२०८२ मंसिर १० गते बुधवार / Nov 26 , 2025 , Wednesday
२०८२ मंसिर १० गते बुधवार
Ads

ओलीले न बुझे, न बुझ्न खोजे

shivam cement
लेखनाथ सिकारु
२०८२ मंसिर १० गते ०६:००
Shares
ओलीले न बुझे, न बुझ्न खोजे

नेपालको समसामयिक राजनीतिक परिदृश्यमा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका फेरि एकपटक विवादको केन्द्रमा उभिएको छ । जेनजी आन्दोलनपछि मुलुकमा राजनीतिक नेतृत्व र संवैधानिक परिवर्तनहरूको लहर चलेको छ, तर ती परिवर्तनलाई स्वीकार गर्ने भन्दा पनि प्रतिरोध गर्ने पक्षमा ओली उभिएका छन् । प्रतिनिधिसभा विघटन, आन्दोलनका एजेन्डा, नेतृत्व हस्तान्तरणदेखि चुनावी तयारीसम्म ओली अहिले अधिकार, शक्ति र सत्ताबाट विस्थापनको डरले निरन्तर संघर्षरत देखिन्छन् ।

ओलीले प्रतिनिधिसभा पुनःस्थापनाबाहेक सर्वोच्च अदालतसँग अर्को निर्णयको विकल्प नभएको ठोकुवा गरेका छन् । प्रधानमन्त्रीको एकल सिफारिसमा संसद् विघटन असंवैधानिक भएको दाबी गर्दै उनी कानुनी तथा सडक संघर्ष दुवै गर्ने उद्घोष गर्छन् । उनले भनेका छन्, ‘हामी कानुनी लडाइँमा पनि जान्छौं, सडकमा पनि उत्रिनेछौं, आन्दोलन शान्तिपूर्ण र संविधानको पक्षमा हुनेछौं ।’ तर आलोचकहरूको दृष्टिमा यो संघर्ष अधिकारकै लागि होइन, सत्ता पुनःप्राप्तिको प्रयास मात्र हो । संसद् पुनःस्थापनाको माग राजनीति स्थिरताका लागि कि व्यक्तिगत सत्ता पुनःस्थापनाका लागि, प्रश्न यहीँ उभिन्छ ।

भदौ २३–२४ को घटनालाई ओलीले योजनाबद्ध ‘डिप स्टेट’को खेल भन्दै सरकार त्यही षड्यन्त्रबाट आएको आरोप लगाएका छन् । प्रदर्शनका क्रममा ‘मलाई मेरो देश चाहिन्छ’ भनिएको भिडियोमा प्रस्तुत युवाहरूलाई ओलीले ‘तिब्बतियन ओरिजिनल ग्रुप’को नाम दिएर आक्रोश पेस गरे । तर आलोचकहरूको ठम्याइ छ आन्दोलन विदेशी योजनाबाट नभएर राजनीतिक असन्तोष, युवाहरूको असन्तुष्टि, नेतृत्व परिवर्तनको माग आदिबाट उत्पन्न थियो ।

५ दशकभन्दा लामो राजनीतिक यात्रा र नेतृत्व हुँदाहुँदै युवा पुस्तामा विश्वास निर्माण गर्न असफल हुनु ओलीले स्वीकार्नै नचाहेको वास्तविकता हो । परिणामतः घर जले, सत्ता गयो, राजनीति बदलियो, जेनजी आन्दोलनपछि ओली प्रत्यक्ष रूपमा राजनीतिक रूपमा नै होइन, शारीरिक रूपमा पनि दबाबमा परे । आन्दोलन उग्र बनेपछि उनी सेनाको हेलिकप्टरमा रेस्क्यु भई चिल्लाङ ब्यारेक सारिए, बालकोटसहित झापा र तेह्रथुमको घर ध्वस्त भयो, १० दिन सेना क्याम्प बसेपछि भाडाको घरमा सर्नु प¥यो । तर यो अवस्थाले ओलीलाई आत्मसमिक्षातिर होइन, प्रतिरोधतिरै घचेट्यो ।

कांग्रेसका देउवा, माओवादीमा प्रचण्डले नेतृत्व हस्तान्तरणको संकेत दिए । तर एमालेमा नेतृत्व छोड्न ओलीलाई सुझाव दिइए पनि उनले स्पष्ट अस्वीकार गरे । ओलीको भनाइ छ– म सकुन्जेलसम्म पार्टी छाड्दिनँ । अर्थात, पार्टी परिवर्तनको चुनौती स्वीकार्नेभन्दा पुरानै संरचनाभित्र रक्षा मोडमै उनी उभिएका छन् ।

एमाले नेतृत्व तहमा पहिलोपटक स्पष्ट असन्तोष देखा परेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ जस्ता शीर्ष नेता नै नेतृत्व हस्तान्तरणको माग गर्दै उभिए । सचिवालयका १८ मध्ये १० नेतालाई ओलीले तत्कालै सत्ता हस्तान्तरण गर्नुपर्ने मत रहेको चर्चा छ । सचिव योगेश भट्टराईले त सिधै भने– स्टप एन्ड स्टेप डाउन, अब तपाईं रोकिनुस् र पद त्याग्नुस् । स्वयं एमाले दलभित्र नै असन्तोष मात्र होइन, जेनजी पुस्ताको प्रत्यक्ष विद्रोह पनि देखा परेको छ ।

७६ जनाको मृत्यु, खर्बौंको सम्पत्तिको क्षति, आगजनी र विध्वंस नेतृत्वकै कारण भएको भन्दै ओलीमाथि कारबाहीको प्रश्न पनि नउठेको होइन । सरकार, संसद् र नेतृत्व कमजोर भएको भनाइ छ । एमालेभित्र अब प्रमुख बहस यही हो– ओलीको नेतृत्वले अब दललाई भविष्यमा जिताउन सक्छ ? युवापुस्ता, शहरिया मतदाता, सूचनामूलक नागरिकलाई विश्वस्त गराउन योग्य छ ? वा अब उनी नेतृत्व परिवर्तनको बाटो रोकेर आन्दोलनपछि पैदा भएको राजनीतिक अवसरलाई बालुवामा गाड्दै छन् ?

समितिहरू जहाँसुकै उनीकै आवाज अन्तिम, वैचारिक लचकताभन्दा राजनीतिक वर्चस्व, आलोचनालाई असहिष्णुता, नेतृत्व हस्तान्तरणलाई कटाक्ष– यी शैली जेनजी आन्दोलनपछि प्रभावहीन हुँदै गए । जनतादेखि कार्यकर्ता, शीर्ष नेतृत्वसम्मै विश्वास नभएपछि राजनीतिक भविष्य एक्लिँदै जाने स्वाभाविक छ ।

अहिले ओलीको राजनीतिक लडाइँ मुख्यतः तीन दिशामा केन्द्रित छ— अदालत, सडक, दलभित्रको शक्ति–संगठन । तर आजको नेपाली राजनीति अर्थतन्त्र, जनजीविका, वैदेशिक सम्बन्ध, बेरोजगारी जस्ता ठोस एजेन्डामा जनमत बटुलेर जितिन्छ । विघटन, स्थापना, डिप स्टेट, प्रतिगमनको नारा युवापुस्तासँग बढी टिकाउ छैन, आकर्षक छैन । ‘के नेतृत्वले भविष्य देखाउन सक्छ ? के दलले नयाँ पुस्तालाई जिम्मेवारी दिन्छ ? के संगठनले जनताको क्रान्तिकारी अपेक्षा सम्बोधन गर्छ ?’– उनीहरूलाई प्रश्न केन्द्रित छ ।

युवा जागरण यो एकपटकको आन्दोलन होइन, नेतृत्व परिवर्तनको लहर हो । स्थापित दलहरूमाथि अविश्वास, युवा मतदाताले ‘पुराना शैली’का नेताहरूप्रति कडा अस्वीकार व्यक्त गरेका छन् । अन्तरपार्टी लोकतन्त्र, नेतृत्व हस्तान्तरण अब घोषणाले होइन, दबाब र संरचनागत परिवर्तनले हुने छ । जेनजी आन्दोलनको परिणामस्वरूप नयाँ वास्तविकता बने । यही कारण ओलीको ‘अहिले चुनावमा गयो भने दल कमजोर हुन्छ’ भन्ने मनोदशालाई आलोचकहरूले ‘जेनजीबाट जस्तै चुनावबाट पनि भाग्दै’ भनेर व्याख्या गर्न थालेका छन् ।

जेनजी आन्दोलन केवल सडकको आगो थिएन, यो नेपाली राजनीति, दल संरचना र नेतृत्व–मनोविज्ञान परिवर्तन गर्ने निर्णायक मोड थियो । तर ओली आन्दोलनलाई प्रतिगमन, युवालाई ‘फेक’, सत्ता परिवर्तनलाई षड्यन्त्र, नेतृत्व परिवर्तनलाई हमला भन्दै प्रतिरोधमा उभिएका छन् । यही ठाँउमा राजनीतिक विश्लेषकहरूको निष्कर्ष स्पष्ट छ– अब नेपाली राजनीति ‘एकल नेताको प्रभाव’मा होइन, ‘बहु–नेतृत्वको प्रतिस्पर्धा’मा प्रवेश गरिसकेको छ ।

यस वास्तविकतालाई स्वीकार्न नसक्ने नेताको राजनीतिक भविष्य चाहे जतिसुकै अनुभव, जतिसुकै लोकप्रियता किन नहोस्, अन्ततः पतनतर्फ जान्छ । ओली यही मोडमा उभिएका छन् । स्वीकार गर्ने कि प्रतिरोध गर्ने, हस्तान्तरण गर्ने कि भिड्ने, नयाँ पुस्तासँग सँगै अघि बढ्ने कि इतिहासमा कैद हुने, निर्णय अब उनकै हातमा छ ।

ADV

सम्बन्धित खबर