
चुनावबाट पुराना दललाई सच्चिने अवसर प्राप्त भएको छ भने झन्डै दुईतिहाइ मत पाएको रास्वपालाई सम्हालिने चुनौती उत्तिकै छ । सत्ता र शक्तिलाई सधैं पेवा ठानेका दलहरूले अहिलेको चुनावमा जिल्ला–जिल्लाबाट पराजय भोगे । स्थानीय निर्वाचनमा स्वतन्त्रबाट बालेन्द्र शाह, हर्क साम्पाङ र गोपी हमालहरूको विजय वैकल्पिक शक्तिको घण्टी बजाउने संकेत हो भनेर कसैले बुझ्ने प्रयास नै गरेनन् । यो व्यवस्था ल्याउन संघर्ष गरेका नेपाली कांग्रेस, नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) यही व्यवस्थाभित्र मौलाउँदै गरेको भ्रष्टाचार, कुशासन, बेथिति, नातावाद, कृपावाद, परिवारवाद, संरक्षणवादको विरुद्धमा जनआक्रोश बढिरहेको कुरालाई अनदेखा गरिरहे । आफ्नै अहंकार र सत्ताको उन्मादले यिनीहरूलाई थिचिरह्यो । आफंैभित्र सुध्रिन सकेनन्, संगठित हुन चाहेनन्, जनताको मत मेरै पकडमा सधैं हुन्छ भन्ने भ्रम पालिरहे ।
उनीहरूले आफैंभित्रबाट लोकतन्त्रको सङ्लो अभ्यासको चरित्र प्रदर्शन गर्ने हिम्मत कहिल्यै गरेनन् । एकअर्काको अडेसोमा छिर्केनी मार्ने ध्याउन्नमा समय खेर फाले । आफ्नैले शक्ति र सत्ताको दुरुपयोग गर्दा पनि थाहै नपाएको अभिनयमा व्यस्त भए । आमजनअपेक्षाको आक्रोश र निराशाको भेललाई रोक्ने त के, सुन्ने धैर्यसमेत गुमाएका पुराना दलको अवस्था अहिलेको चुनावले लज्जास्पद पराजयको किनारामा लगेर थन्क्याइदियो । जनताले ब्यालेटमार्फत पुराना दललाई एकैसाथ किनारामा पारिदिए । यो एक दिनको हल्लाले हैन र एकैछिनको रमाइलोपछि हुत्तिएको भिडको निर्णय पनि हैन । यो विगत ३६ वर्षदेखि गुम्सिएर रहेको जनआक्रोशको नतिजा हो ।
जनतालाई सुशासन, समृद्धि, सहज र सुलभ दैनिकी चाहिएको हो । पैसा नहुँदा पनि अस्पतालमा उपचार पाइयोस्, राम्रो विद्यालयमा आफ्ना नानीबाबुलाई भर्ना गर्न कुनै नेताको चाकडी गर्नु नपरोस् भन्ने चाहिएको हो । सानाभन्दा साना सवाल भुइँमान्छेका छन्, तर पटक–पटक सत्ताको स्वाद चाख्नेहरूले भुइँमान्छेका दुःख र समस्यालाई कहिल्यै आवश्यक ठानेनन् । जसको परिणाम अहिलेको परिस्थिति बन्दै गयो ।
जनताले केही वर्षदेखि दलहरूको सत्ता लुछाचुँडीलाई नजिकबाट अध्ययन गरिरहेका थिए । दलहरूले थुपारेको कुशासनबाट जनता आजित थिए । न कार्यपालिका, न व्यवस्थापिका, न न्यायपालिका सग्लो बनेकोबाट जनता दिक्क बनेका थिए । जसको परिणाम वैकल्पिकहरूको शीर्ष स्थानमा रहेका बालेन, रविहरूलाई जनताले भारी विश्वास गरे ।
यो चुनावले स्पष्ट सन्देश दिएको छ कि परिवर्तनका लागि जनताको शक्तिभन्दा ठूलो अर्को कुनै पनि शक्ति हुनै सक्दैन । विगत ३६ वर्षदेखि यो मुलुकको शासनको केन्द्रमा रहेका सबै दल यो चुनावबाट पाखा पारिए । प्रमुख प्रतिपक्षमा रहेर सरकारलाई खबरदारी गर्ने जिम्मेवारीमा पनि पुराना दललाई जनताले पत्याएनन् यसपालि । रास्वपाले प्रत्यक्षतर्फको निर्वाचनमा एक सय २५ सिट र समानुपातिकमा ५७ गरी जम्मा एक सय ८२ सिट हात पारेको छ । यो सिट संख्या अहिलेको दुई सय ७५ जम्मा सिटमा झन्डै दुईतिहाइ नजिकको हो ।
बालेनको चुनावी प्रचार पनि रोचक नै थियो । अरूलाई गाली गरेनन् । भदौ २३ र २४ गते भएको नरसंहारलाई मसिनो गरी जनतालाई घरमा नै गएर सुनाए । ठूला र चर्का भाषण पनि बालेनका लागि प्रिय भएनन् । नरम भएर आफ्ना कुरा जनतालाई सुनाए । गाउँ–गाउँका आमाबुबाहरूले ‘बालेन बाबु, तिमीले जित्नुपर्छ’ भन्ने वातावरण निर्माण गर्दै हिँडे । यही नम्रता र इसाराको भाव नै बालेनको जितका लागि गतिलो अस्त्र बन्न गयो । बोल्नेभन्दा पनि काम गर्ने भनेर सुनाउँदै हिँडे । कार्यकर्ताको तालीमा पनि रमाएनन् । लाखौंको भिड र हजारौं क्यामेराका लेन्सहरूलाई पन्छाउँदै गाउँमा मुस्कुराउन पुगेका बालेनप्रति वृद्धदेखि बालकसम्मको क्रेज थामिनसक्नु देखियो । सिंगो देशको भरोसा बालेन र रविमा तेर्सियो । अहिलेको जनमतको अर्को एउटा सन्देश पनि दिएको छ, आफ्नो चुनावी क्षेत्रमा केन्द्रित विकास पनि चुनाव जित्ने अस्त्र होइन । चितवनमा रेनु दाहालले विकास गरेकी छिन् । झापा ५मा ओलीले विकास गरेका छन् । तर, ती सबै तपसिल भए ।
अहिलेको चुनावी नतिजालाई आगामी दिनमा टुट्न र फुट्न नदिई, भुइँमान्छेले अनुभव गर्नेगरी सुशासन र समृद्धिको यात्रालाई अगाडि बढाउन रवि र बालेनहरूले निकै विवेकपूर्ण कदम चाल्न आवश्यक छ । रास्वपाभित्र पनि एमाले, कांग्रेस र माओवादीबाट पाखा पारिएका धेरै व्यक्तिहरूले यो चुनावमा अवसर पाएका छन् । कांग्रेस, एमाले, माओवादीबाट बिच्किएर रास्वपा बनेका धेरै व्यक्तिहरू छन् । यस्तोमा विवेक नगुमाई काम गर्नुपर्दछ ।
चुनाव पनि विशेष परिवेशबाट जन्मिएको थियो भने रास्वपालाई जनमत पनि विशेष नै हुन गयो । इतिहास नै परिवर्तन हुने गरी जनमतको तुफान रास्वपातिर ओइरियो । यो जनमतको तुफानलाई सही व्यवस्थापन गर्दै सत्ता र शक्तिभन्दा माथि उठेर मुलुकमा कैयौं वर्षदेखि रहेको बेथिति र भ्रष्टाचारको हिलो र फोहोरलाई जरैदेखि सफा गर्ने मुख्य अभिभारा रास्वपाको काँधमा छ । अब कुनै पनि बहाना बनाएर जनताका अपेक्षा बेवास्ता गर्ने छुट छैन । रास्वपाले बाटो बिराएर पुरानाहरूकै लाइनमा दौडिन खोज्यो भने फेरि केही समयपछि जनमतबाट बढारिने पक्का नै हो । प्रतिशोधको जगमा टेकेरभन्दा पनि कानुन, नीतिको जगमा टेकेर सत्ताको स्टेरिङ चलाउने विवेक रास्वपाले गुमाउनुहुँदैन ।
रास्वपाले यो जनविश्वास र भरोसालाई सही अवतरण गराउन सक्दैन भनेर अड्कल गर्नेहरू पनि देखिन थालेका छन् । चुनावअघि पनि रास्वपाबाट विद्रोह गरेर ट्रोल बन्नेहरू निकै थिए । पुराना दलहरूबाट रास्वपामा गएका र चुनावको मुखमा फेरि रास्वपाबाट बिच्किएर पुरानामै फर्किनेहरूको लहर निकै चर्चामा थियो । तर, त्यस लहरले खासै असर गरेन । यस्ता सवालहरूमा पनि रास्वपा चनाखो हुन जरुरी छ । राष्ट्रिय सभामा रास्वपा छैन । सात सय ५३ स्थानीय तहमा रास्वपा छैन, सातवटा प्रदेश तहमा रास्वपा छैन । त्यसकारण रास्वपाले विवेक र धैर्य गुमायो भने फेरि अर्को विकल्पको जन्म हुने र मुलुक अस्थिरतामै फसिरहने पक्का छ । यही व्यवस्थाभित्र अवस्था बदल्ने भन्ने नीतिमा उदाएको पार्टी भएको हुनाले अवस्था बदल्ने मार्गमा हिँड्नुको विकल्प छैन ।
अन्त्यमा, यो चुनावबाट किनारामा पारिएका दलहरूले निराशामा बस्नुभन्दा पनि विगतका गल्ती र कमजोरीलाई गम्भीर समीक्षा गरी आगामी दिनमा अर्को विकल्प नउदाउने वातावरण कसरी बनाउने भनेर आफैंभित्र पखालिने अभ्यास सुरु गर्नुपर्दछ । विगतमा भएका त्रुटिलाई मसिनो गरी केलाउने र पार्टीभित्र व्यक्तिभन्दा पनि विचार र परिवर्तनकारी सोचलाई अवसर दिने, युवा भावनालाई बुझ्दै समयअनुसार आफू र पार्टीको अवस्थामा परिष्कृत र परिमार्जित गर्दै मुलुक र जनताको विकासमा हातेमालोको अर्को इँटा जोड्दै अगाडि बढ्ने कि सक्किने अब आफ्नै विवेकमा भर पर्दछ । जनताको समृद्धि छाना र मानासँग जोडिएको हुनाले यही लयमा काम गर्नुपर्ने कुरालाई नयाँ सरकारले बुझ्न जरुरी छ ।