-राजन थापा
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप– २९) ११ नोभेम्बर २०२४ देखि अजरबैजानको बाकुमा भएको छ । पहिलो हप्ताको अन्तिम दिनसम्म आइपुग्दा यो सम्मेलनमा केके भए त भन्ने सबैमा चासो बढेको छ । ‘वित्तीय कोप’ भनेर चिनिएको सम्मेलन कुन दिशातिर जान्छ, त्यो भने अब हुने वार्ता तथा छलफलले बताउने नै छन् ।
कोप– २९ मा कोप– २८ को नतिजामा आधारित रणनीति अघि बढेका छन् । यस सम्मेलनमा जलवायु वित्तीय लक्ष्य, कार्बन बजारका लागि धारा ६ अन्तर्गतका नियमहरू, हानि तथा नोक्सानीको प्रतिक्रिया कोष र अनुकूलन लक्ष्यमा प्रगतिको मापनका मापदण्डहरू निर्माण मुख्य विषयको रूपमा रहेका छन् । साथै, एनडीसी, राष्ट्रिय अनुकूलन योजना (न्याप) र द्विवार्षिक पारदर्शिता प्रतिवेदन (बीटीआर) समयमा प्रस्तुत गर्ने महत्त्वाकांक्षालाई प्रोत्साहन दिन यस सम्मेलनका छलफलहरू केन्द्रित छन् ।
केही वर्षयता जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा देखापर्न थालेको छ । यसको एउटा ज्वलन्त उदाहरण उष्णतामा अस्वाभाविक वृद्धि भएको छ । सन् २०२४ मा लगातार दोस्रो पटक सबैभन्दा तातो वर्ष हुने अनुमान गरिएको छ । विश्वभरि चरम मौसमी घटनाहरूको तीव्रता बढिरहेको छ ।
नेपाल, स्पेन र सहारामा विनाशकारी बाढीदेखि ब्राजिलको अमेजन वर्षावनमा भयावह आगलागी र अत्यधिक तापक्रम र खडेरी, यी र यस्ता जलवायु परिवर्तनको प्रभावले थप चुनौती सिर्जना गरेको अवस्था छ । कोप– २९ को आयोजना यसै जटिल परिस्थिति र ठूला घटनाहरूको बीच भएको छ । राजनीतिक दृष्टिबाट हेर्दा विश्वमा बढी कार्बन उत्सर्जन गर्ने मुलुकहरूमध्ये एक अमेरिकामा चुनाव पनि पर्छ । डोनाल्ड ट्रम्पको पुनः निर्वाचनले पेरिस सम्झौताबाट फिर्ता हुने उनको योजनासहित अन्तर्राष्ट्रिय जलवायु वार्तामा ठूलो असर पार्न सक्ने कतिपयले अनुमान गरेका छन् । यूएनएफसीसीसीबाट फिर्ता हुने सम्भावनाको चर्चा भए पनि यो सजिलो हुने छैन ।
कोप– २९ बाट के आशा गर्न सकिन्छ ?
कोप– २९ लाई वातावरण क्रियाशील विश्वका व्यक्तिहरू मात्र नभई आमसर्वसाधारणले पनि निकै चासोपूर्वक हेरिरहेका छन् । विगतका सम्मेलनहरूको तुलनामा यस पटक केही उपलब्धिमूलक नै हुने आशा उनीहरूले गरेका छन् । यस पटक जलवायु वित्त, राष्ट्रिय रूपमा निर्धारित योगदान बढाउने पहल, क्षति र नोक्सानीको वित्तीय सहयोग, अनुकूलनका लागि प्रगति, कार्बन बजारहरूको सुदृढीकरणलगायतका केही उपलब्धिहरूको आशा गरिएको छ ।
जलवायु वित्त
जलवायु वित्त सन् १९९२ देखि अन्तर्राष्ट्रिय जलवायु वार्ताको महत्त्वपूर्ण मुद्दा रहँदै आएको छ । सन् २००९ मा भएको कोप– १५ ले १०० अर्ब अमेरिकी डलर वार्षिक प्रतिबद्धता तय गरेको थियो । तर, यो लक्ष्य सन् २०२० को समयसीमाभन्दा २ वर्षपछि सन् २०२२ मा मात्र पूरा भएको थियो ।
तथापि, यो विषयमा अझै पनि एक मत भने भएको छैन । तसर्थ, विकासशील देशहरूको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै जलवायु वित्तका लागि वार्षिक सय अर्ब अमेरिकी डलरको न्यूनतम आधारबाट नयाँ सामूहिक परिमाणित लक्ष्यमा सहमति जनाउने अपेक्षा यस पटकको कोपबाट गरिएको छ ।
पहिलो हप्ताको अन्तिम दिनसम्मको प्रगतिलाई हेर्दा केही सकारात्मक प्रयास भएको देख्न सकिन्छ । पहिलो हप्ताको उपलब्धिको रूपमा नयाँ सामूहिक परिमाणित लक्ष्यको मस्यौदा पाठ बाहिर आएको छ । तर, अझै १० पृष्ठको दस्तावेजमा पुग्नु चुनौतीपूर्ण छ । अतिकम विकसित र विकासशील देशहरूले वार्षिक १ दशमलब ३ ट्रिलियन अमेरिकी डलरको जलवायु वित्त प्रतिबद्धताको माग गरिरहेका छन्, जुन जलवायु कार्य लक्ष्यहरू पूरा गर्न र जलवायु परिवर्तनका बढ्दो प्रभावहरू सामना गर्न आवश्यक छ । त्यस्तै, उनीहरूले वित्तीय लक्ष्यलाई अनुदानको आधारमा उपलब्ध गराउनुपर्ने माग राखेका छन् । यसमा नेपालको पनि साझा धारणा छ ।
राष्ट्रिय रूपमा निर्धारित योगदान बढाउने पहल
कोप– २९ चलिरहेको छलफलमा सबै राष्ट्रहरूलाई सन् २०२५ सम्म राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसी) महत्त्वाकांक्षी प्रस्तुत गर्न प्रोत्साहन गरिरहेको छ । प्रायः सबैजसो छलफलहरूले सबै देशहरूलाई सन् २०२५ सम्म थप महत्त्वाकांक्षी एनडीसी प्रस्तुत गर्न प्रेरित गरिरहेका छन् ।
सन् २०३० र २०३५ को नयाँ लक्ष्यसहित प्रस्तुत हुने एनडीसीले विश्वव्यापी तापक्रम वृद्धि १ दशमलव ५ डिग्रीमा सीमित गर्न सक्छ भन्ने विवरण यसअघिको कोपमा पनि प्रस्तुत भइसकेको छ ।
क्षति र नोक्सानीको वित्तीय सहयोग
यस पटक भइरहेको कोपले क्षति र नोक्सानीको कोष (एफआरएलडी)को कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । यो कोष सन् २०२५ सम्म पहिलो वित्तीय वितरण गर्ने योजनामा छ । तर, विकसित देशहरूले क्षति र नोक्सानीको वित्तीय सहयोगलाई नयाँ सामूहिक परिमाणित लक्ष्यमा समेट्न अनिच्छा देखाएका छन् ।
क्षति र हानिका लागि कोष संचालन गर्नु सन् २०२३ मा दुबईमा सम्पन्न कोप– २८ को सबैभन्दा ठूलो उपलब्धिमध्ये एक मानिएको थियो । यस हप्ता कोप– २९ मा स्वीडेनले कोषका लागि थप १९ मिलियन अमेरिकी डलर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ, जसले कोषमा प्रतिबद्ध कुल रकम ७२० मिलियन अमेरिकी डलरभन्दा बढी पुर्याएको छ ।
यस हप्ता कोषको बोर्ड र विश्व बैंकबीच ट्रस्टी सम्झौता र सचिवालय आतिथ्य सम्झौता साथै बोर्ड र आतिथ्य प्रदान गर्ने देश फिलिपिन्सबीच आतिथ्य देश सम्झौतासमेत सम्पन्न भएका छन् ।
अनुकूलनका लागि प्रगति
ग्लोबल गोल अन एडप्टेसन (जीजीए)सम्बन्धी छलफलहरू पेरिस सम्झौताका लक्ष्यहरू पूरा गर्नका लागि महत्त्वपूर्ण छन् । विशेषगरी जोखिमपूर्ण समुदायका लागि सहनशीलता निर्माण गर्ने र जोखिमका अवस्थाहरू घटाउने सन्दर्भमा पक्ष राष्ट्रहरूले जीजीए मापन गर्न स्पष्ट मापदण्डहरू र सूचकहरू निर्धारण गर्ने विषयमा छलफल गरिरहेका छन् ।
विशेषगरी वित्तीय स्रोतहरू निर्धारण गर्ने सूचकहरू समावेश गर्ने विषयमा निर्णय हुने आशा छ । साथै, यसै विषयमा समावेश हिमालको मुद्दामा नेपालले अन्य हिमाली देशहरूसँग मिलेर आफ्नो प्रष्ट धारणा राखिरहेको छ ।
कार्बन बजारहरूको सुदृढीकरण
जसरी कोप– २९ वार्ता बाकुमा जारी छ, पेरिस सम्झौताको धारा ६ अन्तर्गत उल्लेखनीय प्रगति भएको छ । यसले कार्बन बजारहरूमा अन्तर्राष्ट्रिय सहकार्यका संयन्त्रहरूको व्यवस्था गर्छ । धारा ६ दशमलव ४ अन्तर्गत विश्वको कार्बन बजारलाई संचालनमा ल्याउने खाकाको स्वीकृति प्रमुख उपलब्धि भएको छ ।
यो संयन्त्रले पारदर्शिता बढाउने र कार्बन क्रेडिटहरूले वास्तवमा विश्वव्यापी उत्सर्जन कटौतीमा योगदान पु¥याएको सुनिश्चित गर्ने उद्देश्य राख्छ । यस निर्णयले क्योटो अभिसन्धिको पुरानो स्वच्छ विकास संयन्त्रलाई प्रतिस्थापन गर्दै उत्सर्जन कटौतीका लागि संयुक्त राष्ट्रसंघको निगरानीमा बलियो व्यापार प्रणालीको आधार तयार गर्छ । तथापि, यसभित्रका केही अन्य थुप्रै विषयहरूमा छलफलहरू निस्कर्षमा पुग्न अझै बाँकी छ ।
पारदर्शिता
द्विवार्षिक पारदर्शिता प्रतिवेदन (बीटीआर)ले देशहरूबीच विश्वास निर्माण गर्ने र तिनीहरूको आवश्यकताहरूको पहिचान गर्न सघाउने भएकाले यस्ता प्रतिवेदनलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भनेर छलफल अगाडि बढेको छ । त्यस्तै, यही कुरालाई सम्बोधन गर्न अजरबैजानले पारदर्शिता प्रवद्र्धन गर्न नयाँ डिजिटल प्लेटफर्म सुरु गरेको छ ।
कोप– २९ का मुख्य विषयवस्तुहरूमा जलवायु वित्त, महत्त्वाकांक्षा, न्यायसंगत संक्रमण, अनुकूलन र क्षति तथा नोक्सानी, तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सिएससम्म सीमित गर्नका लागि महत्त्वपूर्ण छन् ।
यसै लक्ष्यमा सफलता प्राप्तिका लागि गएको कोपको अध्यक्ष, यस कोपका अध्यक्ष र आगामी वर्ष ब्राजिलमा हुने कोपका भावी अध्यक्षको सदस्यतामा गठित ट्रोइकाको मिसन १ दशमलव ५ डिग्री सेल्सिएसको रोडम्यापले सामूहिक महत्त्वकांक्षालाई जोड दिएको छ ।
(लेखक विश्व वन्यजन्तु कोषसँग आवद्ध छन् ।)