बझाङ : कुनै समय साँझ घरको आँगनमा चुलोको धुँवा सल्किन्थ्यो, परिवारको र छरछिमेकको साथ र मित्रताको मधुर सम्बन्धले गाउँ जिउँदो देखिन्थ्यो ।
तर अहिले गाउँ रित्तिएका छन्—मानौं कोख रित्तिएको आमा झैं । सुनसान पहाड र न चराको चिरविर । लाग्दछ समयले गाउँको आत्मालाई नै ओझेलमा पारिदिएको छ ।
गाउँमा कसैको बिहे हुँदा टपरी गाँसेर लैजाने, दाउरा काटेर ल्याउने र बारीको पाटामा बसेर लस्कर लागेर भोज खाएको दृश्य पनि अब ओझले हुन लागेको छ । तर आज गाउँमा न मान्छे छन्, न यसरी काम हुन्छ । शिशिर ऋतुमा समेत रमाइलो लाग्ने पहाडका डाँडाहरू अचेल झाडी नै झाडीले उराठ बनेका छन् । केबल मृत्युको पर्खाइमा रहेका बुढाबुढीहरू गाउँ कुरेर बसेका छन् ।
बझाङको छबिसपाथिभेरा गाउँपालिकाको नियति अहिले यस्तै छ । हिमाल, पहाड र तराईको संगम झैं देखिने भौगोलिक विविधताले सम्पन्न छ यो गाउँमा विरक्तिबाहेक केही छैन । छ त मात्र जीवन शून्यता ।
यो गाउँपालिकामा रहेका सबै ६७ वटै वडामा करिब ७० प्रतिशत जनसंख्या पलायन भइसकेका छन् । कामको खोजीमा कोही काठमाडौं गए भने कोही भारत र खाडी ।
गाउँमा युवापुस्ता हराएको छ, जसले गाउँको आत्मा रित्तिएको अनुभूति हुन्छ । कोही बिरामी हुँदा बोक्नलाई मान्छेसम्म भेटिँदैन । स्थानीय वीरेन्द्र धामी भन्छन्, ‘म बिरामी छु ।
दिदीबहिनीहरूले स्टेचरमा बोकेर मलाई अस्पतालसम्म पु¥याइदिनुभयो ।’ उनको यो भनाइ गाउँमा मानवजन्य संकट कति गहिरो बनिसकेको छ भन्ने कुराको तीतो यथार्थ हो ।
शिक्षाको हालत पनि त्यस्तै छ । धनीले शहर पठाउँछन्, बाँच्न गाह्रो भएका परिवारका छोराछोरी मात्रै सरकारी विद्यालयमा पढ्छन् । किसानका बारीमा उब्जिएका गोलभेँडा, काउली, मुला बजारसम्म पु¥याइदिने कोही छैन ।
खेतीपाती र जडिबुटीमा सम्भावना हुँदाहुँदै पनि गाउँका युवालाई त्यसले तानेको छैन ।
‘वडा नं ७ मात्र होइन, समग्र गाउँपालिका यार्सागुम्बा, बनलशुन, चिरेतो लगायत दुर्लभ जडिबुटीले भरिएको छ । यी जडिबुटी राष्ट्रिय आयमा उल्लेखनीय योगदान दिन सक्ने क्षमतायुक्त छन् । तर उत्खनन, संरक्षण र बजारीकरण नहुँदा आर्थिक लगानी सुरक्षित छैन’ छबिसपाथिभेराका अध्यक्ष वस्नत बहादुर चलाउने भन्छन् ।
गाउँमा पर्यटन, कृषि, जडिबुटी, सामुदायिक वन, प्राकृतिक स्रोतको प्रचूर सम्भावना छ । तर सरकारले ध्यान नदिँदा आम जनताको चासो नबढेको उनको भनाइ छ ।