अमेरिकी स्टेट पाटनरसीप प्रोग्राम (एसपीपी) अगाडि नबढाउन राजनीतिक नेतृत्व लगभग सहमत भएको देखिन्छ । प्रधानमन्त्री निवास बालुवाटरमै बसेको सत्तारुढ गठबन्धनको बैठकले एसपीपी अगाडि नबढाउने सहमति जुटाएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको सम्भावित अमेरिकी भ्रमणका क्रममा एसपीपी सम्झौता हुनसक्ने भन्दै चर्को आलोचना भएपछि सत्तारुढ दलहरुको बैठक बसेको थियो । बैठकले एसपीपी अगाडि नबढाउने निर्णय गरेपनि प्रमुख विपक्षी दल नेकपा एमालेका नेताहरुले सार्वजनिक खपतका निम्ति चर्को आवाज उठाए । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले रोकेको एसपीपी गठबन्धन सरकारले अगाडि बढाएको उनीहरुको आरोप थियो । तर एकाएक घटना मोडियो, जब एसपीपी प्रस्तावको पत्र ओली प्रधानमन्त्री हुँदा नै अमेरिकी दूतावासमा गएको पत्र सार्वजनिक भयो । यो पत्रपछि एमाले वृत्त नराम्रोसँग झस्कियो ।
एमाले नेताहरुले एसपीपीमा आफ्नो नेतृत्वको संलग्नता नभएको प्रारम्भिक प्रतिक्रिया दिएका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले त प्रतिनिधिसभा बैठकमै चुनौती दिएका थिए । उनले चुनौती मात्रै नभएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माफी माग्नुपर्ने माग राखेका थिए । तर सन् २०१५ मा पठाइएको उक्त पत्र सार्वजनिक भएपछि घटना मोडियो, ओली स्वयम् स्वीकारे । तर आफू नेतृत्वको सरकार हुँदा गएको पत्रबारे राजनीतिक नेतृत्वलाई जानकारी नदिएको ओलीको भनाइ थियो । उनी निकट नेता प्रदीपकुमार ज्ञवालीले पनि शनिबार राजनीतिक नेतृत्वलाई राजनीतिक नदिई नेपाली सेनाले पत्र पठाएको बताएका छन् । ज्ञवालीसँग मिल्दो अभिव्यक्ति माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि दिएका छन् ।
माओवादीभित्र बलियो प्रभाव राख्ने नेता पुनले अमेरिकी प्रस्ताव सेनामार्फत् आउनु र सेनाले राजनीतिक नेतृत्वलाई छलेर पटकपटक पत्राचार गर्नुुलाई सामान्य रुपमा हेर्न नहुने बताएका छन् । भलै, एसपीपी तत्काललाई अगाडि नबढ्ने देखिन्छ । तर राजनीतिक नेताहरुको अभिव्यक्तिलाई आधार मान्ने हो भने मुलुकमा प्रणालीगत समस्या यथावत छ । परराष्ट्र नीति, सम्बन्ध र व्यवहारबीच तालमेल नदेखिएको प्रष्ट हुन्छ । मुलुककै हितमाथि गम्भीर प्रश्न उठ्ने एजेण्डामा दलहरुबीच राष्ट्रिय सहमति आवश्यक हुन्छ । तर राजनीतिक दलहरुले भोटको राजनीतिक गर्नु र दलहरुको त्यही प्रवृत्तिबाट फाइदा उठाउनेगरी अन्य शक्ति लाग्नु उचित होइन । आगामी दिनमा यस्ता कमजोरी सच्याउन आवश्यक छ, मुलुक संविधान र संवैधानिक भावनाबाट चल्नु निर्विकल्प छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies