-वेदबहादुर श्रेष्ठ
नेपाल र चीनबीच उत्तरी सीमानाकाबाट व्यापार अहिले करिब ठप्प छ । दुई देशबीच स्थल व्यापारिक नाका तातोपानी र रसुवा नाका बन्द भएपछि नेपाली व्यापारीहरू ठूलो मर्कामा परे । सुरुमा कोरोना सङ्क्रमण विस्तारका कारण चीनले नाका बन्द गर्दा समस्या भएको थियो । त्यसपछि चीनमा कोरोनाको सङ्क्रमण न्यून भए पनि नेपालमा सङ्क्रमण बढ्दा अझै समस्या भएको छ । कोभिड सङ्क्रमणको सुरुवातमा सीमित मालवाहक गाडीहरू नेपाल प्रवेश गर्न दिए पनि हाल ठप्प छ । नेपालको तर्फबाट पर्याप्त पहल हुन नसकेको महसुस गरियो ।
नेपालको उत्तरी नाकामध्ये एकमात्र तातोपानी नाका)२०७२ को भूकम्पसँगै बन्द भएको थियो । तातोपानी बन्द भएपछि रसुवा नाकाबाट काम चलाइएको थियो । तर, अहिले दुवै नाकामा बन्द भए । २०७२ सालबाट बन्द भएको नाका २०७६ जेठदेखि खुल्यो तर फागुनदेखि पुनः बन्द भयो । चीनमा कोरोना महामारी देखिएपछि बन्द भएको हो ।
फलतः नेपाली व्यापारीले ल्याएको सामान चीनको खासा, न्यालम र सिगात्सेमा रोकिएको छ । खासा हुँदै आउने चार सयभन्दा धेरै गाडी सामान रोकियो । यो सामान अघिल्लो डिसेम्बरदेखि नै रोकिएको हो ।
केरुङमा सामान गत वर्ष पुसबाटै अलपत्र पर्न थालेको हो । गत जेठमा रसुवागढी नाका खोलिए पनि विभिन्न बहानामा चिनियाँ पक्षले दुईपटक बन्द गरिसकेको छ । जेठयता करिब एक महिनामात्रै उक्त नाका सञ्चालन भएको छ । केही समय थोरै परिणाममा आएको सामान पनि चीन पक्षले पुलमा झारिदिने गरेको थियो ।
यहाँ व्यापारीले ल्याएको एक वर्ष अघिदेखिको सामान रोकिएको छ । व्यापारी, एक हजारभन्दा धेरै मालवाहक गाडी, चालक र सहचालक अलपत्र परे । गर्मीका लागि ल्याइएको सामान रोकिँदा सामानको ‘सिजन अफ’ भइसकेको छ । केरुङमा त झन् धेरै गाडी रोकिए । झन्डै २० अर्ब रुपियाँको सामान रोकिएको अनुमान छ । जाडोयामको सामान आउनुपर्ने पनि समस्यामा परेको छ । व्यापारीले लगानी गरेको सामान रोकिँदा कर तिर्न नसक्ने अवस्था आएको छ । सामान्य रूपमा हेर्दा पनि एक अर्ब रुपियाँ त राजस्व नै सङ्कलन हुने सामान चीनतर्फ रोकिएको छ ।
तिब्बतको नेलाम काउन्टीले सीमाक्षेत्रका आफ्ना नागरिकलाई सूचना जारी गरेर तातोपानीबाट हुने व्यापारिक कारोबार बन्द गरेको घोषणा गरेपछि खासामा कतिपय सामान सडकमा त्रिपालले छोपेर राखिएको अवस्था छ । सामान रेखदेख गर्न सीमापारि जाने अनुमति नेपालीलाई छैन । भूकम्पपछि नेपाली व्यवसायीलाई खासा प्रवेश गर्नै दिइएको छैन । आफ्नो सम्पत्ति सडकमा कुहिएर जाँदा पनि चुप लागेर बस्नुपर्ने अवस्था छ ।
यसरी सामान रोकिँदा व्यापारीलाई मात्र हैन, राज्यलाई नै घाटा छ । किनकि सामान नआउँदा राज्यले अर्बौं राजस्व गुमाएको छ । त्यसैले व्यापारीहरू कराएका हुन्– सरकारले चीनसँग कूटनीतिक पहल गरेर यो समस्या समाधान गर्न आवश्यक छ ।
कोभिडका कारण राजस्व सङ्कलन कम भएको सरकारी भनाइ छ ।
तर, करोडौँ राजस्व आउने सामान रोकिनु दुर्भाग्य हो । यस्तै समस्या दोहोरिने हो भने यहाँबाट काम गर्नेहरू पलायन हुने अवस्था छ । व्यापारीहरूले तेस्रो देश हुँदै बन्दरगाह मार्गबाट सामान त ल्याउन सक्छन् । हुन त नेपालको चीनसँगको व्यापार रसुवा र तातोपानीबाट १५ प्रतिशतमात्र भएको छ । धेरै बन्दरगाहबाट हुने गरेको छ ।
बन्दरगाहमार्फत सामान ल्याउँदा ४५ दिनसम्म लाग्छ । यता, स्थल नाकाबाट १५ दिनमा सामान आउँछ । त्यसकारण पनि यहाँका नाकाको धेरै सम्भावना छ । तर, दस महिनादेखि रोकिएको उनीहरूको पुँजी चलायमान गराउन नसक्दा बेहोर्नुपरेको घाटा कसरी सहने ? त्यसैले केरुङ र तातोपानी नाका तत्काल खुलाउन आवश्यक छ भनिएको हो ।
तातोपानी भन्सारले मात्र यो वर्ष पाँच अर्बभन्दा धेरै राजस्व उठाउने लक्ष्य राखेको छ । तर, सामान चीनतर्फ रोकिँदा भन्सारको लक्ष्यमा पनि रोकावट आएको छ ।
यो समस्याको समाधान हिजोदेखि आरम्भ भएको त छ तर प्राकृतिक वा महामारीजस्ता कुनै भवितव्यका नाममा यति लामो समयसम्म नाकाको व्यापार ठप्प पार्न नहुनेगरी दुईपक्षीय सहमति गर्नु आवश्यक छ । नेपाल–चीन अप्ठ्यारो बेलाका सहयोगी हुन् भन्ने पुनर्पुष्टिको आधार बलियो बनाउनुपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies