
राजनीतिमा कहिलेकाहीँ यस्तो पात्र उदाउँछ, जसले लामो समयदेखि स्थापित राजनीतिक संरचना, दलगत शक्ति सन्तुलन र नेताको परम्परागत यात्रा सबै एकैचोटि भत्काइदिन्छ र नयाँ बाटो कोर्छ । त्यस्तै पात्र हुन्, बालेन्द्र शाह (बालेन) र हर्क साम्पाङ । २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा यी दुई पात्र यसरी उदाए जसले नेपाली राजनीतिमा परम्परागत शक्तिको विकल्प खोज्नेहरूलाई उत्साह मात्रै दिएन, राजनीतिप्रति आकर्षित हुनेको संख्या पनि बढायो ।
र्यापर बालेन संघीय राजधानी काठमाडौंमा नेपाली कांग्रेस र नेकपा एमालेको गढ भत्काउँदै मेयर बने । उता धरानमा तत्कालीन माओवादी र कांग्रेससहितको पाँच दलीय गठबन्धन र एमालेको आक्रामक चुनावी तयारी पन्छाउँदै हर्क साम्पाङले चुनाव जिते । काठमाडौंमा बालेनको चर्चा थियो, चुनाव चिह्न लौरो लिए । बालेनबाट प्रभावित साम्पाङ पनि लौरोमै चुनाव लडे । स्वतन्त्र र समान चुनाव चिह्नमा लडेका बालेन र हर्क एकअर्काका प्रशंसक भए । एकले अर्काेलाई माया र सम्मान गर्ने भनेर सामाजिक सञ्जालमै लेख्थे । स्वभावमा फरक भए तापनि उनीहरू निकटजस्ता थिए । बोल्दै नबोल्ने बालेन र धेरै बोल्ने हर्कको दोस्तीले वैकल्पिक राजनीतिमा चाहना राख्नेहरूमा भने उत्साह थपिरहेकै थियो ।
तर जब २३ र २४ भदौमा जेजनी आन्दोलन भयो र मुलुकको राजनीतिमा युवा पुस्ताको प्रतिनिधित्वको सवाल आयो, यी दुई पात्र दुईतिर भए । हर्कले प्रधानमन्त्री बन्न चाहे, बालेनले रोके । हर्कले मन्त्री हुने चाहना राख्दासमेत बालेन तयार भएनन् । परिणाममा यी दुई पात्र आगामी निर्वाचनमा एकअर्कोविरुद्ध देखिँदै छन् । फेरि पनि बालेन नबोलेरै हर्कको प्रधानमन्त्री बन्ने चाहनामा तगारो बन्दै छन् । धेरै बोलेर हर्क बालेनलाई चुनौती दिन खोजिरहेका छन् । चुनावी परिणाम कस्तो आउँछ त्यसले मुलकको भावी नेतृत्व तय होला । तर यी दुई यस्ता पात्र हुन् जसले परम्परागत शक्तिमाथि प्रश्न मात्रै उठाएनन् आगामी दिनमा मुलुकको नेतृत्व लिने प्रतिस्पर्धा गर्दै छन् । यस्तै दौडमा अन्य कैयन दल छन् । तर यी दुई पात्र स्थानीय चुनावमा उदाएर सिधै प्रधानमन्त्री ताकेर अघि बढिरहेका छन् ।
००००००
छलाङको दाउमा बालेन
संविधान सभाबाट संविधान जारी भएपछि २०७४ मा तीनवटै तहको निर्वाचन गरियो । मतदानकै दिन सामाजिक सञ्जालमा बालेन्द्र शाह (बालेन)ले लेखेका थिए, ‘आज भोट हालिएन किनभने म उम्मेदवार थिइनँ ।’ त्यतिन्जेलसम्म उनका दुई परिचय थिए । एउटा इन्जिनियर र अर्को र्यापर ।
पाँच वर्षपछिको स्थानीय तह निर्वाचनसम्म आइपुग्दा भने बालेनलाई राजनीतिले छाइसकेको थियो । २०७९ वैशाखको चुनावमा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएर उनले तेस्रो परिचय बनाए, नेता । बालेनको नारा थियो– आजसम्म दलले गरे, अब बदल्नेले गरौं ।
धेरैले अनुमानसम्म नगरेको नतिजा ल्याएर उनी काठमाडौं महानगरको मेयर निर्वाचित भएका थिए । मुख्य प्रतिस्पर्धी दल कांग्रेस–एमालेका उम्मेदवार फराकिलो मतान्तरसहित क्रमशः दोस्रो र तेस्रो बनेका थिए । दलको विरोध गरेका महानगरमा उदाएका बालेनको प्रतिबद्धता पाँच वर्ष पनि टिकेन । चुनावी बाचा पूरा नगरेरै उनी आधा कार्यकालमै महानगरबाट बाहिरिँदै छन् । मेयरबाट प्रधानमन्त्रीमा ‘छलाङ’ हान्ने सपना लिएर तराई झर्दै छन् ।
बालेनको पहिलो संसदीय निर्वाचन सम्भवतः झापा–५ हुनेछ, जहाँ तीन दशकदेखि पूर्वप्रधानमन्त्री एवं नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली चुनाव लड्दै आएका छन् । ‘ओलीलाई नहराए चुनाव जितेको के मजा’ भन्दै झापा ओर्लिन लागेका बालेनका कारण यो क्षेत्रले सिंगो देशको ध्यान तानेको छ । प्रतिनिधि सभा चुनाव लड्न ४ माघमा मेयरबाट राजीनामा दिएर घण्टीघर पुग्नेछन् । भोलिपल्टैदेखि जनकपुरबाट चुनावी अभियान थालेर ६ माघमा झापा–५ बाट उम्मेदवारी दिने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।
भावी प्रधानमन्त्रीको उम्मेदवार बनेर रास्वपाका नेता हुँदा बालेनका पछिल्ला भेटघाट र अभिव्यक्ति जति परिपक्व सुनिएका छन्, मेयरका रूपमा भने उनी निकै अपरिपक्व देखिए । आफ्नो टिमको साघुँरो घेरामा बसेर महानगर हाँके । न सर्वसाधारणले भेट्न पाए, न त कुनै डेलिगेसन टोलीसँग छलफलमै बसे । महानगरका केही सार्वजनिक उद्घाटन र सांस्कृतिक कार्यक्रममा देखिएबाहेक बालेनले आमनागरिकसँग कहिल्यै दोहोरो संवाद गरेनन् । मेयरको कार्यभार सम्हाल्नेबेला पत्रकारले सोधेका प्रश्नमा नोकझोंक गरेका बालेनले त्यसपछि कहिल्यै पत्रकार सम्मेलन गरेनन् । त्यसले उनी प्रश्न सुन्न चाहन्नन् भन्ने बुझाउँछ ।
भिन्न शैली, अपरिपक्व व्यवहार
कांग्रेस–एमालेको ‘कोर एरिया’मा चुनाव जितेपछि बालेनलाई शंकासँगै आशाको नजरले हेरिएको थियो । स्वतन्त्र उठेर कांग्रेसको पाँच दलीय गठबन्धन र एमालेको ‘लालकिल्ला’मा जित हासिल गरेपछि राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा उनी चर्चित भए । महानगरमा गैरदलीय जनप्रतिनिधि बालेन मात्र थिए । पहिलो एक वर्ष उनलाई कसैले बाधा पुर्याएन । कतिसम्म भने महानगरका बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा असन्तुष्ट रहे पनि कसैले विरोध गर्न सकेनन् । किनभने बालेनबिरुद्ध बोल्ने वडाध्यक्षमाथि सामाजिक सञ्जाल खनिइहाल्थ्यो । उपमेयर सुनिता डंगोलसँग समन्वय गरेर काम गरुन्जेल महानगर बोर्डमा उनीमाथि कहिल्यै प्रश्न उठेन । जसै एक्लै हिँड्न थाले, त्यसले बालेनलाई विवादमा मात्र तानेन महानगरभित्र तनावसमेत निम्त्यायो ।
चुनावताका बालेनले काठमाडौंको फोहोरलाई मोहरमा बदल्ने सपना देखाएका थिए । अर्गानिक फोहोरलाई प्रशोधन गरेर छिमेकी जिल्लामा प्रांगारिक मल बिक्रि गर्ने भनेका थिए । तर त्यसमा खासै प्रगति देखिएन । बरु पटकपटक फोहोर नउठेर नगरवासीले सास्ती बेहोर्नुपर्यो । मेयर निर्वाचित भएलगत्तैको अवरोध हटाउन बालेन र सुनिता दुवै बन्चरे डाँडासम्म पुगे । त्यसपछि पनि पटकपटक फोहोर उठाइएन । तर उनले डम्पिङ साइट क्षेत्रका गुनासो सुनेर समाधान निकाल्ने जाँगर देखाएनन् । संघीय सरकारसँग समन्वय अभावले ती समस्या निम्तिएका थिए । पछिल्लो समय सहरी विकासमन्त्री बनेका कुलमान घिसिङले सहमति गरेर काठमाडौंको फोहोर उठाउनुपरेको थियो । महानगरका मेयर पदेन सदस्य रहेका सिंहदरबारका कुनै पनि कार्यक्रममा उनी सहभागी भएनन् ।
बालेन नेतृत्वमा भएको अर्को काम फुटपाथ व्यवस्थापन हो । यसमा प्रशंसाभन्दा आलोचना धेरै बेहोर्नुपर्यो । खासगरी नगरप्रहरीले भुइँमान्छेमाथि बर्साएको बुट र लाठीले धेरैलाई बालेनको चुनावी र्याप सम्झना गरायो, ‘...गरिबको चमेली कोही छैन, कोही छैन ।’ बागमती किनारका बस्ती हटाउनेबेला पनि तल्लो वर्गसँगै उनको संघर्ष भयो । महानगरभित्र कबाड संकलनमा अवरोधले वर्षांैदेखि त्यही काम गर्दै आएका तराई–मधेसका हजारौंको काम खोसियो । विकल्पबिना थालिएका यी अभियानले बालेनलाई गरिब र सुकुम्बासीको विरोधी बनाइदियो । त्यसविरुद्ध पटकपटक प्रदर्शनसमेत भए ।
उनको अर्को फन्डा थियो, पुरिएको टुकुचा खोतल्ने काम । राणाकालमै योजनाबद्ध रूपमा टुकुचा छोपेर संरचना बनाइएको दस्ताबेज भेटिएपछि भने सय वर्ष पुराना ती संरचना भत्काउन उनी हच्किए । नक्सापास गरिएका अन्डर पार्किङमा बनेका संरचना हटाउँदा भने बालेनको हाइहाइ नै भयो ।
महानगरभित्रका सामुदायिक विद्यालय सुधार्न पनि बालेन नेतृत्वले केही सकारात्मक पहल अघि बढाएको छ । उनले निजी विद्यालयका विदेशी नाम बदल्ने अभियान पनि चलाए । बुक फ्रि फ्राइडेले विद्यार्थीमा सिकाइ फराकिलो पारेको छ । खुला प्रतिस्पर्धाबाट निजी विद्यालय र कलेजमा छात्रवृत्ति दिन थालिएको छ । सहरको सांस्कृतिक वैभव जोगाउन फाल्चाजस्ता साना तर आकर्षक योजना अघि बढेका छन् ।
निराशाको ब्रान्डिङ
सामाजिक सञ्जालमा बालेन जति लोकप्रिय छन्, जनसम्र्पकमा उति नै कमजोर देखिन्छन् । पछिल्लो जेनजी आन्दोलनपछि उनका उत्तेजक अभिव्यक्तिले पनि २४ भदौको विध्वंसलाई मद्दत पुर्याएको विरोधी कित्ताको आरोप छ । धेरैअघि आफ्नी श्रीमती चढेको महानगरको गाडी प्रहरीले रोकेको आक्रोशमा ‘सिंहदरबार जलाइदिन्छु’ भनेका बालेनमाथि अहिले त्यही आरोपले लखेटेको छ । आन्दोलन भड्काउन सामाजिक सञ्जालबाट आह्वान गरेका बालेनले चाहेको भए विध्वंस रोक्न र समयमै दमकल पठाएर सर्वोच्च अदालत, राष्ट्रपति भवन र सिंहदरबार नचाहेको आलोचकको आरोप छ । प्रतिबद्धतापत्रमा फायर ब्रिगेडको योजनाअघि सारेका बालेन महानगर छाड्दा भने सिंहदरबार, सर्वोच्च र शीतल निवास जल्दा आगो निभाउन दमकल नपठाएको आरोप लिएर बाहिरिँदै छन् । भलै, उनले त्यसबारे पर्याप्त प्रस्टीकरण दिइसकेका छन् ।
आन्दोलनपछि मुलुक बालेनकै रोडम्यापमा चलेको देखिन्छ । उनैले सेना प्रमुखसँग वार्तामा बस्न, संसद् विघट्नलाई सर्त बनाउन र सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन जेनजी समूहहरूलाई सार्वजनिक आह्वान गरेका थिए । सुरुमा उनैलाई अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने प्रस्तावसमेत गरिएको सैनिक स्रोत बताउँछ । सेनाले नै बालेनलाई नेतृत्वमा ल्याउन चाहेको थियो । तर उनी ६ महिने प्रधानमन्त्री बन्नुभन्दा आमचुनावबाट पाँचवर्षे प्रधानमन्त्री बन्ने तयारीसहित अघि बढे । नेपाली सेना र बालेनबीच उनी महानगरको मेयरको प्रतिस्पर्धामा आउँदादेखि विशिष्ट सम्बन्ध देखिन्छ । मेयरको शपथपछि पनि उनी शुभकामना लिन सैनिक मुख्यालय पुगेका थिए । आन्दोलनपछि सत्ताको चाबी सेनालाई सुम्पिन पनि उनको भूमिका देखियो । सेना आफैं प्रधानमन्त्रीको निवेदन मागिरहेको थियो । जेनजी अगुवाहरूले राष्ट्रपति खोजेर सेनापति अशोकराज सिग्देललाई शीतल निवास सम्झाएका थिए ।
त्यसरी हातैमा आएको प्रधानमन्त्री छाडेका बालेनले सरकारमा आफ्नो प्रभाव भने कायमै राखे । सुरुवाती दिनमा आफूले चाहेका व्यक्ति मन्त्री र चाहेको निर्णय गराए । रास्वपा सभापति रवि लामिछानेविरुद्ध लागेका सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गराउन पनि बालेनकै पहलले काम गरेको मानिन्छ । पछिल्लो ध्रुवीकरणमा पनि उनी निर्णायक बने । सुरुमा रास्वपासँग कुरा मिलिरहेको थिएन । तर ललितपुरमा बसेर शृंखलाबद्ध भेटघाट र वार्ता गर्न थालेपछि रविले उनलाई नलिई चुनावमा जाने जोखिम उठाउन सकेनन् । सम्भवतः त्यसैले भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई अघि सारेर रास्वपा चुनावी अभियानमा निस्कन लागेको छ । आठ वर्षअघिसम्म आफू नउठेको चुनावमा भोट नहाल्ने भनिरहेका बालेन रास्वपाको घोडा चढेर बहुमतसहित सिंहदरबारमा उदाउने महत्वाकांक्षासहित अघि बढेका छन् ।