काठमाडौं: एक पटक सोचौं त– संगीतबिनाको गीत कस्तो सुनिन्छ होला ! पक्कै पनि बेस्वादको, केके नपुगे झैं । संगीतबिनाको गीत मनपराउने सायदै भेटिन्छन् । रचनाकारले गीत लेख्छन् र त्यसमा स्वर भर्नतर्फ लाग्छन् । लेख्दैमा र गाउँदैमा गीतले पूर्णता पाउँछ त ? पक्कै पनि पाउँदैन । गीतलाई पूर्ण बनाउने एक मात्र तत्त्व छ– संगीत । जब गीतमा संगीतकारले आफ्नो कला भर्छन्, तब त्यो गीत सुनौंसुनौं खालको भइदिन्छ ।
यसरी कुनै पनि गीतमा संगीतको रस भरेर सुनिरहूँ लाग्ने बनाइदिने संगीतकार हुन्– सन्तोष श्रेष्ठ । २०३७ सालमा दाङको घोराहीमा जन्मेका श्रेष्ठले गाउँघरकै मौलिक लोक गीत–संगीतबाट आफ्नो अनौपचारिक सांगीतिक यात्रा सुरु गरेका हुन् । औपचारिक रूपमा भने उनी २०५६ सालतिर संगीत क्षेत्रमा जोडिएका हुन् ।
कुनै समयमा पात बजाउँदा मात्र पनि हुरुक्क हुने उनलाई लागेको थिएन, ‘मैले नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय संगीत जगत्मै विश्व कीर्तिमान रच्छु ।’ ५० अन्तर्राष्ट्रिय भाषाका गीतमा संगीत भरी सन् २०२२ मा उनले गिनिज बुक अफ वल्ड रेकर्ड्समा नाम लेखाइसकेका छन् ।
श्रेष्ठ भन्छन्, ‘दाङको सानो गाउँ । घरमा पहिला कोही संगीतको पृष्ठभूमि भएको हुनुहुन्नथ्यो । तर, मलाई खै किन हो, चराको चिरिबिरी पनि संगीतझैं लाग्ने, त्यसमै स्वर भरौंभरौं लाग्ने ।’
आफ्नो व्यावसायिक सांगीतिक यात्रा लोक संगीतबाट अघि बढाएका उनले हालसम्म सयौं गीत र गजललाई संगीत भरी मूर्त बनाएका छन् । तिनैमध्येका ‘तिमीले पराई ठानेपछि पराई हुन के भयो र’, ‘आउँछु भनी निष्ठुरीले भर किन पार्नु’, ‘तिमीले भुल्न सके पनि मैले भुल्न सकिनँ भो’, ‘तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ’, ‘तिमीलाई सन्चो छैन भन्ने खबर पाएँ मैले’ र ‘परे म मर्छु भोकले म दास बाँच्न सक्दिनँ’ लगायत गीत र गजलहरू सुपरहिट छन् ।
‘तिमीले पराई ठानेपछि पराई हुन के भयो र’ गीत त झन् नेपाली गीत–संगीतको इतिहासमै सबैभन्दा बढी मोबाइल रिङब्याकटोनका लागि डाउनलोड भएको थियो । सन्तोषले हालसम्म ८०० बढी गीत, गजलमा सुमधुर संगीत भरिसकेका छन् भने ४४ वटा एल्बम आइसकेका छन् । ‘उमेर बराबरकै एल्बम आएछन् नि ?’ हाम्रो जिज्ञासामा सन्तोष भन्छन्, ‘यसरी गनेको थिइनँ तर संयोग यस्तै भएछ– ४४ वर्षको उमेरमा ४४ वटै एल्बम आएछन् ।’
नाम एक, काम अनेक
सन्तोष श्रेष्ठ संगीतकार मात्र हुन् त ? पक्कै पनि होइनन् । उनी राम्रा गायक पनि हुन् र लेखक पनि । उनले दर्जनौं गीत गाएका पनि छन्, साहित्यिक कृति लेखेका पनि । अहिलेको समयमा जति उनी संगीतकार भनेर चिनिन्छन्, उति नै गायक, गजलकार, आख्यानकार भनेर पनि परिचित छन् । उनका ‘आँसु’ गजलकृति, ‘अधुरो सपना’ लघुकथा र पछिल्लो समय ‘फरैना’ उपन्यास कृतिका रूपमा आइसकेका छन् । उनले अझै अर्को भिन्न परिचय पनि बनाएका छन्, अनुसन्धानकर्ताको ।
अनुसन्धानकर्ता यस कारण हुन्, उनले दशकौं पहिले लेखिएका नेपाली साहित्यका विशिष्ट व्यक्तित्व कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रकवि माधवप्रसाद घिमिरे र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका गीत र गजल खोजेर आफैंले स्वर र संगीत भरेका छन् । यसमा कवि शिरोमणिको ‘हे मातृभूमि’ नामक गजल, महाकविको ‘आकाशमा शशी छन्’ नामक गजल, राष्ट्रकविको ‘पश्चिम रुन्छ महाकाली’ नामक गीत र वाङ्मय शताब्दी पुरुषको ‘माया रानीलाइर्’ नामक गीत छन् ।
योसँगै जगलकार घनेन्द्र ओझासँग मिलेर उनी वि. सं. २०८०–२०९० लाई ‘नेपाली शास्त्रीय गजल गायनको स्वर्ण दशक’ बनाउने अभियानमा छन् । अभियानको सुरुवात भइसकेको बताउँदै उनी भन्छन्, ‘स्वर्ण दशकको सुरुवात शुभेच्छा एल्बमबाट भएको छ । घनेन्द्र ओझाको एकल रचना र मेरो संगीत छ, जसमा हामीले ४ पुस्ताका गायक/गायिकाको स्वर भरेका छौं ।’
यस एल्बममा गायनको पहिलो पुस्ताबाट ज्ञानु राणा, दोस्रो पुस्ताबाट आनन्द कार्की, तेस्रो पुस्ताबाट शिव परियार, निशा देशार, सन्तोष श्रेष्ठ र चौथो पुस्ताबाट अस्मिता अधिकारीको स्वर रहेको उनले बताए । सँगै याे एल्बमा लैंगिक हिसाबले पनि बराबर गायक/गायिका समेटिएकाे उनको भनाइ छ ।
‘शुभेच्छा’ एल्बमलाई विश्लेषकहरूले पहिलो शास्त्रीय गजलको एल्बम भनेकाे पनि सन्तोष बताउँछन् । ‘काम गर्दै जाँदा जन्मिएकाे हो शुभेच्छा तर विश्लेषकहरू यसलाई पहिलो शास्त्रीय बहरबद्ध नेपाली गजल एल्बम भन्नुहुन्छ, राम्रै काम गरिएछ भन्ने लाग्छ ।’
उनी चाँडै ‘सागर’ नामक बहरबद्ध गजलहरूको एल्बमको तयारीमा रहेका बताउँछन् । यस एल्बममा गजलकार घनेन्द्र ओझा र राधा कणेलका शब्द रहने छन् भने संगीत र स्वर सन्तोष स्वयंको हुने छ । उसो त गजल गायन अभियानकै क्रममा सन्तोषले काठमाडौंमा र दाङमा एकल प्रत्यक्ष गायन सम्पन्न गरिसकेका छन् । अझै देशभर प्रत्यक्ष गजल गायनका कार्यक्रम गर्ने तयारीमा रहेका उनी छन् ।
‘सादा जीवन उच्च विचार’
लोक संगीत हुँदै सुगम संगीत र हाल गजल गायनलाई तताइरहेका श्रेष्ठ कर्ममा विश्वास गर्छन् । उनलाई देखावटीपन मनपर्दैन । ‘सन्तोष श्रेष्ठले कस्तो खाना खान्छ, कस्तो लुगा लगाउँछ, कस्तो गाडीमा हिँड्छ, कस्तो घरमा बस्छ भनेर हेर्दा पनि कस्तो सिर्जना लिएर आउँछ, उसको चेतना र चिन्तनको स्तर के हो भनेर मान्छेले हेरून् जस्तो लाग्छ’, सादा जीवन उच्च विचार भएका सन्तोष भन्छन् ।
आफूले रचेको विश्व कीर्तिमानीलाई पनि उनी सिकाइ र जिम्मेवारीको एउटा खुड्किलो मान्छन् । भन्छन्, ‘काम गर्दै जाँदाको एउटा पाटो हो कीर्तिमान । सबै थोक अब त्यही मात्र हो भन्ने होइन । कुनै कामका माध्यमबाट विश्व कीर्तिमान हुन्छ भने त्यो आश्चर्य होइन । हामी गजल गायनको अभियानमा छौं । भोलि गजल गायनमै कीर्तिमानी भयो भने त्यो त प्लस प्वाइन्ट हो ।’
कुनै गीतहरू सिर्जनाको उचाइमा पुग्नु भनेको त्यो सिर्जनाका लागि सय प्रतिशत होला तर त्यसपछिको अर्को काम त शून्यबाटै गर्ने हो नि ! भन्ने उनको धारणा छ । ‘त्यसैले, त्यो सिर्जना उचाइमा पुग्न जति चुनौती थियो, अर्को रचना सुरुवात गर्न त्यत्तिकै चुनौतीपूर्ण छ’, सन्तोष भन्छन् ।
उनी एउटा काममा सफल हुनुलाई जीवन नै सफल भएको पनि मान्दैनन् । ‘एउटा सिर्जना मैले सय गरेको थें । अब अर्को जस्तो गरे पनि सुनिहाल्छन् नि ! हेरी त हाल्छन् नि ! भनेर त हुँदैन । त्यो अर्कोको पनि शून्यबाटै सयमा पुर्यायो भने प्रभाव रहने हो’, उनी भन्छन् ।
संगीत क्षेत्रमा अढाइ दशक बिताइसकेका श्रेष्ठ हालको नेपाली संगीत क्षेत्रमा गुणस्तरीयताको कमी भएको बताउँछन् । सस्तो लोकप्रियताका लागि जसले पनि, जस्तो पनि लेख्ने, संगीत भर्ने र गाउने प्रवृत्तिका कारण गीत–संगीतको क्षेत्रमा चुनौती बढेको उनले महसुस गरेका छन् ।
साथै, पछिल्लो पुस्ताले संगीत सिकाइमा र अभ्यासमा कन्जुस्याइँ गर्ने गरेको उनको गुनासो छ । ‘गायक र संगीतमा रुचि भएकाहरू अनलाइन प्लेटफर्मबाट सिक्न खोज्छन् । प्रशिक्षक पनि १५ सेकेन्डको टिकटक भएको छ । त्यो व्यापार, बिजनेस बढाउन ठीक होला तर कला बढाउनका लागि प्रशिक्षकको काम गर्दैन । त्यसले सूचना मात्र दिने हो’, उनी भन्छन् ।
यो क्षेत्रमा टिकिरहन सैद्धान्तिक अध्ययनले विशेष भूमिका खेल्ने उनी बताउँछन् । भन्छन्, ‘जति अध्ययन गर्यो, त्यति ज्ञान बढ्छ । नयाँ कुरा सिकिन्छन् । कसरी गर्ने भन्ने आइडिया मिल्छ, ऊर्जा मिल्छ ।’ योसँगै निरन्तरको लगाव, अभ्यास र धैर्यले सफल भइने उनको विश्वास छ ।