पहिले कपडा व्यवसायीको रुपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को परिचय हो सिनेमा वितरक, प्रदर्शक । सिनेमा क्षेत्रमा आफु जोडिए पनि ती काम नामको लागिमात्र भएको र घर, परिवार भने कपडा व्यवसायबाटै चलिरहेकोे उनको भनाइ छ । काभ्रे, श्रीखण्डपुरका स्थानीय प्रधानका बुवाले २०४२ सालदेखि बागबजार स्थित ‘स्ट्यान्डर टेलर’ सञ्चालनमा ल्याएका थिए । प्रधान बनेपास्थित ‘शुभकामना हल’का मालिक पनि हुन् । उनले २०६२ बाट राम प्रसाद श्रेष्ठसँग मिलेर सिनेमा वितरण शुरु गरेका थिए । यतिबेला उनले आफ्ना ग्राहकका लागि बम्पर अफर ल्याएका छन् । सिनेमा क्षेत्रमा लागेर सुख भन्दा दुःख बढी भोगेका सिनेमा वितरक प्रधान कुनै समय हाइभिजन हलका एकछत्र वितरक मानिन्थ्ये । सिनेमामा दुःख हुने भएपनि कोरोना कहर हट्नासाथ सिनेमा निर्माण गर्ने सोचमा रहेका प्रधानले मध्यान्ह दैनिकको लागि सानु श्रेष्ठसँग गरेको संक्षिप्त कुराकानीः
विशेष अवसर पारेर ग्राहक आकर्षित गर्ने यो अफर बेमौसमको वर्षात जस्तो भएन र ?
कोरोना कहरका कारण व्यवसाय ठप्प छ । त्यसैले स्टक सामान पनि नरहने र आफुलाई पनि केही राम्रो हुने भएकोले यो अफर ल्याएका हौं । ११ हजार पर्ने सुटलाई ६ हजारमै ‘अफर’ दिएका छौं । आफैले कपडा छानेर वा रेडिमेड, सबैमा अफर छ । पुरुषका सम्पूर्ण पहिरनमा अफर छ । कोरोनाले ग्राहक तथा व्यवसायी सबैको अवस्था उस्तै भएकोले सबैको राहतका लागि हामीले यस्तो अफर ल्याएका हौं ।
कहिलेसम्म चल्छ त यो अफर ?
सुरुमा हामीले यो योजना दुई महिना जति गर्नुपर्ला भन्ने साचेका थियौ । तर, यस प्रति ग्राहकहरुको बढ्दो आकर्षणका कारण समयावधि लम्ब्याएर यो अफरलाई २०७८ साल बैशाखको शुभकामना आदान प्रदान पश्चात रोक्ने बिचार गरेका छौं ।
तपाईं कपडा व्यापारी, सिनेमा क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
यसको कथा लामो छ । मेरो जन्म बनेपामा भएपनि काठमाण्डु बस्ने भएकोले सानै देखि लुकीलुकी सिनेमा हेर्ने । स्कुल पढ्दादेखि नै घरबाट भागेर सिनेमा हेर्न जान्थ्ये, बागबजारस्थित पसलमा बस्दा पनि सिनेमा हेर्न गइरहन्थे । सिनेमा प्रति मेरो लगाव थियो । पछि नाम र पहिचानका लागि सिनेमा क्षेत्रमा हात हालेको भएतापनि मैले कपडाको व्यवसाय भने छोडेको छैन ।
सिनेमा प्रदर्शक भएकै कारण सिनेमा हल खोल्नु भएको हो ?
होइन, सिनेमा वितरक, प्रदर्शक भैसकेपछि हो । प्रदर्शकले एउटाले बनाएको सिनेमा अर्काको हलमा लगेर प्रदर्शन गर्ने हो सबैलाई थाहा नै छ । जहाँसम्म हलको कुरा छ, त्यति सजिलो भने थिएन हल खोल्नु । त्यो समय घरपरिवारमा सिनेमा प्रति रुचि थिएन, उहाँहरुलाई सम्झाई बुझाई गरेर २०५७÷०५८ तिर बनेपामा ‘शुभकामना’ नामक हाइभिजन हल खोले । बुबाले बनेपामा घर बनाउने भनेर तीस लाख रुपैयाँ जम्मा गर्नु भएको रहेछ । त्यही पैसा खर्च गरेर हल त बनाइयो, चलाउन सारै कठिन । सुरुमा त घाटामा चल्यो, विस्तारै हलबाट पनि केही कमाई हुन थालेपछि नचाहिने ठाउमा पैसा खर्च गर्यो भन्ने जुन परिवारिक गुनासो थियो बन्द भयो ।
कत्तिको सजिलो हुँदो रहेछ सिनेमा हल खोल्न ?
त्यतिबेला उपत्यकामा थुप्रैै हाइभिजन हल थियो र सबैमा दर्शक भरिभराउ हुन्थ्यो । त्यसैले ढुक्क भएर चलचित्र विकास बोर्ड, सञ्चार मन्त्रालय लगायतका सम्बन्धित संघसंस्थामा चक्कर लगाएर सिनेमा घरका लागि अनुमति लिए । हलको लागि भवन बनाउँदा र अनुमतिको चक्करमा आफुसँग भएको रुपैयाँ सकियो । खालि हल देखाउने कुरा भएन । हल सञ्चालनका लागि विभिन्न प्राविधिक सामग्री किन्न अझै १०÷१५ लाख रुपैयाँ लाग्ने भयो । हलको लागि बैंकबाट ऋण नपाउने भएकोले पसलको नाममा ऋण लिएर हल चलाएँ । नयाँ हल, त्यो पनि पर्दा सानो भएकोले हल केही समय घाटामा गयो । हुन त काम कुनैपनि सजिलो हुन्न । तर, पनि हल खोल्नु, चलाउनु भनेको फलामको चिउरा चपाउनु सरह लाग्यो ।
त्यतिबेला हाइभिजन हल खोल्नी प्रतिस्पर्धा नै चलेको थियो नि होइन ?
त्यो समय उपत्यकामा मात्र २० वटा हाइभिजन हल थियो भने बाहिर २८ वटा थिए । म त प्रदर्शक भएको नाताले निर्मातासंग सिनेमा किन्दाको लगानी काठमाडौँमा मात्र नउठ्ने भएकोले जोखिम मोलेरै भएपनि देशभर पुग्नु पथ्र्यो, किन कि त्यतिबेला माओवादी जनयुद्ध चलिरहेको थियो । उपत्यका बाहिरको यात्रा सहज थिएन । तर पनि बिभिन्न ठाउमा पुगेर सिनेमा देखाउथ्यौं ।
त्यो समयदेखि अहिलेसम्म आइपुग्दाको अनुभव कस्तो रह्यो ?
यो मनोरञ्जनको पाटो भएकोले गाँस, बास र कपासको ब्यवस्ता भएपछिमात्र मानिस मनोरञ्जन तर्फ आकर्षित हुने हो । हरेक समय यो क्षेत्र प्रभाबित बन्दै आएको छ । कहिले जनयुध्द, कहिले भुकम्प र पछिल्लो समय कोरोनाका कारण त नराम्ररी थला नै परेको छ । सिनेमासंग सम्बन्धित हजारौ कलाकार, प्राबिधिक ब्यरोजगारको अवस्थामा पुगेका छन् । प्रफुल्लित भएर काम गर्ने वातावरण कहिल्यै भएन त्यसैले सुखद अनुभव रहेन ।
तपाईंको आफ्नै कपडाको व्यवसाय थियो, किन सिनेमा क्षेत्रमा लाग्नु भएको त ?
मेरो सानै देखिको चाहनाले गर्दा सिनेमा क्षेत्रमा लागेको हुँ । सिनेमा बनाउने वा अरुले बनाएको सिनेमा किनेर प्रदर्शन गर्ने काम भनेको जुवा खेल्नु जस्तै हो, नाफा, घाटा जे हुन नि सक्छ । सुरुमा लगानी नगरी निर्माताले सिनेमा दिदैनन्, लगानी गर्नै पर्यो । अलिअलि लगानी डुबेपछि यसबाट उठ्छकी आर्कोबाट उठ्छ, भन्दा भन्दै समय वितेको पत्तैनहुनी र त्यो दलदलबाट फुत्किन पनि नसकिने भएको कारणले गर्दा निरन्तरता दिइरहेको छु ।
भावी योजना के छ त ?
सिनेमाको क्षेत्रमा अझै केही गर्ने सोच छ । मेरो निर्माणधिन सिनेमाको काम चलिरहेकै समयमा कोरोनाको महामारी फैलियो । कोरोना कहर कम भएपछि सुरु हुन्छ । मेरो बुवाको पनि चाहना थियो सिनेमा बनाउने । कपडा ब्यवसायलाई फराकिलो बनाउने त छँदैछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies