२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

देशभर १२ सय बढी बेवारिसे शव

shivam cement
सपना बोहरा
२०८२ माघ १७ गते ०६:४५
Shares
देशभर १२ सय बढी बेवारिसे शव

काठमाडौं : नग्न शरीर, शरीरमा गहिरो चोट । अनुहार पहिचान गर्न कठिन । एक जना पुरुष जो कोशी प्रदेश, सुनसरी, बराह नगरपालिका–१, मन्दिर परिसरमा गत कातिक १६ गते मृत अवस्थामा भेटिए । ती व्यक्ति को हुन् ? कहाँबाट आएका हुन् ? र कसरी मृत्यु भयो भन्ने अझै खुल्न सकेको छैन । 

उनको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान सुनसरीको शव गृहमा सुरक्षित राखिएको छ । उनको अझैसम्म पनि पहिचान खुल्न सकेको छैन । नेपाल प्रहरीले भने पहिचन नखुलेको शवको लिस्टमा उनको तस्बिर राखेको छ । जसलाई उनका आफन्तले पहिचान गर्न सकून् । 

यस्तै, कालीगण्डकी नदीको किनारमा पानीमा घोप्टो परेको अवस्थामा एक महिलाको शव भेटियो । ती महिलाको छालाको माथिल्लो भाग पत्र निस्की छालाको चिह्न छुट्याउन सकिने अवस्था थिएन । शरीरमा कपडा पनि नभएको अवस्थामा शव भेटिएको थियो । तर आजसम्म उनको पहिचान खुलेको छैन । 

उनको शव प्राथमिक अस्पताल वालिङ स्याङजाको शव गृहमा राखिएको छ । 

यसैगरी, गण्डकी प्रदेश, स्याङ्जा, गल्याङ नगरपालिका–१ परेवाकुनामा ३० देखि ३५ वर्ष उमेरकी महिलाको शव गत साउन २९ गते भेटिएको थियो । उनको पनि प्रहरीले पहिचान नखुलेको शवको लिस्टमा राखेको छ । 

कर्णाली प्रदेश, सल्यान, बनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित भेरी नदीमा छेदविछेद अवस्थामा महिलाको शव भेटियो । ३५ वर्षकी अनुमानित उमेर भएकी ती महिलाको शव मंसिर १० गते भेटिएको थियो । उनको कुनै पहिचान खुलेको छैन । ती महिलाको शव जिल्ला अस्पताल सल्यानको शवगृहमा राखिएको छ । 

त्यस्तै, बागमती प्रदेश, धादिङ, धुनिवेशी नगरपालिका–९, मरण घाट गत असोज ६ गते अन्दाजी ३० वर्षका पुरुषको शव भेटियो । उनको पनि आजसम्म पनि पहिचान खुलेको छैन । उनको शव त्रिवि शिक्षण अस्पताल फरेन्सिक मेडिसिन विभाग महाराजगन्ज काठमाडौंमा राखिएको छ । 

यी उदाहरण मात्र हुन् । देशभर पहिचान नभएका यस्ता १ हजार २ सय ७२ बेवारिसे शव भेटिएका छन् । जसलाई प्रहरीले पहिचान नखुलेको सूचीमा राखेको छ । ती शवहरु पहिचानको पर्खाइमा सम्बन्धित जिल्ल अस्पतालका शवगृहमा छन् । भेटिएका शवमा आठ वर्षको बालकदेखि ९५ वर्षका वृद्धवृद्धासम्मका छन् । धेरै त क्षतविच्छेद अवस्थामा भेटिएका थिए । उनीहरुको पहिचान खोल्न नेपाल प्रहरीले वेवसाइटमा राखेर पनि पहल गरेको छ । वेवसाइटमा २०८० माघ १० गते पहिलो पटक शवको हुलिया राखिएको थियो । 

प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्ले २०७८ सालदेखिको बेवारिसे शव अहिले पनि रहेको बताउँछन् ।  ‘बेवारिसे अवस्थामा शव भेटिन्छन्, ती शवहरूको मुचुल्का तयार पारेर पहिचानका लागि वेवसाइटमा राखिएको छ,’ उनले भने, ‘शव धेरै समय राख्न मिल्दैन, स्थानीय र जनप्रतिनिधिको रोहवरमा विधिअनुसार अन्त्येष्टि गरिन्छ ।’ बेवारिसे शवको पहिचान गर्न परिवार नआएको उनले बताए । 

पहिचान नभएको तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ अनुसार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागअन्तर्गत पहिचान नभएको तथा बेवारिसे शव सूचना संकलन र व्यवस्थापन केन्द्र रहेको छ । 

पहिचान नभएका तथा बेवारिसे शवबाट प्राप्त भौतिक सबुद परीक्षण गर्ने वा गर्न लगाउने, वैज्ञानिक अभिलेख, भेटिएको फोटोसहितको विवरण सार्वजनिक गरी हकवाला वा आफन्त पहिचान हुन सकेमा सम्बन्धित हकवाला वा आफन्तलाई हस्तान्तरण गर्ने निर्देशिका छ । 

त्यस्तै, शवको व्यवस्थापन गर्न स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वयका तथा विज्ञद्वारा आवश्यक परीक्षण गरी गराई शवको पहिचान गर्ने, अन्त्येष्टि नभएको शव हस्तान्तरण गर्ने, अन्त्येष्टि भइसकेको भए सोको विवरण उपलब्ध गराउने निर्देशिका छ । 

त्यस्तै, पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन सम्भव भएसम्म अन्तर्राष्ट्रिय मापदण्डअनुरूप १२ वर्षसम्म सुरक्षित रहन सक्नेगरी गर्नुपर्नेछ निर्देशिकामा उल्लेख छ । निर्देशिकाबमोजिम पहिचान नभएका तथा बेवारिसे शव सम्बन्धित प्रहरी कार्यालयले समितिको निर्णयबमोजिम स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका सामाजिक संघसंस्थाको रोहवरमा स्थानीय तहको समन्वयमा अन्त्येष्टि गरी सोको विवरण राख्नुपर्नेछ । 

निर्देशिकाबमोजिम सिकाइ प्रयोजनका लागि शिक्षण अस्पताललाई हस्तान्तरण गरिएको शवको हकमा सिकाई कार्य सम्पन्न भएपश्चात् सम्बन्धित शिक्षण संस्थाले उपदफा (१) बमोजिम अन्त्येष्टि गर्नुपर्ने उल्लेख छ ।

सम्बन्धित खबर