प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले शनिबार सन्देशमुलुक सभा गरेको छ । ९ वर्षपछि प्रतिपक्षी भूमिकामा धकेलिएको सय दिन पुग्दासम्म माओवादीको ठोस् गतिविधि देखिएको थिएन । पार्टीको आन्तरिक भेला, छलफल, बैठक र प्रशिक्षणात्मक कार्यक्रमहरु मात्र चलिरहेको थियो । तर अकस्मात निर्णय गर्दै माओवादीले राजधानीमा खबरदारी सभा ग¥यो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार दिनको तयारीमा सभा भएको जानकारी दिनुले यो कार्यक्रम आकस्मिक तय भएको बुझ्न गाह्रो पर्दैन । यसरी अकस्मात निर्णय गरेर सडक प्रदर्शन हुनुलाई राजनीतिक वृत्तमा रवि लामिछाने पक्राउसँग जोडेर टिप्पणी गरिदैछ । सहकारी बचत रकम अपचलनको मुद्दामा रास्वपा सभापति लामिछाने गत २ कात्तिकमा पक्राउ परेका थिए । रवि पक्राउ पर्ने दिन बिहान प्रचण्डकै पहलकदमीमा विपक्षी दलहरुका तर्फबाट साझा मागपत्र तयार पारेर प्रधानमन्त्रीलाई बुझाउने निर्णय भएको थियो ।
यद्यपि संसदीय छानबीन समितिको प्रतिवेदन बमोजिम रवि पक्राउ परे, सरकार पछि हटेन । रवि पक्राउ परेपछि रास्वपा प्रदर्शनमा छ । रास्वपा आफैले सभापति लामिछानेलाई निर्दोष रहेको दाबी गर्दै अदालत प्रभावित बनाउनेगरी प्रदर्शन गरिरहेको छ । तर रवि पक्राउविरुद्धको प्रदर्शन उठ्न सकेको देखिदैन । पोखरामा केही दिनसम्म चलेको प्रदर्शन शुक्रबार राजधानी काठमाडौमा भयो । एकैदिनमा प्रदर्शन उत्रियो, अर्को निर्णय गर्नेगरी रास्वपाले प्रदर्शनको कार्यक्रम परिवर्तन ग¥यो । यस्तो बेला माओवादीले खबरदारी सभा राख्नुलाई रवि लामिछानेको गिरफ्तारीसँग जोडेर हेर्नु अनौठो होइन । अझ सरकारको विरोध गर्ने क्रममा सहकारी ठगी प्रकरणमा न्यायोचित निर्णय नभएको माओवादी बक्तव्यले उसलाई शंका गर्ने ठाउँ मिलेको थियो । तर प्रचण्ड सहित माओवादी नेताहरुले खबरदारी सभाको उद्देश्य रवि लामिछानेलाई साथ दिनु नरहेको प्रष्टोक्ति दिएका छन् ।
बरु खबरदारी सभाको उद्देश्य सुशासनको पक्षमा सरकारले चाल्ने अभियान नरोकियोस् भन्ने रहेको पनि प्रचण्डले प्रष्ट्याए । उनले आफू नेतृत्वको सरकारले सुशासनको अभियान अगाडि बढाएको र वर्तमान सरकारले त्यो अभियानलाई निरन्तरता दिनुपर्ने तर्क गरेका थिए । प्रचण्ड यतिमै रोकिएनन्, उनले सरकार ढाल्ने खेलमा माओवादी नलाग्ने उद्घोष पनि गरे । प्रधानमन्त्री केपी शर्मा ओली आफैले सरकार परिवर्तनको प्रयास भइरहेको अभिव्यक्ति दिइरहँदा प्रचण्डको उद्घोष अर्थपूर्ण छ । किनकि नागरिकमा अहिले बढिरहेको निराशा र अविश्वासको मूल कारण राजनीतिक अस्थिरता र सुशासनको प्रत्याभूति नहुनु हो । राजनीतिक नेतृत्व हमेसा सरकार फेर्ने खेलमा मात्र अल्मलिदा सुशासन र विकासको काम अवरुद्ध भएको तथ्य लुकेको छैन । त्यसैले माओवादीले ढिलै भएपनि सडकबाट प्रतिपक्षी भूमिकामा खरो उत्रने प्रतिबद्धता गर्नु मुलुक र स्वयं माओवादीकै निम्ति पनि उचित हो । किनभने सरकारलाई जवाफदेही र उत्तरदायी बनाउने संवैधानिक एवं राजनीतिक भूमिकामा माओवादी सशक्त बन्न सक्यो भने आगामी आमचुनावको नतिजा समेत परिवर्तन हुन सक्छ ।