
मानव सभ्यताको विकास इतिहासले देखाउँछ– मानिस जन्मदा कुनै धर्म लिएर जन्मिँदैन, न कुनै देवतामा विश्वास लिएर । धड्कने मुटु, सास चल्ने शरीर र जिज्ञासाले भरिएको बालचेतनासहित जन्मिन्छ । तर यही बालचेतनामा परिवार, समाज र संस्कृतिले धार्मिक भय, पाखण्ड र अदृश्य शक्ति सम्बन्धी कथा भर्दै लग्छन् । भूत–प्रेत, पाप, ईश्वर, स्वर्ग, पुनर्जन्मजस्ता अवधारणाहरू बालकको मनोविज्ञानमा यति गहिरो राखिन्छन् कि ऊ आफ्नो इच्छाले होइन, वातावरणको दबाबले ‘धार्मिक’ बनाइन्छ ।
धर्मको अस्तित्वको आधार तथ्य होइन; अज्ञानता, भय, आश्रयको खोजी र सामाजिक नियन्त्रण हुन् । इतिहासको प्रत्येक कालखण्डले देखाएको छ– धर्म त्यही समाजमा फस्टाउँछ जहाँ आधुनिक शिक्षा कमजोर छ, वैज्ञानिक चेतना अभावमा छ र समाजको त्यो वर्ग दमन, शोषण र गरिबीबाट घेरिएको छ । विडम्बना त के छ भने धर्मले सबैभन्दा बढी शोषण गरेका– महिला, गरिब, मजदुर र सामाजिक रूपमा दबिएका वर्ग नै धर्मका सबैभन्दा कट्टर अनुयायी बन्छन् । किनकि धर्मले उनीहरूलाई ‘पापबाट मुक्ति’, ‘मृत्युपछि स्वर्ग’, ‘कष्टपछि मोक्ष’ जस्ता भ्रम बेचिदिन्छ, जुन भौतिक कठिनाइबाट भाग्ने एउटा मानसिक आश्रय हो ।
यही कारण धर्म र मूर्खताको सम्बन्ध परस्पर आश्रित छ । मूर्खता– रूढी, अन्धविश्वास, प्रश्नहीन विश्वास– धर्मलाई बाँचिरहने अक्सिजन हो । र, धर्म–दैवी आज्ञा, भय, परलोकको फिर्ती, दण्ड–पुरस्कारको मिथक–मूर्खताले जरा गाडिरहने मल हो । एकअर्का बिना दुवै अस्तित्वहीन बन्नेछन् । यी सबैबीच एउटा आधारभूत सत्य उभिन्छ– धर्मको अन्त्य चेतनाको प्रस्फुटनसँगै हुन्छ र चेतनाको विकास विज्ञान, तर्क, अनुसन्धान र शिक्षा मार्फत सम्भव हुन्छ ।
सभ्य मानव बन्ने मार्ग धार्मिक भय होइन, वैज्ञानिक दृष्टि र स्वतन्त्र सोच हो । धर्म बिना मूर्खता अस्तित्व रहन सक्दैन भने मूर्खता बिना धर्मको अस्तित्व जीवित रहँदैन । मूर्खताबाट नै धर्मको जन्म हुन्छ र धर्मकै कारण मूर्खता जीवित रहन्छ । मूर्खताको अन्त्यसँगै धर्मको पनि अन्त्य हुनेछ, साथसाथै धर्मको अन्त्यसँगै मूर्खता पनि समाप्त हुनेछ । संसारभरि धर्मको विशाल विस्तार मूर्खताको समर्थनमा खडा भएको हो । जुनदिन संसारबाट मूर्खता हट्नेछ, त्यसदिनबाट धर्मको धरातल पनि ध्वंस हुनेछ ।
धर्मले महिला, मजदुर, दुखी, गरिबलाई दासताको साङ्लोले बाँध्दै सबैभन्दा बढी शोषण गरेको छ । तर पनि तिनै महिला, मजदुर, दुखी, गरिबहरू सबैभन्दा बढी धर्मलिप्त बनी धर्मको रक्षार्थ खडा भएका छन् । धर्मको शरण लिएर पापबाट मुक्ति मिल्ने र मृत्युपछि स्वर्गमा सुन्दर सुरक्षित स्थान प्राप्त हुन्छ भन्ने उनीहरूलाई धेरै ठूलो भ्रम बेचिएको छ । उनीहरूको साथमा आधुनिक शिक्षा, ज्ञान, चेतना र विवेकको अभाव छ । जसको कारण यस्ताखाले धार्मिक कुरीति, पाखण्ड, रीतिरिवाज र अन्धविश्वासका विरुद्ध लड्नुको सट्टा त्यसलाई अङ्गाली रहेका छन् । यस प्रकारको मूर्खतापूर्ण अभ्यास पुस्तौँपुस्तादेखि जारी छ । कयौँ पुस्ताले जीवनभर धर्मको जाँतोमा पिसिएर कष्टकर जीवन गुजारेका छन् । धार्मिक अन्धविश्वास, पाखण्ड र मूर्खताको अन्त्य नभएसम्म त्यो वर्गको मुक्ति क्षितिजपारिमै रहनेछ ।
मुख्य प्रश्न यो छ कि मानिस जन्मदा नास्तिक भएरै जन्मन्छ । उसलाई जन्मदैबाट घरपरिवार र समाजले धार्मिक अन्धविश्वासको मार्गमा डोर्याउँछन् । अन्जानमै बालक विस्तारै घरपरिवार र समाजले गर्दै आएको रीतिरिवाज, धर्म, संस्कृति र परम्परालाई अगाल्न बाध्य पारिन्छ । कलिलो उमेरदेखि नै उसको बालमस्तिष्कमा भूत–प्रेत, ईश्वरजस्ता कुराको डर देखाइन्छ । जसको कारण बालमस्तिष्कले अन्जानमै धार्मिक अन्धविश्वास, सामाजिक रीतिरिवाज, परम्परा र रुढीगत मान्यतालाई जीवन व्यवहारमा अगाल्दै जाँदा ऊ धार्मिक बन्छ ।
धार्मिक अन्धविश्वास गहिरो वंशाणुगत मानसिक रोग हो । जबसम्म मानिस धार्मिक सम्प्रदायबाट माथि उठ्न सक्दैन, तबसम्म सभ्य मानव पनि बन्न सक्दैन । ईश्वरको अस्तित्व न विगतमा थियो, न वर्तमानमा छ, न भविष्यमै भेटिनेछ । धर्म र मूर्खताको सह–निर्भरता मानव इतिहासको सबैभन्दा दुःखद तर सबैभन्दा स्पष्ट सत्य हो । जन्मदेखि नै आरोपित भय, दोषबोध र परलोकको लोभले मानिसलाई प्रश्नविहीन समर्पणतिर धकेल्छ । यही कारण धर्म पुस्तौँदेखि शक्तिशाली अवस्थामा छ र मूर्खता– अन्धविश्वास, पाखण्ड, रीतिरिवाज र दण्ड–पुरस्कारको मिथक समाजको गहिरो तहमा जरा गाडेर बसेको छ ।
मानिस जन्मजात धार्मिक होइन, तर उसको चेतनामा बाल्यकालमै घुसाइने मिथ्या भयले उसलाई अन्धविश्वासी बनाइदिन्छ । जबसम्म मानिसले विज्ञान, तर्क, शिक्षा र स्वतन्त्र विचारका आधारमा जीवन नियाल्न सिक्दैन, तबसम्म ऊ पराधीन नै रहन्छ, धर्मप्रति, भयप्रति र आत्मपीडाप्रति । धर्म मुर्दाजस्तै स्थिर संरचना हो; विज्ञान जीवितजस्तै निरन्तर बदलिँदै, जाँचिँदै र सुधारिँदै जाने प्रक्रिया हो । मुक्तिको मार्ग त्यसैले स्पष्ट छ– मूर्खताको अन्त्य, अन्धविश्वासको त्याग र विवेकशील चेतनाको विकास । राष्ट्रिय, सामाजिक र व्यक्तिगत प्रगतिका लागि मनुष्यले साहसपूर्वक घोषणा गर्नैपर्छ– ईश्वर छैन । मुक्ति केवल ज्ञान, तर्क र चेतनामा छ । यो स्वीकृति नै मानव सभ्यताको सचेत, वैज्ञानिक र स्वतन्त्र भविष्यतिरको पहिलो कदम हो । धार्मिक अन्धविश्वास, अज्ञानता, मूर्खता र पाखण्डलाई परित्याग गरौँ, चेतनशील, सभ्य र तर्कशील बनौँ ।