
काठमाडौं : पहिलो शहीद लखन थापा हुन्, वा बाकावीरदेखि विभिन्न आन्दोलन र विद्रोहमा अहिलेसम्म शहीदको सूचीमा हजारौंको नाम दर्ज छ । तर शहीद भन्नासाथ धेरैको आँखामा आउँछन्, १९९७ सालमा चार शहीद– शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ । जहानियाँ राणा शासनविरुद्ध आवाज उठाएकै कारण ज्यान गुमाएका यिनै चार जनालाई नेपाली समाजले आज पनि निर्विवाद शहीदका रूपमा बुझ्छ, सम्मान गर्छ ।
१९३३ साल फागुन २ गते जंगबहादुर राणाविरुद्ध प्रचार गरेको आरोपमा लखन थापामगरलाई गोरखामा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो । उनको हत्या गरिएको १ सय ३९ वर्षपछि २०७२ असोज ३ गते उनलाई औपचारिक रूपमा शहीद घोषणा गरियो । उनीसहित सरकारले अहिलेसम्म झन्डै १२ हजार व्यक्तिलाई शहीद घोषणा गरिसकेको छ । दुर्भाग्य, तिनको अहिलेसम्म एकीकृत तथ्यांकसम्म छैन । राजपत्रमा प्रकाशित सबै विवरणसमेत गृह मन्त्रालयले संकलन गरेर राखेको छैन । ती घोषणा राज्यद्वारा दिइने राहतमा मात्रै सीमित हुँदा शहीदको सम्मान हुन सकेको छैन । कतिसम्म भने २०६२/६३ को राजनीतिक परिवर्तनपछि दलीय झडप वा दुर्घटनामा ज्यान गुमाउनेलाई समेत शहीद घोषणा गर्न आन्दोलन भए । त्यसले सरकारद्वारा शहीद घोषणा गरिएका पात्रप्रति आमनागरिकको सम्मान रहेन । दलपिच्छेका सरकारका शहीद घोषणा विवादमा पर्दै भए । खासगरी, माओवादी सशस्त्र विद्रोहका क्रममा राज्यबाट मारिएका विद्रोही, माओवादीबाट मारिएका राजनीतिक कार्यकर्ता र सुरक्षाकर्मी सबै शहीदको सूचीमा परे । ‘पार्टीले जथाभावी शहीद घोषणा गर्न थालेपछि वास्तविक शहीदप्रतिको सम्मान पनि ओझेलमा पर्यो’ इतिहासकार महेशराज पन्त भन्छन्, ‘त्यस्तो अवस्थामा निर्विवाद शहीदले मात्र सम्मान पाउने भए । सबैले स्वीकार्ने शहीद त १९९७ सालका चार शहीद मात्र भए । त्यसैले उनीहरूले जस्तो सम्मान अरूले पाएनन् ।’
यसबीचमा शहीदको मापदण्ड तय गर्न दुईवटा आयोग पनि बने । तर ती आयोग पनि टुंगोमा पुग्न सकेनन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले एकसाथ २०६५ पुस ९ गते ‘जनयुद्ध’मा मारिएका ६ हजार ३ सय ४४ व्यक्तिलाई एकमुष्ठ शहीद घोषणा गर्यो । त्यसको चार महिनापछि उनको सरकार ढल्यो र तत्कालीन एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा कांग्रेस–एमालेको सरकार बन्यो । सो सरकारले माओवादी पालामा एकमुष्ठ शहीद घोषणाले उत्पन्न अन्योल चिर्न र शहीदको मापदण्ड बनाउन २०६६ मंसिर १६ मा वामपन्थी नेता मोदनाथ प्रश्रितको नेतृत्वमा आयोग गठन गरियो । आयोगले सबैलाई वीर शहीद मान्न नसकिने भन्दै सचेत बलिदानलाई शहीद मानिनुपर्छ निष्कर्ष निकाले पनि त्यो कार्यान्वयन भएन । आयोगले शहीदको वर्गीकरणसमेत गर्यो । पहिलो श्रेणीमा मर्छु भन्ने थाहा हुँदाहुँदै, छातीमा गोली थाप्ने, देश र जनताका लागि बलिदान दिनेलाई राखियो । त्यस्तै, दोस्रोमा परिस्थितिजन्य शहीद भन्दै आन्दोलनमा संलग्न हुने क्रममा मारिनेलाई राखियो । अर्को, कर्तव्यपालनमा मृत्युलाई अर्को श्रेणीमा राखियो । त्यसमा सुरक्षाकर्मी पर्छन् । लगत्तै, २०६८ मा बाबुराम भट्टराई नेतृत्वको सरकारले नवराज सुवेदी नेतृत्वमा पुनः अर्को आयोग गठन गर्यो । ‘शहीद भनेर आमनागरिकले स्वीकार्न सक्ने व्यक्तिलाई मात्र घोषणा गर्नुपर्छ । एउटा पार्टीको शहीदलाई अर्कोले मान्दैन’ इतिहासकार पन्त भन्छन्, ‘यस्तो विषयमा विवाद हुनु राम्रो होइन ।’
चार शहीदको भने मृत्युदण्ड दिइएको अर्को वर्षदेखि नै बर्सेनि स्मरण थालिएको देखिन्छ । जेलमै रहेका प्रजा परिषद्का सदस्यहरूले मृत्युदण्ड दिइएको माघ १० देखि १५ सम्मको अवधिलाई १९९८ सालबाटै शहीद दिवसका रूपमा मनाउन थालेका थिए । प्रचण्ड गोरखाका सदस्य खड्गमान सिंहले लेखेको जेलमा २० वर्ष पुस्तकमा २००५ साल माघ १० र १६ गते जेलभित्र दीप प्रज्ज्वलन गरी शहीदको स्मरण गरिएको उल्लेख छ । औपचारिक रूपमा भने प्रजातन्त्र स्थापनाको पाँच वर्षपछि २०१२ सालदेखि तत्कालीन काठमाडौं नगरपालिकाले शहीद सप्ताह मनाउने परम्परा सुरु भयो, जुन अहिलेसम्म निरन्तर छ ।
चार शहीदको सम्झनामा झन्डै २० वर्षपछि पञ्चायती सरकारले सुन्धारामा स्मारक बनाएको थियो । सुरुमा नेपाल स्मारक भनिएको त्यही स्तम्भ अहिले शहीद गेटका नामले परिचित छ । सिभिल इन्जिनियर शंकरनाथ रिमालले डिजाइन गरेको यो स्मारक २०१८ वैशाख १ गते राजा महेन्द्रबाट उद्घाटन गरिएको थियो । बालकृष्ण समको निर्देशन र मूर्तिकार चन्द्रलाल मास्केको सिपमा शहीदहरूको सालिक बनाइएको थियो, जहाँ शहीदमाथि राजा त्रिभुवनको शालिक राखिएको छ ।
त्यो बलिदान
इतिहासकारहरूका अनुसार, १९९३ जेठ २० गते काठमाडौंको झोंछे ओमबहालस्थित धर्मभक्त माथेमाकी फुपु युगकुमारीको घरमा नेपालको पहिलो संगठित राजनीतिक दल स्थापना भयो । सो भेलामा टंकप्रसाद आचार्य, धर्मभक्त माथेमा, दशरथ चन्द, जीवराज शर्मालगायत सहभागी थिए । दशरथ चन्दको प्रस्ताव गरेअनुसार त्यस संगठनको नाम ‘नेपाल प्रजा परिषद्’ राखियो । यसै संगठनमार्फत राणा शासनविरुद्ध पर्चा वितरण, गोप्य बैठक र वैचारिक प्रचार सुरु भयो ।
प्राध्यापक राजेश गौतमको पुस्तक नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाल प्रजा परिषद्को भूमिका (भाग–१)अनुसार प्रजा परिषद्को गतिविधि बढ्दै जाँदा राणा सरकारले करिब ५ सय जनालाई परिषद्सँग सम्बन्ध रहेको आरोपमा गिरफ्तार गर्यो । गिरफ्तार गरिएकामध्ये धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र पूर्णनारायणलाई अंश–सर्वस्वसहित मृत्युदण्डको सजाय सुनाइयो । तर पूर्णनारायणको पद्म शमशेरसँग नाता परेकाले उनको सजाय घटाएर १८ वर्ष कैद मात्र तोकिएको गौतमले उल्लेख गरेका छन् ।
१९९५ सालमा इन्द्रचोकमा सार्वजनिक रूपमा गीता पाठ गर्दै ‘नेपाल नागरिक समिति’का तर्फबाट भाषण गरेको आरोपमा शुक्रराज शास्त्री पक्राउ परेका थिए । तीन वर्ष जेल सजाय भोगिरहेका उनलाई पनि प्रजा परिषद्को पर्चा काण्डमा संलग्न रहेको भन्दै मृत्युदण्डको सजाय तोकियो । मृत्युदण्ड सुनाइएका चारै जनालाई १९९७ साल माघ दोस्रो साता काठमाडौंका विभिन्न स्थानमा फाँसी र गोली हानेर हत्या गरियो । यस घटनाले नेपाली समाजमा गहिरो हलचल पैदा गर्यो । नेपाली कांग्रेसलाई सशस्त्र क्रान्ति गर्न प्रेरित गर्यो । अन्ततः २००७ सालमा राणाशासनको अन्त्य र प्रजातन्त्र स्थापना सम्भव भयो ।
दशरथ चन्द
१९६० साल असार १७ गते बैतडीको बस्कोटमा जन्मिएका दशरथ चन्दको परिवार पहिलेदेखि नै राणा विरोधी थियो । उनका हजुरबुवा जय चन्द जंगबहादुर राणाविरुद्धकै विद्रोहमा मारिएका थिए । भारतको अल्मोडा, कुमाउँ, नैनीताल र बनारसमा अध्ययनका क्रममा दशरथ चन्द पनि भारतीय स्वतन्त्रता आन्दोलनसँग जोडिए ।
काठमाडौं आएपछि उनी धर्मभक्त माथेमासँगै बस्न थाले । त्यहीबेला उनी रुद्र शमशेर राणासँग नजिकिएका थिए । यही क्रममा रुद्र शमशेरकी छोरी जुलियादेवीसँग उनको प्रेम सम्बन्ध सुरु भएको बताइन्छ । रुद्र शमशेरका नाति पुरुषोत्तम शमशेर जबराले आफ्नो पुस्तक मेरा जीवनका स्मृतिहरूमा जुलिया र दशरथबीच प्रेमपत्र आदानप्रदान भएको उल्लेख गरेका छन् । जुलियाको क्षयरोगबाट निधन भएपछि उनले काठमाडौंको पकनाजोलमा १३ दिन जुठोबारेका थिए । दशरथ चन्दले शहीद हुँदासमेत जुलियाले उपहारस्वरूप दिएको खास्टो ओढेको चर्चा इतिहासकारहरूले विभिन्न पुस्तकमा गरेका छन् ।
शुक्रराज शास्त्री
१९५० सालमा बनारसमा जन्मिएका शुक्रराज जोशी ‘शास्त्री’ आर्य समाजका नेता माधवराज जोशीका छोरा थिए । चन्द्र शमशेरको पालामा कुटपिट र जेल सजाय भोग्नुपरेपछि उनको परिवार भारत बस्न थालेको थियो । शुक्रराजले भारतमै अध्ययन गरे । १९९४ साल मंसिर ६ गते उनको विवाह धर्मभक्त माथेमाकी बहिनी मेनकादेवी माथेमासँग भयो ।
शुक्रराज पक्राउ पर्दा उनकी श्रीमती मेनकादेवी गर्भवती थिइन् । जेल परेको केही दिनमै छोरी जन्मिइन्, तर सात दिनमै शिशुको मृत्यु भयो । एक महिनापछि मेनकादेवीको पनि निधन भयो । उनले अन्तिमपटक श्रीमान्को मुख हेर्ने अनुमति माग्दासमेत राणा सरकारले दिएन । १९९७ साल माघ १० गते फाँसी दिनुअघि शुक्रराजले नुहाएर गीता पाठ गरी आफैं डोरी समाउने इच्छा व्यक्त गरेका थिए । डर र भागदौडको क्षणमा पनि उनी डोरी समाएर उभिइरहेका थिए— यो नै उनको नैतिक साहसको प्रमाण मानिन्छ ।
गंगालाल श्रेष्ठ
चार शहीदमध्ये सबैभन्दा कान्छा गंगालाल श्रेष्ठ २२ वर्षका मात्र थिए । १९७५ सालमा रामेछापको भँगेरीमा जन्मिएका उनले दरबार हाइस्कुल र त्रिचन्द्र कलेजमा अध्ययन गरे । १८ वर्षकै उमेरमा इन्द्रचोकमा सार्वजनिक राजनीतिक भाषण गरेर चर्चामा आएका गंगालाल जेल पर्दा उनकी पत्नी हसिनादेवी गर्भवती थिइन् । १९९७ साल माघ १३ गते छोरा जन्मिएपछि गंगालालले छोराको नाम ‘शशि’ राख्न सन्देश पठाएको राजेश गौतमले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । छोरा जन्मिएको भोलिपल्ट माघ १५ गते बिहान करिब साढे १ बजे गंगालाल र दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो ।
धर्मभक्त माथेमा
१९६६ साल असोज ६ गते काठमाडौंको नबहिलमा जन्मिएका धर्मभक्त माथेमा वीर शमशेरको दरबारसँग नजिकको परिवारका सन्तान थिए । बाबु आदिभक्त माथेमा राणा शासनमा उच्च पदमा रहे पनि राजनीतिक परिवर्तनसँगै परिवारको अवस्था फेरियो । धर्मभक्त रुद्र शमशेरसँगै काठमाडौं आएर बस्न थाले र पछि राजा त्रिभुवनका व्यायाम शिक्षकसमेत बने । उनका चेलामध्ये नर शमशेर पनि एक थिए, जसले पछि मृत्युदण्ड कार्यान्वयनको जिम्मेवारी पाए ।
१९९७ साल माघ १३ गते राति सिफलमा धर्मभक्तलाई फाँसी दिइँदा दुईपटक डोरी चुँडिएको थियो । इतिहासकार राजेश गौतमले लप्टन कृष्णबहादुर थापालाई उद्धृत गर्दै लेखेअनुसार, तेस्रो प्रयासमा नर शमशेरले क्रुरतापूर्वक कुटपिट गराएर अचेत अवस्थामै धर्मभक्तलाई फाँसी दिएका थिए ।
१९३३ फागुन २
लखन थापा
जंगबहादुर राणाविरुद्ध प्रचार गरेको आरोपमा गोरखामा झुन्ड्याइयो ।
(शहीद घोषणा : २०७२ असोज ३)
१९९७ माघ १०–१५
माघ १० : शुक्रराज शास्त्री (टेकु)
माघ १३ : धर्मभक्त माथेमा (सिफल)
माघ १५ : गंगालाल श्रेष्ठ र दशरथ चन्द (शोभा भगवती)
२०४६ प्रजातन्त्र पुनस्र्थापना आन्दोलन
१९ शहीद घोषणा
जनही १ लाख सहयोग
२०६२/६३
दोस्रो जनआन्दोलन
२६ शहीद
परिवारलाई १० लाख सहयोग
शहीद घोषणा शृंखला
२०६५ पुस ९ : ६,३४४ शहीद
२०६७ असार ९ : १,६१९ शहीद
२०७४ माघ ३
विभिन्न आन्दोलनका १९० शहीद घोषणा
सुरक्षा निकायका शहीद २,८०७
नेपाली सेना : १,०१८
नेपाल प्रहरी : १,४४८
सशस्त्र प्रहरी बल : ३१८
राष्ट्रिय अनुसन्धान विभाग : २३