२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

देशैभर आगलागीको जोखिम : ६३१ स्थानीय तहसँग छैन दमकल

hardik ivf
निमिष झा
२०८१ फागुन १२ गते ०६:४०
देशैभर आगलागीको जोखिम : ६३१ स्थानीय तहसँग छैन दमकल

काठमाडौं : वर्षा नभएको र चिसो घट्दै सुख्खा मौसम बढिरहेकाले अबको समय आगलागीको उच्च जोखिमको समय बनेको छ ।

अबको केही समयपछि डढेलोको जोखिम पनि उत्तिकै हुने भएकाले अहिलेदेखि नै तयारी थालिएन भने बढ्दो डढेलोको जोखिमले मानव तथा भौतिक सम्पत्तिमा ठूलो क्षति हुन सक्नेतर्फ विज्ञहरूले सचेत गराएका छन् । विज्ञहरूका अनुसार पछिल्लो १ दशकको तथ्यांक अध्ययन गर्दा नेपालमा डढेलोका कारण ठूलो जनधनको क्षति हुन थालेको छ । डढेलो मानव बस्तीमा सल्किने क्रम पनि बढिरहेको छ ।

माघमा ४७८ घटना

आगलागी र त्यसबाट हुने क्षति कसरी भयावह बन्दै गएको छ, १ महिनाको तथ्यांकले नै स्पष्ट पारेको छ । दैनिक रूपमा आगलागीका घटना भइरहेको प्रहरीको तथ्यांकले देखाएको छ ।

गएको माघ महिनामा देशभर ४७८ वटा आगलागीका घटना भएका छन् ।  नेपाल प्रहरीका अनुसार ती आगलागीहरूमा १८ करोड ४८ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रहरीका अनुसार विगत ५ महिनामा भएका आगलागीबाट करिब ५० करोड रुपैयाँ बराबर क्षति भएको र २९ परिवार विस्थापित भएका छन् ।

१ महिनामा भएको आगलागीका कारण देशभर ११ पुरुष, १० महिला र १ बालक गरी २२ जनाको मृत्यु भएको छ ।

यस्तै, आगलागीमा २६ पुरुष, ५४ महिला र ७ जना बा(लबालिका गरी ८७ जना घाइते भएका छन् । आगलागीका कारण १७ जना विस्थापित भएका छन् ।

प्रहरीका अनुसार देशभर आगलागीका कारण ६८ घर र ६६ वटा गोठ जलेका छन् भने यस अवधिमा २४७ वटा चौपाया जलेर मरेका छन् । 

ती घटनाहरूमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा १२९ ठाउँमा आगलागी भएको छ ।

त्यस्तै, मधेशमा ८९, बाग्मतीमा ४२, उपत्यकामा ३७, गण्डकीमा ३९, लुम्बिनीमा ६३, कर्णालीमा ४७ र सुदूरपश्चिममा ४७ वटा आगलागीका घटना भएका छन् ।

दमकलविहीन स्थानीय तह

आगलागी र वन डढेलोको प्रकोप नियन्त्रणको एकल अधिकार स्थानीय सरकारसँग छ । तर, कुन हदसम्मको विपद् स्थानीय तहको जिम्मा हो भन्ने स्पष्ट छैन । न त स्थानीय सरकारसँग विपद्का बेला त्यसलाई नियन्त्रणमा लिन सक्ने दक्ष जनशक्ति, उपकरण र स्रोत–साधन नै छन् । 

७५३ स्थानीय तहमध्ये ‍६३१ वटासँग दमकलसमेत छैन । अहिले देशभर आगलागी र डढेलो भयावह बन्दा स्थानीय सरकारले जेनतेन आफ्नो उपस्थिति देखाए पनि प्रदेश र संघ सरकार नागरिकको दुःखमा बेखबर छन् ।

आगलागीपीडितलाई दाताहरूको सहयोगमा केही तात्कालिक राहत सहयोग गरिए पनि स्थानीय र प्रदेश सरकारले गम्भीरतापूर्वक पहलकदमी लिएको पाइँदैन ।

‘आगलागीका घटना भइहालेमा पहिलो चुनौती कठिन भूगोल छ । दोस्रो स्थानीय सरकारसँग स्रोत–साधन र जनशक्ति अभाव छ । त्यसैले विपद्का यस्ता घटनामा स्थानीय तहका पदाधिकारीहरू नै खटिएर नागरिकको दुःखमा सँगसँगै छौं भनेर सान्त्वना दिनुपर्ने बाध्यता छ’, डढेलोविज्ञ डा. कृष्ण भुजेल भन्छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलो विज्ञ सुदीप छत्कुलीले आगलागीबाट नेपालमा १३ जिल्ला अतिसंवेदनशील र ११ जिल्ला संवेदनशील रहेका बताए । ‘पछिल्लो समयमा डढेलो बढ्दै जानु चुनौतीको विषय बनेको छ’, उनले भने, ‘तर पनि कुनै न कुनै रूपमा आगलागी र डढेलोले देश नै प्रभावित हुने गरेको छ ।’

निरीह प्रदेश

आगलागीको विपद् व्यवस्थापनमा सबैभन्दा निरीह प्रदेश सरकार देखिएका छन् । स्थापनाको ७ वर्षमा कर्णाली प्रदेश सरकारले बल्ल वन डढेलो नियन्त्रणसम्बन्धी रणनीति बनाउने सुरसार गरिरहेको छ भने मधेश सरकारसँग टालटुले जबाफ मात्र छ ।

पालिकाको एकल अधिकारमा रहेको आगलागीका घटना नियन्त्रण र व्यवस्थापनका लागि संघ र प्रदेशले स्थानीय सरकारलाई सबलीकरणमा पटक्कै ध्यान दिएका छैनन् । साझा दायित्व भएकाले संघ र प्रदेशले पनि स्थानीय सरकारको क्षमता अभिवृद्धि गरिदिनुपर्ने सुझाव विपद् प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलको भनाइ छ ।

किन हुन्छ आगलागी ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययनअनुसार विद्युत् सर्ट, ग्यास चुहिएर र जाडोमा आगो ताप्दा असावधानीलगायत कारणले आगलागीका घटना बढिरहेका छन् । 

दैनिक आगलागीका घटना भइरहेकाले आगो, विद्युत् तथा ग्यासका सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले अनुरोध पनि गरेको छ । 

प्राधिकरणले यस वर्ष आगलागी तथा डढेलोको जोखिम धेरै हुन सक्ने अनुमान गरेको छ । पानी कम परेको र हावामा सुख्खापन बढी रहेका कारण आगलागी तथा डढेलो लाग्ने जोखिम धेरै रहेको प्राधिकरणको भनाइ छ । यस वर्षको हिउँदमा अत्यन्तै कम पानी परेको छ । त्यसैले हावामा सुख्खापन बढी छ, जसका कारण आगलागीका घटनामा वृद्धि भएको छ ।

सुख्खाका कारण जंगलका पातपतिंगर सुकेको र त्यसलाई आगोको सानो झिल्कोले टिप्न सक्ने भएकाले भीषण डढेलोको जोखिम रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । त्यसैले विगतभन्दा यस वर्ष आगलागी बढी हुन सक्ने उनको अनुमान छ ।

प्राधिकरणका अनुसार यस वर्षको हिउँदमा २५ प्रतिशत मात्र वर्षा भएको छ । नेपालका लागि मार्च प्रि–मनसुनको महिना हो । तर, यस पटक जम्मा २५ दशमलव ६ प्रतिशत मात्र वर्षा भएको छ, जुन गत वर्षको तुलनामा अन्यन्त न्यून हो । वर्षा नहुनु र हावामा सुख्खापन बढ्नुमा जलवायु परिवर्तन नै मुख्य समस्या रहेको पोखरेलको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार यस पटक अत्यन्तै कम वर्षा भएको देखिन्छ । नेपालमा पोस्ट मनसुन भनेर १५ असोजदेखि १५ मंसिरसम्मको अवधिलाई लिइन्छ । यस अवधिमा सरदर नेपालमा ९० मिलिमिटर पानी पर्ने गर्छ । तर, यस वर्ष जम्मा २३ दशमलव १ मिलिमिटर अर्थात् २५ दशमलव ६ प्रतिशत मात्र वर्षा भयो ।

हिउँदयाम नेपालमा १६ मंसिरदेखि १५ फागुनसम्मको अवधिलाई लिइन्छ । यस अवधिमा सरदर ६० दशमलव ९ मिलिमिटर पानी पर्नुपर्छ । तर, यस वर्षको हिउँदमा मात्र १५ दशमलव ४ मिलिमिटर अर्थात् सरदर २५ दशमलव ३ प्रतिशत वर्षा भएको छ ।

यस्तो अवधिमा आगलागी हुने, जमिनमा सुख्खापन आउने र उत्पादन घट्ने जोखिम छ ।

काठमाडौंमा धेरै घटना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १० वर्षको अवधिमा देशभर आगलागीका १५ हजार २४६ घटना भएका छन्, जसमा ६८९ जनाको मृत्यु भएको छ । घाइते हुनेको संख्या २ हजार ३४ छ । आगलागीबाट यस अवधिमा १९ अर्ब ४१ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार १० वर्षको अवधिमा सबैभन्दा धेरै आगलागीको घटना काठमाडौं जिल्लामा भएको छ । यस अवधिमा काठमाडौंमा १ हजार २२२ घटना भए, जसमा ५२ जनाको मृत्यु भएको छ । २९१ घाइते भएका छन् ।

आगलागी हुने दोस्रो ठूलो जिल्ला मोरङ हो । यस अवधिमा मोरङमा ८९७ आगलागीका घटना हुँदा २२ जनाको मृत्यु भएको छ । यस्तै, ९१ जना घाइते भएका छन् । सबैभन्दा धेरै आगलागी हुने जिल्लामा सप्तरी पनि पर्छ ।

ADV

सम्बन्धित खबर

Advertise