-रूपक अलङ्कार
विपरिवर्तन
वर्ग संघर्षका यात्रु चिल्ला गाडी चढी हिँडे
कुदे गन्तव्य बिर्सेर सोझै महलमा छिरे
पार्टी विधान खाँदै छन् चियापत्ती बनाएर
हिजोका असली नेता सिद्धिँदै छन् गनाएर ।
साम्राज्यवादको हड्डी झोल विस्तारवादको
पुँजीवादी मुछी भात थालमा माक्र्सवादको
अपान वायु चल्दै छ पार्टीको रणनीतिमा
सङ्लिन्छ के गरी भेल यो हाम्रो राजनीतिमा ?
हिजो संग्रामका मुठ्ठी मगन्ते अँजुली भए
विचार वादको ओड्ने फाटेका काँचुली भए
सुनको पिँजडा किन्दा तिमी आफैं भयौ सुगा
के हो सत्य सबै जानून् खोल नाटकका लुगा ।
शक्ति जम्मा गरी कोही सत्ताको तर पौडिने
थोत्रो झोला भिरी कोही सिद्धान्तपथ दौडिने
एउटै बोटमा फल्छन् पोटिला चाउरे फल
कस्तो विभेद हो यस्तो को माथि, को भयो तल ?
कोही कुवा बनी बस्ने कोही बग्ने नदी बनी
राष्ट्रका सम्पदा जे छन् जुवा खेल्ने गनीगनी
बिचौलिया भएका छन् पार्टी नेतृत्व आखिरी
जनाधिकारका घाती नेता हुन् भन्नू के गरी ?
धादिङ