-डोन्ना फर्गुसन
मेरी आठ वर्षे छोरी फ्लोरा किताबको कीरो नै हुन् । उनलाई पढ्नका लागि बेग्लै कोठा वा ठाउँ चाहिँदैन । बाथरुममा, टेबलमा, बिस्तारामा सिरकमुनि सानो टर्चको सहारामा जहाँ पनि पढ्छिन् उनी । मैले थाहा पाएसम्म दुईपटक त बाटोमा पढ्दै हिँड्दा उनलाई चोट लाग्यो। ‘मलाई केही भा’छैन ममी’, पहिलोपटक ल्याम्पपोस्टमा ठोकिँदा उनले हँसिलो मुहार बनाएर भनेकी थिइन् ।
एउटा उदाहरण दिन्छु, उनले रेष्टुरेन्टमा पढ्दा वेटरहरूले केटाकेटीहरू फोनमा टाँसिनुको साटो किताब पढेको देख्नु त दुर्लभ नै भइसक्यो भनेर सुनाउँछन् । साना पसलहरूमा जानासाथ उनले आफू बसेर पढ्न मिल्ने कुनो भेट्टाइहाल्छिन् र पढ्न बस्छिन् । किनमेल सकिएपछि म उनलाई जाउँ भनेर बोलाउँछु । पसलका सहयोगीहरूले मलाई रोक्दै उनको ध्यान भंग नगर्न अनुरोध गर्छन् । ‘हेर्नुस् न उनी कस्तो मज्जाले पढिरहिछन्,’ उनीहरू मसँग कानेखुसी गर्दै छक्क परेको शैलीमा भन्छन् मानौं मसँग उनले पढेको देख्ने क्षमता नै छैन ।
मलाई मान्छेहरूको यस्तो व्यवहार शुरूमा त अचम्मलाग्दो लाग्यो । मेरो लागि त फ्लोराको पढन्ते स्वभाव सामान्य नै लाग्थ्यो। सायद सन् १९८० को दशकमा उनीजस्तै बच्चा हुँदा म पनि पढन्ते नै भएकाले। मसँग पनि सानो टर्च थियो । त्यसैको सहारामा म रातभर पढ्ने गर्थेँ । म आफैं पढ्दै हिँड्दा ल्याम्पपोस्टसँग ठोकिएको कति घटना अहिले पनि स्मृतिमा ताजै छ। फ्लोराले जस्तै किताब खोलेपछि मैले पनि बाहिर दुनियाँमा के भइरहेछ भन्ने ठ्याम्मै बिर्सिन्थेँ । मलाई किताब पढ्न कुनै जोडबल गर्नै पर्दैनथ्यो। किताब त जादूजस्तो लाग्थ्यो । यो त्यति अस्वभाविक पनि थिएन । बालबालिकाको पढ्ने बानीबारे सन् १९७७ मा गरिएको एक सर्वेक्षण अनुसार त्यतिबेला १० देखि १४ वर्षका बालबालिकामध्ये ७५ प्रतिशतले मनोरञ्जनका लागि पढ्ने गर्थे । सन् १९९९ मा म जतिबेला किशोरावस्थाको अन्तिमतिर थिएँ, यो संख्या ७९ प्रतिशत पुगेको थियो। त्यतिबेला केटाकेटीले पढेको देख्दा को नै छक्क पथ्र्याे र ?
तर, धेरैथोक फेरिएको छ । फ्लोराले सार्वजनिकस्थलमा पढ्दा धेरैको ध्यान तानिन्छ । गत ग्रीष्मयाममा पार्कमा बसिरहेको बेला एकजना बूढीआमा हामीसँग कुराकानी गर्न आइपुग्नुभया े। उहाँले करीब आधा घण्टादेखि फ्लोराले पढिरहेको देख्नुभएको रै’छ । ‘अचेल यस्तो देख्न नै कहाँ पाइन्छ र ?’, हर्षविभोर हुँदै उहाँले भन्नुभयो, ‘अचेल केटाकेटीले पढ्छन् भन्ने मलाई लाग्नै छोडिसक्यो ।’
साँच्ची नै फ्लोराजस्ता किताबका कीरोहरूको संख्या घट्दो छ । ‘नेसनल लिटरेसी ट्रस्ट’का अनुसार सन् २०१९ मा ५३ प्रतिशत बालबालिकाले मात्र मनोरञ्जनका लागि पढे जबकि सन् २०१६ मा ५९ प्रतिशतले पढ्थे। सन् २०१५ मा ४३ प्रतिशत बालबालिकाले दैनिकरूपमा पाठ्यपुस्तकभन्दा बाहिरको किताब पनि पढ्ने गर्थे। अहिले त्यो संख्या २५ प्रतिशतमा झरेको छ । अर्को एक अध्ययनका अनुसार जुनसुकै उमेरका भए पनि बहुसंख्यक बालबालिकाले किताबभन्दा बढी डिजिटल स्क्रिन मन पराउँछन् । अधिकांश चित्रकथाका किताबका मुख्य मात्रहरू पुरुष हुन्थे । महिला नायकमात्र होइन खलनायक र हिंस्रक जनवार पनि महिला पाउन मुस्किल पथ्र्यो । पुराना क्लासिकलमा मात्र होइन हालसालै प्रकाशित भएका किताबमा पनि शक्तिशाली पात्रहरू अधिकांश पुरुष नै हुन्थे ।
त्यसोभए सन् २०२० को यो समयमा बालबालिकालाई कसरी किताबको कीरो बनाउने त ? म तपाईंलाई मेरो अनुभव सुनाउँछु । मेरी सानी छोरीलाई पढन्ते बनाउने काम मैले आफ्नो आनन्दबाट सुरू गरेँ । हरेक रात फ्लोरालाई एउटै किताब पढेर सुनाउँदा मेरा पतिलाई खासै फरक पर्दैनथ्यो । मलाई भने दिक्कलाग्दो लाग्थ्यो। त्यसैले मैले किताब प्रदर्शनीहरू चहार्न थालेँ र चित्रकथाहरूको ठूलै संकलन तयार पारेँ। क्लासिकलदेखि बेस्टसेलर किताबहरूको चाङ नै तयार भयो। मैले यी किताब दिनदिनै फेरीफेरी उनलाई सुनाउन थालेँ। र, यसको प्रभाव ख्याल गर्न थालेँ ।
संयोगवश यही विषयमा मैले पछि गएर सुरूमा ‘अब्जर्भर’का लागि र पछि ‘गार्जियन’का लागि खोजमूलक सामग्री नै लेखेँ। तर, त्यतिबेला मैले फ्लोराका किताबमा प्रयोग भएका सर्वनामहरू परिवर्तन गर्ने निधो गरैँ । मैले कलमले किताबमा भएका नामदेखि सर्वनामहरू सबै परिवर्तन गरेँ । यसको स्पष्ट प्रभाव पर्न थाल्यो । त्यसपछि फ्लोराले सुनाउने र लेख्ने कथाका पात्र महिला हुन थाले । उनका कथामा आउने रोबोट, डायनोसर र ब्वाँसाहरू पनि महिला नै हुन थाले । उनी ती महिला नायकहरूबारे कथा लेख्छिन् जो साहसी यात्रामा जान्छन् र डरलाग्दा महिला शत्रुहरूसँग जुध्छिन् । उनी आफैं पनि छोरी भएकीले यस्तो कल्पना गरेकी होइनन् । उनले आफूले जे पढिन् तिनै कथा त लेखेकी हुन् ।
यसरी पात्रहरूको लिंग परिवर्तन गरिदिँदा उनलाई सानैदेखि पढ्न सघायो किनभने उनलाई ती पात्रहरू कल्पना गर्न सजिलो हुन्थ्यो । हरेक दिन उनी किताब पढ्दा रमाउन थालिन् । र, अरू बालबालिकाको जस्तो उनको प्रिय पुस्तक थिएन । ‘फेरि सुनाउनुस् न’ भन्नुको साटो उनी ‘अझै अरू पनि’ भन्थिन् । उनी तीन वर्ष पुगेपछि हामीले उनलाई आफ्नो चित्र कथा आफैं पढ्न भन्यौं । बिहानै ६ बजे हामी उठिनसक्ने भएकाले उनलाई त्यसो भनेका थियौं । आश्चर्यजनकरूपमा यो प्रयत्नले पनि काम ग¥यो । वास्तवमा उनी पढ्न सक्दिनथिन्। उनी त आफूले सुनेका कथा र देखेका चित्र जोड्ने प्रयत्न गर्थिन् । यो अभ्यासबाट पाठ बुझ्ने प्रयत्न पनि सुरू भयो । अनि पढ्ने बानी पनि आफैं हुर्किन थाल्यो ।
उनलाई अझ उत्साहित गर्न मैले आफ्नो पुरानो स्मार्टफोनमा म बच्चा छँदा मन पराउने क्लासिक किताबको अडियोहरू राख्न थालेँ । घरमा र कारमा लामो यात्रामा जाँदा हामी सबैले ती कथा सुन्न थाल्यौं । एनिड ब्लाइटोनको ‘फारावे ट्री’ शृंखलामध्येको पहिलो ‘द इनच्यान्टेड वुड’ सबैभन्दा प्रिय हुन पुग्यो । उनले त्यो किताब १० पटकभन्दा बढी सुनिन् होला । मलाई भने दिक्क लाग्यो । अनि मैले उनलाई रोआल्ड डहल, एडिथ नेस्विथ र रिचमल क्रोम्प्टोनका किताब सुनाउन थालेँ ।
उनलाई शताब्दीअघि लेखिएका किताब भए पनि फरक पर्दैनथ्यो । उनले सबै शब्द बुझ्दा पनि बुझ्दिनथिन् । कथाले बोकेको परिवेश, कथावाचकको शैली र आवाजले उनलाई कथा बुझ्न मद्दत गथ्र्यो । त्यसो त हरेक रात हामी उनका लागि किताब पढ्थ्यौँ । उनलाई सुनाउनकै लागि मैले आफूले बाल्यकालमा पढेका किताब दोर्होयाएँ पनि ।
विद्यालयमा पढ्न जाँदा उनको शब्दज्ञान पनि प्रचुर थियो र पाठ बुझ्ने क्षमता पनि बलियो थियो । यसले उनको पठनलाई सजिलो बनायो । उनले पढ्न जोडबल गरिरहँदा मैले भन्ने गर्थेँ – पढ्नसक्नु भनेको जादूको साँचो हुनुजस्तो हो, यसले नयाँ संसारको ढोका खोलिदिन्छ । मलाई लाग्छ, उनले मैले भनेको बुझ्थिन् । ठूलो स्वरमा पढ्नको साटो उनले आफ्नै ‘अडियोबुक’ बनाउँथिन् । मलाई किताब पढेर सुनाउँदा उनले रेकर्ड पनि गर्थिन् र पछि त्यो सुन्दै किताबमा औंला दौडाउँथिन् । यसबाट उनी पढ्नुको आनन्द लिइरहिछन् भन्ने देखिन्थ्यो । उनी पाँच वर्षको भएपछि मैले उनका लागि आर्नोल्ड लोबेलको रोचक कथा संग्रह ‘भ्यागुतो र चेपाको खजाना’ ल्याइदिएँ । र, ग्रीष्मको अन्त्यसम्म त्यसका हरेक कथा ठूलो स्वरमा वाचन गर्न उत्साहित गरेँ । त्यो काम पूरा गर्दा उनी आफैंप्रति गर्वान्वित भइन् ।
त्यो वर्षको सेप्टेम्बरदेखि मैले समाचार र कहिलेकाहीँ फिल्म हेर्नेबेलामा बाहेक टेलिभिजन बन्द गरेँ । अडियोबुक सुन्नेबेलामा बाहेक स्मार्टफोन र ट्याब्लेट प्रयोग पनि बन्द गरिदिएँ । म खासमा उनलाई हरेक दिन केही न केही फुर्सदिलो समय हुन्छ र गृहकार्य सकेपछि सबै काम सकिँदैन भन्ने ढुक्क बनाउन चाहन्थेँ । त्यसपछि मैले ‘द इन्च्यान्टेड वुड’ भन्ने किताब किनेर ल्याएँ र त्यो क्षण नआउँदासम्म पर्खिबसेँ । आखिर त्यो क्षण आइहाल्यो जब उनले भनिन्, ‘ममी मलाई दिक्क लाइसक्यो ।’ ठ्याक्कै त्यतिबेला मैले उनलाई त्यो किताब दिएँ । त्यही किताब किन्नुको पनि कारण थियो । माथि नै उल्लेख गरेँ, अडियोबुकमा उनको सबैभन्दा प्रिय किताब नै त्यहीँ थियो । त्यसको कथासँग भिजिसकेकाले उनलाई पढ्न सजिलो होला भनेर मैले त्यो किताब रोजेकी थिएँ ।
मेरो यो प्रयत्न त सलाई कोरेजस्तै भयो । पाँच वर्षकी ती फुच्ची त मौन पठनमा पो लागिपरिन्। किताबप्रतिको उनको भोकको सीमा रहन छोड्यो । संयोगवश सस्ता किताब पसलहरू प्रशस्त थिए । हामीले एकअर्कासँग किताबबारे जहाँसुकै कुरा गर्न थाल्यौं । हामी नियमितरूपमा पुस्तकालय पनि जान थाल्यौं । पुस्तकालयमा मैले एक घण्टा बिताउँथे, त्यतिन्जेल उनले आफूलाई मन पर्ने किताब फेला पार्थिन् । पुस्तकालयमै उनले ‘हरिड हेनरी’ र ‘रेनबो फेयरिज’ जस्ता शृंखलाहरू फेला पारिन् । र, उनी तिनैमा टाँसिइरहिन् । उनले रोआल्ड डहलका सबै किताब दुईपटक पढिन् । त्यसपछि उनी डेभिड वालियम्स र एन्डि स्टान्टोनका किताबमा हराउन थालिन्। यी रमाइला लेखकले उनलाई खुब हाँसो उठाउँथे । किताब पढ्दापढ्दै उनी खित्का छोडेर हाँस्थिन् । सातौं जन्मदिनमा उनले ‘डायरी अफ् अ विम्पी किड’ (कायर बच्चाको डायरी) पाइन्। त्यसपछि उनले यसको सबै शृंखला पटक–पटक पढिरहिन् । म ढुक्क छु, उनले पढेजति सबै बुझ्दिनन् तर उनले आफूले त्यसो नगरेकोमा वास्ता नि गर्दिनन् । मलाई पनि खासै मतलब छैन । उनले आनन्दका लागि किताब पढ्छिन् किनभने उनी किताबलाई प्रेम गर्छिन् । म ढुक्क छु, सधैँभरि किताबलाई माया गरिनै रहनेछिन् । आखिर उनी किताबको कीरो न हुन् ।
(गार्जियनमा प्रकाशित फर्गुसनको लेखको भावानुवाद गरिएको हो ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies