–ऋचा भट्टराई
म एक पहिचान हीन प्राणी हुँ
कोख, नाता र जमिनले
मलाई हरेक सम्बन्धमा बसाइदियो
तर, म केही बन्न सकिन ।
मलाई जन्माएर– हुर्काएर
आमाले आफ्नो कर्तव्यले मलाई छोरो बनाइन्
मलाई नागरिकता दिएर राष्ट्रले नागरिक बनायो
मैले कसैको शिर सजाउँदा श्रीमान भएँ
प्रेमिल स्पर्शबाट म बाउ भएँ
दिदीलाई बिदाई गरेपछि म मामा भएँ
अवश्य पनि म हरेक नाताहरूले बाँधिए
तर, म कर्तव्यले केही बन्न सकिन ।
आमा ! मैले तोते बोलीमा भनेको
म सधैँ तिमीलाई स्याहारेर तिम्रो सहारा बन्छु !
झुट बनिदिए
त्यो तोते बोलीमा झुट थिएन आमा
तर, जिम्मेवारी बुझ्दै जाँदा झुट बनिदियो
मैले मेरी उनकी आमासँग सुखदुःखमा
सधैँ साथ दिन्छु भनेर बाचा गरेर ल्याएको थिएँ
तर, साथ स्वरूप केबल आश्वासन दिन सक्छु
परिस्थितिले त्यो बाचा पनि झुट बनाइदियो ।
छोराले बाउ भनेर केबल तस्बिरले चिन्यो
काखमा खेल्न पाएन
म उसको लागि घोडा बन्न सकिन
मेरो घुँडा उसको लागि ढयाकुस् बन्न सकेन
उसले मेरो काँध चढेर आकाश छुन बल गर्न पाएन
न त भान्जालाई काँध चढाएर गाउँ डुलाउन पाएँ
मिठाई किनिदिएर खुवाउन पाइन
म कर्तव्यले केही बन्न सकिन ।
गरिबीले मुटुको भित्री भागमा पहिरो खसेपछि
म सुटकेस घिसार्न बाध्य भएँ
गरिबीलाई मेटाउँदै गर्दा
म केबल पैसाको स्रोत भएँ
तर कर्तव्यले केही बन्न सकिन ।
सानोमा पढ्दै गर्दा गुरुलाई मेरो देशको गौरव बन्ने छु
म कहाँ अन्त फुल्ने छु भनी भन्दा
गुरु मुसुक्क मुस्कुराउनु भएको सम्झन्छु
आज त्यो मुस्कानले खुब मुटु पोल्छ
त्यो अन्योल मुस्कान आफूले भोगेको स्थिति सम्झेर
थियो कि मेरो खोक्रो आँट देखेर थियो
कुन्नि मैले अझै बुझिन !
तर, यति बुझेँ, देशमा पढ्ने केबल
सर्टिफिकेट निकाल्न रहेछ
अनि नागरिकता पासपोर्ट बनाउन
माफ गर मेरी आमा
म कर्तव्यले छोरा बन्न सकिन
माफ गर पियारी
म कर्तव्यले श्रीमान् बन्न सकिन
माफ गर छोरो
म कर्तव्यले बाउ बन्न सकिन
म कर्तव्यले केही बन्न सकिन ।।