२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

आधारभूत अस्पताल निर्माणमा हेलचक्रयाइँ : न बजेट, न जग्गा

hardik ivf
कुलेन्द्र शाही
२०८१ फागुन २८ गते ०६:३०
आधारभूत अस्पताल निर्माणमा हेलचक्रयाइँ : न बजेट, न जग्गा

सुर्खेत : १७ मंसिर २०७७ मा कर्णाली प्रदेशमा ६९ वटा आधारभूत अस्पताल निर्माण गर्ने शिलान्यास भयो । ती अस्पतालहरू निर्माण गर्ने शिलान्यास भएको ४ वर्ष भयो तर अधिकांश अस्पतालको निर्माण अलपत्र अवस्थामा छ ।

आधारभूत स्वास्थ्य अधिकारबाट नागरिक वञ्चित भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १७ मंसिर २०७७मा देशभर ३ सय ९६ वटा आधारभूत स्वास्थ्य अस्पतालको एकै पटक शिलान्यास गरेका थिए । 

ती मध्ये कर्णाली प्रदेशका १० जिल्लामा ६९ वटा आधारभूत अस्पताल थिए । सरकारले प्रदेशमा ६९ वटा अस्पतालको शिलान्यास गरेपनि आधारभूत स्वास्थ्य अस्पताल निर्माणले भने गति लिन सकेको छैन । 

अहिले पनि कतिपय ठाउँमा अस्पताल निर्माण अलपत्र छन् भने केही पालिकाले भने सेवा दिन सुरु गरिसकेका छन् ।

४ वर्षभन्दा बढी हुँदा पनि अधिकांश ठाउँमा अस्पतालको भवन बन्न सकेका छैनन् । २ वर्षभित्र भवन बनाएर जनतालाई घर दैलोमै स्वास्थ्य सेवा दिइने घोषणा गरिएको नारा पनि ‘घोषणा’मै सीमित छ ।

यति मात्रै होइन, भवन बनिसकेपछि कसरी सञ्चालन गर्ने भन्ने पनि योजना छैन् । अस्पताल चलाउन न जनशक्ति छ, न बजेट । त्यसैकारण आधारभूत अस्पतालको अवस्था बिजोग देखिएको छ । 

आर्थिक वर्ष २०७७/०७८ मा पहिलो चरणमा ५ देखि १५ शैयासम्मका आधारभूत अस्पताल निर्माणका लागि कर्णालीका ४२ वटा पालिका छनोट भएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा दोस्रो चरणमा सोही क्षमताका थप २७ स्थानीय तहमा अस्पताल निर्माणको योजना अघि बढाइएको थियो । प्रदेशका ७९ तहमध्ये २ चरणमा गरी ६९ पालिकामा बजेट र कार्यक्रम पठाइए पनि हालसम्म ४४ पालिकामा मात्रै अस्पताल निर्माणको काम भइरहेको छ । २५ स्थानीय तहले अहिलेसम्म निर्माणको काम समेत सुरु गरेका छैनन् ।

४ वर्षमा ४० प्रतिशत काम

सल्यानको दार्मा गाउँपालिकामा २०७८ सालमा निर्माण कार्य सुरु भएको आधारभूत अस्पतालको काम ४० प्रतिशत मात्रै भएको छ । 

अहिले त्यहाँ अस्पतालको काम ठप्पै भएको छ । २०७८ सालमा शिव निर्मल कम्पनीले १२ करोड रुपैयाँ लागतमा अस्पताल निर्माणको ठेक्का लिएको छ ।

कम्पनीले २ वर्षमा निर्माण सक्ने गरी ठेक्का लिएपनि झण्डै ४ वर्ष भइसक्दा पनि ४० प्रतिशत मात्र निर्माण भएको छ ।

सुरुमा अस्पतालको ठेक्का हाल कुमाख गाउँपालिकाका अध्यक्ष मानबहादुर बुढाथोकीले लिएका थिए । उनी त्यस समयमा गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिएनन् । 

बुढाथोकीले आफू गाउँपालिकाको अध्यक्ष भएपछि रोल्पाका राजेन्द्र वलीलाई अस्पताल निर्माणको अख्तियारी दिएका छन् । तर कामदारले पैसा पाउन नसकेपछि पछिल्लो १ महिनायता निर्माण कार्य पूरै ठप्प छ । 

पालिकाका सव इन्जिनियर भुपेन्द्र पुन मगरले अस्पतालको काम १ महिनादेखि रोकिएको जानकारी दिए । उनले भने, ‘यो वर्ष काम हुने सम्भावना कमै छ । पालिकामा अस्पताल निर्माणको लागि बजेट छैन,’ उनले मध्यान्हसँग भने ।

इन्जिनियर पुनले २ पटकसम्म म्याद थप गर्दा पनि ४०/४२ प्रतिशत मात्र भौतिक प्रगति हुन नसकेको बताए । 

१२ करोड ६ लाख रुपैयाँमा निर्माण गर्ने सम्झौता भएकोमा  ठेकेदारलाई अहिलेसम्म ५ करोड रुपैयाँ मात्रै भुक्तानी भएको छ । 

डुंगेश्वरमा कामै सुरु भएन 

दैलेखको डुंगेश्वर गाउँपालिकामा १० शैयाको अस्पताल बनाउने निर्णय सरकारले गर्‍यो । तर अहिलेसम्म निर्माण कार्य शुरू नै भएको छैन । ‘यहाँ डकुमेन्ट सबै तयार छ, जग्गा पनि तयार छ । तर रकमको सुनिश्चितता नभएकाले निर्माण कार्य शुरू हुन सकेको छैन,’ पालिका अध्यक्ष सुन्दरकुमार केसीले भने । उनले आफ्नो वरपरका पालिकामा धमाधम अस्पतालको काम भइरहे पनि आफ्नोमा नबन्दा खिन्न महसुस भएको बताए । 

अध्यक्ष केसीले भने, ‘यो पालिकामा आधारभूत स्वास्थ्य उपचार एकदमै कठिन छ । सबैभन्दा बढी अस्पताल चाहिएको त यहीँ हो, तर सबै कुरा मिल्दा पनि स्रोत सुनिश्चित भएको छैन ।’ 

अन्य पालिकामा पनि उस्तै 

यीबाहेक पनि अन्य दर्जनौं पालिकामा अस्पताल निर्माणको अवस्था अलपत्र छ ।

कतिपय पालिकामा अस्पताल निर्माणको काम आधा पुगेर रोकिएको छ । अधिकांश पालिकामा स्रोत सुनिश्चित नभएकाले काम शुरू हुन नसकेको गुनासो ती पालिका अध्यक्षहरूको छ ।

सुर्खेतको लेकवेशी नगरपालिका बाहेक अन्य ८ पालिकामा अस्पताल निर्माणका लागि एकसाथ शिलान्यास भएको थियो । तर, वीरेन्द्रनगर नगरपालिकाबाहेक अन्य पालिकामा अस्पताल अहिलेसम्म ठडिन सकेको छैन । कतै जग्गा प्राप्तिमा समस्या छ भने कतै डिपिआर अलपत्र परेको छ ।

हुम्लामा ६ वटा आधारभूत अस्पताल निर्माण गर्नुपर्नेमा ३ वटा स्थानीय तहमा काम सुरु भएकै छैन । नाम्खा गाउँपालिकामा जग्गा विवाद हुँदा मन्त्रालयमा पठाएको भन्दै कामै सुरु गरेको छैन् । यस्तै सर्केगाडमा जमिनमात्रै खारेको, चंखेलीमा ३ वर्षमा टेन्डर मात्रै आह्वान भएको छ ।

यस्तै, ताँजाकोटमा फाउन्डेशन पिलर तयार भएर पहिलो तला मात्रै निर्माण भएको छ भने अन्य ३ वटा पालिकामा कामसमेत कछुवा गतिमा अगाडि बढेको छ । 

यस्तै, जुम्लामा पनि यस्तै हालत छ । २ चरणमा गरी आधारभूत अस्पताल निर्माणका लागि जुम्लामा ७ वटा स्थानीय तह छनोट भएका थिए । ३ वटामा अस्पताल निर्माणको काम थालिएपनि ४ वटामा कामै सुरु भएको छैन ।

कालीकोटका ८ स्थानीय तह अस्पताल निर्माणका लागि छनोट भएका थिए । ती मध्ये ५ वटामा काम सुरु नै भएको छैन । यसैगरी डोल्पामा कतै बजेट नभएको, टेन्डर नभएको, जग्गा नभएको, डिपीआर स्वीकृतिका लागि मन्त्रालयमा गएको, पिलर हाल्ने काम भएको भन्दै बहाना देखाइएको छ ।

यस्तै, मुगुका केही पालिकामा निर्माणधीन रहेको र कुनै पालिकामा डोल्पा जस्तै बहाना देखाइएको छ । 

सिम्तामा सेवा सुरु 

सुर्खेतको सिम्ता गाउँपालिकाले १५ शैयाको आधारभूत अस्पतालको सेवा सुरु गरिसकेको छ । गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दकाअनुसार अस्पतालमा डा. नवीन काफ्ले र डा. आशिष यादवले सेवा दिइरहेका छन् । अस्पतालको उद्घाटनसँगै भिडियो एक्स–रे, ल्याब सेवा, आकस्मिक सेवा, बहिरङ्ग र अन्तरङ्ग सेवाका साथै एम्बुलेन्स सेवा पनि उपलब्ध हुने अध्यक्ष चन्दको भनाइ छ । 

अस्पतालले सेवा दिन थालेपछि सिम्ता र आसपासका नागरिकले साना स्वास्थ्य उपचारका लागि मेहेलकुना, वीरेन्द्रनगर, नेपालगञ्ज लगायतका अन्य स्थानमा जानुपर्ने बाध्यतासमेत हटेको छ ।

सुर्खेतको चिङ्गाड, जाजरकोटको शिवालय र सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका केही पालिकासमेत सिम्ता गाउँपालिकासँग जोडिएको हुँदा ती क्षेत्रका नागरिकहरूले पनि अस्पतालको सेवा लिने अपेक्षा गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise