
हामीले देखेका छौं, ढुंगाको कापमा पिपल उम्रेर विशाल वृक्ष भएको । कुलमान घिसिङ पनि यस्तै अप्ठ्यारा पार गर्दै मरुभूमिकरण भइरहेको नेपालको राजनीतिमा बिजुली गतिमा उदीयमान छन् । उनले नेपाल विद्युत प्राधिकरणको सामान्य कर्मचारीदेखि माथिल्लो तह कार्यकारी निर्देशकसम्म भएर काम गरे । उनले चिलिमे जलविद्युत आयोजना, रसुवामा देखाएको आफ्नो अद्भुत प्रतिभालाई प्रदर्शन गर्दै निकै चर्चा कमाए । चिलिमेमा आफूभन्दा अगाडि गएका आयोजना प्रमुख सबै असफल भएर फर्किंदा उनले त्यसलाई सफल मात्रै बनाएनन्, एउटा गतिलो नमूना पनि देखाए । स्थानीय वासिन्दालाई शेयर वितरण गरेर धनी बनाए र उनीहरूलाई पनि विकासको स्वाद चखाए । त्यसरी उदाएका उनले प्राधिकरणको कार्यकारी निर्देशक भएको लगत्तै १८ घण्टाको लोडसेडिङ अन्त्य गरेर देखाए । वास्तवमा, उनले जादुको छडी चलाएजस्तै नै भयो । कसैले पनि यस्तो हुन्छ भन्ने कल्पना समेत गरेका थिएनन् । अँध्यारो हरेक नेपालीको नियति नै हो भन्ने ठानिसकेका थिए । प्रधानमन्त्रीलाई पनि यो देशबाट अँध्यारोको युग समाप्त हुन सक्छ भन्ने विश्वास नै थिएन । त्यसैले, सिंहदरबारभित्रै थर्मल प्लान्टमार्फत बिजुली उत्पादनका काम समेत भइरहेको थियो ।
उनले पहिलो कार्यकालमै लोडसेडिङको अन्त्य र घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याए । अन्यथा, ऋण गरेर कर्मचारीको तलब खुवाउनु परेको थियो । उनको बेजोड कार्यसम्पादनले गर्दा नेपाली जनताको बिचमा उनी निकै लोकप्रिय भए । विभिन्न शक्ति केन्द्रहरूले नचाहे पनि उनलाई पुनः प्राधिकरणमा दोस्रो कार्यकालका लागि सरकारले ल्यायो । दोस्रो कार्यकालको अन्तिम चार महिना मात्रै बाँकी रहेको अवस्थामा दुई–तिहाइको सरकारले उनलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएर अयोग्य करार गर्दै बर्खास्त ग¥यो । यहीँबाट उनको जीवनको अर्को घुम्ती प्रारम्भ भयो ।
नागरिक अभिनन्दन : एउटा भद्र विद्रोह
उनले आफ्नो काम देखाएर देशभित्र र बाहिर, नेपाली र गैरनेपाली सबैको दिलोज्यानमा राम्रो छाप राख्न सफल भएको स्थितिमा सरकारले अयोग्य करार गर्दै बर्खास्त गरेर सबै राष्ट्रसेवक कर्मचारी र देश बनाउन चाहनेहरूको शिर निहुराउने काम गरेको सरकारलाई नागरिकले गतिलो जवाफ दिए–कुलमान घिसिङलाई नागरिक अभिनन्दन गरेर । गत जेठ २८ गते उनलाई सर्लाहीका नागरिकले नागरिक अभिनन्दन गरे । सरकार, सरकारी दलहरू र सत्ताबाहिर रहेका दलहरूको असहयोगको र समारोहमा नजान परिपत्रका बाबजुद पनि उनको अभिनन्दन समारोहमा हजारौँ मानिसहरू ४२ डिग्रीको गर्मीमा पनि जम्मा भए । नागरिकले उनीप्रति माया र सम्मान दुवै व्यक्त गरे । सर्लाहीबाट उडान भरेको त्यो नागरिक अभिनन्दन तुरुन्तै कतार, दुबई, साउदी अरब, बहराइन र मलेसिया हुँदै इटहरीमा ल्याण्डिङ हुँदै अमेरिका, युके र विभिन्न देशहरूमा उडान जारी भयो । जब उनी यी सबै देशहरूको भ्रमण गरेर आए, उनको अनुहारमा बेग्लै चमक देखिन्थ्यो र उच्चस्तरको आत्मविश्वास पनि । वास्तवमा, त्यो नागरिक अभिनन्दन सरकारप्रति एउटा सशक्त भद्र विद्रोह नै थियो । त्यति मात्र नभएर–‘कुलमान, तिमी अगाडि बढ, बिजुलीमा गरेको जादुलाई अब राजनीतिमा पनि देखाऊ’ भन्ने बलियो ढाडस थियो । देशको राजनीति बागमतीभन्दा दूषित भएको, तिमीले त्यसलाई पनि सङ्लाे र शुद्ध बनाऊ भन्ने नागरिकको उनलाई सन्देश हो ।
उहिले काजी भीम मल्ल नेपाल र तिब्बतको लडाइँमा आफ्नो देशको लागि युद्धमोर्चा लडे, युद्ध जिताए र नेपालको सीमालाई उत्तरतिर विस्तार गरे । तर उनलाई सरकारले आसपासेको कुरा सुनेर मृत्युदण्ड दियो । उनी देशको भलो गरेवापत काटिनु परेको थियो । आफ्नो देशभक्त लोग्नेलाई काटिँदै गर्दा, ‘अबदेखि यो देशको भलो गर्ने कसैको पनि भलो नहोस्’ भनी सराप दिएको प्रसङ्ग जनबोलीमा छ । करिब चार सय वर्ष अगाडिको त्यो गल्ती दुई–तिहाइको सरकारले दोहो¥यायो, तर त्यसलाई नेपाली नागरिकले नागरिक अभिनन्दनमार्फत सच्याए । अब देशको लागि भलो गर्नेले काजी भीम मल्लको नियति व्यहोर्नु पर्दैन; नागरिकले त्यसको हर किसिमले साथ मात्रै दिँदैन, बरु पुरस्कृत पनि गर्नेछ । यस्तै–यस्तै निहितार्थ थियो त्यो नागरिक अभिनन्दनको । अब, ‘सतिले सरापेको देश’ को कथनलाई पुनर्भाषित गर्नुपर्छ ।
राजनीतिमा कुलमान
सर्लाहीबाट उडेको नागरिक अभिनन्दनको विमान संसार घुमेर अवतरण भयो । उनी अब २०८४ को आम निर्वाचनमा कसरी जाने, दल खोल्ने र समूह निर्माणको तयारी गर्दै थिए । यति नै बेला, भदौ २३ र २४ गते जेनजी विद्रोह भयो । त्यसले पहिलेको राजनीतिक कोर्सलाई सुनामीझैँ पुरिदियो र बढारिदियो । नयाँ राजनीतिक कोर्समा मुलुक गयो । जेनजी विद्रोहले तासको महल भत्के जसरी पुराना राजनीतिक दलहरूलाई गल्र्याम–गुर्लुम ढलायो । वास्तवमा, २४ गते बेलुकादेखि सुशिला कार्की नेतृत्वको सरकार नबनेसम्म रिक्तताको स्थिति थियो । ‘देशमा अब के हुने हो ?’ सबै चिन्तित र उत्सुक पनि थिए । कार्कीको शपथ हुने बित्तिकै कुलमानलाई सरकारमा आउन अनुरोध आयो । दिनरात जेनजीका विभिन्न समूहहरू उनको घरमा थुप्रिन थाले । सरकारमा जान जेनजीले अनुरोध गरे । यद्यपि, सरकारमा नजान उनलाई नजिकका व्यक्तिहरूले सल्लाह दिएका थिए । तर उनी राष्ट्रलाई संकट परेको बेलामा मोचनका लागि तयार भए, अहिले तीन वटा महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिरहेका छन् ।
अन्तरिम सरकारको आफ्नै सीमितता छ । पहिलो, ६ महिनाको कार्यकाल । दोस्रो, प्रतिनिधिसभाको निर्वाचन गर्नु पर्ने दायित्व । तर, हरेक कालो बादलभित्र चाँदीको घेरा हुन्छ भन्ने भनाइलाई प्रमाणित गर्न उनी यतिबेला बिजुली गतिमा– ‘सरकारको काम कस्तो हुन्छ ? मन्त्रीले कसरी काम गर्ने हो ? परिणाम कसरी निकाल्ने हो ?’ त्यसको सजिलो र भरपर्दो जवाफ दिँदैछन् । उनी चर्चित बलिउड चलचित्र सिंघममा अजय देवगन शैली भनौँ या नायक चलचित्रमा अनिल कपूर शैलीमा काम गरिरहेका छन् । उनको काम–गराइ, हिँडाइ, सुरताल र गति बिजुली नै छ । कहिले उनी इलाम पुग्छन्, कहिले रोशी–बीपी राजमार्ग; कहिले कन्काई पुल त कहिले कमला पुल । कहिले बन्चरेडाँडामा आफैँ पुग्छन् । वास्तवमा, उनको गति देखेर ‘सरकार केही गर्दैछ’ भन्ने भरोसा नागरिकलाई भइरहेको छ । उनको समग्र व्यक्तित्व देखेरै, बुझेरै हुनुपर्छ प्रधानमन्त्रीले भनिन्, ‘कुलमान घिसिङ नभएको भए सरकार नै बन्न मुश्किल हुने थियो ।’ यतिबेला अन्तरिम सरकारको मन्त्रीको रूपमा उनले फागुन २१ पछिको सरकार कस्तो हुनु पर्छ भन्ने ‘ट्रेलर’ झल्काइरहेका छन् ।
उज्यालो नेपाल पार्टी
केही दिन अगाडि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कुलमान घिसिङले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनेका थिए । ‘चुनावी सरकारको मन्त्रीले आफ्नो दल खोल्नु हुँदैन’– यही उनको मूल कथन थियो । नेपालका संविधान–२०७२, राजनीतिक दलसम्बन्धी कानून र निर्वाचन ऐनले पनि सरकारमा रहेको मन्त्री वा प्रधानमन्त्रीले दल खोल्न नपाउने वा निर्वाचन लड्न नपाउने व्यवस्था गरेको छैन । संविधान र कानूनी व्यवस्थाको आधारमा उनले दल खोल्न पाउनैपर्छ । निर्वाचन लड्न पनि पाइन्छ । तर कम बोल्ने घिसिङले अहिलेसम्म न्यूनतम नैतिकता प्रदर्शन गर्न नसकेको दलहरूलाई ‘उज्यालो नेपाल पार्टी’ दर्ता गर्दा पनि आफू औपचारिकरूपमा नबसी अनुप कुमार उपाध्यायको नाममा दल दर्ता गराएर अधिकतम नैतिकता देखाए । यो भन्दा गतिलो जवाफ अरु के हुन सक्छ र !
नेपालमा पुराना दलहरूले व्यवस्था फेर्ने काम गरे । पुराना सबै दलहरूको मूल चरित्र हेर्दा– पहिचानको मुद्दा उठान गर्नेले सुशासनको बारेमा मौन बस्ने र सुशासनको मुद्दा उठाउनेले पहिचानको बारेमा केही नबोल्ने । २०७९ को निर्वाचनमा सुशासनको मुद्दालाई जोडतोडले उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचानको मुद्दा उठाउँदै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी उदाएका थिए । त्यो खाडललाई पुर्ने उद्देश्यले यतिबेला उज्यालो नेपाल पार्टीले सुशासन र पहिचान दुवैलाई रथका दुई पांग्रा बनाएको छ । सुशासनको रोल–मोडल घिसिङ आफैँ हुन् भने पहिचान शब्द दस्तावेजमा नपरे पनि सामाजिक न्यायको मुद्दा जोडले उठाइएको छ । पहिचानलाई सामाजिक न्यायको दृष्टिकोणले हेर्नुपर्छ । यो नयाँ विश्वदृष्टिकोण पार्टीले अघि सारेको देखिन्छ ।
सुशासनले हाम्रो दैनन्दिनका समस्या र अवस्थालाई परिवर्तन गर्न सघाउँछ । वेथिति, ढिलासुस्ती, भ्रष्टाचार र कुशासनबाट मुक्ति पाउन सुशासनले जोड दिन्छ । सामाजिक न्यायले पहिचान र सम्मान दुवैलाई सम्बोधन गर्दछ । हाम्रो समाजमा हजारौं वर्षदेखि आत्मसम्मान पाउन नसकेका दलितहरू छन् । त्यसैगरी, पहिचान पाउन नसकेका थुप्रै सभ्यताहरू छन् । ती सभ्यताहरू हजारौँ वर्षदेखि थिए र रहनेछन् । सुशासनले सुख र सुविधालाई जनाउँछ भने सामाजिक न्यायले आत्मसम्मान, आत्मसन्तुष्टि र खुशीको प्रतिनिधित्व गर्छ । मानिस वा सांस्कृतिक समूहहरू सुख र सुविधा पाएर पनि खुशी नहुन सक्छन् । त्यसैले, नेपाली समाजलाई अगाडि बढाउन यी दुवै कडीलाई जोड्नु पर्छ ।
यस पार्टीको आधारभूत मार्गदर्शक सिद्धान्त तीन वटा छन्– पहिलो, समावेशी लोकतन्त्र; दोस्रो, सामुदायिक समाजवाद र तेस्रो, वहुसाँस्कृतिकवाद र राष्ट्रिय एकता । नेपाली समाजको विविधतालाई सम्बोधन गर्न समावेशी लोकतन्त्र बिना सम्भव छैन । समावेशी लोकतन्त्रको अभ्यास सुरु भइसकेको छ, तर त्यो पर्याप्त छैन । त्यसलाई परिपक्व र अर्थपूर्ण बनाउँदै लैजानुपर्छ ।
नेपालमा दुईथरिका समाजवादको वकालत गर्ने दलहरू छन्– (१) साम्यवादी दृष्टिकोणअनुसार स्थापित समाजवाद र (२) उदारवादमा आधारित प्रजातान्त्रिक समाजवाद । यी दुवै थरिका समाजवादका मूल कमजोरी– समुदायलाई कमजोर बनाउनु । पहिलोले समुदायलाई श्रमिक र उत्पादक मात्रै देख्ने, दोस्रोले समुदायलाई उपभोक्ता । दुवै प्रकारका समाजवादको अभ्यास संसारका विभिन्न देशमा केही शताब्दीदेखि भयो । परिणामतः यी समाजवादहरूले समुदायलाई कमजोर बनाउँदै लगे । एउटाले राज्य बलियो बनायो, अर्कोले व्यक्ति शक्तिशाली– तर समुदाय निरीह । यस्तो राजनीतिक प्रणालीले तानाशाह र निरंकुश शासक मात्रै उत्पादन गर्यो । सामाजिक र आर्थिक असमानता बढायो । त्यसैले, समुदाय बलियो बनाउने ‘सामुदायिक समाजवाद’ नेपालजस्तो देशमा आवश्यक छ । उहिले समुदायले आफ्नै रीतिरिवाज, संस्कृति, संस्कार र प्रथाजनित कानूनमार्फत समुदाय सञ्चालन गरेको पद्धतिलाई पुनःस्थापित र पुनर्जागृत गर्न यसको औचित्य छ ।
हाम्रो समाज बहुसांस्कृतिक र बहुभाषिक समाज हो । हाम्रो संविधानको प्रस्तावनामा यसलाई आत्मसात् गरिएको छ । तर लामो समयसम्म एकल संस्कृतिले राज्य सञ्चालन गरेकोले एकलसांस्कृतिक मूल्य–मान्यता र वैचारिकी उत्पादन भयो । हाम्रो बहुसंस्कृतिलाई बोझको रूपमा लिने प्रवृत्ति मौलायो । विविधतालाई सम्पदा र सामथ्र्यको रूपमा नलिएसम्म देशको विकास सम्भव छैन । जति यसलाई अनावश्यक बोझ वा वितृष्णाको विषय बनाइन्छ, त्यति नै यसले द्वन्द्व बढाउँदै लैजान्छ । त्यसर्थ, विविधताले भरिपूर्ण नेपाली समाजलाई वहुसाँस्कृतिकवादी चिन्तन अत्यन्तै आवश्यक छ ।
यो पार्टीका हालका ५१ जना सदस्यहरू हेर्दा यी सिद्धान्तअनुसार काम गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्नमा अलि–अलि संशय गर्ने ठाउँ छ । पार्टीमा इन्जिनियर, कलाकार, एनजिओकर्मी र विश्वविद्यालयका विद्यावारिधिवाला सदस्यहरूको राम्रो उपस्थिति छ । तर राजनीतिमा ‘राजनीतिक इन्जिनियर’– अनुभवी व्यक्ति र पोख्त कारीगरहरूको भूमिकालाई कमजोर आकलन गर्नु हुँदैन । त्यो अभावलाई सम्बोधन नगरी हुँदैन । नेपाल राष्ट्रको विद्यमान अवस्था हेर्दा कुनै पनि नयाँ र वैकल्पिक दललाई गल्ती गरेर सिक्ने छुट छैन, सिकुञ्जेलमा देश नै विलम्ब भइसक्छ ।
अन्तमा,
लोकतन्त्रमा प्रश्न बाहिर कोही हुनु हुँदैन । राज्य र सरकार, दलहरू त सदैव प्रश्नकै कठघरामा उभिनुपर्छ । त्यस्तै, व्यक्तिका रूपमा घिसिङका पनि कमजोरी नहोलान् भन्ने होइन । देउताका मात्र कमजोरी नहुन सक्छ । अहिले कतिपय सञ्चारगृह घिसिङविरुद्धमा हात धोएर लागेका छन् । कतिपयले ‘घिसिङले बोल्न त्यति आउँदैन, वाकपटुता छैन’ भन्ने टिप्पणी गरेको सुनिन्छ । हाम्रो देशलाई अहिले धेरै बोल्नेभन्दा फटाफट काम गरेर परिणाम निकाल्ने नेतृत्व चाहिएको छ । ‘धेरै बोल्ने ओठभन्दा सेवा गर्ने हात महान् हुन्छ’– यो वाणी यत्तिकै जनमानसमा चलेको होइन ।
प्रश्न गर्नेका दुईवटा नियत हुन्छन्– पहिलो, सुधार्ने; दोस्रो, सिध्याउने । अहिले भएका धेरै प्रश्नहरू दोस्रो नियतले निर्देशित देखिन्छन् । तर प्रश्न यहि हो– नेपाली समाज र राष्ट्र यतिबेला निराशाको गहिरो खाडलमा छ, झन् जेनजी विद्रोहपछि त अन्यौलता र अत्यन्त तरल अवस्थामा पुगेको छ । कतिबेला के हुन्छ, भन्न गाह्रो छ । घिसिङ नेपाली समाजको आशाको नयाँ किरण हुन् । आशा जगाउने कोही नभए यो समाज, यो राष्ट्र र व्यक्ति पनि जीवित रहन सक्दैन । आशाको कति महत्व हुन्छ, त्यो स्यामुअल बेकेटको चर्चित कृति वेटिङ फर गोडो ले सविस्तार देखाउँछ ।
भर्खरै फुल्न थालेको कोपिलालाई फक्रिन, फैलन र सुवास छर्न मौका दिनुपर्छ– कोपिलानै भाँच्ने कोशिस कहिल्यै गर्नु हुँदैन ।