२०८२ मंसिर ७ गते आइतवार / Nov 23 , 2025 , Sunday
२०८२ मंसिर ७ गते आइतवार
Ads

कमजोर लोकतन्त्र र भोकको भकारी

shivam cement
अच्युतप्रसाद पौडेल 'चिन्तन'
२०८२ मंसिर ७ गते ०६:०५
Shares
कमजोर लोकतन्त्र र भोकको भकारी

वैदेशिक लगानी खुम्चिए पनि विप्रेषण लाम्चिएको देख्दा मख्खै छ हाम्रो लोकतन्त्र । हिजोको लोकतन्त्रलाई लोभतन्त्र भनेको, आजको लोकतन्त्र पनि उसैको जोडी देखिँदैछ र भन्नै मन लागेको छ– नेपालमा लुते लोकतन्त्र छ र भोकको भकारी नै छ । यहाँ रोग पनि छ, भोग पनि छ, भोक त छँदैछ । बलियो लोकतन्त्रले शेख हसिनालाई सुपुर्दगी माग गरेको छ, सायद उनको घाँटीमा अरिमठे डोरी बाँधिँदैछ । हाम्रो लोकतन्त्रले ब्याक डेटमा एमसीसीलाई आयकर छुट दिएछ, अघिल्लो सरकारको निरन्तरता रे, भनेपछि नयाँ काम नहुने पक्कै भयो । अब सहजै पत्याउनु पर्ने भएको छ– बालुवाटार नेपालीको सुख–दुःखलाई होइन अरु कसैका लागि बनेको हो । बुर्लुक्कै उफ्रिएका अर्का काँचा झापालीलाई समात्यो जेन्जी सरकारले, पाका झापालीलाई डेरा सार गरेको छ, जिल्ला उही, खाली टोल मात्रै फरक, र त उनको हुँकार दमकको भ्यूटावरभन्दा कम छैन ।

उद्घाटनमा रमाउने र उखानमा खप्पिसले धेरै वर्ष देश चलाएका र सहयात्रीहरू पनि सिँगापुरबाट फर्किसकेकाले अब पुरानालाई खासै समस्या छैन भन्ने पक्का–पक्की भएको छ । आन्दोलन भाद्रको त पशुपतिले रोकेका रे, दुई दिनमै सबै सामसुम भइहाल्यो, बाँकी बक्यौताहरूलाई खोज्ने र कोच्ने हो बाँकी रामराम, ठण्डाराम । कता पुग्यो सिंहदरबार, फाइलहरू मात्र गायब भए, पुराना फाइल नपाइने भएकाले सबै जना मित मात्रै हुने भए, अब शत्रु नै नभएको पक्का–पक्की भयो । अख्तियार अनुसन्धान आयोगले के काम गर्ने हो थाहा छैन, नयाँहरूको फाइल बनाउन समय लाग्छ, पुराना त सबै डढे, चोखिए ।

मानव अधिकार आयोगको काम झटारो फाल्ने हो, पाथीभरामा आमाको कसम खाँदा पनि परिवर्तन नआउने पक्का नै भयो । पुरानोको विरासत रहेको बालुवाटार पक्का भयो । बंगलादेशजस्तो हाम्रो हुन्न भनिएको थियो पहिले नै, न श्रीलंका जस्तै हुन्छ भनिएको थियो, नभन्दै भाद्र २३ र २४ आयो, गयो । २०४६ पछि धेरै आयोग बने, आयो–गयोको संक्षिप्त नाम नै आयोग भयो । लहरो तान्दा पहरो गर्जने, देशको भूगोल नै यति सानो भयो कि प्लेन हाइज्याकको कुरो आउला, यसो हेर्न थाले आफन्तैको अनुहार देखिन थाल्यो र त जेन्जी पनि सामसुम हुने जस्तो छ । मार्ग सात वारपार भनेको धेरै वर्ष भएकाले पुरानै तालमा घोक्रेठ्याकमै परे दुर्गाहरू, हरिविजोक छ देशमा, भोकको भकारी छ र त्यसमा असोजमै २ खर्ब रेमिटान्स, नेपाली आमाले राम्रो जनशक्ति तयार गरिछन् कि अब देश–विदेश गएर खर्बौँ–खर्ब यहाँ ओइराइदिने । राष्ट्र बैंकलाई पनि हाईसन्चो, लगानी विस्तार भएन, उद्योग–कलकारखाना बन्दजस्तै छन् । विदेशी मुद्रा सञ्चिति यति धेरै भयो कि १६ महिना बसिखान पुग्ने– आयातै गर्ने हो सबै नाना, छाना, खाना ।

राजनीतिकै भोक छ सबैलाई, राजनीति भने लाजनीतिमा परिणत भइसकेको छ र त प्रधानन्यायाधीश भइसकेको व्यक्ति देशको मानव अधिकार आयोग बाहेक अरूमा फिट हुँदैन भन्ने कानुन लागेन । कुन कानुनको कुन दफा समातेर बालुवाटारको भ¥याङ गएकी हुन् माताजीलाई अत्तोपत्तो छैन । बालुवाटार जान प्रचलित संविधानले अमुक दलको संसदीय दलको नेता हुनु पर्ने भनेको छ । बालुवाटारले संविधान पालन गरेको र जुक्तिले बचाएको शीतल निवासले कुन दलमार्फत कसरी सरकार बनायो थाहा छैन । हुनु पर्ने थियो के भने– यो संविधान त मृतप्राय नै थियो, अर्को अन्तरिम संविधान बनाएर काम गर्नु पर्ने थियो । यो संविधान त खुमल्टार, बालुवाटार, बालकोट, च्यासल सबैको पुरोहित हो– ‘पूरा हित’ । जसले गर्छ त्यो पुरोहित हुन्छ, यो बनेको उहाँहरूको पूरा हित गर्न हो । त्यसैले शेख हसिना हुन दिने त के, त्यताको गन्धमा पनि यजमानलाई यसले केही गर्न सक्दैन । अजरामर बनाइएको आज होइन, पहिले नै हो र त देशमा हजार बढी काण्डहरू टुसाउँदै गए । माताजीको सरकार देखियो, अब अरूले खासै आशा गर्ने ठाउँ भएन । दफाविहीन सरकारले केही काम गर्न थाले उल्टै समस्या आउन सक्ने भएकाले इतिहासमा नाम लेखाउने र यसो फागुनसम्म टालटूल गर्ने बाहेक अरू काम हुने देखिएन ।

मार्ग मासमा धानका भकारी भरिनु पर्ने थियो, लोभतन्त्र यति बलियो भयो कि विचौलियाहरूले जग्गा चक्लाबन्दी गरिदिए । पालिकाहरू तिनकै संरक्षण गर्ने भए, डोजर तिनकै बढी छन्, चुनावमा गरिएको लगानी भकारी भरेर नआउने भयो, बरु टेक्का–पट्टाबाट छिटो रिकभर हुने भयो र त वडाअध्यक्षहरूको डोजर वन, पाखा, भीर सबैतिर कुद्न थाल्यो । गाउँका मान्छे खाडी पस्ने लोभतन्त्रको सिँहदरबार गाउँ पस्ने अनौठो भोकतन्त्र जाग्यो देशमा र यसैलाई लोकतन्त्र भनियो, सुशासन भनियो । जनतालाई रासन–पानी छैन, दुशासनहरूको बोलबाला छ, भनियो सुशासन, पारदर्शिता उल्टो भयो कुरो ।

बढी कर तिर्ने उनै परे जो जले, ढले– भाटभटेनीहरू । श्री ३ हरुले उनैसँग घडेरी मात्रै होइन, महल नै मागे, दिए, दिने भए । ती बच्चाहरूले ‘हुन्न’ भनेर के गर्ने– सिँहदरबार रिसले सोत्तर भयो । ७४ जना धुलीसाफ भए, खर्बौँ–खर्बका संरचना ध्वस्त भए, हात लाग्यो शून्य । पुराना फाइल डढे– त्यत्तिनै हो । सशस्त्र युद्धमा पनि भएको यही हो– परिणाम भयो हातमा आयो शून्य, मोजमस्ती भयो । अब त त्यसको नाम–निसान नै नदेखिने भयो, निर्वाचन आएको अभिलेखमा पनि नआउने भयो । यति तरल राजनीति सायद अरू कुनै देशमा हुन्न होला । नेपालीहरूलाई दिउँसै अँध्यारो पार्ने गरी आएको गणतन्त्र र लोभतन्त्रको सदाबहार विजय कहिलेसम्म हेर्नु पर्ने हो, आगे नेपालीहरुकै मर्जी ।

ADV

सम्बन्धित खबर