
नेपाली राजनीति केही समयदेखि अपेक्षाकृत शान्त थियो । दलभित्र आन्तरिक विवाद भए पनि ठूलो आन्दोलनजस्तो लहर देखिँदैनथ्यो । तर पछिल्ला दिनमा जेनजी पुस्ताले गरेको आन्दोलनपछि राजनीतिक वातावरण फेरिएको छ । नयाँ पुस्ताको असन्तुष्टि सडकदेखि सामाजिक सञ्जालसम्म गुञ्जिन थालेपछि राजनीतिक वृत्त एकाएक तर्सिएको जस्तो देखिन्छ ।
यस आन्दोलनपछि देशभर हलचल छ । कुनै समय स्थिर देखिएका राजनीतिक दलभित्र समेत नयाँ समीकरण बन्ने प्रक्रिया सुरु भएको छ । पुराना नेताहरूको शैलीप्रति आलोचना बढेको छ भने नयाँ नेतृत्वको माग तीव्र हुँदै गएको छ । साना–ठूला, नयाँ–पुराना सबै दल अहिले सक्रिय देखिन्छन् । कसैले कार्यदल बनाएर अध्ययन थालेका छन्, कोही एकीकरणको अभियानमा छन्, कसैले मन मिल्ने दलहरूको मोर्चा बनाएर अघि बढ्ने कुरालाई प्राथमिकता दिएर काम गरिरहेका छन्, कोही संगठन पुनर्गठनको तयारीमा छन् । कोही युवालाई नेतृत्वमा ल्याउने वाचा गरिरहेका छन्, कोही जनतासँग प्रत्यक्ष संवादमा उत्रिएका छन् । मौसम चिसो भइरहेका बेला देशभरको राजनीतिक तापक्रम तीव्र रूपमा बढ्दै गएको अनुभूति सबैले गरिरहेका छन् ।
सबैतिर छलफल र बहस चलिरहेको छ । क्याफेमा, क्याम्पसमा, चोकमा, कार्यालयमा- जहाँ गए पनि राजनीति मुख्य विषय बनिरहेको छ । जेनजी पुस्ताले उठाएको प्रश्नहरूले पुरानो राजनीतिक कथावस्तुलाई चुनौती दिएको छ । यसले नेपाली लोकतन्त्रलाई नयाँ मोडमा पुर्याएको छ ।
यतिबेला मुलुकको पुरानो र ठूलो राजनीतिक दल नेपाली कांग्रेसभित्र गम्भीर बहस र मतभेद चरमचुलीमा छ । बाहिरी वातावरणमा जेनजी आन्दोलनले पैदा गरेको दबाबले दलभित्रको असन्तुष्टि झन् सतहमा आएको छ । देश परिवर्तनको मागमा रुमलिरहँदा कांग्रेस पनि आफ्नै भविष्यको मार्गचित्र कोर्न खोजिरहेको देखिन्छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा चुनावअघि नियमित महाधिवेशन हुनुपर्छ भन्ने लाइनमा उभिनुभएको छ । उहाँहरूको कुरा प्रस्ट छ- नियमित नभए विशेष महाधिवेशन गरेर पनि नेतृत्व परिवर्तन हुनैपर्छ । तर सभापति शेरबहादुर देउवा निकटहरू चुनावअघि नियमित वा विशेष- कुनै पनि महाधिवेशनको नाम सुन्न चाहँदैनन् ।
अघिल्लो केन्द्रीय कार्यसमितिको बैठक झन्डै महिना दिनसम्म चल्यो तर महाधिवेशनबारे निर्णय गर्न सकेन । अहिलेसम्म स्पष्ट निष्कर्षमा पुग्न नसक्दा पार्टीभित्र अनिश्चितताको माहौल छ । फागुन २१ गते हुने निर्वाचनअघि महाधिवेशन गर्ने कि पछि सार्ने भन्ने मुख्य प्रश्नले कांग्रेसका नेताहरूलाई दुई ध्रुवमा विभाजन गरिदिएको छ । त्यसैले सहमति जुट्न नसकेपछि बिहीबार ११ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेर १२ गतेका लागि सारिएको छ ।
नेपाली कांग्रेसमा रूपान्तरण अनि पुस्तान्तरण चाहने युवा पुस्ताको माग अत्यन्त स्पष्ट छ- महाधिवेशन नियमित वा विशेष, जुनसुकै होस्, पुरानो नेतृत्वको बोझ बोकेर आगामी निर्वाचनमा जान मिल्दैन । महामन्त्रीद्वय तथा नयाँ पुस्ताका धेरै नेताहरूको एउटै धारणा छ कि पार्टीलाई नयाँ ऊर्जा र विश्वास दिलाउन नेतृत्वमा परिवर्तन आवश्यक छ । उनीहरूको भनाइमा, जेनजी आन्दोलनले देखाएको सन्देशलाई सम्मान गर्न कांग्रेसले पहिले घरभित्रै सुधार देखाउनुपर्छ ।
तर अर्कोतर्फ केन्द्रीय समितिमा बहुमत अंक राख्ने संस्थापन पक्ष भने चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा छ । उनीहरूका अनुसार अहिले महाधिवेशनमा लागे चुनावी तयारी कमजोर हुन सक्छ, जसले पार्टीलाई प्रतिकूल असर पार्न सक्छ । संस्थापन पक्षको यो तर्कले पार्टीभित्र झनै ध्रुवीकरण बढाएको छ ।
यसबीच जेनजी आन्दोलनको क्रममा घाइते भएका सभापति शेरबहादुर देउवा सिङ्गापुरमा उपचारपछि स्वास्थ्यलाभ गरी आफ्नो सक्रियता बढाइरहेका छन् । सभापति उपचारमै व्यस्त हुँदा निर्णय क्षमता कमजोर भएको अनुभूति नेता–कार्यकर्ता पंक्तिमा थियो । देउवा आएर यति दिन भइसक्दा पनि पार्टीभित्र उत्पन्न विवाद हल हुन सकेको छैन । पार्टीभित्रको संस्थापन लाइनमा उपसमूह खडा गरेर बसेका पूर्व पदाधिकारी ‘सात भाइ’ को प्रत्यक्ष भूमिका र प्रत्यक्ष नभए पनि कहिँकतै सभापति देउवाको परोक्ष भूमिकाका कारण नेपाली कांग्रेस अनिर्णयको बन्दी भएको छ ।
पार्टीको बागडोर कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हातमा पुगेको पनि महिना दिन भइसक्यो । तर उनी पनि कठीन परिस्थितिको बीचमा छन्—एकातिर संस्थापन पक्षको दबाब, अर्कोतिर सुधार चाहने युवापुस्ताको निरन्तर माग । निर्णय जसरी गरे पनि ठूलो समूह असन्तुष्ट हुने सम्भावनाले खड्का ‘चेपुवामा परेको’ जस्तो अवस्था छ ।
नेपाली कांग्रेस अहिले एउटा ऐतिहासिक मोडमा उभिएको छ । पार्टी पुरानो शैलीमा चल्ने कि रूपान्तरणको मार्गमा अघि बढ्ने भन्ने छलफलमै रुमलिएको छ । नेपाली कांग्रेसको निर्णयले केवल कांग्रेसकै भविष्य होइन, मुलुकको समग्र राजनीतिक दिशा पनि प्रभावित पार्नेछ ।
नेपाली कांग्रेसले के निर्णय गर्छ भन्ने विषयमा अहिले पूरै देशको नजर केन्द्रित भएको छ । मुलुकको राजनीतिक दिशा निर्धारणमा कांग्रेसको भूमिका बलियो हुने भएकाले यसको प्रत्येक कदमप्रति सर्वसाधारणको चासो प्राकृतिक रूपमा बढेको हो । तर पार्टीभित्रको लामो विवाद र मतभेदका कारण अपेक्षित निर्णय अहिलेसम्म आउन सकेको छैन ।
रूपान्तरण र परिवर्तन चाहने महामन्त्रीद्वयको लाइन र “जेनजी आन्दोलनपछि पनि केही भएकै हो र?” भन्ने शैलीमा प्रस्तुत भइरहेका ‘सात भाइ’ भनेर चिनिने पूर्व पदाधिकारीहरूको परम्परागत सोचबीच तीव्र टकराव छ । एकातिर नयाँ पुस्ताले दबाब दिइरहेको छ कि दलले अब ढर्रा बदल्नैपर्छ, अर्कोतिर पुरानो संरचनामा भरोसा गर्ने समूह यथास्थितिमै अघि बढ्ने पक्षमा छ ।
यही असमञ्जस र द्वन्द्वकै कारण कांग्रेसले आजसम्म ठोस निकास निकाल्न नसकेको देखिन्छ । नेतृत्व परिवर्तन र महाधिवेशनको समयबारे एकमत बन्न नसक्दा पार्टीभित्र मात्र होइन, देशभर नै अनिश्चितताको बादल झनै बाक्लिँदो छ ।
महामन्त्रीद्वयमा व्यक्तिगत लोभ वा स्वार्थ देखिँदैन । उनीहरू पार्टीभित्र रूपान्तरण र पुस्तान्तरण चाहन्छन् । नयाँ पुस्ताको आवाज र नागरिकको परिवर्तनको मागलाई संस्थागत गर्नैपर्छ भन्ने उनीहरूको अडान स्पष्ट छ । तर अर्कोतर्फ ‘सात भाइ’ भनेर चिनिने पूर्व पदाधिकारीहरूको व्यवहारमा भने लोभ र स्वार्थको छायाँ झनै गहिरिँदै गएको देखिन्छ ।
महाधिवेशन भए शक्ति क्षय हुने, टिकट बाँडफाँडमा आफूले चाहेका व्यक्तिलाई उठाउन नसक्ने, संगठनमा आफ्नो प्रभाव कम हुने भन्ने चिन्ताले सात भाइ झनै परम्परागत लाइनमै अडिएको देखिन्छ । नेतृत्वको निरन्तरतामा आफ्नो नाफा देख्ने उनीहरूको प्राथमिकता के हो भन्ने अनुभूति कार्यकर्ताहरूले पनि गरिरहेका छन् ।
केन्द्रीय कार्यसमितिमा महामन्त्रीहरूले परिवर्तन र रूपान्तरणका विषयहरू खुला रूपमा प्रष्ट पारे पनि संस्थापनका नाममा सक्रिय समूहले त्यो सुन्न चाहेको छैन । देश र नेपाली कांग्रेसको भविष्यभन्दा पनि आफ्नै उपस्थिती, शक्ति र सम्भावित टिकटको चिन्ताले उनीहरूलाई बाँधिराखेको छ । यही स्वार्थ–सन्तुलनको खेलले कांग्रेसलाई आज गम्भीर मोडमा रोकिराखेको छ, जहाँ निर्णयभन्दा अनिर्णय नै प्रमुख समस्या बनेको छ ।
अहिले नेपाली कांग्रेसमा बल—अन्तिम निर्णय गर्ने शक्ति—संस्थापन पक्षकै कब्जामा छ । कहिले निर्णय गर्ने, खेल बराबरीमा टुंग्याउने कि पूर्ण बहुमतले जित्ने, वा आत्मघाती गोल गर्ने—यी सबै विकल्प संस्थापनकै तजबिजमा अडिएका छन् । परिस्थितिको संवेदनशीलता बुझेर अघि बढ्ने कि संख्याबलको शक्तिमा निर्णय लिने भन्ने मोडमा पार्टी उभिएको छ ।
महाधिवेशन फागुन २१ अघि नियमित प्रक्रियामार्फत गर्न सके सबैको जित हुनेछ । यसले पार्टीभित्र जनविश्वास बढाउनेछ, नेतृत्वमा नयाँ ऊर्जा भर्न सक्छ, र आगामी निर्वाचनमा कांग्रेसलाई बलियो सन्देशसहित अघि बढ्ने मौका दिन्छ । युवापुस्ताको आवाज सुन्ने र घाइते जनभावनालाई सम्बोधन गर्ने यो अवसर गुमाउनु पार्टीका लागि रणनीतिक भूल हुनेछ ।
यदि सहमतिमै विशेष महाधिवेशन गर्ने सहमति जुट्यो भने पनि कसैको हार हुँदैन । न संस्थापन हार्छ, न रूपान्तरण चाहने पक्ष कमजोर हुन्छ । बरु सहमतिमूलक समाधानले पार्टीभित्र सकारात्मक वातावरण बनाउँछ, नेतृत्वबीचको अविश्वास कम हुन्छ, र आगामी राजनीतिक संक्रमणका बीच कांग्रेसले आफूलाई जिम्मेवार दलका रूपमा प्रस्तुत गर्न सक्छ । सहमति कहिल्यै हार हुँदैन; दुवै पक्षले जितेको महसुस गर्नेछन् ।
तर यदि बहुमतको आडमा चुनावपछि मात्र महाधिवेशन गर्ने निर्णय लिइयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । चुनावअघि नियमित अथवा विशेष- जे महाधिवेशन भए पनि महाधिवेशन हुनैपर्छ । नियमित महाधिवेशन पनि नगर्ने, विशेष महाधिवेशन पनि नगर्ने निर्णय भयो भने नेपाली कांग्रेस मात्र होइन, देशकै लागि दुर्भाग्यपूर्ण हुनेछ भन्नेमा दुई मत छैन । यस्तो निर्णय नेपाली कांग्रेसकै लागि आत्मघाती कदम सावित हुनेछ । यस्तो निर्णयले नयाँ पुस्ताको कांग्रेसप्रतिको भरोसा मात्र कमजोर बनाउने होइन, जेनजी पुस्ताले उठाएको परिवर्तनको आन्दोलनलाई कांग्रेसले बेवास्ता गरेको ठाडो सन्देश जानेछ । यसले पार्टीभित्र र देशको समग्र राजनीतिक यात्रामा गम्भीर धक्का पुर्याउनेछ । विश्वासको संकट अझै गहिरिनेछ, र इतिहासले यसलाई कांग्रेस नेतृत्वद्वारा लिइएको अत्यन्त दुर्भाग्यपूर्ण तथा दूरदर्शिताविहीन निर्णयको रूपमा लेख्नेछ ।
नेपाली कांग्रेसले अहिले सामना गरिरहेको द्वन्द्व केवल नेतृत्व चयन वा महाधिवेशनको मिति–समयसँग मात्र सम्बन्धित छैन । यसले दलभित्रको संस्कार, पद्धति, कार्यशैली र जनभावनाप्रतिको संवेदनशीलता कत्तिको अद्यावधिक छ भन्ने कुरा पनि उजागर गरिदिएको छ । नयाँ पुस्ताले उठाएको प्रश्नहरू केवल अधिकार र अवसरका लागि होइनन् । ती पार्टीभित्रै लोकतान्त्रिक मूल्यको पुनर्स्थापना, जवाफदेही नेतृत्व निर्माण र देशको बदलिँदो मनोविज्ञानसँग कांग्रेसलाई तालमेल गराउन गरिएको अभियान पनि हो । यो प्रक्रियामा कांग्रेसले आत्मपरीक्षण गर्नुको साथै संगठनात्मक संरचना र निर्णय पद्धतिलाई समयअनुकूल पुनर्संरचना गर्न सकेको खण्डमा मात्र आफ्ना ऐतिहासिक दायित्व पूरा गर्न सक्षम हुनेछ । परिवर्तन टारेर वर्तमानको व्यवस्थालाई जसरी पनि सुरक्षित राख्ने सोचले कांग्रेसलाई क्षणिक रूपमा फाइदा जस्तो देखिए पनि दीर्घकालीन रूपमा त्यो बाटो दललाई झनै कमजोर बनाउँदै लैजानेछ ।
अन्ततः कांग्रेसले कुन बाटो रोज्ने हो भन्नेमा अहिले सबैको चासो छ । पार्टीमा सुधार, पुस्तान्तरण र सहमतिमूलक निर्णयमार्फत अग्रगमनको मार्गमा अगाडि बढाउने महामन्त्रीद्वयको अभियान सान्दर्भिक छ । कार्यवाहक दिएर सम्मानपूर्वक विदा भएका सभापतिलाई फेरि सक्रिय गराउने प्रयासजस्ता गल्तीले कांग्रेस मात्र होइन, समग्र राजनीतिलाई पनि अविश्वास र अस्थिरतामा पुर्याउन सक्छ । नेपाली कांग्रेस अहिले संवेदनशील अवस्थामा छ । पार्टीमा बल संस्थापनको नियन्त्रणमा छ र यस्तो अवस्थामा सानो गल्तीले राजनीतिक अस्थिरतालाई झनै मलजल गर्न सक्छ । सभापति देउवाले निश्चित स्वार्थ समूहको दबाबमा नपरी, परिवर्तनको आवाजलाई सुनुवाइ गरेर निर्णय लिनु अनिवार्य छ ।