संगीत नै पढेर संगीतमै समर्पित संगीत साधक हुन् योगेन्द्र उपाध्याय । त्रिभुवन विश्वविद्यालयबाट संगीतमा माष्टर डिग्री गरेका योगेन्द्र ‘ए’ ग्रेडका संगीतकार हुन् । सरकारी प्रसारणको एकमात्र रेडियो रेडियो नेपालले संगीतकर्मीहरुको ग्रेडिङ गर्ने गर्छ । रेडियो नेपालले गर्ने वर्गीकरणमा ‘ए’ ग्रेडको संगीतकार हुन त्यति सहज छैन । उनको संगीतकर्मले नै उनलाई यो सफलता दिएको हो । उनले त्रिभुवन विश्वविद्यालय अघि विभिन्न संगीत पाठशाला÷स्कुलहरुमा संगीत सिकेका थिए । व्यवहारिक ज्ञानसँगै सैद्धान्तिक ज्ञान पनि आवश्यक महसुस गरी उनले संगीतमै उच्च शिक्षा लिए । उनले सिकेका ति हरेक सिकाइहरुलाई यतिबेला आफ्नो संगीत सिर्जनामा प्रयोग गरिरहेका छन् । भर्सटायल संगीतकारको परिचय बनाएका योगेन्द्रले आधुनिक, पप, लोक, भजनलगायतका जनरामा गीतसंगीत सिर्जना गरिसकेका छन् । विभिन्न संगीत प्रतियोगितमा प्रथम भएका योगेन्द्र शब्दको भाव अनुसार उत्कृष्ट संगीत सिर्जना गर्न सक्ने संगीतकार हुन् । संख्यात्मकरुपमा भन्दा गुणात्मकरुपमा अब्बल गीत सिर्जना गर्नु पर्छ भन्ने मान्यता राख्ने योगेन्द्रले व्यवहारत् त्यही कुरालाई प्रमाणित गरेका छन् । उनका गीतलाई संगीतका विश्लेषकहरुले उत्कृष्ट संगीत मान्छन् । अन्य संगीतकारको तुलनामा महँगो पारिश्रमिक लिएर काम गर्ने संगीतकारका रुपमा पनि योगेन्द्रलाई चिनिन्छ । उनी भने आफुले आफ्नो कर्म अनुसारको पारिश्रमिक लिने तर्क गर्छन् । प्रस्तुत छ संगीत साधक योगेद्रले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
अचेल केमा व्यस्त हुनुहुन्छ ?
संगीत सिर्जनामै व्यस्त छु । गत सातामात्र एउटा गीत सार्वजनिक गरेको छु । यतिबेला अन्य गीतहरु सार्वजनिक गर्ने तयारीमा छु । केही गीतहरुको रेकर्डिङ चलिरहेको छ भने केहीको कम्पोजिसनको काम भइरहेको छ । यही बीचमा म आफ्ना केही गीति एल्बमहरु सार्वजनिक गर्ने पनि तयारीमा छु । आगामी महिनासम्ममा ३ वटा एल्बम एकसाथ सार्वजनिक गर्ने योजना छ । त्यसैको काम पनि भइरहेको छ । मैले स्कुलहरुमा पनि नियमितरुपमा संगीतको प्रशिक्षण गराउँदै आएको छु । समग्रमा संगीतकर्ममै व्यस्त छु ।
तपाईं एकसाथ ३ वटा एल्बमको तयारीमा हुनुहुन्छ, तर अचेल एल्बम निकाल्ने प्रचलन निकै कम छ नि ?
तपाईंले भनेको ठिकै हो अचेल एल्बम निकाल्ने चलन निकै कम छ । अचेल गीतसंगीत सिर्जना गरिसकेपछि सिंगल ट्रयाकका रुपमा गीत सार्वजनिक हुँदै आएको छ । मैले पनि विगतमा त्यसै गर्दै आएको थिएँ । तर मलाई एल्बम भनेको आफ्नो सिर्जनाको एउटा दस्तावेज हो भन्ने थाहा छ । त्यसैले मैले आफ्ना सिर्जनाहरुलाई एल्बमकै रुपमा सार्वजनिक गर्न लागेको हुँ । मैले २०७६ सालमै एल्बम सार्वजनिक गर्ने तयारी गरिरहेको थिएँ । तर कोभिड १९ का कारण नेपालमा लकडाउन भयो । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दा एल्बम सार्वजनिक कार्यक्रम गर्न सकिने अवस्था रहेन, त्यसैले रोकियो । २०७७ सालमा अर्को एल्बम पनि तयार भयो । दुईवटा एल्बम एकसाथ रिलिज गर्ने तयारी गर्दै थिएँ, कोभिड १९ को दोस्रो लहर आयो । यो बीचमा मेरा गीतसंगीत त बजारमा आए, तर एल्बम सार्वजनिक गर्ने मेरो योजना केही समय रोकियो । यतिबेला तेस्रो एल्बमको काम लगभग सकिएको छ । यसैले अहिले म ३ वटा एल्बम एकसाथ सार्वजनिक गर्ने तयारीमा छु । छिट्टै एक कार्यक्रम गरी एल्बम सार्वजनिक गर्नेछु ।
तपाईं संगीत सिर्जना गर्दा के कुरामा बढी ध्यान दिनुहुन्छ ?
संगीत सिर्जना गर्दा ध्यान दिनुपर्ने पहिलो कुरा भनेकै शब्दको भाव हो । शब्दले के भन्न खोजेको छ, त्यसमा प्रयोग भएका विम्वहरुले के कुराको संकेत गरेको छ, ति सबैको अर्थ बुझेर सकेसम्म त्यसैको भाव सुहाउँदो मेलोडीमा संगीत सिर्जना गर्ने गर्दछु । कहिले काहीँ गायकको भोकल क्वालिटीका आधारमा पनि संगीतको स्केलहरु तय गर्नुपर्ने हुन्छ । मैले विविध जनराका गीतमा संगीत सिर्जना गरेको छु । यसैले कुन जनराको संगीत तयार गरिँदैछ त्यसलाई पनि ध्यान दिनुपर्छ । हाम्रो परिवेश र मौलिकतालाई पनि ध्यानमा राख्ने गर्छु ।
तपाईंले त संगीतको औपचारिक शिक्षा पनि लिनुभएको छ ? संगीतकारहरुलाई औपचारिक शिक्षाको आवश्यकता कत्तिको देख्नु हुन्छ ?
शिक्षाको आवश्यकता त सबैलाई हुन्छ । कसैले अनौपचारिक त कसैले औपचारिकरुपमा संगीत सिकेका हुन्छन् । मैले शुरुमा संगीत साधना विद्यालय, गुरुकुल संगीत पाठशाला र इण्डियन कल्चर सेन्टरमा संगीत सिकेको हँु । विभिन्न गुरुहरुसँग संगीतको व्यवहारिक ज्ञान सिकेर मैले संगीत सिर्जना गर्न थालेको हुँ । काम गर्दै जाँदा मलाई कतिपय अवस्थामा संगीतको सैद्धान्तिक ज्ञान पनि लिनुपर्छ भन्ने भयो । जसका कारण त्रिभुवन विश्वविद्यालयबाट संगीतको औपचारिक अध्ययन गरें । मैले त्रिभुवन विश्वविद्यालयबाट संगीतमै मास्टर डिग्री गरेको छु । संगीतको अध्ययन गरेर आउँदा आफ्नो संगीत सिर्जनाको दायारा फराकिलो बनाउन सकिन्छ । संगीतमा मात्र होइन हरेक क्षेत्रमा त्यसको व्यवहारिक ज्ञानसँगै सैद्धान्तिक अध्ययन गरेर आउँदा सुनमा सुगन्ध हुन्छ, होइन र ? यसअर्थ पनि मलाई त संगीतको अध्ययन आवश्यक लाग्छ ।
थोरै पछाडि फर्कौं, संगीतमा कसरी प्रवेश गर्नु भयो ?
सानैदेखि संगीतमा मेरो लगाव थियो । स्कुल पढ्दा पनि विभिन्न कार्यक्रमहरुमा सहभागी भई गीतसंगीत प्रस्तुत गर्थें । गाउँघरमा होस् वा स्कुलमा हुने कार्यक्रममा नै किन नहोस् म सहभागी भई कहिले गाउने त कहिले विभिन्न बाजाहरु बजाउने गर्थें । मेरो हजुरआमा पनि गायनमा रुची राख्नु हुन्थ्यो । उहाँको प्रभाव पनि होला । अहिले फर्केर हेर्दा लाग्छ मभित्र बाल्यकालमा नै संगीतको विजयारोपण भएको हो । त्यतिबेला मलाई साथीभाइ, शिक्षक अनि अभिवावकले पनि हौसला दिनुहुन्थ्यो । उहाँहरुको हौसला मेरा लागि प्रेरणा भयो । विद्यायलयस्तरीय अध्ययन सकेर उच्च शिक्षाका लागि २०५७ सालमा म काठमाडौं आएँ । काठमाडौं आएपछि मैले उच्च शिक्षासँगै संगीत सिक्न थालें । संगीत सिक्दै जाँदा विभिन्न प्रतियोगिताहरुमा पनि भाग लिन थालें । केही प्रतियोगितमा प्रथम भई उत्कृष्ट संगीतकार घोषित भएपछि मलाई यसै क्षेत्रमा भविष्य बनाउन थप सहयोग मिल्यो ।
यहाँ रेडियो नेपालले आयोजना गरेको २०७१ सालको आधुनिक गीत प्रतियोगितामा प्रथम पनि हुनुभयो, यो प्रतियोगितालाई तपाईंको जीवनको टर्निङ प्वइन्ट मान्न सकिन्छ ?
सकिन्छ । किनभने मैले यसअघि पनि विभिन्न प्रतियोगितामा सहभागिता जनाएको थिएँ । पुशपति संगीत कला प्रतिष्ठानको आयोजनामा २०६७ सालमा सम्पन्न भक्ति संगीत प्रतियोगिता र कृष्ण प्रणामी युवा परिषद् नेपालको आयोजनामा सम्पन्न राष्ट्रिय भक्ति संगीत प्रतियोगिता २०६८ मा पनि प्रथम भएको थिएँ । रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा प्रथम भएपछि मेरो संगीत सिर्जनाको प्रशंसा गर्दै धेरैले यसै क्षेत्रमा सक्रिय रहन हौसला दिनुभयो । अग्रज संगीतकारको प्रेरणाले पनि मलाई यही क्षेत्रमा निरन्तरता दिन प्रेरणा मिल्यो । गायन प्रतियोगितामा अन्य सर्जकका गीतहरु प्रस्तुत गर्न सकिन्छ भने संगीत प्रयोगितामा आफैंले कम्पोज गरेको सिर्जना प्रस्तुत गर्नुपर्ने हुन्छ । २०५७ देखि नै निरन्तर संगीत सिकिरहेको थिएँ । २०६७ सालमा सम्पन्न भक्ति संगीत प्रतियोगितामा सहभागी हुनु अघि नै म आफैंले संगीत सिर्जना गरिसकेको थिएँ । यद्यपि यहाँले भने जस्तो २०५१ मा सम्पन्न आधुनिक गीत प्रतियोगितापछि म थप सक्रिय भएर यस क्षेत्रमा लागें । त्यसपछि म निरन्तर संगीतमै छु ।
अब एकैछिन संगीत क्षेत्रको कुरा गरौं, वर्तमान स्थितिमा सांगीतिक क्षेत्रको अवस्थालाई कसरी लिनुभएको छ ?
अवश्य पनि सांगीतिक क्षेत्र थप फराकिलो हुँदै आएको छ । अडियो क्यासेट, सिडि, भिसिडी हुँदै डिजिटल युगमा प्रवेश गरेको छ । जसका कारण संगीतको बजार ग्लोबलाइज भएको छ । सर्जकहरुको सिर्जनाले फराकिलो स्थान ओगट्न पाएका छन् । सिर्जनामा रम्नेहरुका लागि पनि विभिन्न माध्यमहरु थपिइरहेका छन् । रेकर्डिङमात्र नभएर गीतसंगीतको वितरण सहज भएको छ । यस्तै रोयल्टी व्यवस्थापन पनि हुँदै आएको छ । श्रष्टालाई विभिन्न माध्यमबाट रोयल्टी प्राप्त हुन थालेको छ । संगीत क्षेत्रमा भविष्य देख्नेहरुको संख्या उल्लेख्य छ । जसका कारण प्रतिस्पर्धा पनि बढीरहेको छ । प्रतिस्पर्धा बढेसँगै उत्कृष्ट सिर्जनाहरु सिर्जित हुन थालेका छन् । समग्रमा भन्ने हो भने सांगीतिक क्षेत्र थप फष्टाएको छ । उत्कृष्ट सिर्जनाहरु बजारमा आउन थालेका छन् ।
पहिले र अहिलेका गीत सिर्जनामा खास फरक केही भेट्नु हुन्छ ?
समय गतिशील छ । समयको गतिसँगै हामी सबै चल्नु पर्छ । समयको चक्रसँगै हुने विकासले संगीतको सिर्जनामा पनि फरक पर्दो रहेछ । पहिले पहिलेका गीतहरु बढी मात्रमा मौलिक हुने गर्थे । शास्त्रिय संगीतको प्रयोग पनि त्यत्तिकै हुन्थ्यो । नेपाली परिवेशका विभिन्न भाकाहरु बढी मात्रामा मौलिक सुनिन्थे । अहिले मौलिक गीतहरु हुँदै नभएका होइनन् । शास्त्रिय संगीतको प्रयोग हुँदै नहुने होइन । तर ग्लोबलाइजेशनका कारण हरेक देशका संगीत सहजै सुन्न सकिन्छ । यसैले अहिले हामीले हाम्रो मौलिक भाकाहरुसँगै विश्व बजारमा चलिरहेको ट्रेण्डलाई पनि समातिरहेका छौं । गुणस्तरका हिसावले पहिले र अहिलेका गीतसंगीतमा खासै भिन्नता छैन । शैलीका हिसाबले अहिले थप फराकिलो बनिरहेको जस्तो लाग्छ ।
अन्त्यमा, संगीत क्षेत्रमा लागेर के पाइयो के गुमाइयो जस्तो लाग्छ ?
गुमाउन त केही गुमाएको जस्तो लाग्दैन । बरु धेरै कुरा संगीतबाट पाएको छु । पहिलो त यतिधेरै स्रोताको माया पाएको छु । गीतसंगीत प्रेमीको मायाले प्रफुल्लित नै छु । मेरो रुची नै संगीत भएकोले पनि होला मलाई संगीत सिर्जनामा रम्न मन पर्छ । संगीत नै पढे संगीतमै क्रियाशिल छु । मलाई सबैभन्दा धेरै आत्मसन्तुष्टि नै संगीत सिर्जनामा मिल्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies