रौतहट : वैदेशिक रोजगारीमा जाने नेपाली युवामध्ये धेरैजना चिनजान र आफन्तबाटै ठगीमा परेको देखिएको छ । सरकारले पटकपटक वैधानिक प्रक्रिया नअपनाई म्यानपावर कम्पनीबाट तोकिएको प्रक्रिया पूरा गरेर जानुपर्ने बताए पनि अधिकांश चिनजानकै व्यक्तिमार्फत विदेश जाने प्रवृत्तिले युवाहरू अलपत्र मात्र पर्ने नभई लाखौं रुपैयाँ गुमाउने गरेको देखिएको छ ।
रौतहटको गरुडा नगरपालिका–९ का ३० वर्षीय मोहम्मद फिरोज त्यसका पछिल्लो उदाहरण हुन् । उनी गत असार २ गते भिजिट भिसामा कतार पुगे । उनले डेढ महिनासम्म उजुम कम्पनीमा गलैंचा र सोफा बनाउने काम गरे । तर रोजगारीको भिसा नभई पर्यटक भिसामा पुगेका कारण कतारी सुरक्षाकर्मीले उनलाई पक्राउ गरी दुई दिन जेलमा राखेपछि साउन १५ गते नेपाल पठायो । अहिले उनले आफूलाई ठगेको भन्दै जिल्ला प्रशासन कार्यालय गौरस्थित आप्रवासी स्रोत केन्द्रमा क्षतिपूर्तिको माग गरेका छन् ।
फिरोजका अनुसार उनलाई पठाउने एजेन्ट गरुडा–६ का शेख ग्यासुदिन हुन् । उनले बैंकमार्फत ४ लाख २० हजार रुपैयाँ बुझाएर आधिकारिक रूपमा कामदार भिसा दिलाउने विश्वास दिलाए पनि अन्ततः भिजिट भिसामा पठाइदिएको उजुरीमा उल्लेख छ ।
फिरोज मात्र होइन, शेख अब्जल नामक अर्का युवाले पनि उस्तै पीडा व्यहोरेका छन् । १३ सय कतारी रियाल मासिक पारिश्रमिकमा पठाइने भनिएको भए पनि अब्जललाई पनि उही एजेन्ट ग्यासुदिनमार्फत कतार पुर्याइएको थियो । अब्जल भन्छन्, ‘ग्यासुदिनकै दाइ कतारमै छन्, त्यसैले विश्वास गर्यौं । तर हामीलाई धोका भयो । अब खर्च गरेको पैसा मात्र फिर्ता पाइयो भने पुग्छ ।’
यसरी ठगी गर्नेहरू धेरैजसो स्थानीय र चिनजानकै व्यक्तिहरू रहेको पाइएको छ । गौर नगरपालिका–९ सिर्सियाका मोहम्मद इमरान खान आफैंलाई एजेन्ट बताउँदै आएका छन् । तर उनको नाममा हालसम्म ९ जनाले ठगी मुद्दा दर्ता गरेका छन् । महोत्तरीका ७ जना र गौरकै २ जना पीडितहरूले इमरानविरुद्ध उजुरी दिएको आप्रवासी स्रोत केन्द्र गौरले जनाएको छ ।
गौरकै पुनम देवीले २ लाख ४० हजार बुझाएपछि विदेश पठाउने भन्दै आएका इमरान फरार भएको बताइन् । ‘गाउँकै चिनजान भएकाले पैसा बुझाएको थिएँ, तर पछि ठगिएँ,’ उनले गुनासो गरिन् ।
त्यस्तै, गरुडा–१ का मैतुल्लाह अन्सारीका छोरा हसरत अली अन्सारी साउदी अरबमा अलपत्र परेका छन् । उनलाई सजिलो काममा पठाइने भनिए पनि कठिन काममा लगाइएको भन्दै उनका पिता मैतुल्लाहले एजेन्ट राजेन्द्र साह र छोरा सञ्जीव साहविरुद्ध उजुरी दिएका छन् । अन्सारीका अनुसार २ लाख २० हजार रुपैयाँ बुझाए पनि छोरा अलपत्र परेको छ ।
जिल्ला प्रशासन कार्यालय गौरअन्तर्गतको आप्रवासी स्रोत केन्द्रले दर्ता गरेका उजुरीहरूले ठगीका अधिकांश घटनामा पीडित आफन्त वा चिनजानकै मान्छेमार्फत मुछिने गरेको देखाएको छ ।
परामर्शदाता सोनु कुमार साहका अनुसार सरकारले २०७६ जेठ २ गतेदेखि एजेन्टको व्यवस्था नै खारेज गरेको भए पनि गाउँघरमा अझै पनि अवैध एजेन्ट सक्रिय छन् । ‘समुदायमा म्यानपावरमार्फत जानुपर्छ भन्ने सचेतना दिइरहेका छौं । तर अझै पनि धेरैले चिनजानकै भरमा विदेश जाने गरेका छन् र ठगिँदै आएका छन्,’ साहले बताए ।
गत आर्थिक वर्ष २०८१/८२ मा मात्र आप्रवासी स्रोत केन्द्र गौरमा २४५ वटा उजुरी दर्ता भएका थिए । तीमध्ये १२१ उजुरी सफलतापूर्वक समाधान गर्दै पीडितलाई ९५ लाख ६६ हजार ५ सय रुपैयाँ बराबरको क्षतिपूर्ति दिलाइएको केन्द्रले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामै २३ उजुरी दर्ता भइसकेका छन्, जसमा ५ वटा फछ्र्यौट भइसकेका छन् र ४ लाख ४० हजार रुपैयाँ क्षतिपूर्ति दिलाइएको छ ।