
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चुनावी प्रक्रिया सुरु भएयता सामाजिक सञ्जालको उपयोग गर्दै एक दर्जनभन्दा बढी भिडियोमार्फत मतदातालाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरे । विशेष महाधिवेशनबाट सभापति हुनुअघि पनि उनी यस्ता सामग्रीहरू नियमित प्रवाह गर्थें । जेनजी आन्दोलनपछिको अस्तव्यस्तामा पनि उनले सबैभन्दा पहिले सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गरेका थिए ।
काठमाडौं महानगरपालिकाको मेयर जित्नका लागि तत्कालीन स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालको भरपुर प्रयोग गरेका थिए । सामाजिक सञ्जालकै प्रभावले उनलाई स्वतन्त्र उम्मेदवार भई मेयर जित्न सहज भयो । बालेन अहिले झापा क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका छन् । उनी आफ्नो ‘कन्टेन्ट क्रियटर’ टिमसहित चुुनावी प्रचारमा छन् । उनकै समूहले तयार पारेको भिडियो र तस्बिरले सामाजिक सञ्जाल रंगिदैआएको छ । मेयर हुँदा वा त्यहाँबाट बाहिरिएपछि पनि उनी आमसञ्चारमाध्यमसँग खासै बोलेनन् । तर कहिलेकहीँ सामाजिक सञ्जालमा लेखेका स्टाटसले नै लाखौंको ध्यान खिच्थ्यो । मुलधारका मिडियाले समेत उनको स्टाटसलाई स्रोत बनाएर समाचार बनाउँथे ।
जेनजी आन्दोलनपछि रक्षात्मक बनेका तत्कालीन सरकारका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पनि डिजिटल माध्यममार्फत आफ्ना धारणा दिइरहेका छन् । एमालेले चुनावी सभाभन्दा डिजिटलमाध्यमबाटै चुनावी प्रचार अघि बढाएको छ । अहिले दिनहुँजसो एमालेका इमोशनल भिडियोहरु आइरहेका छन् । उता, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वका गाउँबस्ती चहारेर मत मागेका भिडियो आइरहेका छन् ।
देश प्रतिनिधिसभा निर्वाचनमय बन्दै जाँदा निर्वाचनको प्रचार शैली पनि फेरिएको छ । राजनीतिक दल तथा उम्मेदवारहरूले पर्चा, पम्प्लेट, तुल ब्यानर, भाषण, भित्ते लेखनलगायतको प्रचार शैली फेरेर सामाजिक सञ्जाललाई नै प्रमुख माध्याम बनाएका छन् । मतदातालाई आकर्षित गर्न र आफ्नो एजेन्डा जनतालाई सुनाउन सामाजिक सञ्जालका विभिन्न प्लेटफर्म प्रयोग गर्दै आएका उम्मेदवारले सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनका लागि टिम नै खडा गरेका छन् ।
अघिल्ला निर्वाचनभन्दा यस पटकको चुनावी प्रचार प्रसारलाई ठुला–साना सबै दलका उम्मेदवारले बढीभन्दा बढी सामाजिक सञ्जाल प्लेटफर्मको उपयोग गरेको बताएका छन् । यो अभियानमा राष्ट्रिय रास्वपा सबैभन्दा अगाडि छ । त्यस्तै, कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, श्रम संस्कृति, उज्यालो नेपाललगायत दल तथा स्वतन्त्र उम्मेदवारले सामाजिक सञ्जाललाई भरपुर उपयोग गर्दै आएका छन् । दलहरूले प्राविधिक युवा जनशक्तिलाई उपयोग गर्दा हजारौं कन्टेन्ट क्रियटरहरूले समेत काम पाएका छन् ।
यसअघिका निर्वाचनमा उम्मेदवार तथा पार्टीका कार्यकर्ता मतदाताको घरदैलोमा हिँडेर मत माग्ने, आफ्ना कागजी प्रचार सामग्रीहरू छर्ने, तुल (ब्यानर) झुन्डाउने, माइकिङ गर्ने चलन थियो भने अहिले त्यो निकै कम भइसकेको छ । त्यसको सट्टा लाखौं खर्च गरेर सामाजिक सञ्जालमार्फत नै मतदातालाई प्रभावित बनाउने, मत माग्ने, आफ्ना एजेन्डा राख्ने, प्रतिवाद र आलोचनासहित सबै गतिविधि गर्ने गरेका छन् ।
सञ्जालमा आफ्ना कार्यकर्ता र समर्थकहरूमार्फत भिडियो र प्रचार सामग्री सेयर गराउन उम्मेदवारहरूले बढी जोड दिएको पाइन्छ । त्यसरी हेर्दा चुनावी प्रचार शैलीमा भौतिकभन्दा अभौतिक विधिले व्यापकता पाएको देखिन्छ । सूचना तथा सञ्चार प्रविधिमा आएको विकासले चुनावी प्रचार शैलीमा मात्रै परिवर्तन आएको छैन आम मतदाताको शिक्षा र चेतनास्तरमा पनि आमूल परिवर्तन आएको छ । यसले पुराना दल र नेताहरू विस्तारै प्रविधिमैत्री बन्दै गएका छन् भने नयाँ दल र नेताहरूको लोकप्रियता बढाएको छ ।
गत भदौ २३ मा भएको जेनजी आन्दोलनकोको सूरूवात नै सामाजिक सञ्जाल प्लेटफर्म अन्र्तगतको डिस्कर्ड मार्फत आह्वान भएको थियो । नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध, नातावाद र भ्रष्टाचारको विरुद्धमा जेनजी पुस्ताले देशव्यापी आन्दोलन सुरु गरेको थियो । त्यसबेला सरकारले फेसबुक, इन्स्टाग्राम, र ट्विटर (एक्स) जस्ता २६ भन्दा बढी प्रमुख सञ्जाल प्लेटफर्म प्रतिबन्ध लगाएपछि युवाहरूले रेडिट र डिस्कर्ड प्रयोग गरी यसको सुरुवात गरेका थिए । सोही आन्दोलनले देशको शासनसत्ताकै उलटफेर ल्याएपछि यसको प्रयोगले अझ व्यापकता पाएको छ । यसको प्रभाव फगुन २१ को निर्वाचमा प्रत्यक्ष परेको देखिन्छ । आमसभा र ठुला–ठूला तुल ब्यानरसहितको प्रचार सामग्रीमा हुने खर्चसमेत पछिल्लो समय सामाजिक सञ्जामै हुने गरेका छन् । उम्मेदवार र राजनीतिक दलहरूले आफ्ना प्रचार सामग्री पोस्ट गरेर बुस्टिङ गर्ने, निर्वाचन क्षेत्र केन्द्रित मतदातासँग आफ्नो अपिल र योजना पुग्ने गरी बुस्टिङ गर्ने गरिरहेका छन् ।
सामाजिक सञ्जाल युुट्युबमार्फत विभिन्न कार्यक्रम चलाएर आफ्नो सामाजिक प्रतिष्ठा बढाएका रवि लामिछानेले ३ वर्षअघि राष्ट्रिय स्वतन्त्र पार्टी खोलेका थिए । अहलिे देशकै ठुलो दल बन्ने योजना बनाएको उक्त पार्टीका अधिकांश नेता कार्यकर्ता सामाजिक सञ्जालबाटै नागरिकलाई प्रभावित बनाउन व्यस्त छन् । निर्वाचन क्षेत्रको प्रचार गर्न हरेक दल र उम्मेदवारले प्रचार डेस्क नै स्थापना गरी सामाजिक सञ्जालको व्यापक प्रयोग गरिरहेका छन् । नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा स्टुुडियोसहितको मिडिया डेस्क बनाएको छ । त्यहीँबाट कांग्रेसले देशभरका उम्मेदवारको फोटो, भिडियोसहितका कन्टेन्ट बनाएर प्रवाह गरिरहेको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेले बदलिएको कांग्रेसले देश बदल्ने अभियानसहित मतदातामाझ मन जित्ने प्रयास गरिएको बताए । ‘हामी देशभरको माहोल कांग्रेसको पक्षमा ल्याएर एकल सरकार बनाउने गरी लागेका छौं’, उनले मध्यान्हसँग भने, ‘त्यसका लागि प्रचार शैली पनि फेरिएको छ । अहिलेको जनतामाझ सबैभन्दा छिटो र प्रभावकारी प्रचारको माध्याम नै सामाजिक सञ्जाल बनेको छ । त्यसलाई हामीले पनि सही ढंगले उपयोग गरेका छौं ।’
यद्यपि कतिपय अवस्थामा सामाजिक सञ्जालबाट प्रतिस्पर्धी दल र उम्मेदवारका बारेमा द्वेष र घृणा फैलाउने कामसमेत भइरहेकाले यसप्रति भने जिम्मेवार दल र तीनका कार्यकर्ताहरू सचेत हुनुपर्ने उनको भनाइ छ । बालबालिकादेखि वृद्धसम्मले सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटकमा आएको भिडियोको आधारमा दल र उम्मेदवार छानेर मतदान गर्ने समय आइसकेको छ । कतिपय अवस्थामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गरेर कुप्रचार गर्नका लागि बनाइएका त्यस्ता सामग्रीहरू पहिचान गर्न नसक्दा मतदाताहरू भ्रममा पर्ने खतरा पनि त्यत्तिकै छ ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअनुसार उम्मेदवार, राजनीतिक दल, समर्थक तथा प्रचार टोलीले निश्चित सीमा र मर्यादाभित्र रहेर मात्रै चुनाव प्रचार गर्नुपर्ने व्यवस्था गरिएको छ । आचारसंहिताले प्रचारको स्वरूप मात्र होइन, खर्च, भाषा, सामग्री र माध्यमसमेत स्पष्ट रूपमा नियमन गरेको छ । यो विषय कांग्रेस प्रष्ट भएर निर्वाचन प्रचारका सामग्रीहरू उत्पादन तथा प्रसारण गर्दै आएको प्रवक्ता चालिसेले दाबी गरेका छन् । मतदाताले मोबाइलबाटै चुनावी गतिविधि हेर्ने समय आएकाले आफ्ना उम्मेदवारलाई मतदान गर्न अपिल गर्ने र आफ्ना एजेन्डालाई सहजरूपमा जनतामाझ पु¥याउन सामाजिक सञ्जालको भरपुर उपयोग गरेको उनले बताए ।
निर्वाचन आयोगले पनि जुनसुकै सञ्जालबाट चुनाव प्रचार गर्न पाउने प्रावधान जारी गरेको छ । तर यसमा कति मात्रामा गर्ने ? कस्ता सामग्री प्रचार गर्न पाउने ? प्रष्टरुपमा उल्लेख गरेको छ । सामाजिक सञ्जालमार्फत चुनाव जित्ने रणनीति दल र नेताहरूले अपनाउँदा पछिल्लो समय साइबर सुरक्षामा पनि उत्तिकै चुनौती थपिएको छ । निर्वाचन आयोगले यस पटक ७७ वटै जिल्लामा नेपाली सेनालाई यसको अनुगमन गर्ने जिम्मा दिएको छ । सामाजिक सञ्जालको दुरुपयाग निरुत्साहन गर्न कडाइका साथ प्रस्तुत हुने आयोगका प्रवक्ता नारायण भट्टराइले बताए । उनले भने, ‘साइबर सुरक्षाका लागि भनेर सोसियल मोनिटरिङ टुल पल्स भन्ने सफ्टवेयर नै आयोगमा राखिएको छ । उक्त प्रणालीले सामाजिक सञ्जालमा आचारसंहिताविरुद्ध हुने शब्दहरू र भिडियोहरूलाई निगरानी गर्दछ ।’
नेकपा एमालेले पनि आफ्नो चुनावी अभियानलाई व्यापक बनाउन सामाजिक सञ्जाल प्लेटफर्मको भरपुर प्रयोग गरेको जनाएको छ । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले एमालेका उम्मेदवारलाई मतदान गर्न अपिल गर्ने र उम्मेदवार तथा पार्टीका विचार, प्रतिबद्धताहरू सामाजिक सञ्जाल प्लेटफर्म मार्फत जनतामाझ पु¥याउने काम गरेको बताए । ‘एमाले यो देशको रािष्ट्रय शक्ति भएमात्रै देशका तममा समस्या समाधानमा काम गर्न सकिन्छ’, उनले भने, ‘ती समस्या समाधानमा हाम्रा आगामी एजेन्डालाई जनतामाझ लैजाने क्रममा प्रत्यक्ष भेटेर पनि भन्ने गरेका छौं । त्यो भन्दा प्रभावकारी माध्याम सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूलाई उपयोग गरेका छौं ।’ सबैको घरमा इन्टरनेट, हातहातका मोबाइल भएको र मोबाइलबाटै देशभरीका चुनावी गतिविधि जनताले हेरेर मतदानको निर्णय लिने भएकाले पहिलाजस्तो भौतिक प्रचार सामग्रीलाई कम गर्दै आएको शाहीले बताए ।
यस्तो प्रचारमा पुराना दल र पुराना उम्मेदवारहरू भन्दा नयाँहरूले बढी सक्रिय छन् । प्रविधिमैत्री उम्मेदवारले आफ्नो चुनावी प्रचारको टिमसमेत प्रविधिमा खेल्नसक्ने बनाएका छन् । यसमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी र सो दलका उम्मेदवार रहेका छन् । सामाजिक सञ्जालबाटै प्रभाव बनाएर उदाएको यो दलका अधिकांश उम्मेदवारहरू प्रविधिमैत्री र प्रचारबाजीमा रमाउने छन् । उनीहरूका हरेक गतिविधि आफ्नो फेसबुक पेज, ट्वीटर, इन्टाग्राम, टिकटक र फेसबुक ग्रुपहरू बनाएर प्रचार गर्ने गरेका छन् । ‘हामीले आफ्ना गतिविधिलाई देशभका नागरिकमाझ पु¥याउन प्रविधिको प्रयोग गरेका छौं’, रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले भनिन्, ‘पार्टी र उम्मेदवारका फेसबुक पेज बनाएर पेजबाटै प्रत्यक्ष प्रसारण गर्छौं । सबैलाई जोड्न एउटा बलियो माध्याम सामाजिक सञ्जाल बनेको छ ।’
रास्वपाले चुनाव चिह्न घण्टीकै नाममा वेबसाइट बनाएर मोबाइल हल्लाउँदा घण्टी बज्ने प्रविधिको विकास गरेका छन् । रास्वपाका सभापति रवि लामिछाने भन्दा वरिष्ठ नेता बालेनको सामाजिक सञ्जालमा अझै बढी क्रेज छ । रवि र बालेनका नामम सयौं फेसबुक पेज तथा ग्रुपहरू तयार गरिएको छ । त्यस्तै कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूका नाममा ग्रुपहरू खोलिएका छन् । त्यस्ता ग्रुपहरूका हजारौं, लाखौं फ्यान÷फलोअर्स छन् । त्यही भएर पनि उनीहरूले गरेका पोस्ट र ट्वीटहरू लाखौं व्यक्तिले हेरेका हुन्छन् । तीनै सामग्रीलाई नेपाली मिडियाले समेत पछ्याउँदै स्रोतका रूपमा प्रयोग गर्दै आएका छन् ।