु धार्मिक मान्यताअनुसार मुक्तिनाथ यस्तो क्षेत्र हो, जहाँ मानिसहरूलाई मुक्ति तथा मोक्ष प्राप्त हुन्छ । मुक्तिनाथको यात्रा जटिल रहेको छ । तर पनि हजारौ संख्यामा हिन्दू धर्मावलम्बी तिर्थ गर्नका लागि यहाँ आउने गर्दछन् । यो मन्दिर हिन्दु धर्मको दुर्गम तिर्थस्थलमा समेत पर्दछ । करिब ३८ सय हाराहारीको उचाईमा रहेको हुँदा यसलाई बादलमाथिको मन्दिर पनि भन्ने गरिन्छ । जहाँ सुन्दर प्राकृतिक दृश्वालोकन गर्दै मुक्तिनाथ पुग्दा छुट्टै विश्वमा पुगेको आभाष त हुन्छ नै । गाडीमा यात्रा गर्ने हो भने, अर्कोतिर विश्वकै गहिरो खोँच कालीगण्डकीको किनारै किनार बेनी, घाँसा, मार्फा, जोमसोम कागवेनी हुँदै मुक्तिनाथसम्मको यात्रामा आफ्नै लयमा मुस्कुराएका हिमालहरू, सुन्दर गाउँहरू, स्याउ बगैंचा, स्थानीय उत्पादनका कपडाहरू, हिमाली भेकम्म पाइने जडिबुटी धोबिसल्लोका रूख र घाँस नभएका अग्ला र ठूल–ठूला पहाडहरू देख्दा त झन मनै फुरूङ्ग हुन्छ ।
मुक्तिनाथ मन्दिर वरपर हिउँले ढाकिएको छ । यहाँका स्थानीय बासिन्दाका अनुसार यस वर्ष हिउँ बाक्लो मात्रामा परेको छ । उपल्लो कागबेनीदेखि मुक्तिनाथसम्मको सडकमा अहिले बाक्लो हिउँ रहेको छ । सेताम्म्मे हिँउमा जाडोले कठ्याङ्ग्रीदै भएपनि हिउँखेलेर भरपुर रमाइलो लिइरहेका आन्तरिक पर्यटकहरू छुट्टै विश्वमा प्रवेश गरेको अनुभव सुनाउँछन् ।
मैले सुनेको थिएँ मुक्तिनाथ पुगेपछि आफ्नो इच्छा पूरा भएको अनुभूति हुन्छ । तर, त्यो अनुभुती आफैंमा पाएँ र अनुभव पनि बटुल्ने अवसर मिल्यो । मुक्तिनाथ मन्दिरको नजिकै ज्वालादेवीको मन्दिर, गुम्बाहरू, शिवालय र छेउमा १०८ वटा धारा छन् । जहाँ नुहाएमा पुण्य कमाइन्छ भन्ने जनविश्वास रहेको छ । त्यस्तै कागबेनी पनि धार्मिकरूपमा महत्वपूर्ण ठाउँ हो । यहाँ दशैं अगाडि सुरू हुने सोह्र श्राद्ध गर्न आउनेहरू धेरै हुन्छन् । विशेष त यो ठाउँ पितृको श्राद्वका लागि प्रशिद्ध मानिन्छ । कालिगण्डकी किनारमा रहेको कागवेनीमा मज्जाले आनन्द लिन सकिन्छ ।
स्थानीयका अनुसार वि.संं. २०६२ सालको मंसिर महिनामा मुक्तिनाथका पिठाधिश्वर कमलनयन आचार्यलगायत लाखौं नेपाली भक्तजनहरूले नेपाललाई तत्कालिन दन्द्वबाट मुक्ति मिलोस् भनेर मुक्तिनाथका १०८ शालिग्रामलाई भारतको प्रसिद्ध तिर्थस्थल हरिद्वारमा लगेर गंगाको तटमा सवालाख गाइको दूधले नुहाएर सवा करोड बत्ती बाली पूजा गरिएको थियो । मुक्तिनाथको पूजापछी लामो समयसम्म चलेको गृहयुद्धबाट नेपालले मुक्ति पाएको थियो ।
खुसी पोखिएको क्षण घुमेर कहिल्यै नथाकिने ठाउँ जोमसोम छुट्नै लाग्यो । खुसीका भावहरू पोखिए । खुशी हुनलाई ठूलो मन चाहिँदो रहेछ । मनमा खुशीका पोकाहरू सजाएर हिमालपारिको जिल्ला मुस्ताङलाई ओझेल पार्दै पोखराको लागि यात्रा तय भयो । मध्यान्हको १२ बजे जोमसोमबाट स्कार्पियो रिजर्भ गरेर पोखरा तर्फ फर्कियौँ । ठाउँ–ठाउँमा देखिने सुन्दर दृश्यको मोहले नै हामी हवाई यात्रा छोडी गाडीमा फर्कने निर्णयमा पुग्यौं । अनि अनुशासित ढंगले आफ्नै सुरमा मुस्कुराई रहेको जोमसोम हेर्दाहेर्दै ओझेलमा पर्यो ।
जोमसोमदेखि मार्फा, लेते, घाँसासम्मको सडक एकदमै राम्रो रहेछ । घाँसा गाउँमा प्रहरी चेकपोस्टमा गाडी इन्ट्री गरेर नजिकैको होटलमा खाजा खाने निर्णय भयो । वारीपारी अग्ला हिमाली डाँडाको बिचमा चिटिक्क परेको घाँसा गाउँबाट चिया, चाउचाउ खाएर निस्कियौँ । घुम्दाघुम्दै जोमसोमको प्रकृतिसँग मोहनी लागेछ । नबोली चुपचाप मुस्कुराईरहेका निलगिरी, धौलागिरी र नरिसाई बग्ने कालीगण्डकीले कतिबेला मोहनी लगाएछन पत्तै भएन । मनले हिमालपारिको यो बस्ती छोड्नै मानेको थिएन ।
“यात्रामा धेरैले सोध्छन् खुसी कहाँ मिल्छ ? खुसी कसरी मिल्छ ?” मेरो सधैं एउटै जवाफ, “खुसी घुमफिरमा मिल्छ । प्रकृतिसँगको अपार प्रेम होस् । या जिवजन्तु र हिमाल मुस्कुराउँदा होस् जब म घुमफिरमा निस्कन्छु खुशी त्यही पाउँछु ।”
घाँसा मुस्ताङ जिल्लाको अन्तिम बिन्दु थियो । अब हामी म्यादी जिल्ला प्रवेश गर्दै थियौँ । मुस्ताङका लोभलाग्दा दृश्यहरू आँखाबाट ओझेल पर्दै गए । निलगिरी र धौलागिरी पनि विस्तारै टाढीदै थिए । दिउँसोको साढे २ बजेको थियो । हामी म्याग्दी र मुस्ताङको सिमाना नजिक काभ्रे भिरमा पुग्यौँ । यहाँ भने सडक निर्माणका कारण बाटो बन्द थियो । केही घण्टा यही भिरमा कुर्नुपर्यो । साँझको समय हुनैलाग्दा बाटो खुलेको जानकारी पछि हामी म्याग्दी जिल्ला प्रवेश गर्यौँ । सडक निर्माणको काम भैरहेकोले यात्रामा ढिलाई भएको थियो । केही समय पछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने मनोरम रूप्से झरणामा रमाउँदै पोखरा तर्फ लाग्यौँ ।
यहाँसम्मको बाटो एकदमै साँघुरो र खतरायुक्त पनि थियो । अग्लो पहाड माथिबाट ढुंगा खस्ने पिर, दाहिनेतिर बगिरहेको कालीगण्डकी नदीमा खसिन्छ्की भन्ने त्रासकै बीच यात्रा सफल भयो । मनमा खुम्चिएका जति त्रासहरूलाई सुन्दर र मनमोहक हिमालहरूको हाँसो अनि रूप्से झरणाको शिथिलताले सबै डर हराइदियो ।
प्रायः ठाउँ–ठाउँमा कालीगण्डकी करिडोरअन्तर्गत सडक निर्माणको काम भैरहेको रहेछ । कतै रोकिदै अगाडि बढ्दै हामी करिब साँझको ९ बजे पोखरामा पुग्यौं । दिनभरको कठिनपुर्ण यात्राका कारण थकान पनि उत्तिकै लागेको थियो । मनमा शान्ति, हर्ष र आनन्द दिने मुस्ताङको सम्झना मनैमा सजाउँदै मुस्ताङ यात्राका यादहरू मनमा कैद गरियो । जिन्दगीमा अझैँ धेरै यात्रा गर्नुछ । धेरै टाढा पुग्नुछ ।
यसरी जान सकिन्छ मुक्तिनाथ
पोखरादेखि हवाई यात्रामा जाने हो भने २५ मिनेटमा जोमसोम पुगिन्छ । जोमसोमदेखि मुक्तिनाथको लागि गाडीमा जानुपर्छ । गाडीबाट जाने हो भने पोखराको लेकसाइडदेखि हेम्जा हुँदै मुस्ताङ तर्फको यात्रा तय गर्न सकिन्छ । पोखराको साइडसिन हेर्दै माछापुच्छ्रे, अन्नपूर्ण हिमालको दृश्य नियाल्दै ६० किलोमिटर हिडेपछि पर्वतको कुश्मा पुगिन्छ ।
कुश्माको मालढुंगाबाट बाग्लुङ जाने बाटो छोडेर हामी बेनी तर्फ मोडिनुपर्छ । त्यहाँबाट २८ किमि अर्थात् डेढ घन्टाको दूरीमा बेनी रहेको छ । जलजला, बेनी हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने रूप्से झरणाको अवलोकन गर्दै बेनीबाट मुक्तिनाथसम्म करिब १ सय किमिको दूरी पारगरेपछि करिब ६ घण्टामा मुक्तिनाथ पुगिन्छ ।
पोखरादेखि बिहान ७ बजे मुक्तिनाथको लागि बस छुट्छ । भने जिपहरू पनि रिजर्भ गरेर जान सकिन्छ । पोखरादेखि कतै नघुमेर सिधैँ यात्रा गर्ने हो भने बिहान ७ बजे हिँडेपछी बेलुकासम्म मुक्तिनाथ पुग्न सकिन्छ । त्यो तपार्इँमा भरपर्छ । कसरी जाने, बिचबाटोमा पर्ने पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कि नगर्ने ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies