२०८१ माघ १६ गते बुधवार / Jan 29 , 2025 , Wednesday
२०८१ माघ १६ गते बुधवार
Ads

गोरखा, श्रीनाथमण्डली र रोट

hardik ivf
मध्यान्ह
२०८१ मंसिर ३ गते ०६:१०
गोरखा, श्रीनाथमण्डली र रोट

-डा. जगमान गुरुङ

गोरखाको सिरानचोकमाथि डाँडाको टुप्पामा श्रीनाथकोट, श्रीनाथमण्डली आदि धार्मिक एवं ऐतिहासिक स्थलहरू छन् । श्रीनाथलाई महासिद्ध योगी गुरु गोरखनाथको गुरु मानिन्छ । 

वास्तवमा गोरखाको श्रीनाथमण्डलीमा गाई गोठालाको घरमा वैशाख शुक्ल पूर्णिमाका दिन महासिद्ध योगी गुरु गोरखनाथको जन्म भएको हो । गो अथवा गाईको सेवा गरेर सिद्धि प्राप्त गरेको हुनाले गोरक्षनाथ–गोरखनाथ नामबाट प्रसिद्ध भई जन्मभूमिको नाम पनि गोरखा रहेको हो । गोरखा, सिरानचोकको श्रीनाथमण्डलीमा जन्मनुभएका महासिद्ध योगी गुरु गोरखनाथले गोरखाको गोरखनाथगुफामा गई बज्रभैरवको साधना गरेर सिद्धि प्राप्त गर्नुभएको हो । 

महासिद्ध योगी गुरु गोरखनाथको शुभआशीर्वादबाट द्रव्य शाह गोरखाका राजा भए । द्रव्य शाहले लमजुङबाट गोरखा प्रवेश गर्दा उनलाई १८ जना गुरुङ उमराले साथ दिएका थिए । गुरु गोरखनाथकै शुभआशीर्वादबाट राम शाह पुण्यात्म राजा भए । राजा राम शाहकी आमा आज धादिङ, सल्यानकोटका माई त्रिपुरसुन्दरी र उनका रानी मनकामनाका रूपमा प्रसिद्ध छन् । 

राजा राम शाहले अर्जेको पुण्य र महासिद्ध योगी गुरु गोरखनाथको वरदानबाट पृथ्वीनारायण शाह नेपालका राजा भएका थिए । अतः यो नेपाल अधिराज्य महासिद्ध योगी गुरु गोरखनाथले धानेर राखेको छ ।

गोरखाको सिरानचोकस्थित श्रीनाथमण्डलीमा प्रत्येक वर्ष मंसिर महिनामा न्वागीको अवसरमा विधिपूर्वक रोट चढाइन्छ । यो साल २०८१ मंसिर २ गते, आइतबार श्रीनाथमण्डलीमा रोट चढाउने कार्यक्रम छ । सिरानचोकलाई गुरुङ भाषामा सिराँ भनिन्छ । त्यस कारण सिराँमा बसेका लामछाने गुरुङहरूको सिराँक्ह्रोँ पद रहेको छ ।

यो सिरानचोक अघि द्रव्य शाहको पालाका गणेश पाण्डे, पृथ्वीनारायण शाहको पालाका झाँगल गुरुङ र रणबहादुर शाह र गीर्वाणयुद्ध वीरविक्रम शाहको पालाका बडाकाजी अमरसिंह थापाको थलो किलो हो । सिरानचोकको फेरोलाई बाह्र थरी र सात बराहले घेरेर राखेको छ । यी बाह्र थरी र सात बराहमध्ये सिरानचोक मौलोको जिम्मावाल सिरानचोक, थालाजुङ र रामच्येका कोके गुरुङ थिए । 

यी कोके गुरुङहरूका पुर्खा उमरा वीरभद्र कोके गुरुङ अघि द्रव्य शाहले लमजुङबाट गोरखा प्रवेश गर्दा द्रव्य शाहसँगै लमजुङको पुरानोकोटबाट गोरखा आएका थिए । कुश्माकर घिमिरे र खजे दुराले कालु शाह र यशोब्रह्म शाहलाई लमजुङ, पुरानोकोटमा राजा थापेका थिए । 

शाह राजाहरू गाउँ शहरतिर, घिमिरे बाहुनहरू बाहुनबेँसीतिर र दुराहरू दुराडाँडातिर सरेपछि कोके गुरुङहरूले लमजुङ, पुरानोकोटको मौलो थामेको हो । अहिले पनि पुरानोकोटका कोके गुरुङहरूले पुरानोकोटको चण्डीथानमा शाह राजाहरूको पुस्तावली फलाकेर पूजा गर्छन् ।

जंगबहादुर राणाको पालामा भोटको लडाइँ हुँदा भारत कोके गुरुङ सुबेदार थिए । भोटको लडाइँ जितेपछि उनी लप्टन भए । वीरशमशेर जबराको पालामा लप्टन भारत गुरुङ पल्टन हाँक्न सक्ने सैनिक अफिसरमा दरिएका थिए । यिनै उमरा वीरभद्र कोके गुरुङ र लप्टन भारत कोके गुरुङको वंशजले सिरानचोक मौलोको जिम्मावाली चलाई आएका थिए । 

मैले सिरानचोक मौलोका जिम्मावाल गोलबहादुर कोके गुरुङलाई भेटेको छु । अहिले जिम्मावाल गोलबहादुर कोके गुरुङका छोरा वीरसिंह कोके गुरुङ श्रीनाथमण्डलीका पुजारी हुनुहुन्छ । यसैगरी सिरानचोक मौलोका द्वारे त्हार–दर्लामी गुरुङ थिए । यी दर्लामी गुरुङका पुर्खा उमरा सबल दर्लामी गुरुङ अघि द्रव्यको पालाका १८ जना गुरुङ उमरामध्ये एक थिए । मैले सिरानचोक, उपल्लो पामका मुखिया जमदार सनपसिंह दर्लामी गुरुङ र तल्लो पामका द्वारे माहिला टंकमान दर्लामी गुरुङलाई भेटेको छु । 

यसरी नेपालको राजनीति र संस्कृतिको संरक्षण र संवर्धनमा गुरुङहरूको महत्त्वपूर्ण भूमिका रहेछ । अतः आजका गुरुङ महोदयहरूले नेपाल राष्ट्रको निर्माणमा गुरुङहरूको योगदानलाई राम्ररी बुझ्न सक्नुपर्छ ।

(डा. गुरुङको फेसबुकबाट ।) 

ADVenergy

सम्बन्धित खबर

Advertise