
काठमाडौं : नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानको आँखामा काठमाडौंका हरियाली फाँटहरूको सम्झना अझै छ । मौसमअनुसार धान र गहुँ लहलहाएको दृश्य उनको स्मृतिमा ताजा भएपनि उनको भान्सामा रैथाने चामल पाक्न छाडेकै ३० वर्ष भयो । पहिले घरैपिच्छे हुने अन्नका भकारी देख्न मुस्किल भइसकेको छ । हेर्दाहेर्दै कहिले हरिया त कहिले सुनौला देखिने फाँट घरले भरिइसकेका छन् । ‘हाम्रो आँखाअगाडि यो सबै भयो । ३० वर्षमा हरियो महानगर कंक्रिटले भरियो । अहिले त कृषि उत्पादन नै हरायो,’ प्रधान मध्यान्हसँग भन्छन्, ‘कुनैबेला आत्मनिर्भर उपत्यका अहिले परनिर्भर भइसकेको छ । सबै अन्नपात, सागसब्जी बाहिरबाट आउँछ ।’
उनको घरमै धान राख्ने चार÷पाँचवटा भकारी थिए । आफ्नै करेसाबारीले तरकारी पुग्थ्यो । बसाइँसराइ र बढ्दो सहरीकरणले बर्सेनि खेतबारी खुम्चिँदै अन्ततः महानगर कृषि उत्पादन शून्य सहर बन्न पुगेको छ । महानगरको मलिलो माटोमा अन्नपात होइन, घडेरी र प्लटिङ फल्न थालेको छ । खाली जग्गा करिबकरिब सकिन थालेको छ । ‘खेती र आवादी त परको कुरा, घर बनाउनसमेत राम्रो मापदण्ड बनाइएन । पानीका मुहान, खोला, पोखरी, कुलो मासिए,’ प्रधान सुनाउँछन्, ‘खेती हुने जमिनलाई घरघडेरीमा परिणत भए । अन्न होइन, महलहरू फल्न थाले ।’
प्रधानले भनेझैं काठमाडौं महानगर क्षेत्रमा अन्नबाली उत्पादन हुनै छाडेको वर्षौं भइसकेको छ । काठमाडौंको माटो धान, गहुँ, मकै, मसुरो, राजमा, गहत उत्पादनका लागि राम्रो मानिन्थ्यो । तर कंक्रिट जंगलमा रूपान्तरण भएपछि अन्नबाली उत्पादन शून्यमा झरेको हो । अघिअघिसम्म खाली जग्गामा केही खेती हुन्थ्यो । त्यसको रेकर्ड पनि महानगरसँग रहन्थ्यो । जिल्ला कृषि विकास कार्यालय पनि अस्तित्वमा थियो । तर मुलुक संघीयता गएपछि महानगरमा कृषि प्रयोजनका लागि कुनै सिफारिस नै हुँदैन । काठमाडौं महानगरपालिकामा कृषि शाखा छ तर कृषि र कृषक उत्पादनसँग जोडिएको काम हुँदैन । ‘महानगर वा वडामा कृषिसम्बन्धी कुनै काम नै आउँदैन । सिफारिस पनि हुँदैन,’ काठमाडौं महानगरपालिका–१४ का वडाध्यक्ष सुमन श्रेष्ठले भने, ‘यहाँ अन्नबाली लगाउन छोडेको वर्षौं बितिसक्यो ।’
काठमाडौं अन्न तथा तरकारीमा पूर्ण परनिर्भर भइसकेको उनी बताउँछन् । पछिल्लो समय कौसी बाली लगाउने चलन छ । केहीले तरकारी फलाएर त्यसबाट लाभ पनि लिएका छन् । तर नगरवासीको मागका हिसाबले त्यो १ प्रतिशतभन्दा निकै कम रहेको महानगर बताउँछ । सोही कारण काठमाडौं महानगरको कृषि शाखाको औपचारिक तथ्यांकमा कृषि उत्पादन शून्य राखिएको छ । महानगरसँग खपतको तथ्यांक पनि छैन । त्यस्तै, कालीमाटी तरकारी व्यवसायी समितिसँग पनि यकिन तथ्यांक पाइँदैन । काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपक्षी विभाग प्रमुख नुरनिधि न्यौपाने भन्छन्, ‘महानगरमा खपत मात्रै छ, उत्पादन छैन । कौसी र करेसाबारीमा केही खेती भएका होलान् । त्यसको आकडा ०.०००१ मा आउँछ । त्यसलाई खेती मानिँदैन ।’
स्थानीयका अनुसार, २०३० सालबाटै उपत्यकामा रैथाने बालीको उत्पादन घट्दै गएको हो । सहरीकरण बढ्दै गएपछि नै आँखा मिले, काले धान, चमल, घैयाधानजस्ता पुराना धानका जात हराउँदै गए । रैथाने मुला, मकै, गहतको उत्पादन पनि विस्तारै कम हुँदै गयो । महानगरसँग जोडिएका ग्रामीण भेगमा भने ती जातका बाली उत्पादन भइरहेकै थिए । २०४० सालपछि उपत्यकाको विकासले फरक मोड लियो । खेतीयोग्य जमिनमा तीव्र सहरीकरण र आवास निर्माण हुन थाले भने कृषियोग्य भूमि कंक्रिटले ढाकिँदै गयो । यस अवधिमै धेरैले व्यावसायिक रूपमा बाली लगाउन छाडिसकेका थिए । मलिला खेत प्लटिङ गरेर बेच्ने लहर चलिसकेको थियो । रैथाने जातको साटोमा उन्नत जातका हाइब्रिड धान र तरकारी खेतबारीमा भित्रिइँदा रैथाने जातको उत्पादन झन् घट्न थाल्यो । उपत्यकाको टोकल, जगाती, चाँगुनारायण, बलकोट, हरिसिद्धि, सुन्दरीजल, फर्पिङजस्ता क्षेत्रहरूमा मात्र केही स्थानीय किसानले थोरै मात्रामा रैथाने बालीलाई जोगाएका थिए । तर त्यो पनि धेरै समयसम्म टिक्न सकेन । कृषक गणेश बानियाँ सरकारको ध्यान व्यावसायिक कृषिभन्दा सहरी विकासतिर बढेलगत्तै कृषि उत्पादन ओरालो लागेको बताउँछन् । ‘सहरीकरणका बीचमा कृषि उत्पादन र खेतीयोग्य जमिन जोगाउनेतर्फ सरकारको ध्यानै गएन,’ उनी भन्छन् । महानगरभित्रै व्यावसायिक कृषि गर्दै आएका बानियाँ र उनका साथीहरू गोदावरीतर्फ सरे । महानगरमा खेतीयोग्य जमिन नै नभएपछि ग्रामीण भेग खोज्दै कषि गर्न थालेको पनि दशक बढी भइसकेको उनी बताउँछन् ।
५० को दशकमा आउँदा काठमाडौं उपत्यकाका अधिकांश भूभाग पूर्णतः सहरका रूपमा परिणत भइसकेको थियो । रहरलाग्दा खेतमा अन्न फल्न निकै कम भइसकेको थियो । ६० को दशकपछि त व्यावसायिक उत्पादन पूर्णरूपमा बन्द भयो । घरसँगैका केही भाग करेसाबारीमा सागसब्जी उत्पादन गर्नेबाहेक काठमाडौंवासीले मेहनती किसानको परिचय गुमाइसकेका थिए ।
महानगरमा खेतीयोग्य जमिन नै बाँकी नरहेको काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपक्षी विभाग प्रमुख न्यौपाने बताउँछन् । ‘माटोको उर्वराशक्ति नै नबचेको मूल्यांकन भइसकेको छ । त्यस हिसाबले पनि काठमाडौंमा कृषि उत्पादन शून्य भएको छ,’ उनले भने ।
महानगरमा अन्नबाली उत्पादन छोडिनु÷घटनुका मुख्य कारण सामाजिक, आर्थिक र भौतिक परिवर्तनसँग जोडिएको न्यौपाने बताउँछन् । तीव्र सहरीकरण, पानीको समस्या र उपत्यकामा वरपरका काभ्रे, धादिङ र नुवाकोट, तराई–मधेस तथा भारतबाट सजिलै तरकारी र कृषिजन्य उत्पादन आउने गरेको महानगरको अध्ययनले देखाउँछ । उपत्यकाबाहिरबाट सस्तोमा अन्नपात र तरकारी आउन थालेपछि सुरुमा स्थानीय उत्पादनले बजार पाउन छाड्यो, पछि सहरीकरणले ढपक्कै ढाकेका कारण उत्पादन शून्यमा झरेको न्यौपानेको बुझाइ छ ।