२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

चटपटेले दिएको खुसी

hardik ivf
जुनु भट्टराई
२०८१ फागुन ५ गते ०६:३०
चटपटेले दिएको खुसी

विराटनगर : जिन्दगीका कथा सबैसँग हुन्छन्– केही मीठा, केही तीता । मोरङ रतुवामाई– ६ की बिमला बानियाँ भण्डारीसँग पनि यस्तै केही तीतामीठा कथा छन् । तिनै कथा संँगाल्दै जीवनलाई सघंर्षको मैदानमा उतारिरहेकी छन् उनी । 

बिमला मुनालपथको चोक छेउमा ज्योति चटपटे पुच्का सेन्टर चलाउँछिन् । उनको  विराटनगर बसाइ ८ वर्ष भयो । विराटनगर आएको केही  समयमै श्रीमान्ले अर्की श्रीमती लिएर हिँडे । एलकेजीमा पढ्दै गरेको अबोध छोरासहितको परिवारलाई त्यागेर हिँडेका श्रीमान् फर्केर नआइदिएपछि छोरा–छोरीको जिम्मेवारी उनी एक्लैको काँधमा आइपर्‍यो । 

छोरा–छोरीको पेट पाल्न र जीवनयापन गर्न रोडसेसस्थित सरसफाइको अफिसमा काम गरिन् । छोरा–छोरीको पढाइ राम्रै चलिरहेको थियो । उनको अवस्था देखेर मोडर्न एरा स्कुलले छोराको पढाइ निःशुल्क गरिदिएकाले उनलाई छोरा–छोरी पढाउन भने धेरै सहज भएको थियो । 

जिन्दगीको डोरी जसोतसो बाटिँदै कसिँदै गइरहेको थियो । 

कुरा ८ वर्ष अगाडिको हो । कक्षा  १० मा अध्ययनरत १६ वर्षीया किशोरी छोरीको स्वास्थ्यमा एक्कासि अनौठो समस्या देखापर्‍यो । एकाएक दाहिने हातले समातेका सामानहरू ठाउँको ठाउँ खस्ने, मुखबाट पानी र र्‍याल चुहिने, दाहिने टाउको दुख्नेजस्ता अनौठा लक्षणहरू देखिन थाले ।

 छोरी त्यसरी एक्कासि बिरामी परेपछि उनको होसहवास नै उड्यो । श्रीमान्को अत्तोपत्तो थिएन । परिवारबाट सहयोगको अपेक्षा राख्ने अवस्था थिएन । 
छोरी बचाउनु थियो । आफूसँग भएको जायजेथा जम्मा पारेर नजिकैको नर्सिङ होममा छोरीलाई भर्ना गरिन् । नर्सिङ होममा समस्या पहिचान हुनुको सट्टा मिर्गी रोग भनेर गलत उपचार गरिएपछि तत्काल कोशी अंचल अस्पताल पुर्‍याइन् ।

कोशी अंचल अस्पतालले उच्च ज्वरो आएका कारण बी. पी. कोइराला शिक्षण अस्पताल धरान रेफर गरिदियो । धरानमा छोरीलाई मेनेन्जाइटिस भएको भनी रोग त पत्ता लगायो तर इमर्जेन्सीमा उपचार गर्न बेडको अभाव भएका कारण नोबेल अस्पलालमा ल्याएर भर्ना गरियो ।

सामान्य जागिर गरेर जसोतसो छोरा–छोरी पाल्दै आएकी बिम(लाका लागि छोरीको उपचारमा लाग्ने लाखौं रुपैयाँ तत्काल जुटाउनु कल्पनाबाहिरको कुरा थियो ।   

उपचारका लागि तत्कालै लाखौं रकम जुटाउनुपर्ने बाध्यता आएपछि उनी अत्तालिनु स्वाभाविक थियो । कुरो सयको होइन, हजारको होइन, लाखको थियो । त्यो बेला रन्थनिएर झण्डै बेहोसीको अवस्थामा पुगेकी बिमलाले छोरी पढ्ने बिद्यालय मोडर्न एरा स्कुल परिवारलाई सम्झिइन् र छोरीको जीवनरक्षाका लागि सहयोग मागिन् । 

उनी विगतमा फर्किंदै भन्छिन्, ‘त्यो बेला मोडर्न एरा स्कुल परिवारको साथ र सहयोग नभएको भए मेरी छोरी मैले गुमाइसकेकी हुन्थें ।’ 

उनले थपिन्, ‘कसले भन्छ भगवान् छैनन् ? मैले भगवान् देखेकी छु । जतिबेला मेरी छोरी मृत्युको मुखमा लडिरहेकी थिइन्, त्यो समयमा मोडर्न एरा स्कुल परिवार मेरा लागि भगवान्को रूपमा देखिएको थियो ।’

उनले बहोसीमै गरेको १ कलको भरमा आफ्नी विद्यार्थीलाई बचाउन तत्काल पैसा बोकेर प्रिन्सिपललगायत शिक्षकहरू अस्पताल आएर उपचार प्रक्रिया अगाडि बढेको उनले सुनाइन् ।

उनी सम्झन्छिन् अर्का सहयोगी बसन्त अधिकारी  । अधिकारी विकल्प ‘एन अल्टरनेटिभ’ सस्थाका निर्देशक हुन् । उनको पहलमा सामाजिक संजाल फेसबुकमार्फत लाखौं आर्थिक सहयोग जुटाउनसमेत सफल भएको उनको भनाइ छ । 

कसरी जुटाइदिए त अधिकारीले लाखौं रकम ? उनै सहयोगी अधिकारीसँग जिज्ञासा राख्दा उक्त सहयोगको जस आफूलाई मात्र नजाने बताए । सानी नानीको उपचारलाई सहयोग चाहिएकाले फेसबुकमार्फत लिंक गराइदिने मात्र काम गरेको उनको भनाइ छ ।

ज्योतिको जीवनरक्षाका लागि सामाजिक संजाल मात्र होइन, विभिन्न ठाउँमा ‘ज्योति बचाउ अभियान’ नै चल्यो ।  

जुटेको सहयोगको रकम र नोबेल अस्पतालले ५० प्रतिशत छुट दिएपछि छोरीलाई महिना दिनपछि घर फर्काइन् उनले । 

छोरी ठीक त भइन् तर रोगले उनको दाहिने पाटो प्यारालाइसिस गराइदिएको थियो । छोरी ज्योतिको अहिले पनि दाहिनेपाटो पूर्ण रूपमा निको भने नभएको बिमला बताउँछिन् । 

यसरी जन्मियो ज्योति चटपटे पुच्का सेन्टर

छोरी बिरामी परेपछि उसलाई सुताउने, उठाउने मात्र होइन, दिसा–पिसाब पनि सबै अर्काले गराइदिनुपर्ने अवस्था आइपर्‍यो ।  त्यस्तो अवस्थामा छोरीलाई छाडेर काममा जाने अवस्था पनि रहेन । अन्य आर्थिक स्रोत पनि केही थिएन ।

छोरीको उपचारमा सहयोग जुटे पनि नियमित औषधि सेवन गनुपर्ने, बिहान–बेलुकाको छाक टार्न वा दैनिक गुजारा चलाउन पनि त कमाउनै पर्ने बाध्यता थियो । 

यस्तो के गर्न सकिएला ? छोरीको हेरचाह पनि गर्न सकिने, दैनिक गुजारा चलाउन कमाउन पनि सकिने ? बिमलाको दिम(ागमा दिनरात यही प्रश्नले गिजोलिरहन्थ्यो । उनीसँग धेरै विकल्प पनि थिएनन् ।

त्यही समयमा उनको दिमागमा चटपटे बनाएर बेच्ने व्यवसाय गर्ने सोच पलायो । जन्म दिने आमा र भाइबाट चटपटे बनाएर बेच्नका लागि ठेला किन्ने आवश्यक रकम पनि आउने भयो । 

‘त्यतिबेला मेरी छोरीको बचाउ अभियानका लागि गुद्री तरकारी बजारको प्लटिङ एरियामा चटपटे बेचेर बसें भने मैले त्यही छोरी र छोराको पेट पाल्न यो पेसा किन नगर्ने ? मेरो मानसपटलमा केही दिन यही कुराले छोयो’, भावुक हुँदै उनले भनिन्, ‘मैले आमा र भाइले गर्छु भनेको सहयोगको हात थापें । सहयोगमा ठेला किनेर चटपटे तथा पानीपुरी व्यवसाय सुरु गरे ।’ 

ब्यवसाय सुरु गरेको केही महिनामै उनले आमा गुमाइन् तर आज त्यही आमाको अन्तिम सहयोग र प्रेरणाको स्रोत ठेलाले ३ जनाको परिवार धान्दै आएको छ । 

‘आमाको अन्तिम सहयोग हो मेरा लागि यो ठेला’, बिमला  ठेलालाई सुमसुम्याउँदै भन्छिन्, ‘यो ठेलासँग आमाको माया मात्र होइन, मेरी छोरीको जिन्दगी पनि जोडिएको छ । ’

मनिसहरूले मकै पोल्नु, सडकको छेउमा नाङ्लो ब्यापार गर्नु, ठेलामा चटपटे बेच्नु जस्ता कामलाई हेलाको भावले हेर्ने गरेको उनको गुनासो छ ।

‘मानिसहरू अझै पनि यस्ता कामलाई ब्यवसायको रूपमा हेर्दैनन् । के व्यवसाय गरेको हुनलाई सटर भाडा तिरेकै हुनुपर्छ  ?’, उनी प्रश्न गर्छिन् । 

यही ज्योति चटपटे पुच्का सेन्टरले कहिले ६ देखि ७ सय कमाउँछ त कहिले कहिले दिनमा १ हजार १२ सयसम्म कमाउँछ । यो व्यवसाय सुरु गरेदेखि उनले आफ्ना छोरा–छोरी हेरचाहका लागि पनि समय निकाल्न पनि भ्याएकी छन् भने ३ जनाको पेट पाल्न पनि राम्ररी पुग्दै आएको थियो । पछिल्लो समय जाडो सुरु भएपछि भने ब्यापार नभएर समस्या भोगिरहेको उनी सुनाउँछिन् ।

ADV

सम्बन्धित खबर

Advertise