
जापानमा नेपालीहरूको उपस्थिति बर्सेनि बढ्दो छ । अध्ययन, श्रम र व्यावसायिक क्षेत्रमा नेपालीहरूको चासो विस्तार हुँदै गएको पाइन्छ । विशेषगरी पछिल्ला वर्षहरूमा जापानले विदेशी कामदार भित्र्याउन थालेपछि नेपाल पनि सम्भावित श्रम स्रोतका रूपमा हेरिन थालेको छ । अहिले जापानले विदेशी कामदारलाई मुख्यतः स्पेसिफाइड स्किल्ड वर्कर्स (एसएसडब्ल्यू) र टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम जस्ता कार्यक्रममार्फत भित्र्याइरहेको छ । यी कार्यक्रमहरू जापानको श्रम बजारमा देखिएको अभाव पूर्ति गर्ने उद्देश्यले ल्याइएका हुन् ।
विदेशी कामदार भित्र्याउने क्रम सुरुमा चीनबाट उल्लेखनीय रूपमा अघि बढेको थियो । त्यसपछि ध्यान भियतनामतर्फ सरेको थियो । एक समय भियतनामी कामदारहरूको उपस्थिति जापानमा अत्यन्तै बलियो बन्यो । तर, समयक्रममा भियतनाम आफैं आर्थिक रूपमा सशक्त बन्दै गयो, जापानको आम्दानी पहिले जस्तो आकर्षक देखिएन र ठूलो संख्यामा कामदार हुँदा व्यवस्थापनसम्बन्धी समस्या पनि बढे । अहिले भियतनामबाट आउने कामदारको संख्या घट्दो अवस्थामा छ ।
यही परिवर्तनसँगै जापानी कम्पनीहरू र सुपरभाइजिङ अर्गनाइजेसनहरूले नयाँ स्रोत देशतर्फ ध्यान मोडिरहेका छन् । इन्डोनेसिया, म्यानमार, फिलिपिन्ससँगै नेपाल पनि सम्भावनाको सूचीमा परेको छ । तर सम्भावना मात्र पर्याप्त हुँदैन– तयारी र विश्वसनीयता अपरिहार्य हुन्छ ।
नेपालमा जापान रोजगारीको विषयमा उत्साह अत्यन्तै बढेको छ । सामाजिक सञ्जालदेखि म्यानपावर कार्यालयसम्म जापान जाने चर्चा चुलिएको छ । तर, यथार्थतर्फ हेर्दा हाम्रो संरचना अझै कमजोर देखिन्छ । जापानसँग सम्बन्धित प्रक्रिया नेपालमा अत्यन्त झन्झटिलो छ । डिमान्ड भेरिफिकेसनका लागि एम्बेसीमार्फत कागजात बुझाउँदा महिनौंसम्म फाइल अड्किने अवस्था छ । जापान जस्तो समयपालनमा कडा देशका लागि यस्तो ढिलाइ गम्भीर समस्या हो । कम्पनीहरूले आफ्नो उत्पादन र सेवा योजनालाई समयमै जनशक्ति आवश्यक पर्छ, महिनौंको प्रतीक्षा उनीहरूका लागि स्वीकार्य हुँदैन ।
अनलाइन प्रणाली सुरु गरिए पनि त्यसको प्रभावकारिता सन्तोषजनक छैन । अनलाइन आइडी भेरिफिकेसनमै महिनौं लाग्ने अवस्था छ । यसले इथिकल र पारदर्शी ढंगले काम गर्न चाहने कम्पनीहरू निराश बनाउँछ । तर, पहुँच र अनौपचारिक प्रभाव प्रयोग गर्न सक्नेहरू भने अघि बढ्ने प्रवृत्ति बढ्दा बजारको साख नै जोखिममा पर्न सक्छ ।
यति मात्र होइन, नेपाली युवाहरूको तयारीमा पनि गम्भीर कमजोरी देखिन्छ । जापानी भाषा परीक्षा पास गर्नका लागि मात्र पढ्ने, अन्तर्वार्ता पास भएपछि अभ्यास छोड्ने र जापान पुग्दा भाषा ज्ञान कमजोर हुने अवस्था सामान्य बन्दै गएको छ । भाषा जापानमा जीवन र काम दुवैको आधार हो । भाषा नआउँदा न काम बुझिन्छ, न सुरक्षा मापदण्ड, न ग्राहक सेवा ।
फिजिकल फिटनेस, सरसफाइ, समयपालन र व्यवहारिक ज्ञान पनि उत्तिकै महत्वपूर्ण छन् । जापानमा कामको गति तीव्र हुन्छ, अनुशासन कठोर हुन्छ । ढिलासुस्ती, नियम उल्लंघन वा गैरजिम्मेवारी व्यवहार सह्य हुँदैन । इन्डोनेसियालगायतका देशका कामदारहरू वर्किङ इथिक्स र अनुशासनमा बलिया मानिन्छन् । नेपालीहरूमा त्यो स्तर अझै सुदृढ बनाउनुपर्ने आवश्यकता स्पष्ट छ ।
सुरुवाती चरणमा एसएसडब्ल्यूअन्तर्गत ‘तोकुतेई गिनो’ प्रति आकर्षण उच्च थियो । नेपालीहरूका लागि नयाँ र सम्मानजनक अवसरको रूपमा हेरिएको थियो । तर अहिले त्यो आकर्षण केही हदसम्म घट्दै गएको देखिन्छ । यसको प्रमुख कारण तयारीको कमी र छवि व्यवस्थापनको कमजोरी हो ।
नेपालका कतिपय म्यानपावर व्यवसायीहरूले मध्यपूर्वी देशहरूमा जस्तै सोच राखेर जापानको बजारमा प्रवेश गर्न खोज्ने प्रवृत्ति देखिन्छ । तर, जापान त्यस्तो बजार होइन जहाँ छिटो प्रोसेस, ठूलो भोल्युम र कम तयारीमै काम चल्छ । यहाँ काम गर्न दीर्घकालीन सोच, धैर्य र पारदर्शिता आवश्यक छ । जापानलाई ‘सुनको अण्डा दिने कुखुरा’ जस्तो अवसर मान्ने हो भने त्यसलाई जोगाएर, दीर्घकालीन सहकार्य गर्दै अघि बढ्नुपर्छ । छोटो समयमै धेरै नाफा खोज्ने मानसिकता अन्ततः बजार नै नष्ट गर्ने जोखिममा पुग्छ ।
आगामी दशकमा एसएसडब्लूअन्तर्गत १६ वटा क्षेत्रमा ठूलो संख्यामा विदेशी कामदार भित्रिने अनुमान छ । नेपालीहरूका लागि हस्पिटालिटी (होटल तथा रेस्टुरेन्ट), केयर गिभिङ, सरसफाइ सेवा जस्ता क्षेत्र विशेष उपयुक्त देखिन्छन् । यी क्षेत्रमा नेपालीहरूको मिहिनेत, सहनशीलता र सेवा भाव उपयोगी हुन सक्छ । तर न्यूनतम भाषा दक्षता, शिष्ट व्यवहार, सरसफाइ र कामप्रतिको प्रतिबद्धता सुनिश्चित नभएसम्म अवसरलाई स्थायी बनाउन सकिँदैन ।
अर्को जोखिमपूर्ण प्रवृत्ति भनेको काममा आएपछि छिट्टै छोडेर अन्यत्र जाने, नियम उल्लंघन गर्ने वा वैकल्पिक बाटो खोज्ने प्रवृत्ति हो । यस्तो व्यवहार बढेमा ‘नेपालीहरू अस्थिर र अविश्वसनीय हुन्छन्’ भन्ने धारणा बन्न सक्छ । एकपटक छवि बिग्रियो भने सुधार्न दशकौं लाग्न सक्छ ।
सिन्डिकेट र मोनोपोलीको सोचले पनि बजार असन्तुलित हुन्छ । केही सीमित समूहले मात्र अवसर कब्जा गर्ने प्रयास गर्दा पारदर्शिता हराउँछ । सबैले निष्पक्ष प्रतिस्पर्धा गर्ने वातावरण बनेमा मात्र दीर्घकालीन बजार सुरक्षित रहन्छ । जापानमा कामको अभाव छैन, अभाव छ भने अनुशासित, दक्ष र विश्वसनीय जनशक्तिको ।
नेपालभित्र जापानिज भाषा शिक्षा, संस्कृति र कार्यसंस्कार सिकाउने प्रणालीलाई बलियो बनाउन जरुरी छ । भाषा स्कुल, म्यानपावर कम्पनी, सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय आवश्यक छ । शारीरिक रूपमा फिट, मानसिक रूपमा तयार र संस्कारयुक्त कामदार पठाउन सके मात्र जापानको बजारमा नेपालको स्थान स्थिर रहन्छ ।
कमाइको दृष्टिकोणबाट हेर्दा, अहिले जापानी येन केही कमजोर अवस्थामा छ । अत्यधिक कमाइ हुन्छ भन्ने भ्रम पाल्नु उचित हुँदैन । तर, नेपालभन्दा राम्रो आम्दानी, सीप सिक्ने अवसर, विश्वस्तरीय अनुशासन र कार्यसंस्कृति आत्मसात गर्ने अवसर भने जापानले दिन्छ । जापानमा दुःख गरेर, नियम पालन गरेर, इमानदारीपूर्वक काम गरेका नेपालीहरू भविष्यमा नेपाल फर्किंदा देशकै लागि मूल्यवान सम्पत्ति बन्न सक्छन् । उनीहरूले सिकेको व्यवस्थापन, समयपालन, प्रविधि र श्रम संस्कार नेपालकै उत्पादनशील शक्तिमा रूपान्तरण हुन सक्छ ।
अन्ततः जापान नेपालीका लागि अवसर हो– तर तयारीसहितको अवसर । क्षणिक लाभभन्दा दीर्घकालीन प्रतिष्ठा रोज्ने, इथिकल रिक्रुटमेन्टलाई प्राथमिकता दिने र भाषा–संस्कारलाई आधार बनाउने हो भने जापान नेपाली श्रमिकका लागि स्थायी, सम्मानजनक र गौरवपूर्ण गन्तव्य बन्न सक्छ । जापानले ढोका खोलेको छ, तर त्यो ढोकाबाट सम्मानका साथ प्रवेश गर्ने जिम्मेवारी भने नेपालको हो । यही फेब्रुअरी २४ मा नेपालका म्यानपावर कम्पनी र जापानका रोजगारदाताबीच बिजनेस सेमिनार पनि हुँदैछ । त्यसैले सबै विषयलाई ख्याल गरेर उचित कदम चाल्न जरुरी रहेको छ ।
(१८ वर्षदेखि जापानमा रहेका बास्तोला, विद्यार्थी तथा मानव संशाधनको क्षेत्रमा कार्यरत छन् ।)