
नयाँ दिल्लीमा आयोजित प्रविधिसम्बन्धी प्रमुख शिखर सम्मेलनपछि जारी गरिएको घोषणापत्रमा संयुक्त राज्य अमेरिका र चीनलगायत दर्जनौं राष्ट्रहरूले ‘सुरक्षित, भरपर्दो र बलियो’ कृत्रिम बुद्धिमत्ताको विकासका लागि आह्वान गरेका छन् । ८६ देशले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा द्रुत गतिमा विकास भइरहेको प्रविधिलाई नियमन गर्ने ठोस प्रतिबद्धता समावेश गरिएको छैन; बरु स्वैच्छिक र गैर–बाध्यकारी पहलहरूलाई प्राथमिकता दिइएको छ । पाँचदिने एआई इम्प्याक्ट समिटद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एआईको प्रतिज्ञा तब मात्र सार्थक हुन्छ, जब यसको लाभ मानवताद्वारा साझा गरिन्छ ।’ यसले जेनेरेटिभ एआईको आगमनलाई ‘प्राविधिक विकासको मार्गमा एक परिवर्तन बिन्दु’ को रूपमा वर्णन गरेको छ ।
दशौं हजार सहभागी, शीर्ष प्राविधिक सीईओहरू तथा नीति निर्माताहरूको उपस्थितिमा सम्पन्न यो चौथो वार्षिक विश्वव्यापी एआई बैठक हो र विकासशील देशद्वारा आयोजित पहिलो शिखर सम्मेलन पनि हो । शिखर सम्मेलनमा एआईका सम्भावित सामाजिक फाइदा—जस्तै औषधि खोज, अनुवाद उपकरण र डिजिटल सेवा विस्तार–सहित रोजगारी गुम्ने जोखिम, अनलाइन दुरुपयोग तथा डाटा केन्द्रहरूको उच्च ऊर्जा खपत जस्ता चुनौतीहरूबारे व्यापक छलफल भयो ।
भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले फेब्रुअरी २०२६ मा नयाँ दिल्लीस्थित भारत मण्डपममा एआई इम्प्याक्ट समिट आयोजना गरेको हो । यो ग्लोबल साउथमा आयोजना भएको पहिलो विश्वव्यापी एआई शिखर सम्मेलन हो । सम्मेलनले समावेशी वृद्धि, सामाजिक विकास, सार्वजनिक सेवा सुदृढीकरण तथा वातावरणीय संरक्षण सुनिश्चित गर्ने लक्ष्य राखेको छ । साथै, रोजगारी गुम्ने जोखिम, एआईमा पूर्वाग्रह र ऊर्जा खपत वृद्धि जस्ता चुनौतीहरू व्यवस्थापन गर्न पनि जोड दिएको छ ।
कृत्रिम बुद्धिमत्ता (एआई) ले समाज, अर्थतन्त्र र शासन प्रणालीलाई तीव्र रूपमा रूपान्तरण गरिरहेको छ । यसले विशेषगरी विकासशील देशहरूका लागि डिजिटल सेवा विस्तार र बहुभाषिक पहुँचमार्फत नयाँ अवसरहरू सिर्जना गरेको छ । तर ‘ग्लोबल एआई डिभाइड’ अझै कायम छ, किनकि स्रोतहरू सीमित विकसित राष्ट्र र ठूला कम्पनीहरूमा केन्द्रित छन् । त्यसैले एआई समावेशी, निष्पक्ष र सबैका लागि लाभदायक बनाउन विश्वव्यापी समन्वय आवश्यक छ ।
भारत–एआई प्रभाव शिखर सम्मेलन तीन मार्गदर्शक सिद्धान्त– जनता, ग्रह र प्रगतिमा आधारित छ । जनता सूत्र मानव कल्याण, सांस्कृतिक विविधताको सम्मान र मानव मर्यादाको संरक्षणमा केन्द्रित छ । ग्रह सूत्रले एआईको प्रयोग वातावरणमैत्री र दिगो हुनुपर्नेमा जोड दिन्छ । प्रगति सूत्रले एआईलाई आर्थिक वृद्धि र सामाजिक विकासको साधनका रूपमा प्रयोग गर्दै स्वास्थ्य, शिक्षा, कृषि र शासन क्षेत्रमा समान पहुँच सुनिश्चित गर्नुपर्ने धारणा राख्छ । कृत्रिम बुद्धिमत्ता नेपालको आर्थिक वृद्धि, सुशासन र जीवनस्तर सुधारका लागि महत्वपूर्ण उपकरण बन्न सक्छ । नेपालले २०२५ मा आफ्नो पहिलो एआई नीति सार्वजनिक गरेको छ, जसले कृषि, स्वास्थ्य, उत्पादन र रोजगारी क्षेत्रमा प्राथमिकता दिएको छ । तर पूर्वाधारको कमी, दक्ष जनशक्ति अभाव र कमजोर नियामक संरचना अझै चुनौतीका रूपमा रहेका छन् ।
भारतले एआईलाई राष्ट्रिय आकांक्षासँग जोडिसकेको अवस्थामा नेपाल अझै सम्भावनाको नक्सा कोर्ने चरणमा छ । नेपालमा एआईबारे ‘हामी पछि नपरोस्’ भन्ने चिन्ता बढी देखिन्छ । तर एआईलाई भविष्यको डर होइन, अवसरका रूपमा लिन जरुरी छ । यदि एआईलाई कृषकका खेतमा, ग्रामीण स्वास्थ्य केन्द्रमा वा नेपाली भाषामा सिर्जनात्मक तथा डिजिटल सामग्री निर्माणमा प्रयोग गर्न सकियो भने त्यसले वास्तविक परिवर्तन ल्याउन सक्छ ।
नोभेम्बर २०२५ मा काठमाडौँस्थित भारतीय दूतावास र नेपाल एआई एसोसिएसनको सहकार्यमा ‘समावेशी वृद्धिका लागि एआईः नेपालको एआई–तयार भविष्य निर्माण’ शीर्षकको कार्यक्रम आयोजना गरिएको थियो, जसले द्विपक्षीय सहकार्यको सम्भावना उजागर गरेको छ ।
‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) शब्द प्रायः ‘मेसिन लर्निङ’ सँग समानार्थी रूपमा प्रयोग गरिए पनि एआई त्यसभन्दा व्यापक अवधारणा हो । यो मेसिनद्वारा प्रदर्शन गरिने बुद्धिमत्ता हो, जसले मानव हस्तक्षेपबिना सिक्न, विश्लेषण गर्न र निर्णय लिन सक्छ । नेपालमा सार्वजनिक तथा निजी संस्था, शैक्षिक निकाय र स्टार्टअपहरूले एआई–आधारित च्याटबोट, बायोमेट्रिक्स, मेसिन लर्निङ प्रणाली र प्राकृतिक भाषा प्रशोधनमा काम गरिरहेका छन् । हाल सरकारले एआईसम्बन्धी अवधारणापत्र सार्वजनिक गरी आवश्यक नीति तथा कानुन निर्माणको आधार तयार गरेको छ ।
एआई प्रभाव शिखर सम्मेलन २०२६ ले विश्वलाई समावेशी, जिम्मेवार र दिगो एआईतर्फ उन्मुख गराउने प्रयास गरेको छ । नेपालका लागि यो प्रेरणादायी अवसर हो । तर प्रेरणाले मात्र पुग्दैन– पूर्वाधार विकास, दक्ष जनशक्ति निर्माण, स्पष्ट नीति र दृढ कार्यान्वयन आवश्यक छ । नेपालले आफ्नो नीतिलाई व्यवहारमा उतार्न सके मात्र एआईलाई समानता, दिगोपन र प्रगतिको सशक्त साधन बनाउन सक्नेछ ।