२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

एक्लोपनबाट उदाएर प्रधानमन्त्री ताक्दै हर्क

shivam cement
२०८२ माघ ३ गते ०६:३५
Shares
एक्लोपनबाट उदाएर प्रधानमन्त्री ताक्दै हर्क

ताप्लेजुङका सन्तोष राई आफ्नै जिल्लाबाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्दै छन् । श्रम संस्कृति पार्टीबाट टिकट लिएपछि उनलाई पत्रकारहरूले सोधे, शक्ति केन्द्र यता रहेछ होइन ?’ सन्तोषले जवाफ दिए, ‘अध्यक्षज्यू यहीँ हुनुहुन्छ । अन्य पार्टीमा भए काठमाडौं पुग्नुपर्ने थियो हो त्यो यहाँ परेन ।’

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफैं पनि धरानमै रहेर टिकट बाँड्ने विषयलाई परिवर्तनका रूपमा लिन्छन् । उनी भन्छन्, ‘गणतन्त्र केका लागि ल्याएको त ? यसकै लागि होइन ? पहिले टिकट लिन काठमाडौं नै पुग्नुपथ्र्याे । अहिले म धरानबाटै चुनावको तयारी गरिराख्या छु ।’ पार्टीको गतिविधिका लागि उनले धरानमा सम्पर्क सचिवालय राखेका छन् । जहाँ बसेर उनी देशभरबाट उठ्ने प्रत्यक्ष तर्फका उम्मेदवारहरूलाई टिकट दिइरहेका छन् ।

नेपाली राजनीतिमा एउटा महत्वपूर्ण उपस्थिति जनाउने गरी साम्पाङ कसरी उदाए ? यसको पृष्ठभूमि अपत्यारिलो छ । किनभने उनी पार्टी संरचना बनाएर, विचार सिद्धान्त तय गरेर, लामो राजनीतिक संघर्ष गरेर उदाएका नेता होइनन् । धरानमा व्याप्त खानेपानी समस्याको मुद्दालाई उठान गर्दा गर्दै मेयर बने । सामाजिक अभियन्ताका रूपमा एक्लै धरानको समस्याबारे प्रश्न उठाइरहेका र समाधानका लागि श्रम, स्वच्छता र जनसहभागिताको कुरा गर्दा उनी एक्ला जस्ता देखिन्थे । २०७९ को स्थानीय चुनावी प्रचारमा उनी सडकमा कोही नभए तापनि आफ्ना कुरा राखिरहेका हुन्थे । उनीसँग कुनै बलियो संगठन थियो न प्रचार संयन्त्र । आफैं एक्लै चुनावी प्रचार गरिरहेका साम्पाङलाई  मतदाताले काम गर्ने मान्छेका रूपमा लिए र पत्याए ।

चुनाव जितेपछि प्रतिबद्धता भुलेनन् । स्वच्छ पानी, सरसफाइ र श्रमदान अभियान अगाडि बढाए । जसमा उनले पाएको जनसर्मथनका दृश्यहरूले धरानसहित देशभरका जनतामा नयाँ ऊर्जा भ¥यो । धरानमा ढुंगा बोकेर हिँड्ने, ढल सफा गर्ने, जनतासँगै घामपानी सयर गर्ने साम्पाङ सबैका मान्छे भए । उनका हरेक गतिविधिले राष्ट्रिय चर्चा पाउँदै आएको छ । त्यही धरातलमा टेकेर साम्पाङले श्रम संस्कृति पार्टी गठन गरेका छन् ।

७ असोज २०८२ मा पार्टी दर्ताका लागि काठमाडौं आउँदा उनले निर्वाचन आयोगको परिसरमा पत्रकारहरूसँग भनेका छन्, ‘सिस्टम नै बिग्रिएको छ, व्यक्तिले मात्रै होइन, नीति–संरचनामा परिवर्तन चाहिन्छ ।’ यही सोचले स्वतन्त्र बनिरहन दिएन, संगठित भएर राजनीतितर्फ मोडिएका छन् । 

अर्थात् साम्पाङ अब मुलुककै नेतृत्व गर्न चाहन्छन् । आफूलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेर जनतामाझ मत मागिरहेका छन् । निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएसँगै विभिन्न जिल्लाहरूको सभामा पुगे र यही सन्देश प्रवाह गरे । पूर्वी तराईबाट सुरु गरेर पूर्वी पहाड हुँदै हिमालसम्म पुगेर उनले ‘प्रधानमन्त्री हुन्छु’ भन्ने दाबी गरे । यी सबै घटनाक्रमले हर्क साम्पाङलाई सामान्य स्थानीय नेताबाट राष्ट्रियस्तरको नेताकै हैसियतमा पु¥याएको छ । साम्पाङ १ सय ६५ निर्वाचन क्षेत्रमै उम्मेदवार उठाउँदै छन् । समानुपातिकतर्फ १ सय १० सिटमै उम्मेदवारी दिएका छन् । 

भावी प्रधनमन्त्रीकै रूपमा प्रस्तुत हर्क साम्पाङको राजनीतिक यात्रा भने परम्परागत अर्थमा राजनीतिकै थिएन । उनी कुनै ठुला दलका केन्द्रीय समिति सदस्य थिएनन्, संसदमा भाषण गरेको इतिहास थिएन, न त सत्ता पहुँच नै थियो । धरानको मेयर हुनु अगाडि खानेपानी अभियन्ता, सामाजिक आलोचक र व्यवस्थाविरोधी आवाजका रूपमा चिनिन्थे । सामाजिक सञ्जालमा उनका भाषण कडा, आक्रामक र भावनात्मक हुन्थे । जनताको कुरा सिधै बोल्ने शैलीका कारण कैयनपटक अलोच्य हुन्थे । स्थानीय चुनावअघि एक्ला जस्तै थिए । त्यसकारण सडकमा एक्लै भाषण गरेर मत मागिरहेका थिए । संगठित पार्टी संरचना, चुनावी संयन्त्र, आर्थिक स्रोत सबै हिसाबले उनी कमजोर साम्पाङलाई त्यही कमजोर अवस्थाले एउटा फरक पहिचान पनि दियो र नारा लगाए– दलविहीन तर जनपक्षीय सरकार । दलतन्त्रबाट आजित मतदाताले पत्याए । दलका आन्तरिक गुटबन्दी, विकासमा देखिएको टकराव र नेताहरूको जीवनशैलीप्रति बढ्दो असन्तोषलाई साम्पाङको शैलीले चि¥यो । उनको चुनावी अभियान नारा पोस्टर केन्द्रित थिएन, बरु भावनामा केन्द्रित थियो ।  ‘मैले खानुपरेन, धरानलाई पानी चाहिएको छ’ भन्ने उनको शैलीले मतदातासँग भावनात्मक सम्बन्ध बनायो । दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा मत विभाजन हुनु र स्वतन्त्र’ उम्मेदवारप्रति आकर्षण बढ्नु उनको जितका अनुकूल कारण बन्यो । यही शैलीलाई उनी देशभर फैलाउने र मुलुकको नेतृत्व गर्ने महत्वकांक्षामा पुगेका छन् ।

हर्क कसरी महत्वकांक्षी भए ?

सत्तामा पुगेपछि धेरै आन्दोलनकारी नेताहरू व्यवस्थामै हराउँछन् । तर हर्क साम्पाङले आफूलाई फरक देखाउने प्रयास गरे । उनले औपचारिकताभन्दा श्रमलाई प्राथमिकता दिए— डोजर चलाउने, पाइप बोकेर, पहाड चढ्ने, खोलाबाट पानी ल्याउनेलगायतका कार्यमा आफूलाई व्यस्त राखे । यी दृश्यहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलियो । यी दृश्यहरू प्रतीकात्मक मात्र थिएनन् । नेपाली राजनीतिमा ‘काम नगर्ने नेताको छवि’विरुद्ध साम्पाङका गतिविधिका दृश्यहरूले गहिरो प्रभाव पा¥यो । उनले भाषा पनि परिवर्तन गरे—जटिल नीति होइन, सिधा प्रश्न र सिधा उत्तर । आलोचकलाई पनि सार्वजनिक रूपमा जवाफ दिने, कहिलेकाहीँ आक्रामक हुने शैलीले समर्थकहरूलाई ‘आफ्नै मान्छे जस्तो’ भन्ने अनुभूति गरायो । यही शैलीले आलोचना पनि जन्मायो—संस्थागत निर्णयको बेवास्ता, संवादमा कठोरता, दीर्घकालीन योजनाभन्दा तत्काल प्रदर्शनमा जोड दिने शैलीका कारण आलोचित भए तापनि समर्थकहरूका लागि साम्पाङका यी कमजोरीभन्दा इमानदार प्रयास ठुलो लाग्यो र समर्थन निरन्तर पाइराखे ।

जनताको निरन्तरको समर्थन र देश तथा विदेशमा रहेका नेपालीले समेत अगाडि बढ्न दिएको ढाडसले साम्पाङ महत्वकांक्षी भए । कतिसम्म भने उनी जेनजी आन्दोलन पछाडि नै प्रधानमन्त्री बनेर नेतृत्व लिन्छु भन्ने ठाउँमा पुगेका थिए । २३ र २४ भदौको जेनजी आन्दोलनपछि काठमाडौं आएर उनले जेनजीको भावनाबमोजिम काम गर्छु भन्ने जिम्मेवारी खोजे । तर पाएनन् । त्यसपछि उनी पार्टी नै खोलेर अगाडि बढेका हुन् । 

अर्थात्, समयसँगै हर्क साम्पाङ केवल धरानका मेयर रहेनन् । उनी दलविरुद्धको प्रतीक बने । सबै पार्टी एउटै हुन् भन्ने भावनाको प्रतिनिधि भएर मेयर भए । यही भावनाले उनलाई धरान बाहिर फैलायो र मञ्च दियो, स्वागत भयो । तर अब भने उनी दल गठन गरेर देशव्यापी फैलिन खोज्दै छन् । यसकारण अब उनले सबै दल उस्तै होइनन् भन्ने पुष्टि गर्नु छ । अब उनको भाषामा स्थानीय समस्या मात्र होइन,  देश बनाउनेगरी नेतृत्व लिने आधार देखिनुपर्छ । पुराना नेता हटाउने कुराले मात्रै मुलुक बन्दैन, प्रधानमन्त्री भएपछि गर्ने कामको गहिरो आधार चाहिन्छ । यसकारण प्रश्न छ, सिधै प्रधानमन्त्री हुने चाहना महत्वकांक्षा मात्रै हो कि नीति र योजना पनि छ ? 

सार्वजनिक रूपमा उनका गतिविधिलाई नियाल्दा हर्क साम्पाङको प्रधानमन्त्री हुने चाहनालाई दुई तरिकाले हेर्न सकिन्छ । 

पहिलो : यो जनआक्रोशको स्वाभाविक विस्तार । जब स्थापित दलहरूबाट निराशा गहिरिन्छ, तब नागरिकहरू ‘बाहिरको पात्र’लाई नै शीर्ष नेतृत्वमा देख्न चाहन्छन् । साम्पाङले यही मनोविज्ञान पढेका छन् । 

दोस्रो : संस्थागत हुने चाहना । यस्तो चाहना पूरा गर्न राजनीति शक्ति चाहिन्छ । नेपालको संसदीय व्यवस्था, गठबन्धनको गणित, संघीय संरचना र दलगत अनुशासनमा उनको शैली स्थापित हुनुपर्छ । किनभने सिधै प्रधानमन्त्री बन्ने बाटो अत्यन्त जटिल छ । स्थानीय लोकप्रियता राष्ट्रिय मतमा रूपान्तरण गर्न संगठन, नीति, टोली र धैर्य चाहिन्छ ।

हालसम्मको हर्क साम्पाङको बलियो पक्ष भावनात्मक नेतृत्व हो । तर राष्ट्रिय नेतृत्वका लागि आर्थिक नीति, परराष्ट्र नीति, संसद् व्यवस्थापनजस्ता विषयमा स्पष्टता आवश्यक हुन्छ । उनले यी पक्षमा आफ्नो शैली रूपान्तरण गर्दै स्थापित गर्न खोजेका हुन सक्छन् । कारण र परिणाम जे जस्तो भए तापनि हर्क साम्पाङको उदय नेपाली राजनीतिमा एउटा पृथक सन्देश हो– जसमार्फत नागरिकको चाहना बुझ्न सकिन्छ । ताकि नागरिकहरू नेताबाट भाषण होइन, काम चाहन्छन्, पार्टी होइन, इमानदार नेतृत्व खोजिरहेका छन् ।

सम्बन्धित खबर