२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

‘म मौन प्रतिरोध मन पराउँछु’

shivam cement
२०८२ फागुन ९ गते १४:२८
Shares
‘म मौन प्रतिरोध मन पराउँछु’

अमर न्यौपाने नेपाली साहित्यमा आख्यान विधामा कलम चलाउने साहित्यकार हुन् । चितवन जन्मेका उनी नेपालगन्जबाट साहित्यकारको रूपमा उदाए । नेपालगन्जलाई परिवेश बनाएर उनले लेखेको पहिलो पुस्तक ‘पानीको घाम’ हो । उनको यो पुस्तकले २०६६ सालको पद्मश्री साहित्य सम्मान प्राप्त पाएको थियो । २०६७ मा उनले बालकथासंग्रह ‘कलिलो मन’ लेखे । जसबाट उनले पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार पनि प्राप्त गरे । लगत्तै  सामाजिक उपान्यास ‘सेतो धरती’ लेखे । उनको यो उपान्यासले २०६८ सालको मदन पुस्कार पायो । यो नै उनलाई स्थापित साहित्यकार बनाउने पुस्तक बन्यो । ‘करोडौं कस्तुरी’, ‘गुलाबी उमेर’ उनले लेखेको पुस्तक हो । शिक्षण पेशाबाट उनी साहित्यमा कसरी भित्रिए ? प्रज्ञामा प्राज्ञ सदस्य कसरी बने ? साथै साहित्यिक यात्राका बारेमा अमर न्यौपानेसँग मध्यान्ह राष्ट्रिय दैनिकका लागि जानकी पाठकले गरेको कुराकानीको सम्पादित अंश :

२०६६ सालपछि नेपालगन्ज कहिले पुग्नुभयो, अवस्था कस्तो छ अहिले ?

२०६६ सालपछि म २०६८ मा नेपालगन्ज गएँ । नेपालगन्ज मलाई आफू जन्मेको ठाउँ जत्तिकै महत्वपूर्ण लाग्छ । मेरो पहिलो किताव जन्मेको ठाउँ र मलाई साहित्यकार अमर न्यौपाने बनाएको ठाउँ । नेपालगन्ज पुग्नेबित्तिकै म पहिले त्रिभुवन चोक जान्छु । अहिले त टाँगा छैन, टाँगा चढेर एकचोटी रुपडीया जान मन लाग्छ । आफू पहिले जहाँ जहाँ घुमें, त्यो ठाउँ फेरि पनि जान मन लाग्छ । बुलाबुलिया, बेलासपुरजस्ता ठाउँ घुमेको सम्झना अझै ताजा छ र पटक–पटक मलाई घुम्न मन लाग्छ । 

मैले कथाहरू लेख्दा एकदम साधारण मानिसहरू बस्ने ठाउँ रोज्थें । मलाई ठुलो होटेलमा बसेर सतहको कथा लेख्न सकिँदैन भन्ने लाग्छ । जहाँ मानिसको आवरण बाक्लो हुन्छ त्यहाँ कथा भेट्टाउन सकिँदैन । जति मानिस शिक्षित हुँदै जान्छ, विकसित हुँदै जान्छ त्यति उसको आवरण बाक्लो हुँदै जान्छ । आडम्बरले छोपेको मानिसले कहिले पनि सत्य कथा भन्दैन । म जाँदाखेरि भर्खर द्वन्द्वबाट गुज्रिएको थियो नेपालगन्ज । मधेश, पहाड र हिन्दु, मुस्लिमबीच द्वन्द्व र २०६२–६३ को आन्दोलनले नेपालगन्ज अलि अशान्त थियो । आँखामा डर थियो । पछिल्लो चरण  जाँदाखेरि त्यो डर उत्साहमा परिणत भएको थियो । कति पुराना मानिसहरू थिएनन् । कतिपय आफ्नै कथाका पात्रहरू भेटिएनन् । बेलाबेला जाने आउने क्रम रहिरह्यो । २०६६–६८ भन्दा अहिले त्यहाँका मानिसका मनोविज्ञान बदलिएको पाएको छु । त्रासमा रहने नेपालगन्जवासी आशा र भरोशा गर्ने भएका छन् । 

तपाईंले ‘पानीको घाम’ कथासंग्रहभित्र समेट्नुभएको पात्रहरूका जीवन अहिले पनि त्यस्तै विसंगत छ कि केही परिवर्तन पाउनुभएको छ ?

जीवन नै छैन कतिको । कतिको जीवन छ पनि । मानिसको जीवन सधैं एकै ठाउँ बस्दैन । अहिले टाँगा चलाउनेको जीवन विस्थापित भएको छ । किनकि टाँगा नै छैन अहिले । इ–रिक्सा र अटोले टाँगा चलाउनेको जीवन परिवर्तन गरिदिएको छ । मैले पानीको घाममा घसेराहरूको कथा लेखेको छु, जसले घाँसलाई काटेर धुलो बनाएर बेच्थे । त्यहाँ घाँसमण्डी नै थियो । जव टाँगा चल्न छोड्यो त्यहाँ घोडा हरायो । घसेराहरूको त्यो व्यवसायनै सकियो । उनीहरूले पेशा नै परिवर्तन गर्नुपर्‍यो । पेशा परिवर्तनको पनि आफ्नै महत्व छ । टाँगाको आफ्नै सांस्कृतिक महत्व थियो । मलाई पर्यटकीय महत्वको लागि पनि टाँगा चाहीँ भएको भए पनि हुन्थ्यो भन्ने लाग्छ । टाँगामा रुपडीया जाँदाको आनन्द नै छुट्टै छ । जब पेशामा परिवर्तन आउँछ मानिसको जीवनमा पनि परिवर्तन आउँछ । 

मानिस जतिसुकै अनकन्टाहार ठाउँमा पुगे पनि उसले बाँच्ने कोसिस गरिरहेको हुन्छ । निराशाभित्र पनि उसले आशा खोज्छ । बाँच्ने प्रयत्न गर्दा गर्दै मर्ने त हो । आशाहरू जोगाउने प्रयत्न गर्दा गर्दै पनि कतिपय आशाहरू बाँच्छन्, कतिपय आशाहरू मर्छन् । रुखका सबै पातहरू हरिया हुँदैनन्, ति झर्छन् पनि । जति झर्छन् त्यति पलाउँछन् पनि । जीवनमा पनि ऋतुचक्र चलिरहन्छ । विसंगतभित्र पनि संगत हुन्छ । हामीले त्यसलाई तिर्ने कोसिस गर्नुपर्छ ।  

साहित्य समाजको चित्रण हो भनिन्छ, त्यसमा साहित्यकारको आफ्नो दृष्टिकोण हुन्छ कि हुँदैन ?

मुख्यतः आफ्नो दृष्टिकोण हुन्छ । आफ्नो दृष्टिकोणमा कुन कथा उपयुक्त हुन्छ, आफ्नो दृष्टिकोणलाई न्याय गर्ने कुन कथा छ भनेर खोजिँदो रहेछ । कुनै पनि कथा अथवा उपन्यास लेख्दा आफ्नो पहिला दृष्टि बनाइएको हुन्छ । मेरो दृष्टिलाई कति लेख्दा, कुन कथा अथवा विषय राख्दा भन्न चाहेको कुरा बुझाउन सकिन्छ अथवा कथाका माध्यमबाट भन्न सक्छु भनेर हेर्छु । कहिलेकाहीँ पहिले पात्र भेटिन्छ त्यसपछि दृष्टि अथवा विचारको निर्माण भइदिन्छ । कहिलेकाहीँ दृष्टि निर्माण भइदिन्छ र पछि पात्र निर्माण हुन्छ । जसरी लेखिएपनि लेखकले आफ्नो दृष्टि त्यसमा राखेको हुन्छ ।  

लेखक हुनु भनेको के रहेछ, अनुभूतिमात्र हो कि जिम्मेवारी पनि ?

हामी सबै लेखक हौं । हामी सबैले लेखिरहेका हुन्छौं । बाँच्नु भनेकै लेख्नु हो । कतिले अक्षरमा अनुवाद गर्छौं र लेखक जस्तो देखिन्छौं । अक्षरमा अनुवाद नगर्ने चाहीँ लेखक जस्तो देखिदैनौं । यो भन्नु लेखकको एउटा स्वरूपमात्र हो । प्रत्येक मान्छे बाँच्नु भनेको नै लेख्नु हो, अहिले पनि हामी लेखिरहेका छौं, किनभने हामी बाँचिरहेका छौं । हरेक सासले लेखिरहेको हुन्छ । हरेक धड्कनले लेखिरहेको हुन्छ । 

लेखक समाजको सम्पत्ति हो । उसको जन्म समाजबाट नै भएको हुन्छ । लेखकले उठाउने आवाज समाजभन्दा बाहिरको हुँदैन । समाजभन्दा बाहिर गएर त लेखकले लेखेको हुँदैन । मैले पानीको घाम, सेतो धरतीजस्ता पुस्तकमा उठाएका विषयले मलाई समाजप्रति जिम्मेवार बनाएको जस्तो देखिँदैन ? लेखकबाट समाजले अपेक्षा गरेको हुन्छ । त्यो अपेक्षा गर्नु पनि एकप्रकारको जिम्मेवारी हो । सत्यले समाज, सोच र जीवनशैली नै बदलेका धेरै उदाहरण छन् । लेखकले जिम्मेवारी नबोकेको भए त्यो सम्भव थिएन नि । 

तपाईंका पुस्तकमा समाजको कुरा त छँदै छ, तर प्रतिरोधी चेतना अलि गौण देखिन्छ, किन होला ?

यसमा चेतना भन्दा पनि अचानक देखिने कुरा हो । प्रतिरोध आफैं हुन्छ । तपाईंको अघिल्तिर खाना आयो तर त्यो तपाईंको रोजाइको थिएन भने तपाईंले तत्कालै प्रतिरोध गर्नुहुन्छ । मन नपर्दा नपर्दै पनि कहिलेकाहीँ खानुपर्ने हुन्छ, तपाईंले खानुहुन्छ । प्रतिरोध भनेको तत्कालै देखाउनुपर्छ भन्ने पनि छैन । मौन रूपमा पनि प्रतिरोध गर्न सकिन्छ ।

साहित्य समाजको दर्पण हो भन्ने पुरानो परिभाषा हो । जहिले पनि परिभाषाहरू परिवर्तन हुन सक्छन् समयअनुसार । नत्र त अगाडि कसरी बढ्ने त ? म चाहीँ साहित्यलाई हृदयको दर्पण भन्छु । क्यामेराको आविस्कार हुनुभन्दा पहिले साहित्य समाजको दर्पण हो भन्ने परिभाषा ठिक हो अहिले परिभाषा बदलिसक्यो । हृदयलाई क्यामेराले खिच्न सक्दैन । तपाईंले आफ्नो मनलाई छोप्न सक्नुहुन्छ । पीडा छोप्न सक्नुहुन्छ, विद्रोह छोप्न सक्नुहुन्छ । जसरी हामी आफ्नो शरीर लुगाले छोप्न सक्छौं त्यसैगरी हामी आफ्ना विचारलाई, भावनालाई पनि छोप्न सक्छौं र लेख्न सक्छौं ।

प्रतिरोधका कुरा त मैले मौन रूपमा उठाएको छु त्यसैले गौण भएका होलान् । मैले सिधै यो भएन, त्यो भएन भनेको छैन होला, तर प्रतीकात्मक रूपमा संकेत भने गरेको छु । म गोरखामा एउटा साहित्यिक कार्यक्रममा भाग लिन गएको थिए । त्यहाँ मलाई एक जनाले तपाईंले तारालाई किन त्यति धेरै निरीह बनाउनुभयो, घनले हान्नुपर्थ्यो, साहसी बनाउनुपर्थ्यो भनेर प्रश्न गर्नुभयो । उहाँले प्रतिरोध भएन नै भन्न खोज्नुभयो हो । त्यो बेलाको जमानामा त्यो खालको चेतना थिएन । त्यहाँ वालविवाह गर्नुहुँदैन भनेर कसैले भनेन । तर मैले केटा माग्न आउँदा सबैको अघिल्तिर ति बालिकाले आफ्नो वस्त्रमा फल बोकेर आउँदा लाजका सबै अंग देखिएको प्रसंग उल्लेख गरेर उहाँको प्रश्नको उत्तर दिएँ । आफ्नो लाजलाई समेत छोप्न नसक्ने उमेरमा विवाह गरिदिनु हुँदैन भन्ने आशय नै हो नि मेरो त । त्यो घटना वास्तवमा घटेको भए पनि नभए पनि प्रसंगले त प्रतिरोध नै गर्न खोजेको हो । मैले सेतो धरतीमा सिर्जना गरेका पात्रहरू पवित्रा र यमुनाले पनि अलि फरक खालको प्रतिरोध गरेका छन् । 

अहिले जति पटक पुस्तक आइरहेका छन्, ति पुस्तकले राजनीतिक परिवर्तन गर्न सक्ने खुबी राख्दैनन्, के त्यस्ता अब्बल साहित्य सिर्जनाको खडेरी छ नेपालमा ?

साहित्यमा राजनीति त आइहाल्छ । साहित्यमा समाज आउँछ । समाज आएपछि राजनीति त प्रायः जोडिएर आइहाल्छ । मेरो पानीको घाम पुस्तकमा समाजको कुरा छ, तर राजनीति कति गहिरो रूपमा देखिएको छ । सेतो धरतीमा राजनीति मिसाउन मिलेन । एउटा उपन्यासमा विषय समाएपछि त्यसमै जानुपर्‍यो । राजनीति मिसाउनै नहुनी ठाउँमा राजनीति घुसाउन मिलेन । मेरो शालीक भन्ने कथामा १९९३ देखि २०६८ सालसममको कथा छ, त्यसमा पुरै राजनीतिक विषय छ । नयनराज पाण्डेको लु, उलारमा राजनीतिक विषय छ । पल्पसा क्याफेमा राजनीतिक विषय छ । महेशविक्रम शाहको छापामारको छोरो पुरै द्वन्द्वको कथा हो । कुनै न कुनै कारणबाट साहित्यमा राजनीति आएको हुन्छ । 

त्यो त भए विषयका कुरा, विषय उठानले मात्र परिवर्तन हुँदैन, परिवर्तन ल्याउन सक्ने पुस्तकको त खडेरी नै हो नि ?

राजनीतिक विषय उठाएर मात्र परिवर्तन हुने त होइन । यसका लागि आख्यानको जरुरी छैन । कवितामा गीतमा ति विषय आएका छन् । तपाईं कुनै पत्रिकामा आर्टिकल लेख्नुभयो भने आजको आजै रिजल्ट निकाल्न सकिन्छ । तुरुन्तै समाज परिवर्तन गर्न सकिन्छ । तर आख्यान लामो तपस्याबाट लेख्ने चिज हो । आकार ठुलो हुन्छ, मोटो हुन्छ अलि । आख्यान तत्काल दिने क्याप्सुल होइन । यसले मानिसलाई उत्तेजित बनाइहाल्दैन । यसले दीर्घकालीन असर गर्छ ।  

पुस्तक लेख्दा जन्मिएका पीडित पात्रहरू देखेपछि तपाईं आफूलाई भावनात्मक रूपमा कसरी सन्तुलन राख्नुहुन्छ ?

लेखक आफैंमा भावुक हुन्छ । मैले सेतो धरती लेख्दा २०६८ साल मंसिर २८ गतेदेखि पुस २८ गतेसम्म एक महिना एकै कोठामा बसेर लेखे । म बबरमहल बस्थें । त्यसपछि म दिदीको घर गएँ । मेरो बोलीको टोन नै परिवर्तन भएको रहेछ । म त तारा आमाजसरी बोल्ने भएछु । स्वामीजी भन्ने पात्र हुनुहुन्छ उहाँजसरी पनि बोल्ने रहेछु । दिदीले कस्तो अर्कै तरिकाले बोलेको त भन्दामात्र मैले थाहा पाए म त पात्रमै डुबेको रहेछु । 

नाटकमा खेल्ने अभिनेता अभिनेत्रीले पात्रलाई आफूभित्र समाहित गर्छन् । नाटकबाट निस्किएपछि पनि त्यो पात्रले ह्यांग गर्छ नि, लेखकलाई पनि त्यस्तो हुन्छ । मेरो कर्म नै लेख्ने भएपछि मलाई त मज्जा पनि आउँछ । पात्र भएर बाँच्दाखेरी त्यो पात्रको सुखसँग रमाउदा, दुखसँग रुँदा आफू पनि सँगै बाँचे भन्ने लाग्छ । पात्रसँग त कति रोएको छु । सेतो धरतीका पात्रसँग त म कति रोएको छु, अहिले पनि मलाई गाह्रो हुन्छ । भक्कानो फुट्छ । 

अहिले नेपाली पुस्तकहरू पनि अंग्रेजीमा अनुवाद हुन थालेका छन् । तपाईंकै पुस्तक पनि अनुवाद भएको छ । नेपाली साहित्य अन्तर्राष्ट्रियकरण हुन थालेको हो ?

नेपाली साहित्यको आफ्नै खालका पाठक छन् । अहिले अंग्रेजीमा पढ्ने पाठक पनि छन् । त्यसका लागि पनि अनुवाद हुन थालेका छन् । नेपाली भाषा बुझ्ने समुदायको दायरा त्यति फराकिलो छैन । नेपालीमै लेखेका पुस्तक नेपाली भाषाभन्दा बाहेककाले बुझदैनन् । नेपाली समाजको कथालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन भाषाको भूमिका महत्वपूर्ण हुन्छ । अंग्रेजी भाषामा अनुवाद गर्न सकियो भने अलि धेरैको पहुँचमा नेपाली साहित्य पुग्छ जस्तो लाग्छ । मेरो सेतो धरती उपन्यास पनि अंग्रेजीमा अनुवाद भएको छ । यो पुस्तकले नेपाली समाजको एकसमयको कथा बोकेको छ । त्यसलाई चिनाउन पनि अनुवादले भूमिका खेल्छ । अहिले अरू लेखकहरू पनि अनुवाद गर्नुपर्छ भनेर लागि पर्नुभएको छ । 

यदि तपाईंका पुस्तकहरू कुनै दिन समाजबाट हराए भने अथवा समालोचक र पाठकले काम नलाग्ने भो भनेर उपेक्षा गरे भने नेपाली समाजले के गुमाउनेछ भन्ने लाग्छ ? अथवा अमर न्यौपानेको मूल्य के रहन्छ ?

लेखकको काम लेख्ने हो । त्यसलाई स्वीकार गर्ने नगर्ने जिम्मा पाठकको हो । आज मलाई स्वीकार गर्नुभएको छ त्यसमा म खुसी छु । भोलि उहाँहरूले अस्वीकार गर्नुभयो भने पनि म खुसी नै रहनेछु । मैले मेरो जीवनबाट यो समय निकाल्न सक्दिन । म आफ्नो जीवनको एक सेकेन्ड पनि खेर फाल्नु हुँदैन भन्छु । हरेक समय महत्वपूर्ण छ । मलाई उहाँहरूले स्वीकार गर्नुभएको समय पनि महत्वपूर्ण छ । भोलि उपेक्षा गर्नुभयो भने पनि म त्यो समयलाई बर्बाद हो भन्दिनँ । म लेखक नरहे पनि म स्वयं त रहन्छु । जबसम्म म रहन्छु मेरो जीवनको मूल्य रहन्छ भन्ने लाग्छ । 

अन्त्यमा ?
अन्त्य त कहिल्यै हुँदैन । बाँकी कुरा अर्को–अर्को भेटका लागि पनि थाँती राख्नुपर्छ । हामी आफू बाँच्दै जानुपर्छ । सिक्छु भनेर सिकिँदैन । सिकाइ आफैं निरन्तर चलिरहन्छ । बाँच्न जानियो भने सबै जानिन्छ ।
 

सम्बन्धित खबर