
नवलपरासी : पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–२, आमानीगञ्जमा बिहान घाम झुल्किनासाथ गाउँभरि ढुंगा घिसारेको आवाज गुञ्जिन्छ । गाउँको शान्त वातावरणलाई चिर्दै सुनिने यो आवाज केवल श्रमको संकेत मात्र होइन, पुस्तौंदेखि जोगिँदै आएको एक परम्परागत सीपको निरन्तरता पनि हो । आधुनिक प्रविधि र उपकरणको तीव्र विस्तारबीच हराउँदै गएको हस्तकलाको संसारमा यहाँको यो परम्परा अझै जीवित छ—त्यसैको प्रतिनिधित्व गर्छिन् कमलावती कुशवाडिया (पत्थरकट्टा) ।
नेपालका आदिवासी जनजातिमा सूचीकृत कुशवाडिया समुदाय परम्परागत रूपमा ढुंगासँग सम्बन्धित पेसामा आबद्ध रहँदै आएको छ । तीन पुस्तादेखि सिलौटो, जाँतो र ओखल बनाउने काम गर्दै आएकी कमलावतीका लागि यो पेसा केवल जीविकोपार्जनको माध्यम मात्र नभई आफ्नो अस्तित्व र पहिचानसँग जोडिएको विषय हो ।
हातमा छिनी र हथौडी समातेर ढुंगालाई आकार दिँदै उनी भन्छिन्, ‘हामी यही पेसामा जन्मेका हौं, यहीसँगै हाम्रो परिवारको इतिहास बाँचेको छ ।’
तर परम्परागत सीपलाई निरन्तरता दिनु सजिलो छैन । सिलौटो बनाउन आवश्यक पर्ने उपयुक्त ढुंगा देशमै पाइने भए पनि सहज रूपमा उपलब्ध नहुँदा भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । यसले उत्पादन लागत बढाउनुका साथै श्रमसमेत दोब्बर बनाएको छ । ‘ढुंगा नपाउँदा काम नै रोकिन्छ,’ कमलावती भन्छिन्, ‘महँगोमा ल्याउनुपर्छ, तर आम्दानी त्यति बढ्दैन ।’
कमलावतीको परिवारमा यो पेसा पुस्तान्तरण हुँदै आएको छ । उनका छोरा–बुहारी पनि यही काममा संलग्न छन् । बुहारी सुनिता कुशवाडिया (पत्थरकट्टा)ले श्रीमान्को निधनपछि पनि पेसालाई निरन्तरता दिँदै दुई छोरी र एक छोराको जिम्मेवारी सम्हालिरहेकी छन् ।
दिनभर ढुंगा घिसार्दा हातमा परेका घाउ र चिराहरूले उनको संघर्ष स्पष्ट देखाउँछन् । ‘काम नगरे घर चल्दैन,’ उनी भन्छिन्, ‘गाह्रो छ, तर यही हाम्रो आधार हो ।’
उनीहरूले तयार गर्ने सामग्रीहरूमा सिलौटो, जाँतो, ओखल, लोहोरो र खलबच्चा पर्छन् । यी सामग्री तयार गरेपछि साइकलमा राखेर गाउँ–गाउँ डुल्दै बिक्री गर्न जान्छन् । बजारसम्म सहज पहुँच नहुँदा ग्राहक खोज्दै आफैं हिँड्नुपर्ने अवस्था छ ।
स्थानीय बजारको अभाव र बिचौलियाको प्रभावका कारण उचित मूल्य पाउन पनि चुनौती रहेको उनीहरूको गुनासो छ ।
सुनिताका अनुसार एउटा सिलौटो वा जाँतोको मूल्य एक हजारदेखि पन्ध्र सय रुपैयाँसम्म पर्छ । तर ढुंगा खरिद, ढुवानी, श्रम र समयका हिसाबले आम्दानी सन्तोषजनक छैन । दिनभरको मिहिनेतपछि पनि दैनिक गुजारा टार्नै मुस्किल पर्ने अवस्था रहेको उनी बताउँछिन् ।
कमलावतीका अनुसार सरकारले केही सामाजिक भत्ता उपलब्ध गराए पनि परम्परागत पेसाको संरक्षण र प्रवद्र्धनका लागि ठोस कार्यक्रम ल्याउन सकेको छैन ।‘यो
पेसा जोगाउन राज्यले ध्यान दिनुपर्छ,’ उनी भन्छिन्, ‘तालिम, कच्चापदार्थको सहज उपलब्धता र बजारको व्यवस्था भए अझ धेरै मानिस यसमा लाग्न सक्छन् ।’
आधुनिक भान्सामा मिक्सर, ग्राइन्डर र अन्य विद्युतीय उपकरणको प्रयोग बढेसँगै सिलौटा–जाँताको माग क्रमशः घट्दै गएको छ । सहरकेन्द्रित जीवनशैलीले परम्परागत सामग्रीको प्रयोगलाई सीमित बनाइदिएको छ । तर गाउँघरमा भने अझै पनि सिलौटो र ओखलको प्रयोग पूर्ण रूपमा हराइसकेको छैन ।
संस्कृति र परम्परासँग जोडिएको यो पेसा हराउने खतरा बढ्दै गएकोप्रति कमलावती र सुनिता दुवै चिन्तित छन् । नयाँ पुस्तामा यसप्रति आकर्षण कम हुँदै गएको छ, जसले भविष्यमा यो पेसा संकटमा पर्न सक्ने देखिन्छ । ‘हामीले छाड्यौं भने यो सीप नै हराउन सक्छ,’ उनीहरू भन्छन् ।
यद्यपि, स्थानीय समुदाय र राज्यको सहकार्य भए यो पुरानो सीपलाई जोगाउन सकिने उनीहरूको विश्वास छ । परम्परागत हस्तकलालाई प्रवद्र्धन गर्दै पर्यटनसँग जोड्न सके यसले आर्थिक अवसरसमेत सिर्जना गर्न सक्ने सम्भावना छ ।
गाउँमा परम्परागत श्रम र सीप अझै जीवित छ । हरेक सिलौटा, ओखल र जाँतामा कमलावती र सुनिताहरूको मिहिनेत, धैर्य र पुस्तौंदेखिको अनुभव मिसिएको छ—जसले एउटा जीवित सांस्कृतिक इतिहास बोकेको छ ।
कुशवाडिया जातिलाई ‘पत्थरकट्टा’ पनि भनिन्छ । ओखल, जाँतो, सिलौटा, लोहोरो, खलबच्चा (औषधि पिस्ने)जस्ता ढुंगाका सामग्री बनाउने, ढुंगामा चित्र तथा अक्षर कुँद्ने, घर निर्माणका लागि ढुंगा काट्ने र आकार दिने कामका कारण उनीहरू यो नामले चिनिएका हुन् । यसैकारण यो समुदायलाई ‘शिल्कट’ (शिलाकट्टा) पनि भन्ने गरिन्छ ।