२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

प्रचारशैलीमा छलाङ, पर्चा पन्छाएर एल्गोरिदम

shivam cement
दिवाकर अधिकारी
२०८२ फागुन १५ गते ०६:३०
Shares
प्रचारशैलीमा छलाङ, पर्चा पन्छाएर एल्गोरिदम

काठमाडौं : चुनावको प्रचारप्रसार एवं मतदाता शिक्षाका लागि निर्वाचन आयोगले टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ । भ्युजका आधारमा पुरस्कार प्रदान गरिनेछ । 

अर्थात्, जसको बढी भ्युज गयो उही पहिलो । यो पछिल्लो निर्वाचन प्रचा शैलीको एउटा उदाहरण हो । निर्वाचन आयोगको जस्तै चुनावी प्रचारशैली राजनीतिक दल र उम्मेदवारहरूको छ । अनि मतदाता पनि जसको बढी भ्युज छ उही उम्मेदवार सही होलान् भनेर भर्चुअल गफ गरिरहेका छन् । 

भर्चुअल सभा र भर्चुअल गफ गरिरहेका मतदातामाझ उम्मेदवारहरू डिजिटल क्याम्पेन र एल्गोरिदममार्फत पुगिरहेका छन् । सात दशक अगाडि अहिलेको अवस्थाको कल्पनासम्म थिएन । 

नेपालमा पहिलो पटक २०१५ सालमा पहिलो पटक संसदीय चुनाव भएको हो । त्यसबेला मतपत्रको व्यवस्था समेत थिएन । ‘बीपी–महेन्द्र टकराव’ पुस्तकका अनुसार पहिलो संसदीय चुनावमा जति उम्मेदवार थिए त्यति नै संख्यामा चुनाव चिह्न थिए । मतदान केन्द्रमा हरेक पार्टी र उम्मेदवारका चुनाव चिह्न टाँसिएका मतपेटिका लहरै राखिएका हुन्थे । ‘पहिलो निर्वाचन लेखिए’को एउटा सानो कागजको टुक्रा मतदातालाई दिइन्थ्यो । मतदाताले आफूले मन पराएको उम्मेदवारको चुनाव चिह्न टाँसिएको बाकसमा खसाल्थे । कतिपयले ती कागज बाकसबाहिरै छाडेर हिँडेका थिए । जसलाई बदर मत भनियो । 

२००७ सालमा प्रजातन्त्र आएपनि संसदीय चुनाव हुन ८ वर्ष कुर्नुपर्‍यो । चुनाव आएपछि राजनीतिक दल र उम्मेदवार  हस्तलिखित पर्चा र पोस्टर लिएर मतदाताकहाँ पुग्थे वा गाउँगाउँमा पठाउँथे । सहरी क्षेत्रमा दल र उम्मेदवारको पक्षमा भित्तेलेखन गरिन्थ्यो ।

निर्वाचन आयोगले समेत भित्तेलेखन गरेर मतदानको तरिका सिकाउँथ्यो । मतपेटिका बाहिर कागज खसाल्न नहुने भित्तेलेखन मार्फत दिइन्थ्यो । अहिले बदर मत हुन नदिन के कस्ता विषयमा सतर्क हुनुपर्छ भनेर निर्वाचन आयोगले टिकटकमा भिडियो बनाएर प्रचार गरिरहेको छ । 

२०१७ सालमा प्रजातन्त्र खोसियो र पञ्चायती व्यवस्था सुरु भयो । पञ्चायतमा पनि चुनाव हुन्थ्ये । विस्तारै तिनका शैली बदलिँदै आए । २०४६ सालमा प्रजातन्त्र पुर्नबहाली भएपछि राजनीतिक दलहरू समेत खुलेर चुनावी प्रचारमा हिँडे । 

२०४८ मा संसदीय निर्वाचन भयो । त्यसबेला राजनीतिक दल र उम्मेदवार आमसभामार्फत चुनावी प्रचारमा जुटे । रेडियो सन्देश र ब्यानर प्रयोग बढ्यो । 

बहुदलीय उत्साह थियो । ३० वर्षे पञ्चायत व्यवस्था समाप्त भएपछि २०४८ सालको आमनिर्वाचनले नयाँ ऊर्जा ल्यायो । गाउँ–सहरका भित्तामा चुनाव चिन्ह र नारा लेख्ने पनि प्रतिस्पर्धा चल्यो । त्यसबेला मुख्य प्रतिस्प्रर्धी दलमा नेपाली कांग्रेस र नेकपा एमाले थिए । कांग्रेसले बहुमत ल्यायो र सरकार बनायो । तर, प्रतिनिधिसभा पुरै कार्यकाल चल्न सकेन । २०५१ मा मध्यावधि चुनाव भयो । त्यसबेला प्रचार शैलीमा केही बदलिए । जिपमा गाउँ गाउँमा पुग्ने र घुम्ने, चुनावी गीत घन्काउने शैलीलाई धेरैले पच्छ्याए । अझै पनि यो शैली कतिपयमा देखिन्छ । 

त्यसबेला स्थिर सरकारको नारा प्रमुख बन्यो । गठबन्धनको सम्भावना र अंकगणितीय बहस प्रचारको विषय बन्यो । प्रचार बढी नेता–केन्द्रित भए । प्रचार रणनीति भावनाभन्दा बढी राजनीतिक गणितमा केन्द्रित भयो । 

२०५६ सालमा संसदीय चुनाव हुँदा टोल–टोलमा सभा गर्ने शैली बढ्यो । रेडियो र पत्रिकामा विज्ञापन गर्नेहरू बढे । अहिले न्यूज पोर्टलमा विज्ञापन गरे जस्तो त्यसबेला रेडियो र पत्रिकामा विज्ञापन गर्नेहरू पहुँचवाला हुन्थ्ये । मतदाता तिनैलाई प्रभावशाली मान्दथे । 

२०६४ सालको संविधान सभामा सडक नाटक र सांस्कृतिक कार्यक्रममा जोड दिने शैली विस्तार भयो । १० वर्षे सशस्त्र युद्धबाट आएको माओवादी संसदीय राजनीतिमा सरिक भएको थियो । उसले राजनीतिक चेतना सहितका सडक नाटक र सांस्कृतिक कार्यक्रमलाई जोड दियो । अन्यले पनि पच्छ्याए । 

२०७० सालको दोस्रो संविधान सभाको निर्वाचन हुँदा टेलिभिजन बहसले प्राथमिकता पायो । कस्तो संविधान बनाउँदा के हुन्छ भनेर तर्कहरू प्रस्तुत गरिए । चुनावी प्रचारमा राजनीतिक दल र उम्मेदवारले फोन हुनेलाई एसएमएस पठाउने शैली अपनाए । 

२०७४ सालको संसदीय चुनावमा फेसबुक लाइभ र न्यूज पोर्टलबाट प्रचार गर्ने शैली विस्तार भयो । २०७९ सालसम्म आइपुग्दा डिजिटल प्रभाव निकै बढिसकेको थियो । दल र उम्मेदवारले इन्फ्लुएन्सरमार्फत प्रचार गर्ने, अनलाइन विज्ञापन बुस्ट गर्ने तरिका अपनाए । 

असन्तोषको अभिव्यक्ति निर्वाचनमा देखिए । स्वतन्त्र उम्मेदवार बढे । भ्रष्टाचारविरोध, सुशासन र रोजगारी मुख्य मुद्दा बने । युवापुस्ताको सक्रियता उल्लेखनीय रह्यो । सामाजिक सञ्जालमा सूचनाको बाढी आयो । तर, निर्वाचनको केही महिना अगाडि जन्मिएको रास्वपा चौथो दलको रुपमा उदायो । अर्थात्, त्यसबेला परिवर्तनको मनोविज्ञान र असन्तोषको राजनीतिक अभिव्यक्ति थियो । यो अहिले पनि छ । 

२०८२ सालमा आइपुग्दा चुनावी बहसका लागि व्यक्ति–व्यक्तिका बीचमा भेट गरिरहनुपर्ने आवश्यकता नै रहेन । छोटा भिडियोको प्रभुत्व छ । डिजिटल सन्देश, डेटा–आधारित रणनीति उम्मेदवारका छन् । भर्चुअल सभा चलिरहेका छन् । डिस्कर्डमा कुन दल र उम्मेदवार कस्ता भनेर मानिसहरू बहस गरिरहेका छन् । राजनीतिक दल र उम्मेदवारहरू पनि डिजिटल क्याम्पेन गरिरहेका छन् । एल्गोरिदममार्फत मतदाताकहाँ कसरी पुग्ने र मन जित्ने भन्ने ध्यय राजनीतिक दल र उम्मेदवारमा छ । 

अर्थात्, निर्वाचन केवल सरकार बदलिने अवस्था मात्रै होइन, प्रचार शैली बदलिने इतिहास पनि हो । सात दशकको यात्रामा राजनीतिक दल र नेताहरूले जनताको मन जित्न अपनाएका तरिका निरन्तर परिवर्तन भएका छन् । हातले लेखिएको हस्तलिखित पर्चादेखि कृत्रिम बुद्धिमत्ता एआइले तयार पारेका भिडियोमार्फत मतदाताकहाँ दल र उम्मेदवार पुगेका छन् । चुनावी प्रचारको यो शैलीले समय, प्रविधि र जनअपेक्षाको ऐना देखाएको छ । 

ताजा खबर

सम्बन्धित खबर