२०८२ भदौ १६ गते सोमवार / Sep 01 , 2025 , Monday
२०८२ भदौ १६ गते सोमवार
Ads

वैदेशिक रोजगार क्षेत्रको 'कालो दिन' सम्झिँदै व्यवसायीहरू

shivam cement
मध्यान्ह
२०८२ भदौ १६ गते ०९:२८
वैदेशिक रोजगार क्षेत्रको 'कालो दिन' सम्झिँदै व्यवसायीहरू

काठमाडौं : आज भदौ १६, नेपालको वैदेशिक रोजगार क्षेत्रको कालो दिन । २०६१ साल भदौ १६ गते इराकमा १२ जना नेपाली श्रमिकको निर्ममतापूर्वक हत्या भएपछि आक्रोसित भिडले सयौं म्यानपावर कम्पनीमा आक्रमण गरी अर्बौंको क्षति पुर्‍याएका थिए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले व्यवसायीको सामूहिक स्मृतिमा अमिट घाउ बनेर रहेको उक्त दिनको स्मरण गर्दै आज कालोपट्टी बाँधेर कार्यालय सञ्चालन गर्न वैदेशिक रोजगार व्यवसायीलाई आग्रह गरेको छ । महासचिव महेशकुमार बस्नेतद्वारा जारी विज्ञप्तिमा संघको तत्कालीन निर्णयअनुसार भदौ १६ लाई 'कालो दिन'को रूपमा घोषणा गरी सम्झिँदै आएको निर्णयलाई यस वर्ष पनि निरन्तरता दिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा महासचिव बस्नेतले भनेका छन्, 'आज भदौ १६ गते सोमबार सम्पूर्ण इजाजतवाला संस्थाहरूले आ-आफ्ना कार्यालयका कर्मचारीलगायतका सम्पूर्ण सहकर्मीहरुसहित कालोपट्टी बाँधेर उक्त घटनाको विरोध जनाउँदै कार्यालय सञ्चालन गर्न-गराउनु हुन हार्दिक अनुरोध गर्दछौं ।' 

संघले उक्त क्रूरतापूर्ण घटनामा निर्दोष नेपाली श्रमिकहरूले ज्यान गुमाउनु परेकोमा  संघका तर्फबाट गहिरो शोकव्यक्त गरी श्रद्धाञ्जली अर्पण गरेको छ ।  घटना पछि सरकारले गठन गरेको जाँचबुझ प्रतिवेदनअनुसार  राजधानीमा दुई जनाको प्रहरीले हानेको गोली लागेर मृत्यु भएको थियो भने ९९ जना घाइते भएका थिए । आगजनी र तोडफोडबाट १ अर्ब १ करोड ६१ लाख ३७ हजार बराबरको क्षति भएको थियो  ।

२०६१ साल भदौ १६ गते दिउँसो २ बजेपछि काठमाडौं उपत्यकामा कर्फ्यू आदेश जारी भएपछि मात्र भिड नियन्त्रण भएको थियो । रत्नपार्क नजिकै रहेको नेपाली जामे मस्जिद अगाडिको भिडमा प्रहरीले गोली चलाउ‍ँदा पाँचथरका शिव राईको मृत्यु भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise